पोखरा: पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । ‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शुन्यप्राय छन् । कुनै पनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाट नै सुरु हुन जरुरी छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यायलस्तरीय क्रिकेट प्रतियोगिताको रुपमा हामीले यो अवधारणा प्रस्तुत गरेका हौं ।’ यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् । १२ विद्यालयलाई ४ समुहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ । बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए । प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भएपनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ । ‘चाहेर पनि विद्यालयहरुले विद्यालयस्तरमा क्रिकेट खेलको प्रतियोगिता भइरहेको छैन’, उनले भने । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस पोखराका अपरेशन म्यानेजर रमेश बाँस्तोलाले क्रिकेटको विकासमा सदैव साथ दिने प्रतिबद्धता जनाए ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा ३३ का वन समुहको भेलाले विजय आचार्यको नेतृत्वमा ७ सदस्य वडा कमिटि सर्वसम्मत चयन गरेको छ । सो कमिटिको उपाध्यक्ष गंगाबहादुर पुन, सचिव कर्णकुमारी महत,कोषाध्यक्षमा पवित्रा सुनार र सदस्यहरुमा यज्ञ प्रसाद लामिछाने, निशा थापा र सम्वरबहादुर पौडेल रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले भेलाको उद्घाटन गर्दै विकास निर्माणमा वन ऐन तथा नियमावलीहरु बाधक बन्न नहुने बताउनुभयो । सामुदायिक वनको विचमा रहेको वस्तिका जनतालाई बाटो निर्माण गर्न स्थानीय सरकारले बजेटको व्यवस्था बाटो खन्दा वन समुहका पदाधिकारीलाई कार्वाहीमा पर्र्ने अवस्थाको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो । प्राकृतिक श्रोतलाई विकास निर्माणसंगै स्थानीय जनताको जिविकोपार्जनको आधार बनाउनु पर्ने बताउँदै अध्यक्ष अधिकारीले वन समुहलाई वडा कार्यालयमा सुचिकृत हुन आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन क्षेत्रमा काठ मात्र नभई अन्य आयआर्जनका सम्भावना खोज्नु पर्ने आवश्यकता औल्याउनुभयो । स्वदेशी काठ जंगलमा कुहिएर खेर जाने र विदेशी काठ आयात गर्ने परिपाटिको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो । वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन पैदावार उपयोग गर्दा प्रकृया मिलाउन उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । समुहको वन कार्ययोजनाले दिएका अधिकार भित्र रहेर वन पैदावारको उपयोग गर्नुहोस अप्ठेरो पारेमा महासंघले सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो । महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले जिल्लामा ५०९ वटा सामुदायिक वन समुह रहेको जानकारी दिंदै आर्थिक पारदर्शिता र सुशासानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । बाँदर लगायतका जंगली जनावरले दुःख दिएको, स्थानीय सरकारले वन क्षेत्रमा बाटो खन्दा उपभोक्ता कार्वाहीमा पर्ने, वन पैदावार उपयोगमा झन्झटीलो व्यवस्थाको कारण दुःखका साथ हुर्काएको जंगल अहिले आएर प्रयोग विहिन बन्दै गएको सहभागि उपभोक्ताको गुनासो थियो । पोखरा वन महासंघका उपाध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव सिता सापकोटाले सञ्चालन गर्नुभएको थियो । सो वडामा ३१ सामुदायिक वन रहेका छन् ।
पोखरा: पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन बिहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए । उनले अघिल्ला संस्करणमा भएका कमीकम्जोरीलाई आत्माआलोचना गर्दै थप सुधारिएर जाने समेत सुनाए । ‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन विदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’ उनले प्रा.लि.को तर्फबाट पोखरा म्याराथनलाई २५ हजार पाँच सय २५ रुपैयाँ नगद समेत सहयोग गर्ने घोषणा गरे । पोखरा यातायात प्रा.लि.का एमडी देवी कुइकेलले ट्याक्सी व्यवसायीहरुसँग समेत सहकार्य गरेर उक्त दिन रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने बताए । उनले विहानको समय र विदाको दिन पनि भएकाले आफुहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउन जोड दिने सुनाए । पोखरेली ट्याक्सी व्यवसायी प्रा.ली.का अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउँदै उक्त दिन म्याराथनको समयमा सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा असर पर्ने कुरा सुनाउँदै त्यो फरक पाटो रहेपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने बताए । उनीहरुले विहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेर चलाउन परेमा धावकलाई असरै नपर्ने गरी चलाउने प्रतिबद्धता व्यक्त गरे । तर, नीजि सवारीहरुले धावकलाई असर पार्न सक्ने भन्दै उनीहरुले त्यसका लागि आयोजकले विभिन्न सामाजिक सञ्जाल, एफएम रेडियो, अनलाइहरुबाट सूचना प्रवाह गर्न समेत सुझाव दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफुहरुलाई त्यति चुनौती नहुने बताए । उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयम् सेवकसहित ट्राफिक प्रहरी रहने सुनाए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा खुसी व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो ।
पोखरा: पोखरा महानगरपालिकाले आलुु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको संयोकत्वमा रहेको बजार अनुुगमन समितिले पोखराको शान्ति वन स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चार वटा आलुु, प्याजका पसलहरुमा अनुुगमन गरिएको हो । पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भैरहेको भन्ने प्रधानमन्त्री कार्यालयमा रहेको हेलो प्रधानमन्त्रीमा गुुनासो परेपछि कृषि उपज तथा थोक बजार(मण्डी)मा रहेका आलु, प्याज गोदाममा अनुुगमन गरिएको हो । अनुुगमनका क्रममा ढकाल आलु पसल फोहोर, मुल्यसुचि नभएको, नापतौलको दर्ता नभएको, ब्यवसाय नविकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा विक्री वितरण गरेको भेटिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीले जानकारी दिनुुभयो । उहाँका अनुुसार पसल सञ्चालक देवराज ढकाललाई पसल सरसफाई गर्न र जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै सन्दिप श्री ट्रेड्र्समा सामान खरिद र विक्री बिल नभएको र आफुले सामान खरिद गर्ने ब्यवसायीले समेत खरिद बिल नदिएको गुनासो गर्नुभयो । उहाँले आफुले किन्ने र विलको मुल्य फरक पर्ने गरेको भन्दै त्यसलाई समोजन गरिदिन आग्रह गर्नुुभयो । नम्रता विविध सप्लार्यसमा खरिद विक्री विल अध्यावधीक नगरेको भेटिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताउनुुभयो । आर एण्ड जयसवाल सप्लार्यसमा मुल्यसुची नभएको, सरसफाई नभएको, नापतौल, किलाकाटाँ नविकरण नभएको, व्यवसाय नविकरण नभएको भेटिएको छ । सञ्चालक सरोजकुुमार जयसवाललाई एक हप्ताभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । आलु र प्याजको खुद्रा र होलसेल मुुल्यमा धेरै अन्तर रहेको बताउदै त्यसलाई उपभोक्ता र व्यवसायी दुुबैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभयो । अनुुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरी जस्तो कृहिएका आलुु, प्याज नभेटिएको पोखरा महानगर आर्थिक विकास महाशाखा मनोहर कडरियाएले बताउनुुभयो । अनुुगमनमा उपप्रमुख एवं अनुुगमन संयोजक मञ्जुुदेवी गुुरुङको संयोजकत्वमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखाका प्रमुुख अनिल कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दिपक कुुँवर, महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि राजेन्द्र लिगलको सहितको टोलीले अनुुगमन गरेको हो । लेखेका कागजमा खानेकुरा पोको नपार्नु पोखरा महानगरपालिकाले महानगरभित्र मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको छ । कुनैपनि खाद्य उत्पादक, व्यवसायी वा विक्रेताले खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुुरोध गरेको हो । नेपाल सरकार कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा(७) मा भएको अधिकार प्रयोग गरी खाद्य बस्तुुको गुणस्तर निर्धारण सम्वन्धमा २०८० जेठ २५ गते राजपत्रमा सुचना प्रकाशित गरी खाद्य प्रदार्थमा यस्ता प्रकारका काजगहरुको प्रयोग नगर्न सुचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि यस्ता प्रकारका कागजमा खाद्य बस्तु राखेर बिक्री वितरण गर्न प्रतिबन्ध गरेको हो । खाद्य ऐन २०२३ दफा ५ को उपदफा(२) बिपरित हुने भएकाले सोही अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको छ । ऐनको उल्लघन गरेमा प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ब्यवस्था रहेको छ । यसैवीच सोही ऐन कार्यान्वयनका लागि पोखरा महागनरले अनुुगमन समेत गरेको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरपुुरी तरकारी, पकौडा र मासु फ्राई गरेर बिक्री गर्ने चार पसलमा लेखेका कागजमा खाद्य सामाग्री राखेर नबेच्न पहिलो पटक सचेत गराइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो ।
पोखरा: रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् । प्रतियोगितामा सहभागिता जनाउन रोटरी वा रोट्याक्टमा आवद्ध भएको हुनुपर्नेछ । यसका अलावा रोटरी वा रोट्याक्टमा आवद्ध परिवारको सदस्य भए समेत प्रतियोगितामा भाग लिन पाउने उनको भनाई छ । देशभरका जुनसुकै उमेर समुहले भाग लिन पाउने प्रतियोगितामा एकलतर्फ ३ हजार र समुहगततर्फ १० हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ । समुहगततर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ हात पार्नेछन् । एकलतर्फको विजेताले ५० हजार, द्धितीयले २५ हजार र तृतीयले १२ हजार रुपैयाँ पाउनेछन् । जुनसुकै नेपाली गीतमा नृत्य गर्नपाइएपनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामुहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा ८ जना सम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेट सम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहित हुनेछ । प्रतियोगितामा भाग लिन चाहनेहरुले न्युरोड पोखरामा रहेको स्टार्स स्टुडियोको कार्यालयमा पुगेर, गुगल फम भरेर अथवा फोन मार्फत समेत भर्न सक्नेछन् । फाराम फागुन ५ गते बिहानसम्म भर्न पाइने आयोजकले जनाएका छन् । स्टार्स स्टुडियोले यसअगाडि ‘लोक संस्कृति र हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला, कवितामा नृत्य, चित्रकलामा नृत्य, ३० वर्ष माथिको उमेर समुहको नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता, पुष १५ टिकटक प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, गुरुङ गीत एकल नृत्य प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । यसैगरी स्व.तिलमाया गुरुङ स्मृति सम्मान, स्टार्स संस्कृति सम्मान, स्टार्स समाजसेवी सम्मान कार्यक्रम समेत संस्थाले गर्दै आएको छ । बालबालिकाको लागि स्टार्स समर क्याम्पका दुई संस्करण समेत आयोजना भयो । तेस्रो संस्करणको तयारी समेत सुरु भइसकेको छ । फाउण्डेसनको स्थापना पश्चात स्टुडियोले गर्ने सबै कार्यक्रममा फाउण्डेसनले साथ दिँदै आएको छ । विभिन्न म्युजिक भिडियो निर्माण मात्र नभएर गुरुङ चलचित्र निर्माणमा समेत स्टुडियोेले हात हालेको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा पहिलो चलचित्र ‘म्लेक्यू’ अर्थात विर्साउने पानी, दोस्रो चलचित्र ‘मि–थों’ अथार्त खुल्ला आँखा चलचित्र निर्माण भएको थियो । रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ । ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले खुलाए । सन् १९०५ फेब्रुअरी २३ रोटरी इन्टरनेशनल स्थापना भएको थियो । स्थापना दिवसलाई रोटरीक्लबहरुले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाउने गरेका छन् । दिवसको छेको पारेर आयोजना गरिएको यो प्रतियोगितामा देशभरका रोटरीयनहरुको प्रतिनिधिमुलक सहभागीता रहने आयोजकको अपेक्षा छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा रेशम खत्री चयन हुनु भएको छ । वन समुहको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङ रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । वन महासंघ वडालाई व्यवस्थित र चलायमान बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कार्यालय स्थापनाका लागि आवश्यक कोठाको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्यद्धय दिनेश श्रेष्ठ र जितवहादुर वस्नेतले प्राकृतिक स्रोतलाई जनताको जिविकोपार्जनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । फेकोफन पोखरा महानगरका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पार्वती सुवेदी, सदस्य विष्णु आचार्य लगायतले वनको महत्व माथि प्रकाश पार्दै स्वदेशी काठ उपयोग गर्नेखालको नीतिको खाँचो औल्याउनुभयो ।
पोखरा: नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी विहिबार सम्पन्न भएको छ । कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।
पोखरा: साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका रूपमा समेत परिचित बरालले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा गरेको अभिनयको उनले स्मरण गरे । प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै शेरचनको परिचयसमेत दिएका थिए । उनले आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाउँदै उषाको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको बताए । शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) गरी २ कविता सङ्ग्रह, तेस्रो रङ (कथा सङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो.. बोलको लोकप्रिय गीतकी रचनाकार शेरचनका अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन र आकाश छुने रहर गरी ५ साङ्गीतिक एल्बम बजारमा आएका थिए । २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् । कार्यक्रममा बोल्दै शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने गरेको अनुभव सुनाइन् । उनले माइतीमा आएर पाएको पुरस्कारले आफ्ना लागि विशेष महत्व राख्ने सुनाइन् । सो अवसरमा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठलगायतले शुभकामना दिएका थिए । मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षता तथा कार्यवाहक महासचिव अम्बिका भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, र्यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमुलगायतले १८९ औँ नियमित कार्यक्रममा मुक्तक वाचन गरेका थिए । मञ्चले सरुभक्तको संयोजकत्वमा रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा शेरचनलाई पुरस्कार दिने घोषणा मुक्तक दिवसका अवसरमा माघ १८ गते गरेको थियो । हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककारलाई प्रदान गरिने सो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतना कार्कीले प्राप्त गरेका थिए ।
पोखरा: अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । ‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले भनिन्, ‘अहिलेलाई एकहप्ता फेरि समय थपेका छौं ।’ फोटो प्रर्दशनी अब फागुन ७ गतेसम्म चल्नेछ । संग्रहालयले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा फोटो प्रदर्शनीमा राखेको थियो । माघ २२ गतेदेखि सुरु भएको फोटो प्रदर्शनीमा एकहप्तामा ३ हजार २ सयजना भन्दा बढीले अवलोकन गरेको संग्रहालयले जनाएको छ । माघ २२ गते ललितपुरका मेयर चिरिबाबु महर्जन र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । दिवसको अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ । साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९५५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।

