पोखरा: अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय, श्री विन्ध्यावासिनी मावि ‘ए’ तृतीय, कुमुदिनी होम्स चौंथो र रेन्बो एकेडेमी पाँचौ भए । विन्ध्यावासिनी, कुमुदिनी र रेन्बोले समान ८÷८ अंक पाए । ६ राउण्ड खेल्दा यी विद्यालयका विद्यार्थीले जितेका खेल, समयसहित कम्प्युटरले हिसाब गर्दा बुचर टेबल पोइन्टको आधारमा विजयी स्थान घोषणा गरिएको हो । छात्रातर्फ बालविद्या मन्दिर १०.५ अंकसहित द्वितीय, त्रिवेणी पब्लिक स्कुल ९ अंकसहित तृतीय, ताराकुञ्ज मावि ९ अंकसहित चौंथो र प्रतिभा मावि ‘ए’ ८ अंकसहित पाँचौ भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रातर्फ द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छात्रतर्फ कालिका मावि छैटौं, ग्लोबल कलेजियट सातौं, केफ सेकेण्डरी स्कुल आठौं, मदरल्याण्ड मावि नवौं र अमरसिंह मावि दसौं भए । छात्रातर्फ अमरसिंह मावि ‘ए’ छैटौं, हार्बड एकेडेमी सातौं, अञ्जुली आवसीय मावि आठौं, छोरेपाटन मावि नवौं र हिमालयन बोर्डिङ स्कुल दसौं भएको आयोजकले जनाएको छ । छैंटौदेखि दसौं हुने विद्यालयका विद्यार्थीले मेडल र प्रमाणपत्र पाए । पुरस्कार वितरणपछि बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले चेसमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश दिएको सुनाए । विद्यालय तहबाटै चेस खेल्नेतर्फ रूचि हुनु, बढाउन सकेमा यसले मानसिक स्वास्थ्य र सोच्ने शैलीमा विकास हुने उनले बताए । बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हिराकाजी महर्जनले चेस बौद्धिक खेल भएकाले यसले विद्यार्थीको पढाइमा योगदान गर्न भूमिका खेल्ने बताए । उनले देशभरका ५५ जिल्लामध्ये कास्की बुद्धिचालमा सक्रिय रहेकाले यसलाई निरन्तरता दिइरहन आग्रह गरे । पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले विद्यालय तहमै चेसको विकास गर्न यो प्रतियोगिता गरेको बताए । उनले विद्यार्थीको संख्या प्रशंसालायक देखिएको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा ६० विद्यालयका २ सय ५० जनाभन्दा बढी छात्र÷छात्रा सहभागी थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गर्नुभयो । कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उहाँले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताउनुभयो । विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् विद्याश्रमका पूर्व नृत्य शिक्षक गोरे गुरुङले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै यस क्षेत्रको शैक्षिक विकासमा विद्याश्रमले विशिष्ट योगदान पु¥याएको बताउनुभयो । अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुँने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूलाई प्राचार्य मिलन केसी, संस्थापक क्या.मदन केसी, सहायक प्राचार्य नारायण बराल लगायतले पुरस्कृत गर्नुभएको थियो । प्राचार्य मिलन केसीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकालले गर्नुभएको थियो भने सल्लाहकार निलिसा ठकुरी केसीले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले पाएको तलब भत्ता विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष सम्म पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले ०७९ पुस २५ देखि पाएको ८ लाख ९६ हजार १ सय ६० मा रकम थप गरेर ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए । गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालको तलब भत्तालाई विकास निर्माणमा खर्च गर्ने बताएका हुन् । सांसद थापाले प्रदेश सभाको विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । सांसद थापाले पोखरा महानगरपालिका–१६ शान्ति टोलका ५ जनाको घरमा खानेपानीको धारा जडानदेखि विभिन्न बिरामीलाई आर्थिक सहयोग र विकास निर्माणमा खर्च गरेका हुन् ।
पोखरा: वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताउनुभयो । जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई गाउँमा वस्नै नसक्ने स्थिती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डाँडाको टुप्पोबाट रुखमा चढेको बाँदर भुईमा नझरि रुखैरुख घरको छानोमा आउने गरि जंगलको विकास हुँदा स्थानीय वासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै वडा अध्यक्ष पाण्डेले भन्नुभयो, वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने अपरिहार्य भएको छ । वन क्षेत्र जोगाउने गरि हाँगा काट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले थप्नुभयो कानूनी प्रकृया मिलाएर मात्र वन व्यवस्थापन गर्नु स्थानीय वासिन्दालाई आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले दाउरालाई काठमा परिणत गर्ने खालको प्रविधि भित्र्याउन सम्वन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो । मुलुकको वन क्षेत्रमा मुल्यवान काठ कुहिएर खेर जाने र विदेशी काठ, आलमुनियम, युपिभिसी जस्ता वस्तु आयात हुँदा बार्षिक खरवौ रुपैया विदेशीने अवस्थाको अन्त्य गर्दै हरित रोजगार सिर्जना गर्न गर्नका लागि सातै प्रदेशमा कम्पोजिट प्लाण्ट स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारी तवरबाट समुहले कहा गल्ती गर्दछन् भनेर चियाउनु भन्दा उपभोक्तालाई अधिकारका सम्वन्धमा सचेत गराउनेतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । वन ऐन, विधेयक तथा कार्ययोजनाका आधारमा वनमा व्यवस्थापन गर्नु समुह सचेत हुनु पर्नेमा जोड दिंदंै उहाँले सानो कमजोरीमा उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । महासंघ अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघ गण्डकी प्रदेश सदस्य जित बहादुर बस्नेत, महानगर महासंघ उपाध्यक्ष भरतराज आचार्य, जमुना सुवेदी लगाएतले वनको महत्व र उपयोगका बारेमा चर्चा गर्नुभएको थियो । भेलामा बाँदर आतंकको अन्त्य हुनुपर्ने, वन पैदावार सहजरुपमा उपयोग गर्ने नितीको खाँचो, वनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्नेमा सहभागिको जोड थियो । वडाका २१ वटा सामुदायिक वन समुहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो ।
पोखरा: पोखराको मदरल्याण्डमा बुधबारबाट सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान शुक्रबार विद्यालय प्राङ्गणमा संस्कृति संरक्षणमा जोड दिँदै सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि १२ सम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालयले जनाएको छ । तीन दिनसम्म नै सङ्गीतमय बनेको त्यस विद्यालयको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएका थिए । कार्यक्रमको समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त जीवन उपयोगी सिप प्रदान गर्ने कुरामा प्रष्ट पार्दै बाल बालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक नै भएको बताए। सोही अवसरमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी देश तथा विदेशसम्म आफ्नो पहिचान बनाउन सफल भएको प्रशंसा गर्दै आचार्यले अब कमजोर सामुदायिक विद्यालयलाई सघाउँदै अगाडि बढ्न सुझाव दिए। कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले संस्कार र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले विशेष भूमिका खेल्न सक्ने कुरामा जोड दिँदै बोलेका थिए। त्यसै गरी कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन तथा बिक्री गरिएको कुरा विद्यालयका कला शिक्षक डिबी गुरुङले बताए।
पोखरा: कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण ग¥यो । यो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको थियो । उनीहरुलाई वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित पुरस्कार तथा सम्मान अर्पण गरेका हुन् । सम्मान ग्रहण गरेपछि बोल्दै वरिष्ठ लोक गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरालाई सम्झदा खिम बहादुर गन्धर्व, विर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरीदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए । पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखिनै आवाज उठाउदै आएको समेत उनले खुलाए । उनले कल्याण शेरचन, चेतन कार्की, मिन बहादुर गुरुङ, मिनकाजी गुरुङ लगायतसँग गरेको सहकार्यको समेत स्मरण गरे । डाँफे कलामन्दिरको प्रतिनिधित्व गरेर दार्जलिङ सिक्किममा गएर प्रस्तुती राख्दा पाएको तारिफ अझै ताजै रहेको उनको. भनाई थियो । नेपालमा लोकगीत र दोहोरी गीतको सुरुवात आफूले गरेको बताएका उनले अहिले समेत देश विदेशका कार्यक्रममा व्यस्त रहेको जनाए । तरुनी फकाउने गीत गाएर कुमार बस्नेत भएको भन्नेहरु समेत भएको भन्दै त्यस्तो भन्दा आफूलाई चित्त नदुख्ने बताए । हरेक देशको आ–आफ्नो संस्कृति भएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले स्व.कल्याण शेरचनले अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए । कार्यक्रममा सम्मानित भएका कुमार बस्नेतको समेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको खुलाए । डा.गुरुङले गीत समेत गाउदै आफूतर्फ ध्यान खिँचे । । कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतहरु समेत सुनाएका थिए । नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्राप्त गर्न सफल राजन कार्कीले आमा सम्बन्धि गीत सुनाए । स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए । नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो । यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको थियो । यसैगरी सेभेन ए साईड फूटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल बादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमहरु समेत प्रतिष्ठानले गर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए । प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौंदेखि दसौं स्थानसम्म प्राप्त गर्ने ५ जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने । गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । गतिविधि बढाउँदै नागरिकलाई सुसूचित बनाउने बाटोमा पोखरा १३ लागिरहेको उनले उल्लेख गरे । आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता उनको छ ।
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो । एनआरएनएको तर्फबाट एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ । सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले।रि।चन्द्र गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताए । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उनको भनाई थियो ।

