पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखरा । ३९ वर्षपछि पोखरामा फर्किएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा ३ हजार ६ सय ८५ महिलासहित ७ हजार ७ सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।    प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।   ३६ खेल खेलाइने  नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।    प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ । प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउनुहुन्छ ।   दश लाखको ‘रनिङ शिल्ड’ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब रु १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउनुहुन्छ ।   साठी करोड खर्च हुने अनुमान नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ ।   प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ । अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ ।   राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना तयार गरी खरिद प्रक्रियासमेत अघि बढिसकेको आयोजक समितिले जानकारी दिएको छ । नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा नेपालको परम्परागत छेलोलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता राष्ट्रिय प्रतियोगिताले थप हौसला प्रदान गर्ने सचिव रेग्मी बताउनुहुन्छ ।   निजी क्षेत्रका तर्फबाट पनि प्रतियोगितामा योगदान होस् भन्ने उद्देश्यले प्रायोजकका रूपमा उहाँहरूलाई समावेश गर्ने तयारी भइरहेको युुवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकार अत्यन्तै उत्साहित छन् । बजेटको सुनिश्चिता भइसकेको छ ।”   सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ । सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेलक्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पु¥याउन अनुरोध गरिने सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ ।   विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मीले बताउनुहुन्छ । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सहआयोजकका रूपमा अघि सारिएको छ । सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ ।   कोरोना सङ्क्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापनलगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ ।   राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो । उक्त प्रतियोगितामा दुई सय २३ महिलासहित एक हजार चार सय ४३ खेलाडीले १६ खेलमा दुई सय २६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।   विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा तीन सय ७० पदकका लागि पाँच सय ३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सात सय ३८ महिलासहित दुई हजार सात सय ७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।   बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत चार सय ६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो । उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार छ सय ६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो ।    काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो । प्रतियोगितामा छ सय ४६ पदक र १३ खेल विधा कायम गरिएको थियो ।   यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपिएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालिन जनमुक्ति सेनाका एक हजार तीन सय ९४ महिलासहित तीन हजार छ सय २८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ ।   यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार छ सय ६९ महिलासहित तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो ।   आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा दुई हजार चार सय नौ महिला खेलाडीसहित पाँच हजार तीन सय पाँच खेलाडीले ३५ खेल विधामार्फत एक हजार एक सय ५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धन गर्न थप योगदान पुर्याउने  विश्वास गरिएको छ । रासस 

  पोखरा । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।   ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ ।   सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।

तनहुँ  :   तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार यसवर्ष कृष्ण न्यौपाने र प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।    राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि न्यौपाने र कान्तिपुर टेलिभिजनका प्रतिनिधि राना मगरलाई ‘युवा पत्रकारिता पुरस्कार, २०७९’ बाट पुरस्कृत गर्न लागिएको हो ।   उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ बुधबार आयोजित कार्यक्रममा प्रदान गरिने तनहुँ समाज हङकङका तनहुँ संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । पत्रकारद्वय न्यौपाने र रानाले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ । पुरस्कृत हुन लाग्नुभएका न्यौपाने नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान सहसचिव र राना हालका सचिव हुनुहुन्छ ।    समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसक्नुभएको छ ।   समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।   समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।    समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय नहुँवासी आबद्ध छन् । समाजले हङकङमा विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । 

पोखरा  :  गुल्मीका बिरामीलाई मगर संसार ग्रुपले आर्थिक सहयोग हस्तातरण गरेको छ ।    मगर संसार ग्रुपले गुुल्मीका टि.बी. ( क्षयरोग)का बिरामी स्मृति पुलामी मगरलाई ७१ हजार ९ सय ६८ रुपैयाँ  आर्थिक सहयोग हस्तातरण गरेको हो ।    रोजगारीको शिलशिलामा विभिन्न देश तथा स्वदेशमा रहेका नेपालीहरुबाट मगर संसार ग्रुपले सहयोग अभियान संचालन गरेर संकलन भएको रकम बिरामी मगरलाई हस्तातरण गरेको ग्रुपका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए ।    बिरामी मगरको अहिले काठमाडौँमा उपचार भइरहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ८ वर्षिय स्मृति पुलामीको उपचारमा आर्थिक अभाव भएपछि ग्रुपले सहयोग अभियान संचालन गरेको थियो ।  ग्रुपले उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग अभियानसँगै विभिन्न अनलाइन प्रतियोगिताहरुसमेत संचालन गर्दै आएको छ । 

काठमाडौँ  :  राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।   १५ भदौसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले आज नतिजा सार्वजनिक नहुने स्पष्ट पारे। ‘टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक–दुई दिन तलमाथि हुन सक्छ। तर, आज हुँदैन,’ उनले भने । यसअघि बोर्डका एक सदस्यले आज  साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए। तर, आज हरितालिका तिजका कारण बोर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ।

मनाङ  :  हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन ।   विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो  तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन ।   हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन छ । उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा रहेको हो ।   समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले  गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।    “तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि जेसिबी ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ  तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट रु १० मा एक किलोग्राम किनेको सामान गाउँमा पुर्‍याउन फेरि रु १० भाडा तिर्नुपर्ने हुन्छ ।”   दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन ।   समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छवटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर सवारीसाधन  सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् ।    विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाखको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गत वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो ।   त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । रु नौ करोडको लागतमा निर्माण गरिने पुल  बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरुले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताउनुभयो ।    “कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,” उहाँले भन्नुभयो । तात्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् ।  ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर सवारी साधन सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् ।    पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयास पछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।    “लामो समयदेखि काम नगरी सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही अगाडि बढ्नेछौँ ।”   ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको स्थानमा पुल निर्माण नहुँदा गत हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन ।   

वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् ।   उनीहरूले कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राविधिक सङ्घले सो मृत्युपछि जारी अनुसन्धानको विषयलाई लिएर विरोध गरेका हुन् ।   ती सङ्गठनले विज्ञप्ति प्रकाशन गर्दै कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरेका छन् ।   वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नुभएका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष गायत्री कार्कीले माग गर्नुभयो । –––

नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।   राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ(कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए ।   प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए । ‘राष्ट्र बैंक्सँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात छ, भने केही छपाई भएर आउने क्रममा छ,’ उनले भने, ‘गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान छ, सोही अनुसार हामीले तयारी गरेका छौं ।’

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ को क्याम्पस  डायरेक्टरको रूपमा  सूरज राज केशरी चयन भएका छ्न्। ​ हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ  ।यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस पर्तियोगितालाइ थप नया आयाम दिने उनले बताए।   विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।   गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दैछन् ।