गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोइकाले सघाउने

पाेखरा | भदौ १७, २०७९

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोइकाले सघाउने

 

पोखरा । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने  भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देैशक सङहुन घोले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।  

 

प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । 

 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिनुभयो । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उहाँले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । 

 

सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।” सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उहाँले बताउनुभयो ।

 

प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताउनुभयो । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उहाँको भनाइ थियो । 

 

यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उहाँले जानकारी दिनुभयो । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उहाँको छ । 

 

परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराउनुभएको थियो । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । 

 

प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ । 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्