पोखरा: पोखरामा आज बिहान दुध बाेकेकाे जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट बागलुङ बसपार्क पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बर बोलेरो जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका छन् । कास्की प्रहरीका अनुसार उनलाई दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । जीपमा सवार चन्द्रकला थापा र हरिकला थापा सामान्य घाइते भएका छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति वितरणमा यस कार्यालयमा कार्यरत प्रहरीलाई कारवाही गरेको देखि विभिन्न सफल अनुसन्धानमा समेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिकदेखि पुष मसान्तसम्म ५ जना सहायक हवल्दारसहित ८ जना प्रहरी कारवाहीमा परेको डिएसपी एवम् कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार कास्की प्रहरीमा कार्यरत खराव आचारण व्यवहारका कारण ५ जना प्रहरी सहायक हवल्दार, १ जना प्रहरी हवल्दार, १ जना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी निरीक्षकलाई कारवाही गरिएको हो । यस्तै कास्की प्रहरीले एकजना प्रहरी नायव उपरिक्षकलाई पुरस्कृत समेत गरेको छ । कास्की प्रहरीले बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोग सम्बन्धी ३५ जना प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । भने, भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समेत दिएको छ । कास्की प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत २ सय ३४ वटा विभिन्न सचेतना मूलक कार्यक्रमसेत सञ्चालन गरेको छ । ट्राफिक जनचेतना जगाउन कास्की प्रहरीले सर्वसाधारणदेखि सवारी चालक तथा व्यवसायीहरुलाई विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । जसमा कास्की प्रहरीले ५० जना विद्यार्थीहरु, ७३ हजार सवारी चालक तथा व्यवसायीहरु, ४ हजार ८ सय ५५ जना सर्वसाधारण नागरिक र २१ हजार ६सय ७७ जना यात्रु तथा चालकहरुलाई ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ । महासंघको प्रथम अधिवेशन माघ २० गते पोखरामा हुन लागेको अध्यक्ष संजीवबहादुर कोइरालाले जानकारी दिए । उनका अनुसार अधिवेशनका उद्रघाटन नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम तय बताए । यस्तै अधिवेशनमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडासहितका नेताहरुको उपस्थिति रहने उनले बताए । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पुर्ण पालिकाबाट करिव चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।
पोखरा: पोखरा महानगरपालिका–३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ । पोखरा महानगरपालिका–३० का वडासदस्य मानन्धरको निधन भएको नगरप्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । स्वर्गीय वडासदस्य मानन्धर नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ३० को वडासदस्यमा निर्वाचित भएका थिए ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुङ्गे पुलमा यूनाइटेड क्लबसँग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भई रहँदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरी झोलुङ्गे पुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे । महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथि झोलुङ्गे पुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लबसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ रहेको थियो । पोखरालाई नयाँवर्ष अगाडि नै पर्यटकीय राजधानी घोषणा गर्ने बताउदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताए । पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरु फरक फरक उद्देश्यले अगाडि वढिरहदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि वढिरहेको र महानगरभित्र बन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिए । त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर र सेती नदिको बिच भागमा मेला महोत्सव भइरहदा यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भएकोे बताउदै आगामी महोत्सवहरुमा रुपा गाँउपालिकामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरुलाई बिक्री वितरणका लागि गाँउपालिका संग समन्वय गर्न उनले आग्रह समेत गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाहरुद्वारा सञ्चालित यूनाइटेड क्लवले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको वताउदै सामाजिक सद्भाव कायम राख्न सम्पुर्ण एकजुट हुन आवश्यक रहेको बताए । त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाई चिनाउने काम गरेको बताउदै क्लबले अगाडि सारेको सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए । पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहदा यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थप सौन्दर्यता थपेको बताउदै पोखरा महोत्सवमा दर्शक आयो, कति कमाइ भयो भन्दापनि महोत्सवको आयोजना गरि क्लबले समाजिक काम मार्फत जनतामा के सन्देश दियो भन्ने कुरा मुख्य रहेको बताए । अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा आफ्नो विद्यालयमा सभाहलको अभाव रहेको बताउदै सभाहल निर्माणका लागि आग्रह गरे । महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरुकै कारण बाह्रौं संस्करणको पोखरा महोत्सव सफलतापूर्ण सम्पन्न भएको बताए । यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउदै बाह्रौं पोखरा महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ संस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्याम र दर्शकहरुलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकार प्रजापति पराजुली, शंकर बिरही गुरुङ, जिवन दाहाल, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डतर्फ जिबबको प्रस्तुतीमा युवाहरु झुमेका थिए । बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“मा ३ सय १ जनाले १२ औं पोखरा महोत्सवमा राखिएको कलाकार प्राज्ञ नगेन सिहंको कलाकृतिहरू अवलोकन गरेका छन । महोत्सवमा १२ करोड बरावरको कारोबार भएको र २ लाख वढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
पोखरा: पोखरा बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । ‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’ च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ ।
पोखरा: सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन–तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् । आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् । प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका– २३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै पोखरा– ३० खुदीका वसन्त पौडेल द्वितीय र पोखरा– २७ का विक्रम अधिकारी तृतीय बने । पोखरा– ३१ की सृजना लामिछाने महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनेकी थिइन् । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर सिध्याएका थिए । विजयीलाई मह प्रदान गरी पुरस्कृत गरिएको थियो । प्रथम हुनेलाई एक केजी महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उहाँले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए । उनले मह प्रतिकिलोग्राम एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए ।
पोखरा: अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो । तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए । अमरसिंह खेल मैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा कारोवार समेत बढिरहेको छ । महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबीच महोत्सवको समापन समारोह दिनको १ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

