पोखरा: कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा अरविन थापामगरविरुद्द मुद्धा चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार थापामगरले गत ४ गते पोखरा ५ फिर्के पुलमा चेकिङमा रहेका प्रहरीलाई अभद्र व्यवहारसहित हातपात गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक भानु शर्माले बताए । ‘हाइवेलक्षित नियमित चेकिङ योजना अनुसार काम गरिरहेको अवस्था छ । फिर्केपुलमा चेकिङको क्रममा बा ०२०२४ प ३५४८ नम्बरको बुलेट र ग १३ प ८७२ नम्बरको स्कुटर चालक मापसे गरेको अवस्थामा भेटिएपछि नियमअनुसार कारवाही गर्ने क्रममा प्रहरीमाथि नियोजित तवरले हातपात भयो, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि हातपात र मुक्का प्रहार गर्ने स्कुटर चालक अरविन थापामगरविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको हो ।’ उनले हाइवेलक्षित नियमित चेकिङ योजनाको कार्यक्रमले निरन्तरता पाउने बताए । कास्की प्रहरीले पछिल्लो समय स्वरुप परिवर्तन गरिएको मोटरसाइकल र मिटरमा चल्न नमान्ने ट्याक्सीहरुमाथि पनि निगरानी बढाएको छ ।
पोखरा: ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्षित गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ । ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंको सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मलसँगै पोखरामा पनि पाँचौं आउटलेटको रुपमा सञ्चालनमा ल्याएको हो पोखरामा शनिबारदेखि सञ्चालनमा आएको सेन्टर बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म खुला रहने प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए । उनका अनुसार सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको छ । पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि नयाँ आउटलेट थपेको बताए । ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो, उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं । पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध छ ।’ काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट थप्ने योजना छ । इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पोखरा: युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । अमरसिंहचौरमा गत पुषको २६ देखि माघको ८ गतेसम्म आयोजना गरेकोे पोखरा महोत्सवबाट कुल ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार भएको थियो भने खर्च १ करोड ३५ लाख ३५ हजार खर्च भएको थियो । उनले महोत्सवबाट बचत भएको (३८ लाख ९५ हजार) बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने बताए । सोही कार्यक्रमको अवसरमा क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान अर्पण गर्याे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, मालाले सम्मान गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको धारणा व्यक्त गरेका थिए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । कृषि विकास बैंकमा नगद जम्मा गर्न जाँदा कालिगढ मनोहर पवँरले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । ‘पोखरा–८ पृथ्वीचोकस्थित माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले कृषि विकास बैंकमा नगद जम्मा गर्न जाने क्रममा १७ लाख रुपैयाँ हराएको खवर कास्की प्रहरीलाई गरेका थिए’, शर्माले भने, ‘नगद हराएको खवरपछि खोजतलाज गर्ने क्रममा भारत घर भई पालिखे चोक बस्दै आएका छोटुवाल शर्माले फेला पारेको भन्ने सूचनापछि उनैको रोहबरमा सम्बन्धित धनीलाई बुझाएका छौं ।’ माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले बैंकमा नगद जम्मा गर्ने जाने क्रममा मोटरसाइकलको लेगार्डमा झोलाभित्र राखेका १७ लाख रुपैयाँ आज दिउँसो हराएका थिए । पैसा हराएको सूचनापछि प्रहरीले खोजतलाज गर्ने क्रममा पालिखेचोक बस्दै आएका शर्माले फेला पारेको सूचनापछि उनैको रोहबरमा प्रहरीले माता श्री ज्वैलर्सका सञ्चालक धुव्रकुमार सुनारलाई बुझाएको हो ।
पोखरा: यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामग्री वितरण गरेको हो । खाद्यान्न सामग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै बढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत बताए । सो अवसरमा बोल्दै नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गार्हाे काम भएका बताउदै गाह्रो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै श्रहानिय काम भएको बताए । कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितहरुका लागि स्थापना गरिएको वताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमानै खाद्यान्न उपलब्ध गराउदै आइरहँदा यूनाइटेड क्लबको सहयोग पाउदा आफुहरु गौरवान्वित भएको बताए । संघको संयोजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको ब्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ता बाहेक केही नपाएको उनको भनाइ रहेको थियो । उक्त बस्तीहरुका १८ जना विद्यार्थीहरुले छात्रवत्ति मार्फट पढाइ भइरहेको समेत उनले बताए । कार्यक्रममा यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्ण कुमार श्रेष्ठले यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा गत बैशाख १ गते देखी सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र सोही क्रममा छैठौ दिनको दिन पोखर आरोग्य आश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरिएको बताए । कार्यक्रममा बोल्दै यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गते सम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रमहरुमा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको बताए । क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदी संग जोडिएका पोखरा महानगरका वडा हरु संग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए ।
पोखरा: न्यूरोडमा कस्मिक कम्प्युटिङ एकेडेमी सञ्चालनमा आएको छ । १० वर्ष बढी समयदेखि कम्प्युटर सम्बन्धित समाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड कस्मिक कम्प्युटिङ सोलुसनले आफ्नो क्षेत्र बिस्तार गर्दै अब कम्प्युटर सम्बन्धि सबै तालिम प्रदान गर्ने उद्देश्यसहित एकेडेमीसञ्चालनमा ल्याएको हो । सञ्चालक पुरुषोत्तम कुँवरका अनुसार एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ । कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ । सञ्चालक कुँवरले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए । युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने कुँवरको विश्वास छ । ‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिनेछ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ,’ सञ्चालक कुँवरले भने । अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स एकेडेमीमा सञ्चालन हुने कुँवरले बताए । ‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन्,’ कुँवरले भने । एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको पोखराका लागि आधिकारिक विक्रेता कस्मिकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप पोखरामा उपलब्ध गराइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकमा स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । राष्ट्रबैंक चोकमा आज बिहान सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १ प ८५५२ नम्बरको हाइस एकआपसमा ठोक्किएका हुन् । स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको बैदाम प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार स्कार्पियो र हाइस एकआपसमा ठोक्किदा हाइसमा भएका १३ जना मध्य ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जनाएको छ । स्कार्पियो र हाइस एकआपसमा ठोक्किद राष्ट्र बैंक स्थित पार्किङमा रहेको बा २१ प ११५२ नं को स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कार्पियो र हाइसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा: १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशम्सा गरे। महोत्सवकै अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुशीको कुरा हो भन्दै प्रवक्ता तिमिल्सीनाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिनुपर्ने औँल्याए । विष्णुपादुका माविका प्रधानाध्यापक दिपकराज पौडेलले छोटो समयको तयारीमा सबैको सहयोगबाट महोत्सव सफल भएको जनाउर्दै हेमजाको उत्पादनको बजारीकरण व्यवस्थाका लागि महानगरको ध्यानाकर्षण गराए ।उनले हेमजाको जमिन तथा नहरको क्षयिकरण हुँदै जानु दु:खद् भएको सुनाउँदै त्यसतर्फ सरोकारवाला सबै सचेत बन्नुपर्ने स्पष्ट पारे । क्लबका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव मार्फत कृषिलाई सम्मानित पेशाका रुपमा अगाडि सार्न खोजिएको धारणा राख्दै यसलाई आगामि वर्षमा थप परिष्कृत गर्दै लैजानुपर्ने भनाई राखे। यहि चैत २५ गतेबाट सुरु महोत्सवका बीच त्यहाँ प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्री गरिएकोमा महोत्सव अवधिभर कुल रु.३० लाख ६५ हजार ७ सय २० रुपैयाँको आलु कारोवार भएको छ । त्यहाँ ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ, लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ। बुधवार महोत्सवमा कलाकारहरु शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, पार्वती गुरुङ, सरस्वती लामिछाने तथा सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे । त्यस्तै महोत्सव अवधिभर आलु लगायत अन्य सामग्री समेत गरी रु ३ करोड ७० लाखको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए। महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायतका कार्यक्रम भएका छन्। मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले महोत्सवका सहयोगकर्ता प्रति आभार प्रकट गर्दै महोत्सव हेमजाको व्याण्ड बनेको धारणा राखे। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव भएको हो। हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन्।
पोखरा: यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेन्डिङ मेसिनले प्याड वितरणमा मितब्यायीता कायम गर्ने बताए । छात्राहरुले महिनावारीको वेलामा अझैपनि आफ्नो समस्याहरु खुलेर भन्न नसक्ने अवस्था आइरहदा अत्याधुनिक मेसिनबाट आफैले प्याड झिक्न सकिने भएकाले पनि यसले छात्राहरुको पढाइलाइ थप उर्जा दिने उनको भनाइ रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका सदस्य हरि प्रसाद बासतोलाले सेनेटरी प्याड भेन्डिङ मेसिनको मूल्य भन्दा महत्व बढी रहेको बताउदै जानकी माविमा अध्ययनरत विद्यार्थीहरुले सिक्दै कमाउदै कार्यक्रम मार्फत बांसका सामाग्रीहरु निर्माण गर्दै आइरहेको र त्यसको उपयोग र बजारीकरणका लागि यूनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा स्टल राखेर त्यसको प्रवद्र्धन गरिदिन समेत आग्रह गरे । यूनाइटेड क्लबका पुर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लब १४ औं वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका बताए । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेकोमा यसपटक पोखरा १७ महतगौडामा रहेको जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि प्रदान गरिएको सेनेटरी प्याड भेन्डिङ मेसिनले छात्राहरुको स्वास्थ्य संगै अध्ययनमा सहायता पुग्ने विश्वास ब्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक अर्जुन कंडेलले यूनाइटेड क्लबले प्रदान गरेको भेन्डिङ मेसिन मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड सहजै प्राप्त गर्न सक्ने भएकाले छात्राहरुलाई कुनै झण्झट ब्योहर्न नपर्ने र उनीहरुको पढाइलाई समेत सहायता पुग्ने वताउदै यूनाइटेड क्लबको सामाजिक कामको प्रशंसा गरे । सो अवसरमा बोल्दै क्लबका कार्यसमिति सदस्य तथा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण कार्यक्रमका संयोजक जयराम आचार्यले नेपालमै बनेको अत्याधुनिक भेन्डिङ मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताए । मेसिनको संरक्षण गर्न तर्फ समेत विद्यालय परिवारलाई उनको आग्रह रहेको थियो । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लवले सेती नदी संग जोडिएका वडाहरु संग सहकार्य गरेर आफुहरु सेती नदीमा पर्यटकीय गन्तब्य स्थल निर्माण गर्न तयार रहेको बताउदै त्यसका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ संग समेत सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो ।

