पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

  अन्नपूर्ण । पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडि भू–भागमा पाइने टुसा विशेषत असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ ।   विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्दछ । अन्नपूर्ण आधार शिविर र मर्दि आदि क्षेत्रको पदयात्रामा जानेलाई त्यहाँका स्थानीयले टुसाको तरकारी खुवाउने गर्दछन् । जिल्लाका अधिकांश टुसा पाइने स्थानहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत पर्दछन् । एक्यापले टुसा पाइने क्षेत्रको संरक्षणसँगै प्रत्येक याममा सर्वसाधारणलाई टुसा काट्नका साउन महिनाभर खुल्ला गर्ने गर्दछ । असार, साउन र भदौ टुसा पलाउने मुख्य याम भए पनि असार र भदौ नै टुसालाई बढ्न दिने प्रचलन छ ।      प्रत्येक वर्ष साउन महिनाभर टुसा काट्न खुलाउने र भदौ १ गतेबाट रोक्ने गरिएकोमा यस वर्ष पनि एक्यापले टुसा काट्न रोक लगाएको छ । जिल्लाको विभिन्न क्षेत्रबाट निर्यात हुने टुसा भदौ लागेसँगै रोक लगाइएको एक्याप,ल्वाङका पर्यटन सहायक शिव देवकोटाले जानकारी दिनुभयो । एक्यापले साउन १ गतेदेखि टुसा काट्नका लागि अनुमति दिएको थियो । टुसाका लागि प्रख्यात जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १, २, ८ र ९ बाट दुई/दुई लाखको दरले छ लाख टुसा बिक्री गर्न अनुमति दिएको उहाँले जानकारी दिनुभयो । योसँगै बजारमा टुसाको व्यापारमा कमी आउने उहाँको भनाइ थियो ।    साउनको अन्त्यसँगै टुसा काट्न बन्द गरिएको स्थानीय टुसा व्यावसायी राजकुमार गुरुङले जानकारी दिनुभयो । बजारमा माग बढेपनि एक्यापको नियममा रहेर बन्द गरेको उहाँको भनाइ थियो । यस वर्ष टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा टेवा पुगेको उहाँले सुनाउनुभयो । टुसा काट्ने र बोक्नेलगायत कार्यमा स्थानीयले नै रोजगारी पाएका छन्  ।    यस वर्षपनि आफूहरुले टुसा सङ्कलनका लागि अनुमति पाएपछि स्थानीय धेरैले रोजगारी पाएको व्यावसायी गुरुङले जानकारी दिनुभयो । यसरी सङ्कलन गरिएको टुसा बजारसम्म आउँदा रु ६० देखि ८० सम्म पर्ने गरेको छ । “कृषकहरुले सङ्कलन गरेको टुसा हामीले बजारमा रु ३५ देखि ५० प्रति मूठा दिन्छौं”, उहाँले भन्नुभयो, “बजारमा पुग्दा रु ८० सम्ममा बेचेको थाहा पाएको छु, जे भएपनि यसले राम्रै बजार पाएको छ ।”   आफूहरूले तोकेको समय सीमाभन्दा अघि÷पछि वा अन्य ठाउँबाट टुसा कसैले बिक्री वितरण गरे कारबाही हुने पर्यटन सहायक देवकोटाले जनकारी दिनुभयो । साउनको महिनामा माछा मासु कम खाने प्रचलन रहेको र टुसाको उत्पादन पनि बढी हुने भएकाले यस समयमा आफूहरूले टुसा बिक्रीका लागि समय खुला गरेको उहाँको भनाइ छ । “टुसा उम्रने उपयुक्त समय असार, साउन र भदौलाई मानिन्छ”, उहाँले भन्नुभयो, “असार र भदौको टुसालाई हुर्कन दिएर साउनमा उम्रने टुसालाई हामीले तरकारीका रुपमा प्रयोग गर्न बाटो खोल्ने गरेका छौं ।”    एक्यापले अनुमति नदिएको समयमा टुसाको चोरी निकासी गर्नेलाई कारबाही गरिने उहाँले बताउनुभयोे । टुसाको व्यापार व्यावसाय नगर्न सूचना जारी गरिसकेपछि यो समयमा कसैले अवैध बाटोबाट टुसाको व्यापार गरेको थाहा पाएमा नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागमा कारबाहीका लागि पठाइने छ ।    पर्यावरण जोगाउन पनि निगालोको संरक्षण गर्नु आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिनुभयो । कलिलो टुसा जङ्गली जनावर भालुको खाना भएकाले पनि अझै महत्व रहेको छ ।  यसैगरी निगालोको चोयाँबाट बन्ने डोको, भकारी, डालोलगायत सामाग्री स्थानीयको आयस्रोतको बाटो भएकाले पनि संरक्षणमा टुसा संरक्षणमा जोड दिइएको गुरुङले जानकारी दिनुभयो ।    पछिल्लो समयमा कलिलो टुसा तरकारीका रुपमा परिचित भएकाले चोरी निकासी बढ्न थालेसँगै यसको व्यवस्थापनका लागि एक्यापले वैधरुपमै रकम बोलकबोलका आधारमा टुसाको व्यापार गर्न दिने गर्छ । हरेक वर्ष कास्कीको माछापुच्छ«े क्षेत्रमा छ लाख टुसा बिक्री हुने गुरुङले जानकारी दिनुभयो । “हामीले वर्षमा एउटा महिना टुसा काट्न स्थानीयका लागि बैधानिकता दिंदै आएका छौं”, उहाँले भन्नुभयो, “साढे एक लाखदेखि साढे दुई लाखसम्म बोलकबोल राख्छौं, त्यसमा जसले सबैभन्दा बढि रकम तिर्छ उसैले एक महिनासम्म टुसा काट्न पाउँछ ।”    अनुमति पाएको व्याक्तिले स्थानीय सरकारलाई कर तिरेपछि टुसा सङ्कलनका लागि एक्यापले अनुमति दिन्छ । बोलकबोलबाट आएको रकम २० प्रतिशत वडा कार्यालयलाई दिने गर्छ । ७५ प्रतिशत रकम वडा अन्तर्गतनै बाटो, खानेपानीलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ । भने बाँकी ५ प्रतिशत रकम संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ । त्यो रकम एक्याप क्षेत्र भित्र जनावरका अन्य कारण हुने घटना दुर्घटनामा राहत दिने गुरुङले जानकारी दिनुभयो ।   कास्कीको ल्वाङ, घलेल, भुर्जुङखोला, सिक्लेस, ताङतिङ, याङजाकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्लेलगायत क्षेत्रबाट टुसा निकासी हुन्छ ।  देशका विभिन्न स्थानबाट पोखरा आउने जो कोहीले यहाँको कोशेलीका रुपमा टुसा किनेर जान थालेसँगै यसको माग वर्षेनी बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ।   सोमबार बैठक गरेर परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले यही भदौ १२ गते परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो।   भदौ १२ देखि परिषदले देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन हुन दिएको थिएन। परिषदले बन्दका कार्यक्रम स्थगित गरेपछि आजदेखि विद्यालयमा पुनस् पढाइ सञ्चालन हुनेछन्।   विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन्।

लेखनाथ : रोजगारीकै लागि खाडी मुलुकमा नपुगेका होइनन् उनी । परिवार पाल्नकै लागि दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । उनीसँग बास बाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन । चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भयो । परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो ।    चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन् । आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए । आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनीमा आयो । पोखरा–२६ लेखनाथ स्थित सिलिङ्गे निवासी ४२ वर्षीय प्रकाश विश्वकर्मा बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन् उनले पोखरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे । तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी तामाका भाँडा बनाउँदा बनाउँदै विदेश हानिए ।    दुई कक्षासम्म अध्ययन गरेका प्रकाशले पछिल्ला दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने काम मात्र भएपछि उनले सोचविचार गरे ‘सीप भएको मानिस किन बिदेशमा बसिराख्नु यति पैसा त नेपालमै कमाइन्छ’ । परिवारसँग पनि सँगै बस्न पाइने भन्दै नेपाल फर्के उनी ।   पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन् । मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका छन् ।    “जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ”, प्रकाशले राससलाई भने, “हाम्रा बाउ बाजेले पनि यही पेशा गरे अहिलेका युवा सबैले छाडे ।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिन्छ र भविष्य पनि छ भन्दै दत्तचित्त भएर आरन व्यवसायमा लागेका छन् ।     उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ । उनको काममा उनकी पत्नीले पनि सघाउँछिन् । छोरा कक्षा ११ र छोरी कक्षा सातमा पढ्दै छन् । “मैले कालिका चोकमा आरन व्यवसाय सुरु गरेको छु, वरपर आरन व्यवसाय नभएकै कारण दिनहुँ आरनमा ग्राहकको भीड लाग्छ”, प्रकाशले भने ।    पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन् । प्रकाशले भने विदेशमा प्राप्त हुने पारिश्रमिक यहाँ सजिलै उठेको छ । “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जिनतेन परिवार  पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन् कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर फलामको काम गरेको छु”, प्रकाशले भने । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना  बगाएमा देशको विकास हुने धारणा उनको छ ।    “आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको छ, व्यवसाय  गर्दा सरकारी अनुदान पाइन्छ भनिन्छ तर मैले कतैबाट अनुदान सहयोग प्राप्त गर्न सकिन । आरन व्यवसायलाई आधुनिक बनाउनका लागि केही पैसा आवश्यक पर्छ त्यो पैसा नभएर व्यवसाय विस्तार गर्न पाएको छैन”, प्रकाशले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन् तर सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन् ।”   प्रकाशलाई व्यवसाय विस्तारका लागि पैसा चाहिएको छ, तर उनले कहीँ कतैबाट पैसा पाएका छैनन् । उले भने, “नेताहरु चुनावका बेला भोट माग्न घर खोजी–खोजी आउँछन् तर अनुदान र सहयोग गर्ने बेलामा वास्तै गर्दैनन् । हामी जस्ता दुखी गरिबलाई हेर्ने कुनै सरकार भएन”, प्रकाशको गुनासो छ ।

तनहुँ  :   करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।    लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो।, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ । यो कार्य जोखिम छ ।”    सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो ।        तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ । 

काठमाडौँ  :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।    साथै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं  सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।   खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।   प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको छ । साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनीे कामना गर्नुभएको छ । 

काठमाडौँ  :   राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।   हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नारी सामथ्र्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभएको छ ।    “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।    उहाँले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गर्नुभएको छ । “हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ”, उहाँको सन्देशमा भनिएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ  ।”   आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।    तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।”

गण्डकी  :    बन्दी जीवन बिताइरहेकालाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ । १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालयले आज बागलुङ कारागारमा पुगी पुस्तक प्रदान गरेको हो ।   साहित्य, इतिहास, दर्शनलगायत विधाका २६ थान पुस्तक कारागारलाई हस्तान्तरण गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । रु आठ हजार मूल्य बराबरका ती पुस्तक कारागारमा रहेको पुस्तकालयमा रहने गरी प्रदान गरिएको हो ।   पुस्तक ग्रहण गर्दै कारागार प्रमुख डिलबहादुर केसीले कैदीबन्दीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति पुस्तकालयको प्रशंसा गर्नुभयो । “अनेक कारणले कानूनको परिबन्धमा परेर कैदीजीवन बिताइरहेकालाई सत्विचार लिन, ज्ञानको दायरा बढाउन पुस्तकले मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।   कारागारलाई पाठशाला बनाउने हेतुले गत महिना मात्र कारागारभित्रै पुस्तकालय स्थापना गरिएको प्रमुख केसीले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउण्डेशनको सहयोगमा उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।   विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले साताव्यापी रुपमा दिवस मनाउने सिलसिलामा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उपहार स्वरुप दिइएका पुस्तक सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।   उक्त पुस्तकालयले विसं २०२० तिर घुम्ती पुस्तकालय सञ्चालन गरी कारागारमा रहेका केदीबन्दीसम्म पुस्तक पु¥याउने गथ्र्यो । त्यसताका गृहणीका लागिसमेत उपयोगी पुस्तक घरघरै पु¥याउने गरिएको पुस्तकालयका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले स्मरण गर्नुभयो । अहिले भने घुम्ती पुस्तकालय सञ्चालनमा छैन ।   राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । प्रतिकूल स्थितिमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।    स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।    पुस्तकालयले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । बिहीबादेखि साताव्यापी कार्यक्रमसहित दिवस मनाउन सुरु गरिएको पुस्तकालयले जनाएको छ । शुक्रबार पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।    शनिबार साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । आज कारागारलाई पुस्तक हस्तान्तरणसँगै पुस्तकालय परिसर सरसफाइ गरिएको जनाइएको छ । मङ्गलबार पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी हुनेछ ।   बुधबार दिवसको मूल समारोह आयोजना गरिएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित दिवस मनाइँदैछ । भाषा, वाङ्मयप्रेमीले पुस्तकालय दिवसलाई महत्वका साथ लिन्छन् । RSS

  काठमाडौँ :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।   निर्वाचनमा आगामी असाज २ गते सामानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ ।

तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आज आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शङ्कर गुरुङ रहेको प्रहरीले जनाएको छ ।    घरमै सुतिरहेको बेला आज चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । निर्माणाधीन झ्याल ढोका नभएको घरमा सुतेका बेला चितुवा छिरेको थियो । सुरुमा छोरालाई आक्रमण गरेको र चितुवालाई लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो । घाइते दुवै दमौली अस्पतालमा उपचार पश्चात् घर फर्किएको अस्पतालले जनाएको छ ।   जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ । बस्ती छेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्नेगरेको छ । जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतङ्क छ । गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए । उनको चितवनमा उपचार भइरहेको छ । ती बालकको सफल शल्यक्रिया गरिएको छ ।    मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।   चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्न वन कार्यालयले अनुरोध गरेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।