गण्डकी: पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ । अधिकांश बास्कोटवासी खेतीपातीका लागि चापाकोटमा आउने र चापाकोटवासी बास्कोटतिर जाने भएकाले पुलको अभावमा वर्षौंदेखि समस्या झेल्दै आएको स्थानीय मानबहादुर जिसीले बताए। “हर्पन खोलामाथि नजिकै पुल नहुँदा बास्कोटबाट चापाकोट आवतजावत गर्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ”, उनले भने, “यहाँबाट माथि वाम्दी पुगेर मात्रै पुल तर्न पाइन्छ भने तल पामे बजार नै निस्कनुपर्छ ।” पुलको अभावमा वर्षौंदेखि आफूहरू समस्यामा परिरहेको उनले बताए । हिउँदका समयमा बाँसको फड्के हालेर गुजारा गर्ने गरिए पनि वर्षातमा खेती गर्न जानका लागि त्यो पनि सम्भव नरहेको स्थानीयवासी बताउँछन् । बास्कोट तथा चापाकोट यस क्षेत्रका पुराना बस्ती हुन् । नेपालका बाइसेचौबिसे राजाका पालामा कास्कीकोटमा राज्य गरी बस्ने राजाहरू सिकार खेल्न आउँदा यही बास बस्ने भएकाले त्यसै समयदेखि यस ठाउँको नाम बास्कोट रहन गएको हो । हर्पन खोलाको कटानसँगै बास्कोट माथिबाट आउने ढन्डुरा खहरे खोलाका कारण प्रत्येक वर्षातको समयमा यस क्षेत्रका बस्ती जोखिममा परिरहेको जिसीले बताए । खोलाले वर्षातमा तहसनहस बनाउने गरेको बताउँदै उनले यसको प्रभाव नियन्त्रणका लागि पनि राज्यको सहयोग आवश्यक भएको बताए । ढन्डुरा खोला हर्पन खोलामा आएर मिसिन्छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालको सिरान भएका कारण यसलाई पर्यटनसँग जोड्नका लागि स्थानीयले पहल थालेका छन् । स्थानीय सक्रियतामा गठित सिर्जनशील क्लबको पहलमा बास्कोटस्थित हर्पन खोलाको किनारामा वनभोजस्थल निर्माण गरिएको क्लबका अध्यक्ष शिव जिसीले जानकारी दिए । स्थानीय सक्रियतामा दुई महिनायता वनभोजस्थललाई व्यवस्थित गर्न खोजिएको बताउँदै उनले पोखराका विभिन्न स्थानबाट वनभोजका लागि समूहसमूहमा मानिस आउने गरेको जानकारी दिए । क्लबले वनभोजस्थल उपयोग गरेबापत प्रतिस्थलको रु दुई हजार लिने गरिएको बताउँदै उनले यसबीचमा ५५÷५६ समूह वनभोजका लागि आइसकेको जानकारी दिए । “हामी वनभोजस्थलका माध्यमबाट यहाँको पर्यटकीय विकासलाई जोड दिएका छौँ”, उनले भने, “यसबीचमा वनभोजस्थलबाट आएको रकम सडक बत्ती, सरसफाइआदिमा उपयोग गर्न थालिसकिएको छ ।” खोलाको किनारमा रहेको फराकिलो फाँटमा विभिन्न प्रजातिका चराको चिरविराहट सुन्दै वनभोज खान पाउनु यहाँको विशिष्टता रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । नाट्टा गण्डकी प्रदेशले हालै बास्कोटमा पारिवारिक वनभोज सम्पन्न गरेको बताउँदै उनले यसको प्रवद्र्धन र विकास गरेमा यसबाट यहाँका स्थानीयले अधिकतम लाभ लिनसक्ने देखिएको बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको नजिकै रहेर पनि विकासका दृष्टिले यो क्षेत्र अझै पनि पछाडि परेको स्थानीय भरतबहादुर देवकोटाले बताए । यस क्षेत्रमा विगतमा स्कुल तथा वडाले विभिन्न नाममा वितरण गरिएका ४३ रोपनी क्षेत्रफलका प्रतिजग्गा रहे पनि तिनीहरूको समुदायबाट उपयोग हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । समुदायमा सामुदायिक भवन, मन्दिरआदि संरचना निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या पर्ने गरेको बताउँदै स्थानीय मानबहादुर जिसीले जग्गाकै अभावमा बाटोलगायत समस्या भोग्नुपरेको बताए। समुदायमा एक वडा एक फुटबल मैदानको अवधारणामा पाँच÷छ वर्षअघि फुटबल मैदान निर्माण सुरु गरिए पनि त्यो अहिलेसम्म सम्पन्न हुन नसकेको उनले जानकारी दिए।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधमुद्धाका फरार प्रतिवादी २६वर्षीय रितिक परियारलाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसाल गरेको थियो । अदालतले कैद र जरिवाना फैसला गरेपछि पोखरा महानगरपालिका २० स्थायी घर भई पोखरा–१६ दीप बस्ने परियार ४ महिनापछि प्रकाउ परेका हुन् ।
पोखरा: पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ । संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो । रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ । पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले फोटो प्रदर्शनीले २ ठूला सहरबीचको सांस्कृतिक सम्पदा आदानप्रदान हुने विश्वास व्यक्त गरे । ललितपुर महानरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर वरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरामा जानकारीमूलक फोटो प्रदर्शनीले दुवै सहरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए । सांस्कृतिक सहर ललितपुरमा सम्पदा संरक्षण र पुनर्निर्माणको काम अधिकांश भइसकेको जानकारी दिए । ‘सम्पदाको संरक्षण आजमात्र नभई भोलिका लागि पनि हो । त्यसमा हामी सचेत हुनुपर्छ’, उनले भने । सो अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व उुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ । साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो । संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् । संग्रहालय संयोजक ठाकुराज पाण्डले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार ५३८ जनाले संग्रहालय भ्रमण गरेको र त्यसबाट साढे १ करोडल रुपैयाँ आम्दानी भएको जानकारी दिए ।
पोखरा: प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पोखरेली ३ पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी कास्कीद्वारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट नेपाल पत्रकार महासंघ कास्कीका सचिवसमेत रहेका माधव बराल पुरस्कृत भए । उनलाई दोसल्ला र सम्मानपत्रसहित नगद २२ हजार २ सय २२ रुपैयाँ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारी लगायतले प्रदान गरे । यस्तै प्रेस चौतारी पत्रकारिता सम्मान २०८० बाट मीना गुरुङ र हुमबहादुर गुरुङ पुरस्कृत भए । प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिस गरिएको थियो । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस अगाडि पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल,शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भइसकेका छन् । पत्रकारिताको विकासका लागि पत्रकार एकजुट हुनुपर्छ: नेता अधिकारी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासको लागि सबै पत्रकार एकठाउँमा हुनुपर्ने बताए । उनले पत्रकारितामा पछिल्लो समय विभिन्न खालका चुनौती थपिएको उल्लेख गर्दै सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक पारित गर्न लागेको बताउदै पत्रकारिता राज्यको चौथौं अगं भन्दापनि अनिवार्य अंग टिप्पणी गरे । अधिकारीले पत्रकारहरु आफ्नो पेशा व्यवसायिक र मर्यादित नभएकै कारण अन्य क्षेत्रमा समेत काम गर्न बाध्य भएको धारणा व्यक्त गरेका थिए ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लुडो (जुवा) खेलिरहेका ५ जनालाई ७२ हजार २ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका–११ धरहरा मार्गमा लुडो (जुवा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले ५ जनालाई लुडो खेलिरहेको अवस्थामा नगदसहित प्रकाउ गरेको हो । लुडो खेल्दे गरेको अवस्थामा पोखरा महागनरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप बहादुर गुरुङ, ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा– लेकसाईडबस्ने ३९ वर्षीय विकास विकलाई ७२ हजार २सय २५ सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लुडो खेल्ने प्रयोग हुने १ थान बोर्ड, विभिन्न रंगका १६ थान गोट्टी, लुडोको गोट्टी हल्लाउन प्रयोग हुने बट्टा १ थान र ७२ हजार २ सय २५ रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुुर (जुवा खेल्न वा सट्टेवाजी) गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्यसको संरक्षण गर्न आग्रह गरे । टुडिखेलको जग्गा विविध हिसाबले सानो भइरहँदा त्यहाँ हुने प्रतियोगिताका कारण हालसम्म जग्गा संरक्षण हुन सकेको उनको भनाई थियो । उनका अनुसार हाल रहेको वडा प्रहरी कार्यालयलाई स्थानान्तरण गरेर टुडिखेलको जग्गा बढाइने छ । ‘यहाँको प्रहरी चौकीलाई हामीले गाई घाटमा लैजाने तयारी थालेका छौ । अब टुडिखेलको आफ्नै साइज हुनेछ । यो अभियान हामीले सुरु गरिसकेका छौं । यो मैदानमा उघिल्लो पटक यहि प्रतियोगिताको समयमा आउँदा निकै धुलो थियो त्यसैले धुलो नउड्ने बनाउँछु भनेका थियौं र दुबो रोपियो’ उनले भने, ‘अहिले अलि संरक्षण नभएर पुरै सुकेछ आशा छ आगामी वर्ष यस्तो हुनेछैन महानगरको १५ लाख रुपैयाँ बजेट छ ।’ बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले यस ४० वर्षमाथि उमेर समूहको मात्रै प्रतियोगिता हुनेगरेपनि हाल तीन विधामा प्रतियोगिता भएको सुनाए । बगर भाइ खलकले दिनको एक घण्टा व्यायम भन्ने अभियान चलाएको र उक्त अभियानलाई सघाउन सबैलाई अनुरोध गरे । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भेट्रानको फुटबल पोखरा रंगशालामा गराएमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय पोखराको खेलकुद विकास शुन्य भएकाले यसतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले भेट्रान फुटबलको उदेश्य उत्कृष्ट रहेको सुनाए । भेट्रान खेलाडी खेलेर बचत रकम ग्रासरुटमा खर्चिदा नयाँ खेलाडी उत्पादन हुनेमा आफु आशावादी रहेको सुनाए । यस्तै नेपाली फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मान गरिएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक केसीलाई सम्मानपत्रले सम्मान गरिएको हो । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । पोखरा १४ को वडा कार्यालयमा आज (आइतबार) स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सववारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बोधराज कार्कीले वडामा उत्पादनमा भएका वस्तुहरुको व्यवसायीक बजारीकरण र वडालाई उत्पादनशील क्षेत्रमा जोड दिन महोत्सव आयोजना गरेको बताए । ‘वडाको कुन टोलमा के उत्पादन हुन्छ, भन्ने जानकारी सबै वडाका टोलवासीलाई थाहा पाउनुपर्छ’,वडाध्यक्ष कार्कीले भने, ‘वडामा उत्पादन भएका कृषि जन्य वस्तु र उत्पादनशील वस्तुहरुको व्यवसायीक बजारीकरण गर्न महोत्सव आयोजना गरेका हौं ।’ दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडामा भएका सबै टोल तथा कृषक, उद्यमीहरुलाई निशुल्क रुपमा स्टल प्रदान गर्ने वडाध्यक्ष कार्कीले जानकारी दिए । ‘हामीले विभिन्न टोल, कृषक तथा उद्यमीहरुलाई महोत्सवमा निशुल्क रुपमा स्टल उपलब्ध गराउँछौं, उनले भने, ‘महोत्सवमा टोल तथा कृषक उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, उत्पादन र व्यवसायीक बजारीकरण महोत्सव मुख्य उद्धेश्य हो । अन्तरक्रिया कार्यक्रममा स्थानीय लक्ष्मण कार्कीले महोत्सवमा स्थानीय वस्तु र स्थानीय कषकहरुले उत्पादन गरेका वस्तुहरुलाई प्राथमिकता दिन माग गरे । स्थानीय जीवनकुमारी बराल, शान्ता देवकोटा, राजु थापा लगायतले वडा भित्र नै उत्पादन गरेका विभिन्न किसिमका हस्तकलादेखि उत्पादनहरुले महोत्सवमा प्रर्दशनसँगै व्यवसायीक रुपमा थप हौसला प्रदान गर्ने बताएका छन् । स्थानीयहरुले अन्तरक्रिया कार्यक्रममा वडाले विभिन्न शिर्षकमा दिने अनुदान र बजेट वास्तविक कृषक, उद्यमीसम्म पुग्यो कि पुगेन भन्ने विषयले प्राथमिकता पाउने उल्लेख गरेका छन् । स्थानीयहरुले वडाका उत्पादन र कला संस्कृतिलाई महोत्सवमा स्थान दिन माग गरेका छन् । अन्तरक्रियामा बोल्ने वक्ताहरुले खेलकुद, कला, संस्कृतिलाई समेत महोत्सवमा जोड्न सुझाव दिएका छन् । पोखरा महानगपालिका १४ का वडाध्यक्ष कार्कीले महोत्सव सञ्चालन गर्न करिव २१ लाख रुपैयाँ लाग्ने अनुमान रहेको बताए । दुईदिनसम्म पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने महोत्सवमा वडामा उत्पादनका भएका कृषि जन्य वस्तु, सामाग्री, विभिन्न टोल समुहको झाँकी ¥याली लगायत कलाकारहरुको प्रस्तुती रहेने वडा कार्यालयले जनाएको छ ।
पोखरा: पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छ्रेले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छ्रेले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धीकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जितेपनि तेस्रो सेटमा २८–३० को हार व्यहो¥यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पोखरा भेट्रानले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विधागत पुरस्कारमा समेत माछापुच्छ्रेको एक्लौटी रह्यो । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित भइन् । उनी उत्कृष्ट स्पाइकर समेत भइन् । यस्तै उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित भइन् । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित भइन् । भेट्रान तर्फ सन्तोष श्रेष्ठ , ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित भए । पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदीे टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो । पुरुषतर्फ ले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीेले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टस मार्फत भएको हो । पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेभएपनि पुरस्कार राशी भने आधा आधा बाडेका छन् ।
पोखरा: आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् । म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व महानगरले लिएको मेयर आचार्यले बताए । पोखरा म्याराथनको रुटमा हाल पोखरामा जाइकाले पानीको लागि बाटो खन्ने काम गरेको र मध्येपहाडी लोकमार्गको काम भएका ठाउँमा धावकलाई सहज हुने किसिमले सडकलाई तत्कालै बनाउन उनले निर्देशन समेत् दिएका छन् । उनले भने–“म्याराथनको दिन म्याराथनको रुट कम्तिमा पनि खेलाडीहरुलाई असहज हुने गरी राख्न भएन । सबै खाल्डाहरु पुर्न म वडाहरुलाई निर्देशन दिन चाहन्छु ।” मेयर आचार्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन समेत् गर्दै सडकका खाल्डाहरु पुर्न र धावकलाई असर नपर्ने गरी सम्याउन निर्देशन दिए । यस्तै रुटमा पर्ने वडा–वडाको सडकका खाल्टा वा अव्यवस्थित भए वडाले नै समाधान गर्न निर्देशन दिए । “जाइका र मध्यपहाडीको काममा अलि समस्या हो त्यहाँ म समन्वय गर्नेछु बाँकी वडाको कामहरु वडाबाटै गर्नुहोला” मेयरले भने, “कहाँ के गर्न पर्छ त्यो तत्कालै गर्नु । वडाको व्यवस्थापन वडाबाटै गर्नुस हामी सबै आयोजक हौं ।” पोखराका विद्यालय, आमा समूह, युवा क्लबहरुसँग समन्वय गर्नका लागि शिक्षा महाशाखालाई समेत मेयर आचार्यले निर्देशन दिएका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रुटमा धावकलाई असर पर्ने गरी राखिएका निर्माणका सामग्री र खाल्डाहरुलाई तत्काल पुर्नका लागि अनुरोध गरे । उनका अनुसार यस पटकको रुटमा पोखराको शहरभन्दा बाहिरको रुट २५ किमि रहेको जानकारी दिए । उनले भने–“कुल म्याराथनमा २५ किमि रुट नयाँ हो । हामी शहर भित्रको सबै रुटहरुमा धावकहरुलाई कुनै समस्या नआओस भन्ने पक्षमा छौं ।” निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथन रुट, पुरस्कार र धावकहरुको बारेमा चर्चा गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुसरण गर्दै म्याराथनका लागि सहभागिता निश्चित गरेको सुनाए । गुरुङका अनुसार खुल्ला म्याराथनमा एक सय ५० धावकले मात्र दर्ता गराउन पाउनेछन् । यस्तै महिला हाफ म्याराथनमा ५० १० किमी पुरुषतर्फ चार सय ५०, महिलातर्फ एक सय ५० तथा पाँच किमि छात्रामा ६ सय र छात्रमा एक हजार दुई सय धावकलाई मात्र दर्ता दिने जानकारी गराए । म्याराथनलाई इलेक्ट्रोनिक डिभाइससँग जोडिएकाले व्यवस्थापन गर्न दर्तालाई निश्चित गरेको बताए । छलफल कार्यक्रममा महानगरका मेयर धनराजसहित विभिन्न वडाका वडाअध्यक्ष तथा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

