पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो ।    “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मुखमा रहेका कारण केही समय यो स्थगित हुन सक्ने भए पनि यसको निरन्तरतामा कुनै प्रकारको सङ्कोच नराख्न उहाँले विश्वास समेत दिलाउनुभयो ।    राज्यले तोकेको मापदण्डमा रहेर मिले हाल बसिरहेकै स्थानमा नभए उपयुक्त स्थानको खोजी गरेर भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले आफूहरू निस्सा लगत्तै जग्गा धनी पुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो । कास्कीमा पनि यस अभियानको सुरुवात गरिएको जनाउँदै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । जग्गा प्राप्ति अघिको लालपुर्जाका रूपमा यसलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।    पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले मङ्गलवार १०० जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो । आफ्नो वडामा ७०० वटा निवेदन परेको जनाउँदै उहाँले क्रमशः सबैलाई निस्सा वितरण गर्ने बताउनुभयो ।   

  पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गर्नुभएको हो ।   सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताउनुभयो । “अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उहाँले भन्नुभयो, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्ड भित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।” अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    “नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।” प्रमुख आचार्यको भनाई छ । उहाँका अनुसार महानगर भित्र यस प्रकृतिको कुल सङ्ख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो ।    पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताउनुभयो । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पार्नुभयो । उहाँले आफूहरू विशुद्ध नागरिकहरूलाई भूमिको मालिक बनाउने प्रक्रिया प्रति इमानदार रहेको बताउनुभयो ।    “तपाँईहरुले प्राप्त गरेको यो निस्सा भनेको तपाँईहरु भूमिहीन हो भन्ने कुराको प्रमाण हो, उपप्रमुख गुरुङले भन्नुभयो, यो प्रमाण लिएर अगाडी बढेपछि लालपुर्जा बन्ने कुरा रहन्छ ।” यो समस्यालाई आफूहरूले टुङ्गोमा पुराएर जाने उहाँले विश्वास दिलाउनुभयो । कुनै पनि नागरिक भूमिहीन बनेर बस्नु नपर्ने वातावरण तयार गर्ने उपप्रमुख गुरुङले बताउनुभयो ।    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताउनुभयो ।   मङ्गलवार वडा नं. ६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । 

  पोखरा ।  धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।    सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् ।   कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बाँस्तोलाले कास्की, मुस्ताङ र मनाङका लागि धान तथा तरकारीमा प्रयोग गर्न भदौमा मात्र चार सय ६५ टन आवश्यक पर्नेमा केन्द्रवाट एक सय ६० टन मात्र छुट्याइएकाले किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको बताउनुभयो । कास्कीका ६५ कृषि सहकारीलाई समान रुपमा रासायनिक मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी अनुदानमा र सरकारी निगरानीमै कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत रासायनिक मल खरिद गरी किसानलाई सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा पाएका छन् । अनुदानको युरिया मलमा सरकारको ८६ दशमलव सात र किसानको १७ दशमलव तीन प्रतिशत मूल्य पर्छ । किसानको राहतका लागि सरकारले अनुदान रकम छुट्याएको भए पनि यस वर्ष ४५ प्रतिशत अनुदान रकम घटाइ दिएको छ ।   विदेशबाट रासायनिक मल खरिद गरी सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा लिएका ती कम्पनीले समयमै ल्याउन नसक्दा किसानले अभाव मात्र खेपेनन्, धान उत्पादनमा नोक्सान व्यहोर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले रासायनिक मल युरिया, डीएपी र पोटास खरिदका लागि रु २८ अर्ब अनुदान रकम छुट्याएकामा यस वर्ष रु १५ अर्ब मात्र छुट्याइएको सम्बन्धित कम्पनीका अधिकारी बताउँछन् ।   कास्कीमा साउनका लागि मात्र तीन सय टन युरिया मल आवश्यक पर्छ । हाल १६० टन मात्र छुट्याएर पठाएको छ । यसले किसानलाई पुग्दैन । कास्की, मुस्ताङ र मनाङका लागि छुट्याएको एक सय ६० टन युरिया मल यहाँका किसानलाई प्रर्याप्त छैन । “मल छिट्टै ल्याउने तयारीमा छौँ”,  प्रमुख बाँस्तोलाले भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव उपाध्यायले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव हुँदा समयमै ल्याउन नसकेको स्वीकार गर्नुभयो । कोरोनाकै कारण विदेशका केही रासायनिक मल उद्योग बन्द भएको र उनीहरुले आफैँलाई मात्र मल उत्पादन गरेका कारण खरिद गरेर ल्याउन कठिन भएको उहाँको भनाइ छ ।   खरिद गरेर ल्याएको रासायनिक मल बिक्रीका लागि कृषि सहकारीमा पठाउने गरिएको उपाध्याय बताउनुहुन्छ । सम्बन्धित किकायबाट अनुगमन नभएकै कारण ती कृषि सहकारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । रासायनिक मलमा केही सहकारीले बढी मूल्य लिएको भन्दै किसानले पोखरा महानगरीय कृषि महाशाखामा उजुरी दिएका छन् । महाशाखाका अनुसार कास्कीमा मात्र २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ ।   पोखरा–१३ का विष्णु अधिकारीले रासायनिक मल अभावकै कारण किसान यतिबेला छटपटाइरहेको बताउनुभयो । किसानले समयमा मल नपाउँदा उत्पादन नै घट्ने अवस्था भएको उहाँ बताउनुहुन्छ । तरकारीमा छर्नका लागि मल नहुँदा उत्पादन घटेको छ । धान रोप्दा हिलोमा छर्ने डीएपी अभाव नभए पनि युरिया अभाव हुँदा किसान मर्कामा परेका हुन् ।

काठमाडौँ  ः  अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका ।   नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो ।   यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोवारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।    घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । “अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलिायो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भन्नुभयो, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।”   हुलमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्‍यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्राइएको पाइएको छ ।    यसरी बनेको थियो त्रिपक्षीय योजना   धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए ।    विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए ।    लागुऔषधसहित पक्राउ परेका १५ जना सार्वजनिक    उनीहरुसहित विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ ।    प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् ।   यस्तै काठमाडौँको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ । प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत साम्रगीसमेत बरामद गरेको छ । 

 म्याग्दी  :  म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गर्नुभएको छ ।   रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान  बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाउनुभएको थियो । उहाँले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो ।   पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गर्नुभएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।    उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान   जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी एकाइका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर सम्मान गर्न थालेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन र हौसला प्रदान मासिकरूपमा सम्मान गर्न सुरु गरिएको हो ।    बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई विसं २०७९ को साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान प्रदान गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।    नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भई घटनास्थलमा नै पीडितलाई उद्धार र पीडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

तनहुँ  :   म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ ।  पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ ।    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।    प्रतिलिटर दूधमा रु दश    त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँदैआएको थियो ।    सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ । 

बागलुङ :   एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको  पहुँच थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे ।    तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ ।   गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो ।   गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।   निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले पाँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे ।  अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ ।   उहाँले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताउनुभयो । उहाँले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताउनुभयो ।   “पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।”   पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताउनुभयो ।  गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उहाँको भनाइ छ  ।   “घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन”, सञ्चालक सुनारले भन्नुभयो, “यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे ।”

मनाङ  :  हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।   केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उहाँले भन्नुभयो ।   समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भन्नुभयो ।    जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।    भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका-८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो ।    रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उहाँले भन्नुभयो, “हिमाली चौरीमा भाद्र-आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”   रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।    सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।   ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।   उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् ।   

काठमाडौँ  : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।   आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो ।   सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।   मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ ।