पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

    पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयसमक्ष विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ  ।   विद्यार्थीहरुको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्ने मागसहित अनेरास्ववियुले क्याम्पसको ६३ औँ स्थापना दिवसको अवसरमा आएका त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाललाई सो ज्ञापनपत्र बुझाएको हो ।   अनेरास्ववियुले पिएनमा अध्ययनरत विद्यार्थीहरुको मागहरुलाई समेट्दै त्रिविका शिक्षाध्यक्षसँगको गहन छलफल पश्चात विज्ञप्ति पेस गरेको  अनेरास्ववियु  पिएनका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए  ।   ‘क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुको मागलाई प्राथमिकताकोसाथ ज्ञापनपत्रमा उल्लेख गरेर बुझाएका हौं ।’ उनले भने ।   भुसाललाई पेश गरिएको सो ज्ञापनपत्रमा शिक्षा संकाय बिहानी र दिवा सिफ्टमा पठनपाठन गराउन, स्ववियु निर्वाचन गराउन, वार्षिक परिक्षाको रिजल्ट समयमै निकाल्न, बिबिएको प्रवेश परिक्षा हटाउन, छात्रवृत्तिको व्यवस्था गराउन, डिजिटल हाजिरीको व्यवस्था गराउन, आन्तरिक परिक्षाको व्यवस्था गराउन, क्याम्पसमै परिक्षा केन्द्र बनाउन, विमा रकम सहजरुपमा प्रयोग गर्न पाउन, क्याम्पस परिवर्तनमा सहजता प्रदान गर्न, क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन र महंगो शुल्क घटाउन जस्ता १४ वटा मागहरु उल्लेख गरिएको छ ।  

  पोखरा । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ ।  कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो ।    कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण  पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने  व्यवसायीलाई राहत मिल्ले बताउनुभयो ।     विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउनुहुन्छ ।   कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ ।    पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न अन्तरिक एवं बाह्य पर्यटक मन पराउछन् ।   “स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ”, डुङ्गा व्यवसायी राम कोइराला भन्नुहुन्छ । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ ।    बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । पैतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका शोभाखर कँडेल भन्नुहुन्छ, “विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसायका रुपमा मात्र थिएन ।  कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा यो ताल प्रयोग गर्दै आएका थिए । 

  कास्की्। लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ ।   पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिने छन् । अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ ।   मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखाङ्कन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजादा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुने भएपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन ।   कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन । सरकारले आगामी विसं २०८१ सम्ममा मध्यपहाडीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखाङ्कन परिर्वतन गरिएको छ ।        पोखरा खण्डको ४० किमीमा नयाँ रेखाङ्कन गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु चार अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । मध्यपहाडीको नयाँ रेखाङ्कनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी डिपिआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको सडक बन्नेछ ।   योजना प्रमुख भण्डारीले भन्नुभयो, “भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपिआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्था थियो । पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखाङ्कनसहित डिपिआर तयार गरेर ठेक्का आह्वान गरेका छौँ, अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्यो ।”   पोखरामा पुरानो डिपिआरअनुसार याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने योजना थियो । सो रेखाङ्कनमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएकाले राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नदेखिपछि डिपिआरनै परिर्वतन गरिएको मध्यपहाडी योजनाले जनाएको छ ।   बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने र यसको डिपिआर परिर्वतनका लागि प्रदेश सरकार, महानगर तथा मादी गाउँपालिकाबाट समेत आग्रह भएको बताइन्छ । “राजमार्गको मापदण्डअनुसार सडकको दुवैतर्फ २५÷२५ मिटर छाड्नु असम्भव देखिएको र बस्ती स्थानान्तरण गर्न नसकिने भनेर प्रदेश सरकार, महानगर, वडा तथा गाउँपालिकाबाट आग्रह भयो”, योजना प्रमुख भण्डारीले भन्नुभयो, “जग्गाको मुआब्जा दिने व्यवस्था  समेत नभएकाले नयाँ रेखाङ्कनका लागि योजना कार्यालयबाट फाइल उठाएर सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर निर्णय गरेका हौँ ।”   मादी गाउँपालिकाले आफ्नो पालिकाको धेरै वडालाई समेट्ने गरी राजमार्गको नयाँ रेखाङ्कन गर्न माग गरेको थियो । कार्यपालिका बैठकबाटै भैँसेदेखि मादीको ज्याम्दु र पानीघाट जोड्ने गरी राजमार्ग लैजानुपर्ने माग गरिएको थियो । पछिल्लो एलाइनमेन्ट अनुसार मादीका अधिकांश वडा पक्की राजमार्गमा जोडिने भएका छन् ।    मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पहाडी क्षेत्र हुँदै मध्यपहाडी राजमार्ग विस्तारको योजनाले मादीको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । पालिकाका धेरै वडा मध्यपहाडीले छुने भएकाले मादीको पूर्वाधार विकाससँगै, पर्यटन, कृषि र जनजीविकालाई सहज बनाउने उहाँले बताउनुभयो ।    गुरुङले भन्नुभयो, “मादीलाई धेरै समेट्ने गरी राजमार्ग लैजानुपर्छ भनेर हामीले माग गरेका थियौँ, अहिले सोहीअनुसार भएको छ । स्थानीयवासीले पनि जमिन दिन तयार हुनुभएको छ, विवाद छैन, यसले खुसियाली थपेको छ ।” मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी क्षेत्र पर्दछ । कास्की खण्ड लमजुङ÷कास्की सीमा रुदीखोलादेखि कास्की/पर्वत सीमा साँधखोलासम्म रहेको छ ।   रुदीखोलादेखि भैँसेसम्मको १६ किमीमा गत वर्ष ठेक्का लगाएर हाल काम चालु रहेको बताइन्छ । सो खण्डमा हाल सडक चौडा बनाउने, नाला निर्माण, टेवा पर्खाल लगाउने र गार्भेलको काम भइरहेको योजनाले जनाएको छ । याम्दीदेखि नयाँपुलसम्मको ३५ किमीसम्मको सबै काम सम्पन्न भएको छ । रु तीन अर्ब लागतमा यस खण्डको काम सम्पन्न भएको हो ।   पछिल्लो समय निर्माण गरिएको यस सडकको सौन्दर्यले देश विदेशमा भाइरलसमेत बनेको छ । हेमजा क्षेत्रको सिधा र फराकिलो सडक, आकर्षक जेब्रा क्रसिङ, सडक डिआइडर र सडकबत्तीले राजमार्गको सौन्दर्य बढाएको हो । 

पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।   मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुलैफुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ ।   महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए ।   महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने ।   ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ ।   मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए ।   धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ ।   उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे ।   महानगरको मातृशिशुु होस्टल संचालन पोखरा महागनरले मातृशिशु होस्टल संचालनमा ल्याएको छ ।   महानगरले मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए ।   उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यु हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’ सयदिनको विस्तृत पूर्णपाठः

  पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, कास्की शाखाले पोखरा महानगरपालिका–१० स्थित कालिका उच्च माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।   कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको कम्पनीका गण्डकी प्रदेश संयोजक एवं कास्की शाखा प्रमुख लक्ष्मण थापाले जानकारी दिनुभयो ।   “कम्पनीको वार्षिकोत्सवलाई रचनात्मक बनाउने सिलसिलामा सेनेटरी प्याड वितरण गरिएको हो, सामाजिक उत्तरदायित्वप्रति पनि कम्पनी सचेत छ”, उहाँले भन्नुभयो ।    शाखा प्रमुख थापाले विद्यालयका सहायक प्रधानाध्यापक बलदेव अधिकारी र शिक्षक सुनिता बस्नेतलाई प्याड हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा सहायक प्रअ अधिकारीले छात्राहरुलाई लक्ष्य गरी सामग्री सहयोग गरेकामा कम्पनीको सह्राहना गर्नुभयो ।   प्याड हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर शर्मिला केसी, एजेन्सी म्यानेजर धनकुमारी अधिकारीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन शाखाका बजार प्रमुख गोविन्द्र पौडेलले गर्नुभएको थियो ।   रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विसं २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले वृद्धि गरी चार अर्ब ६० करोड माथि पु¥याउन सफल भएको छ । त्यस्तै खुद नाफा २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।    कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी अर्ब ४० करोड रुपैयाँ छ ।   

पोखरा  :  पोखरा २ का सुरजप्रकाश प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघको आगामी चुनावका लागि अर्जुन पोखरेल प्यानललाई मत माग्न व्यस्त छन् ।   व्यवसायीलाई भेट्ने र उम्मेद्वारले झैं उनले प्यानलको पक्षमा मत माग्दा स्थानीयहरु उनैलाई उम्मेद्वार ठान्छन् । उनी उम्मेद्वार होइनन्, तर प्यानललाई जिताउन कम्मर कसेर लागेका छन् । संघमा सक्षम र युवा नेतृत्व आउनुपर्ने भन्दै उनले त्यस्ता उम्मेद्वार अर्जुन प्यानलमा भएकोले समर्थन गरेको बताए ।    ‘संघलाई हाँक्न अव युवा चाहिन्छ । युवाले मात्रै संघको पूरानो विरासत जोगाउछन्,’ उनी भन्छन्, ‘यो चुनावमा व्यवसायीले रोज्नुपर्ने टीम अर्जुन प्यानल हो ।’ बागलुङ बसपार्कमा जयालक्ष्मी सेनिटरी सञ्चालन गर्दै आएका उनले सँधै विहान अर्जुन प्यानलको पक्षमा मत माग्छन् ।    अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेल धेरै वर्ष उद्योग वाणिज्य संघमा रहेर आफ्नो जिम्मामा परेको काम विना विवाद सफल बनाएकोले उनैलाई नेतृत्वमा पु¥याउनुपर्ने प्रधानाङ्गको भनाई छ । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई शुभचिन्तक र मतदाताहरुले बाटोमै भेटेर जितको शुभकामना दिएका थिए ।    चिप्लेढुंगाका व्यवसायी नारायण पराजुली संघलाई हाँक्न सक्ने भरोसायोग्य उम्मेद्वार अर्जुन प्यानलमा भएको भन्दै मतदानका लागि मतदातासँग आग्रह गर्छन् । ‘संघको भविष्य अर्जुन प्यानलको काँधमा राम्रो देखेको छु । उनीहरुले चुनाव जित्दा आम व्यवसायीले सम्मानित महसुश गर्छन्,’ उनले भने ।    आगामी २ वर्षको कार्यकालका लागि भदौ २५ गते मतदान हुँदैछ । त्यसका लागि अर्जुन पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएर घरदैलामा व्यस्त छन् । उनीहरु मतदाताका समस्या सुन्ने र आफ्ना योजना सुनाउँदै मत मागिरहेका छन् । शुक्रबार विन्ध्यवासिनी, अर्चलबोट, बागलुङ बसपार्क, पस्र्याङ, मालेपाटन, जिरोकिलोमिटर, सिर्जनाचोक लगायत ठाउँमा घरदैलो भएको थियो ।    अध्यक्ष पोखरेलले व्यवसायीका यावत समस्या समाधानका लागि आफ्नो टीमले काम गर्ने प्रतिबद्धता जनाए । ‘बैंकको समस्या छ । कतिपय ठाउँमा व्यवसायीहरुले सजिलोसँग व्यवसाय गर्न पाएका छैनन्,’ उनले भने, ‘कोरोनाले धेरै व्यवसायीलाई विस्थापित बनायो । दुख परेको बेला संघलाई अभिभावक बनाउने र साथ दिने गरी मेरो टीमले काम गर्छ ।’    पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ,’ पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’    पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ ।    अर्जुन प्यानलको बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । पोखरा उद्योग वाणिज्य संघ पोखरा क्षेत्रकै सबैभन्दा पूरानो सामाजिक संस्था हो । भदौ २४ र २५ गते आगामी नेतृत्वका लागि महाधिवेसन हुँदै छ । त्यसका लागि शुक्रबार उम्मेद्वारले मनोनयन पत्र बुझिसकेका छन् । शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।   

पोखरा :  पोखरास्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एबीसीकर्मी एमबी आस्था मगर सम्मानित गरेको छ ।    संस्थाको एघारौं साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा पोखरामा रहेर एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरलाई एकता पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।    कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिकाका अध्यक्ष नवराज शर्मा लगायतले अबिर, खादा, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए ।    पत्रकार एमबी आस्थासँगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो ।   एकता सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्यमा महिला तर्फ बालमाया श्रेष्ठ, पुरुष तर्फ कुलप्रसाद अधिकारि, उत्कृष्ट कारोबार  कर्तामा महिला तर्फ धनमाया राना, पुरुष तर्फ छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजिब शर्मा, बिस्णु के सि अधिकारी, नारायणी अधिकारी सुबेदि, आस्था पौडेल  र बुद्ध कुमारी खड्कालाई सम्मान  गरेको छ ।    त्यस्तै उत्कृष्ट कर्मचारीहरुमा कर्जा बिभाग प्रमुख शर्मिला केसी, काउण्टर बिभाग प्रमुख अमृता रेगामी र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापा मगरलाई सम्मान गरेको थियो ।   एकता बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशनबाट  सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय संचालक समिति र लेखा समिति निर्बिरोध निर्बाचित गरेको छ । निर्बाचित समितिमा अध्यक्षमा सुदर्शन पौडेल, उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव राम बहादुर मगर, कोषाध्यक्ष  खुम थापा मगर रहेका छन् ।   सदस्यहरुमा ज्योति तामाङ, बिस्णु के सि अधिकारी , शक्ति बराल, बालुमाया पुन र प्रकाश के सि रहेका छन । त्यस्तैगरी लेखा समिति  संयोजकमा बिश्वनाथ ओझा र सदस्यहरुमा देब कुमारी गुरुङ र प्रकाश पुन रहेका छन ।    साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारीको माध्यामबाट सवैलाई जोड्ने काम भएकाले यसमा रहेका सम्पूर्ण शेयर सदस्यहरुले उत्पादनमुखी काममा सहकारीलाई जोड्नुपर्ने बताइन् ।   रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीहरु अब शहरमुखी नभइ गाउमुखी हुनुपर्ने बताउदै आफ्नो पालिकामा कुनैपनि सहकारीले कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा लगानी गर्न चाहेमा आफुले जग्गा उपलब्ध गराउने बताए ।    कार्यक्रम संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षता, उपाध्यक्ष नवराज सुवेदीको स्वागत र सचिव तिलकप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।   

काठमाडौँ  :  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।   यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अङ्क ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।   उहाँका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।      तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।     बोर्डका उपाध्यक्ष डा शर्माले भन्नुभयो, “यस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।    बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा शर्माले जानकारी दिनुभयो ।   बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

गलकोट :  प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउँछ ।    तीज मनाएर फर्किएकी चेलीको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ । हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रुपा गौतम हत्याकाण्डले झस्काइरहन्छ । हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि तीजसँगै हत्याकाण्ड बिर्सदै गएको छ ।    हरितालिका तीजको अघिल्लो दिन माइत गएर फर्कने क्रममा रुपाको दिउँसै सडकमा आठ वर्षअघि हत्या गरिएको थियो । काठेखोला गाउँपालिका– ६ दोबिल्लाकी ३६ वर्षीया रुपाको हत्या भएको यो तीजसँगै आठ वर्ष पूरा भएको छ । दिउँसै सदरमुकाम नजिकको बीच सडकमा हत्या गर्ने हत्यारा पत्ता नलाग्दा बागलुङका चेलीबेटीलाई तीजमा माइत जाँदा झस्काउनेसमेत गरेको छ ।    तीन वर्षअघि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानबाट हत्याराको नजिकै पुगेको दाबीसमेत गर्न भ्याएको थियो । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रहरीलाई नागरिकस्तरबाट हत्यारा कहिले पत्ता लाग्छ भनेर प्रश्न उठ्न छाडेको छैन । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएका हरेक प्रहरी प्रमुखले हत्यारा पत्ता लगाउन प्रयास गरिरहेको बताउने गरे पनि आठ वर्ष बित्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन ।       जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले आफू जिल्लामा आइसकेपछि रुपा हत्याका विषयमा सुक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताउनुभयो । “रुपा जस्तै कर्तव्य ज्यानसँग जोडिएको तीन वटा विषयमा अनुसन्धान सफल भइसकेको छ, अहिले पुराना मुद्दालाई फछ्र्योट गर्नेक्रम जारी छ, प्रहरी नायब उपरीक्षकको संयोजनमा अध्ययन गर्न लगाएको छु”, प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो, “अनुसन्धान जारी नै छ हत्यारा पत्ता नलाग्दासम्म यहाँ पुग्यौँ, त्यहाँ पुग्यो भन्न सकिन्न, म यहाँ रहँदासम्म निस्कर्षमा पुगिन्छ भन्नेमा आशावादी छु ।”    हत्याको मिसिलमै केही जटिलता देखिएकाले हत्यारा पत्ता लाग्न लामो समय लागेको उहाँको भनाइ छ । रुपाको २०७१ भदौ १२ गते तीजको दरखाने दिन माइतबाट घर फर्किने क्रममा बानपा–३ बोक्से खाल्डोस्थित मध्यपहाडी लोकमार्गमा दिउँसै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आए पनि पछिल्लो समय घटना क्रमशः विर्सदै गएको छ । आठ वर्षअघि दिनदाहाडै एउटा महिलाको विभत्स हत्या भएको घटनाको अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेको लज्जाको विषय भएको महिला अधिकारकर्मी शावित्रा खड्काले बताउनुभयो ।    “हत्या जे जसरी ग¥र्यो दोषीलाई तत्कालै पत्ता लगाउन सकिन्थ्यो, दिउँसै गरेको हत्याको दोषी त्यतिबेला उम्कन आउने अवस्था कसरी सिर्जना भयो भन्ने नै हो, प्रहरी प्रमुखले सुरुको अनुसन्धानलाई दोषी देखाउँदै आएको पाइएको छ”, अधिकारकर्मी खड्काले भन्नुभयो, “ढिलै भए पनि पीडितले न्याय पाउनुपर्दछ, अनुसन्धान जारी राख्न आवश्यक छ तर पछिल्लो समय तीज सकिएसँगै हत्याकाण्ड सेलाउने र पुनःअर्को तीजमा हत्याको विषय उठ्नु दुखद् हो ।” तीजको समयमा नारी माइत जानसमेत सोच्नुपर्ने अवस्थाको हत्याकाण्ड बाहिर नआएसम्म अन्त्य नहुने खड्काको भनाइ छ ।  –––