पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

 पोखरा:      हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा आज पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।      बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच हेमबहादुर पुन स्मृति प्रतिष्ठानका सदस्य एवम् पूर्व मन्त्री उत्तम बहादुुर पुन, प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुुभएको हो ।      कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राधाकृष्ण बृद्धाश्रमले ज्येष्ठ नागरिकको सेवामा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै सहयोग गर्न पाउँदा आँफूहरूलाई खुसी लागेको बताउनुुभयो । गरिब तथा असहायको सहयोगमा आँफू निरन्तर लागिरहेको बताउँदै उहाँले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुुभयो ।      हेमबहादुुुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले बृद्धाश्रमको व्यवस्थापन राम्रोसँग चलिरहेको पाइएको बताउँदै सहयोगलाई अवसरमा रुपमा लिएको धारणा राख्नुुभयो ।      राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगले बृद्धाश्रम सञ्चालनमा सहयोग पुुगेको बताउँदै आगामी दिनमा यस्तै किसिमको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुुभयो ।      कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल आलु लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सामाजिक कल्याण प्रतिष्ठान नेपालका महासचिव सूूर्यप्रसाद बास्तोलाले जानकारी दिनुुभयो ।  

पोखरा:     पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।  समितिको सदस्यहरूमा वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको छ भने, समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया रहनुभएको छ ।  समितिलाई महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएकाले यथार्थ अवस्था पत्ता लगाई यसलाई नियमन तथा निगरानी गर्नुपर्ने भएकाले अध्ययन समिति गठन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।  यस्तै महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा महानगरको सुशासन समितिका संयोजक समेत रहेका वडा नं।४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नं.२० का वडा अध्यक्ष गङ्गा बहादुर के।सी र एक चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी रहनु भएको छ । समितिलाई समग्र महानगरपालिकाको कार्यक्षेत्र भित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र राजश्व सङ्कलनमा भए÷गरेका समस्याहरूको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई २ महिना भित्र समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यपालिका मार्फत कार्यादेश दिइएको नगरप्रमुख आचार्यले बताउनुभयो । 

पोखरा:  तेस्रो संस्करणको स्टार्स समर क्याम्प २०८० बुधवार समापन भएको छ ।   स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिब ३५ भन्दा बढी बालबालिका सहभागी भएको कुरा आयोजकले बताए ।   परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कुरा कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।   कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको कुरा गुरुङले बताइन् ।   लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब सहभागी भएकी थिइन्। एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको कुरा बताइन्।   १० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरियो । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।   कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् ।   "कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो ।" उनले भनिन्, " त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो। " उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुई पटक गर्ने जनाइन् ।

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल यूनाइटेड क्लब पोखराले१४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।    २०६७ बैशाख ७ गते स्थापना भएको सो क्लबले १४ औँ वार्षिकोत्सवको अवसर पारी यही बैशाख १ गतेदेखि ७ गतेसम्म साताब्यापी कार्यक्रमको घोषणा गरेको महासचिव दिनेश सुनारले जानकारी दिए ।   उनका अनुसार पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले नयाँ वर्षको दिन (१ गते) मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रमको आयोजना गर्नेछ ।   यस्तै २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद समाग्री वितरण गर्नै कार्यक्रम छ ।   वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक समाग्री वितरण कार्यक्रम छ ।    त्यसैगरी ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन वितरण, ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, ६ गते पोखरा १५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना हुनेछ ।   क्लबले वार्षिकोत्सवको अवसरमा हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म साताव्यापी कार्यक्रम गर्दै आइरहेको छ ।   

पोखरा:   जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ ।   नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा फेवातालमा माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने नदजन्य सामाग्री रोकथामका लागि मड ड्याम निर्माण तथा फेवातालमा थुप्रिएको माटो लगायतका फोहोरहरू निकाल्ने प्रविधि तथा उपकरणका बारेमा छलफल भएको हो ।   सो क्रममा नगरप्रमुख आचार्यले हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउँदै यसमा थुप्रिएको माटो लगायतका नदजन्य तथा फोहोर वस्तुहरू निकाल्न उपयुक्त प्रविधिको खोजीमा रहेको बताउनुभयो ।   यसका लागि प्रविधिमा निकै फड्को मारेको जापानको प्रविधि र विज्ञहरूसँग आवश्यक परामर्श सहित सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।   प्रा.डा हारा नेतृत्वको प्रतिनिधि मण्डलले फेवातालको संरक्षण र सौन्दर्यीकरणका लागि आफूहरू काम गर्न तयार रहेको बताएको छ । यसका लागि आफूहरूसँग विज्ञता सहित अत्याधुनिक उपकरणहरू रहेको टोलीले बताएको छ ।   फेवातालमा माथिबाट बगेर आउने माटो तथा गेग्र्यानका कारण यसको भविष्य माथि नै अनिश्चितता उत्पन्न भएको भन्दै आफूहरू स्थानीय सरकारसँग मिलेर काम गर्न चाहेको जापानी टोलीले बताएको छ ।   फेवातालको संरक्षणका लागि माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गरी माटो लगायत नदजन्य सामाग्रीहरू रोक्ने र तालको सौन्दर्यीकरण गर्दै थुप्रिएको पानी मुनिको माटो समेत निकाल्ने योजनामा महानगरपालिका रहेको छ ।

पोखरा:   नेपाली नयाँ वर्ष २०८१ सालको स्वागतार्थ पोखराको लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव आजदेखि सुरु भएको छ ।   होटल संघ पोखराको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।   महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित सो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास लिएको छ ।   पोखराको खहरेचोकदेखि र ड्यामसाइडचोकदेखि र्याली आयोजना भएको थियो ।   सो र्यालीमा विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी, बाजागाजासहित नृत्यहरु प्रस्तुत गरिएको थियो ।   महोत्सव अवधिभर होटल संघ पोखरामा आवद्ध होटलहरुमा पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । महोत्सवलाई करिब ३ लाख पर्यटकले अवलोकन गर्ने जनाएको छ ।   तस्बिर: अर्जुन गाहा (सुशान्त)                    

पोखरा:     १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु खरिद गर्नेको संख्या बढेको छ ।  बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु खरिद गरेर लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी पर्वत मोदी गाउँपालिकाकी इन्दिरा शर्माको भनाई छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, बाग्लुङ, पर्वत, म्याग्दी, चितवन, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने बुधवार साँझसम्म रु.९ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको चौथो दिन बुधवार मात्रै ५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ। महोत्सव अन्तर्गत बुधवार कलाकारहरु सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहे । त्यस्तै  बिहीवार प्रकाश दुतराज, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहनेछन् । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बुधवार देवीस्थान आमा समूह र कमलजौसी आमा समूहले प्रस्तुति राखे। त्यस्तै बिहीवार प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला अन्तर्गत माटो तथा बाली संरक्षण विषयक विज्ञसँग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।

पोखरा:    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।           महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् ।         महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ ।जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ ।         कृषि उपजमा नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको मंगलवार महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकी ९ की राममाया थापाले बताइन् ।   त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ ।मंगलवारसम्मका ६ सय ३८ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।         स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए ।महोत्सवको तेस्रो दिन मंगलवारसम्म करिव रु.६ लाखको आलु कारोवार भएकोका प्रतिकेजी रु.४० मा आलु बिक्री गरिएको छ । महोत्सव अन्तर्गत मंगलवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहे भने बुधवार सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।रत्यौलीतर्फ मंगलवार तिन समूह लामाचौतारा खुट्टेगौडा आमा समूह, माछापुच्छे« सेवा समाज तथा लक्ष्मी आमा समूहका प्रस्तुति रहे ।त्यस्तै  नवजागरण बाल भजन समूहले पनि आफ्नो प्रस्तुति राख्यो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।  

पोखरा:     नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा सञ्चालित १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो ।  तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका वडा नं. १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।  कुनै पनि औपचारिक कार्यक्रम सफल बनाउन उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै वडाध्यक्ष छन्त्यालले कुशल उद्घोषक बन्न तालिमको सिकाइसँगै अभ्यास अति जरुरी रहेको बताउनुभयो ।  त्यस्तै, गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धीपूर्ण रहेको बताउनुभयो । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उहाँले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गर्नुभयो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो ।  समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बोल्नुभएको थियो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गर्नुभएको थियो ।