पोखरा: नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यका लागि उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरि घोषणा गरेका हुन् । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उनले भने, ‘पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ ।’ उनले इमान्दार, निष्ठावान, त्यागी नेता तथा कार्यकर्ताको मनोबल उठाउन र राजनीति व्यापार नभई समाजसेवा भएको स्थापित गर्न पनि आफूले उम्मेद्वारी प्रस्तुत गरेको स्पष्ट पारे । सिग्देलको राजनैतिक यात्रा पोखरा १३ निवासी सिग्देल २०५५ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय रहेका उनी हाल नेपाली काँग्रेस कास्कीको सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । २०५५ सालमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको प्रचारप्रसार उपसमितिको सदस्य हुँदै आफुलाई निरन्तर रुपमा क्रियाशील राख्दै आएका छन् । २०५७ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सदस्य र २०६१ मा स्ववियु सभापतिको उम्मेद्वार बने । नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुँदै सभापति बने । २०६७ सालमा नेपाल विद्यार्थीको राजनीतिबाट विश्राम लिएर काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । १२ औं महाधिवेशनमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको क्षेत्रीय सदस्य, १३ औं महाधिवेशनमा नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य निर्वाचित भए । उनले कास्की काँग्रेसले दिएको जिम्मेवारी अनुसार, करिब तीन वर्ष पार्टीको प्रवक्ताका रुपमा पनि काम गरिसकेका छन् । १४ औं महाधिवेशनले जिल्लाको सहसचिव पदमा निर्वाचित भएका हुन् ।
पाल्पा: हिन्दुनारीहरुको चार्ड हरितालिका तीजको अवसरमा बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय रहदै आएको माउण्ट एभरेष्ट युवा क्लबले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शहिद केवल गाहामगर ‘कुँवेर’ स्मृति खेलमैदानमा आगामी १५ गते ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित ‘बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिने कार्यक्रम संयोजक धिरज गाहामगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु १५ हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेता टोलीले नगद रु १० हजारसहित पदक तथा प्रमाणपत्र हात पार्नेछ । त्यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गाहामगरले बताए । उनले उक्त क्लब खेलकुदसँगै सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताए । ‘हामीले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्छौ, उनले भने, ‘धेरै ठुलो उपाधिराशीको प्रतियोगिता नभएपनि गाउँपालिका भित्रका खेलाडीहरुबीचको सम्बन्ध सुमधुर बनाउने हाम्रो लक्ष्य हो ।’ उनले उक्त प्रतियोगिता स्थानीय स्तरका खेलाडीहरुका लागि खेलकौशल प्रर्दशन गर्ने उपयुक्त आधार हुने बताए । ‘हाम्रो प्रतियोगितामा स्तरीय खेलाडीहरुले सहभागिता जनाउन पाउँदैनन्, संयोजक गाहामगरले भने, ‘विशेषगरी स्थानीय स्तरको खेलाडी भाइहरुलाई आफ्नो खेल प्रर्दशन गर्ने एउटा वातावरण दिएका हौं । पछि गएर गाउँपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुन पनि सक्छ । त्यसैले यस प्रतियोगिता पुरस्कार राशीमा कमदेखिएपनि खेलाडी उत्पादनको हिसाबले महत्वपूर्ण ठानेका छौं ।’ क्लबका अध्यक्ष दान बहादुर रानामगरका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क १ हजार ५ सय निर्धारण गरिएको छ । सो क्लबले हरेक वर्ष विजयादशमीको अवसरमा पूर्णिमाको दिन आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्दै आएको छ ।
पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् । पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् । त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रमिला अधिकारी र अन्शु थापा रहेका छन् । महिलातर्फ वैकल्पिक खेलाडीमा रमिला नेपाली, विपना नेपाली, अनिशा हर्मेल र सलिना गुरुङ रहेका छन् । छनोट हुन सफल खेलाडीहरुले भदौ १६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जनाएकी छन् । कास्कीमा छनोट प्रक्रिया यहि १४ गते सम्पन्न हुनेछ । यति बेला विभिन्न खेलकुदको छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ्ग व्यवस्थापनका विषय उठाउनु भयो । पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाको भनाई रहेको थियो । उहाले आवश्यकता हेरेर सडक पार्किङ्लाई पाला सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उहाको भनाई रहेको छ । विशालवजार एरियाका व्यवसायीहरुले पवन प्रजापतीको अनुभव र क्षमताका आधारमा अहिलेको निर्वाचन प्रजापती पक्षमा आएमा व्यवसायीक हित हुने अपेक्षा पनि राखेका छन् । उनिहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा समेत राखे अध्क्षय प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्द्ध भन्ने विषयमा छलफल समेत गरेको छ । प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दावी समेत गर्नु भयो । प्रजापतिले यही भाद्र २४ र २५ गते हुने संघको पोउवा संघमा विगत लामो समय देखि सदस्य हुदै पदाधीकारीमा समेत रहेर काम गरीरनु भएको छ । घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले मतदाताहरुको प्रतिक्रिया सकारात्मक रहेको बताउनु भयो ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउन नव आदर्शबाट हुने सहयोगमा कुनै कन्ज्यूसाई नगर्ने समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउन हामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगका लागि भन्नेछौं ।’ समाजका पूर्वअध्यक्ष नविन भण्डारीले आफूहरुको आयोजनामा मेला भईरहेकाले सँगसँगै हिड्न नसकेपनि नैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमा आफूहरुले साथ दिएजस्तै जितिसकेपछि पनि लामाचौरका उद्योगी व्यावसायीहरुको समस्यामा साथै रहन उनको आग्रह थियो । लामाचौर क्षेत्रमा ट्रान्सपोर्टको समस्या रहेको उनले सनाए । साथै पछि मनोनीत सदस्य राख्ने बेलमा भेग हेरेर राख्न उनको सुझाव थियो । लामाचौर र बाटुलेचौरको घरदैलो कार्यक्रम सकेर टोली पोखरा ट्रेड मल पुगेको थियो । मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले पोखरा उद्योग वाणिज्य संघको समस्या सम्बन्धीत ठाउँमा निर्धक्क राख्न सक्ने खुबी भएका पोखरेल प्यानलमा रहेको बताए । यसले गर्दा उद्योगी व्यावसायीको समस्या छिटो समाधान हुन सक्ने उनको आंकलन थियो । नयाँ र पुराना पुस्तालाई समेट्दै जानस सक्ने खुवी पनि पोखरेल प्यानलमा देखेको उनले बताए । दैनिक जीवनमा आइपर्ने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने गरी कर प्रणालीमा सुधार गर्दै संस्था चलाउनुपर्ने उनको सुझाव थियो । पोखरा ट्रेड मलको चुनावी कार्यक्रम सकेर पोखरेलको प्यानल सिमपानी, हरिचोक, ट्याक्सीचोक, हनुमान गल्लि पुगेको थियो । सबै ठाउँका मतदाताले युवाको नेतृत्वमा सबै उमेर समुहलाई समेटेको परिपक्व टिम भएकाले जित्ने निश्चित रहेको प्रतिक्रिया दिएका थिए । सभेन स्टार स्काई इन्टरनेशल प्रालिका निर्देशक पोखरेलको टिम सक्षम रहेको प्रतिक्रिया दिए । ‘यो टिममा नयाँ तथा पुराना सक्षम व्याक्तिहरु छन्,’ उनले भने, ‘सबै भोटका कुरा हुन् तर सक्षम मतदाताहरुले सक्षम व्याक्तिहरुलाई रोज्छन भन्नेमा ढुक्क छु ।’
पोखरा । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ । गण्डकी प्रदेशले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको हो । गण्डकीले आर्मीमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हार बावजुत आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीले २०–२३ को स्थिति उल्ट्याएर लगातार ५ अंक जोड्दै जित निकाल्न सफल भएको थियो । निर्णायक तथा पाँचौ सेटमा गण्डकीले एक समय ८–४ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन गर्दा खेल रोमाञ्चक बन्न पुग्दा तीन पटकको सेट प्वाइन्टमा जित निकाल्न सफल भयो । गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित भए । आर्मी र गण्डकीबीचको खेल शनिबार नै हुनुपर्ने भएपनि वर्षाले प्रभावित बन्दा शनिबार र आइतबार एक–एक सेटपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो । शनिबार आर्मीले ३१–२९ को सेटमा जित निकाल्दा आइतबार गण्डकीले २५–१९ को सहज जित निकालेको थियो ।
पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ । आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायीरुपमा निर्मित भवनबाट सेवा दिइरहेको छ । आश्रममा अहिले ५० सहयोगापेक्षी बेसहारा मानिसलाई राखिएको आश्रमका संयोजनक विपना तामाङले बताउनुभयो । उहाँले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाउनाका साथै आफ्नै भवन तीव्र गतिमा बनाइरहेको बताउनुभयो । विसं २०७३ मा बागलुङमा स्थापना भएको उक्त आश्रमले गतवर्षदेखि वडा नं ४स्थित निरयघाटमा रु १२ करोडको लागतमा भवन निर्माण सुरु गरेको हो । आश्रमको अहिले ‘बि’ ब्लक भवनको दुई तला र ‘सि’ ब्लक भवनको एक तला ढलान गरिएको छ । आश्रमले आर्थिक वर्ष २०७८÷७९मा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाबाट रु ९८ लाख ४६ हजार सङ्कलन गरेर भवन निर्माणमा लगाएको थियो। भवन निर्माणमा हालसम्म रु एक करोड ६१ लाख खर्च भएकामा गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास कार्यालयबाट रु ४६ लाख त्रिसठ्ठी हजार, नगरपालिकाबाट रु आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाबाट रु १० लाख ५३ हजार, रघुगङ्गा गाउँपालिकाबाट रु एक लाख ९४ हजार, जलजला गाउँपालिकाबाट रु छ लाख ६४ हजार र मानव सेवा आश्रम हेटौँडा शाखाबाट रु १० लाख सहयोग प्राप्त भएको आश्रम निर्माण समितिका अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो । भवन निर्माणकै लागि गत आर्थिक वर्षमा रु १२ लाख १७ हजार विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको थियो । अध्यक्ष खड्काका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु ५० लाखसहित विभिन्न पालिकाबाट सङ्कलित रु ७३ लाखको लागतमा ‘बी’ ब्लकको पहिलो तला निर्माण भएको थियो । “हामी भवन निर्माणको सुरुआतीमै छौँ । भवन लागत र डिजाइन हेर्ने हो भने निकै खर्चिलो छ, हालसम्म जम्मा एक करोड ६१ लाख मात्रै खर्च भएको छ, चालु आर्थिक वर्षमासमेत गण्डकी प्रदेश सरकारका साथै बागलुङ, पर्वत र म्याग्दीका विभिन्न पालिकाबाट झण्डै रु एक करोड रकम विनियोजन भएकाले भवनको ‘ए’ ब्लक बनाउने लक्ष्य लिएका छौँ” खड्काले भन्नुभयो “चालु आर्थिक वर्षमा भवनले एउटा आकार लिनेछ,, हामीले ‘बी’ ब्लकलाई तीन तला र ए र सी ब्लकलाई दुई तला ‘सी’ आकारमा निर्माण गरिरहेका छौँ, सबैको सहयोगमा आश्रमले सुविधा सम्पन्न भवन, तालिम कक्ष, योगा कक्ष, नर्सिङ सेन्टर, पार्किङ तथा प्राङ्गण निर्माण गर्नेछ ।” चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिकालगायत पालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । एक वर्षपछि आश्रमको केही भाग निर्माण गरेर आफ्नै भवनबाट सेवा दिनेछ भने भवन निर्माण केही वर्षमा सम्पन्न हुनेछ ।
नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा ओमराज आले चयन हुनुभएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आज सम्पन्न बैठकले आलेलाई जिल्ला संयोजकमा चयन गरेको हो । आले यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । यसअघिका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने पार्टीको वैकल्पिक केन्द्रीय सदस्य चयन भएपछि आलेलाई संयोजकको जिम्मेवारी दिइएको हो । बैठकले निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीका संयोजक र इन्चार्जहरु पनि तोकेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन हुनुभएको छ । सो पार्टीको आज सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका अध्यक्ष शङ्करनारायण श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य चयन भएपछि सचिव रहेका कार्की अध्यक्षमा पदोन्नति हुनुभएको हो । पाटीको केन्द्रीय सर्कुलर अनुसार केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार जिल्ला श्रेष्ठ जिल्ला कमिटीबाट बिदा हुनुभएको हो । बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गाकुमार श्रेष्ठ, उपसचिवमा ऋषीराम पन्त, गजिन्द्रराज पन्थ र नरबहादुर रानाभाटसहित एक सय १५ सदस्यीय जिल्ला कमिटी पुनःगठन गरेको छ ।
बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका जनताकहाँ’ भन्ने मूल नाराका साथ नगरपालिकाले सय दिनमा एक हजार ५०० जनालाई गाउँमै पुगेर सेवा दिएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पुर्याउँदा जनतामा उत्साह छाएको हो । बागलुङ नगरपालिकाले सय दिनमा ठूला आयोजनाको समन्वय, फोहर व्यवस्थापन, पार्किङ व्यवस्थापनका लागि पहलदेखि नगरपालिकाका मुख्य सेवा गाउँमै पुर्याउन सफल भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार निर्वाचनका बेला कल्पना गरेका योजना सय दिनभित्रै कार्यान्वयनको चरणमा पुगेकाले जनतामा सकारात्मक प्रभाव पार्न थालिएको बताउनुभयो । नगरपालिकाले सय दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको उपलब्धि ३२ बुदाँमा उल्लेख गरेको छ । सो अवधिमा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गरेसँगै नगरपालिकाको सदरमुकाम केन्द्रित सेवा गाउँमा पुर्याएको विषयलाई बढी जोड दिएको जनाइएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरमार्फत नगरका दुर्गम वडा रायडाँडा, भकुण्डे, अमलाचौर, पैयूँपाटा र नारायणस्थानमा नगरका पाँच मुख्य सेवा प्रदान गरिसकेको र अन्य वडामा समेत लगत्तै सेवा दिने जनाएको छ । नगरपालिकाले असारमा मात्रै विकासे योजना सम्पन्न गर्ने परिपाटीको अन्त्यका लागि भदौमै योजना सम्झौता थालेको छ । नगरपालिकाले पहिलो चरणमा बागलुङ नगरपालिका–११ रायडाँडा र १० नम्बर वडाको भुकण्डेमा घुम्ती सेवा शिविर आयोजना गरेको थियो । यस्तै दोस्रो चरणमा नगरपालिकाको १२, १३ र १४ वडामा सो सेवा पुर्याइएको छ । दुई चरणमा पाँच वटा वडामा दिएको स्वास्थ्य शिविर, योजना सम्झौता, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण र वित्तीय साक्षरता प्रदानबाट एक हजार ५०० सेवाग्राही लाभान्वित भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । “जनताको थुप्रै अपेक्षाकाबीच नगरपालिकाले सय दिनमा केही सकरात्मक प्रभाव छोड्न सफल भएको छ, नागरिकलाई योजना सम्झौता गर्न, बैंक खाता खोल्न समस्या थियो, हामीले एक मुष्ठ सेवा सबै वडामा लगेका छौँ १४ मध्ये ५ वडामा सम्पन्नसमेत गरिसकेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब जनता नगरपालिकाकोमा धाउने हैन नगरपालिका जनताकोमा धाउने गरी कामको थालनी गरेका छौँ ।” अब नगरपालिकाको सामान्य सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गरी वडाबाटै धेरै सेवा लिनेगरी काम थालनी भइरहेको छ । बागलुङ नगरपालिका–११ रायडाँडास्थित दुर्गा सापकोटाको बुबाआमा र दुई भाइले पहिलो पटक घुम्ती शिवरमा अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको थियो । नगरपालिकाले उहाँ जस्तै एक सय ६७ जनालाई अपाङ्गता परिचयपत्र वितरण र नवीकरण गरेको छ । अपाङ्गता परिचयपत्र वडामै पहिलोपटक पाउँदा खुसी लागेको मात्रै छैन सापकोटालाई बल्ल नजिकको सरकार भएको आभास भएको छ । नगरपालिकाले हालसम्म वडामै पुगेर ९३ योजना सम्झौता, आठ सय ६९ जनाको स्वास्थ्य परीक्षण, २३ जनाको यौन रोग, दुई सय ७८ जनाको कोरोना परीक्षण, तीन सय ५१ जनाको आँखा परीक्षण, १२ जनाको मलेरिया परीक्षण र ११ वटा टोल विकास संस्थासमेत गठन गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । नगरपालिकाले कानुन बमोजिम नगरपालिकाको मुख्य जिम्मेवारीलाई पाँच वटा विषयगत समिति गठन गरी कार्य जिम्मेवारी बाँडफाँट गरिएका, १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडातहलाई जिम्मेवार बनाइएको, नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले उपलब्धि सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्यसम्पादन गर्ने पद्धतिको सुरुआत गरिएको, नगरको वास्तविक अवस्थाको चित्रणसहितको ३८ बुँदे श्वेतपत्र सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ । यस्तै सय दिने उपलव्धि अनुसार स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हासिल गर्ने उद्देश्यका साथ २०७९ मङ्सिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरेको, बागलुङ बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापनमा समन्वय थालेको, मालढुङ्गा देखि गणेशथान घुम्तीसम्म सोलार बत्ती जडान, पाँच हजार दुई सय ३५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । विद्युतीय प्रणाली बाट भुक्तानी दिन थालिएको, बागलुङ नगरपालिकाको व्यवस्थित कार्यालय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारी र विभिन्न निकायसँग औपचारिक अनौपचारिक छलफल एवं बैठक गरी समस्या सामाधानको लागि पहल गरिएको, दावगरा बसपार्क सञ्चालन सम्बन्धमा देखिएका समस्या समाधान गरी सकेसम्म छिटो बसपार्क सञ्चालनका गर्न कार्यदल गठन भएको, सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न थालिएको लगायतका उपलब्धि हासिल गरेको जनाएको छ ।

