पोखरा: पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चार दिन देखि नदीमा बेपत्ता छन् । आइतबार बेलुका नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए । नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो । पोखरा– १ सिम्पानी घर भएका सार्की लामा तामाङ (मानबहादुर) नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीमा माछा मार्न क्रममा बेपत्ता भएका २ जना मध्य एक जना मृत फेला परेका थिए ।
पोखरा: पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिबरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ । पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २२ गते साँझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
पोखरा: वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए । रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा बोलेका थिए । उनले मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए । विद्यालयका प्रअ वसन्तराज पाण्डेले सहयोगप्रति आभार व्यक्त गरे । २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी पढ्ने गरेको बताए । शिक्षक कर्मचारी २७ जना छन् । प्लस टुमा व्यवस्थापा र शिक्षा संकाय संचालित छ । समारोहमा शिक्षासेवी विकल शेरचन, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो ।
पोखरा: कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख(चौकिदार)को जिम्मा पाएका नशिप गुरुङले कैदी बन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तिव्र गतिमा अघि बढाएका हुन् । २०८०÷८१ सम्म यस ब्लकको चौकिदारको रुपमा नेतृत्व लिएका गुरुङले मुडा एरिया व्यवस्थापन तथा चिम्नी निर्माण, खेलकुद मैदानमा बस्ने पेटी निर्माण, मेस एरिया ढलान तथा व्यवस्थापन, पुल हाउसमा ट्रष्ट निर्माण, पोट हाउस एरियामा ढलान निर्माण, कारागार कार्यालय ‘ख’ ब्लक भित्र रंगरोगन, बाथरुम तथा शौचालय मर्मत सम्भार कार्य सम्पन्न गरेका छन् । आफ्नो जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम दिनरात नभनी खटिएको आन्तरिक प्रशासन प्रमुख(चौकिदार) गुरुङले बताए । ‘कैदी बन्दीलाई आवश्यक पर्ने संरचना लगायत अन्य सबै सेवा सुविधाको लागि हामी लागि परेका छौ,’ गुरुङले भने, ‘नियमित कार्य वाहेक अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सबै संरचना हुन पर्छ भन्ने हाम्रो सोच हो ।’ आफ्नो कार्यकालमा कैदी बन्दीहरुको लागि आवश्यक थप संरचनाहरु तयार गर्ने योजनासाथ आफू र आफ्नो टिमको योजना रहेको गुरुङले सुनाए । यससँगै गुरुङले कैदी बन्दीको स्वास्थ्यको निम्ति नयाँ जिम हाउस निर्माण गर्ने काम लागि अघि बढाएको आन्तरिक प्रशासन प्रमुखका विशेष सल्लाहकार विनोद भुसालले जानकारी दिए । स्वास्थ्य भनेको मानिसको सबै भन्दा ठूलो सम्पती रहेको हुनाले कैदीबन्दीको पनि स्वास्थ्यलाई ख्याल गर्दै नयाँ जिम हाउस निर्माण थालिएको भ्ुसाालको भनाई छ । ‘कैदी बन्दीहरुलाई आफन्तजनहरु दिएको खर्च अलिअलि बचत तथा श्रमदान गरे जिम हाउस निर्माण हुदैछ,’ भुसालले भने, ‘भवन मात्र नयाँ होइन जिम हाउसमा आवश्यक पर्ने सामाग्री पनि नयाँ प्रविधिकै ल्याउने तयारीमा छौ ।’ भुषालका अनुसार यही फागुन भित्र जिम हाल तयार हुनेछ । निर्माण सुधारमा बजेट न्यून विनियोजन भएर आएको अवस्थामा आन्तरिक प्रशासनको पहलबाटै मर्मत सुधार भएको कारागार प्रशासनले समेत बताएको छ ।
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सक्से लामा तामाङ (मानबहादुर तामाङ)लाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । प्रहरीले भोलि (बिहीबार) बिहान ८ देखि १२ बजेसम्म पोखरा–१६, दीपमा बनेको ड्याम खोलिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज (बुधबार) सूचना जारी गर्दै तामाङको परिवारले नदीमा बेपत्ता भएका मानबहादुरलाई ड्याम खोलेर खोजतलाज गर्न अनुरोध गरेकाले भोलि बिहान ८ देखि १२ बजेसम्म ड्याम खोलिने सूचनामा उल्लेख गरेको छ । आइतबार बेलुका पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका २ मध्य मंगा तामाङलाई सशस्त्र र नेपाल प्रहरीले खोजतलाज गर्ने क्रममा मृत फेला पारेको थियो । ‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।
पोखरा: लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सचिन पौडेल प्रथम भएका छन् । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका हुन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगितामा बालमन्दिर मा.वि.का अनुजा बराल र कन्या मा.वि.का रितिका शेर्पालीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारी, क्लबका अध्यक्ष शर्मिला श्रेष्ठ, सचिव अम्बु कर्माचार्य, कार्यक्रम संयोजक धु्रव श्रेष्ठले नगद, प्रमाणपत्र र आकर्षक पुरस्कारसहित पुरस्कृत गरे । प्रतियोगितामा महेन्द्र मा.वि., ज्ञानभूमि मा.वि., इन्द्रराज्य लक्ष्मी मा.वि., कन्या मा.वि., चण्डिका प्रा.वि., लिला आधारभूत विद्यालय र बालमन्दिर मा.वि.का २४ जना छात्रछात्राको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारीले जसरी कक्षाकोठामा प्रत्येक शिक्षकका अध्यापनका तरिका फरक हुन्छन् विद्यार्थीको क्षमता र प्रतिभा पनि फरक हुने धारणा राखे । प्रतियोगिताका निर्णायक असफल गौतमले प्रतियोगितामा सहभागिता जनाउनु नै पहिलो सफलता भएको बताउँदै एउटा कविताका लागि निर्णायकले तय गरेका मापकका आधारमा विद्यार्थीमा अन्तरनिहित समग्र प्रतिभाको मूल्याङ्कन नहुने भएकाले निरन्तर अभ्यासमा रहन सुझाव दिए । धु्रव श्रेष्ठ कार्यक्रम संयोजक रहेको प्रतियोगितामा असफल गौतम र डागर स्मृति प्रतिष्ठानका संस्थापक रमा पराशर निर्णायक रहेका थिए । लिला आधारभूत विद्यालयका शिक्षक लिलादत्त बरालले समाज सेवाका क्षेत्रमा क्रियाशील लायन्स क्लबले सामुदायिक विद्यालय केन्द्रित कविता प्रतियोगिता राखेर स्तुत्य कार्य गरेको बताए । क्लबका अध्यक्ष शर्मिला श्रेष्ठले क्लबले सामुदायिक विद्यालयस्तरीय धेरै कार्यक्रम गरे तापनि बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि पहिलो पटक बालअधिकार विषयक कविता प्रतियोगिता राखिएको जानकारी दिइएन् ।
पोखरा: नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ । नेवा पत्रकार पुचः कास्कीले आयोजना गरेको आधारभुत समाचार लेखन तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे । तालिममा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए । कार्यकममा बोल्दै नेवा पत्रकार पुचः का संरक्षक संस्था नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए । उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, नेवा पत्रकार पुचः की अध्यक्ष अनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको बताईन् । उनले तालिम आयोजना गर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवा पत्रकार पुचः सफल भएको बताईन । साथमा उनले नेवा पत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्यहरु लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेती बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेती तालिम सोमबार सम्पन्न भएको हो । तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको ब्राण्ड बनाउन पर्ने बताए । भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरें ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा उप्रयुक्त खेती भएको बताए । यस्तै तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान स्वयम सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए। तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द सुबेदीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो । रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ ।

