पोखरा: गण्डकी प्रदेश टेनिस संघ तदर्थ समितिको अध्यक्षमा बिनोद कायस्थ सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शनिबार सम्पन्न भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् । अध्यक्षमा निर्वाचित कायस्थ कास्की टेनिस संघको संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघको उपाध्यक्ष समेत् हुन् । उनको कास्कीको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान रहेको छ । उनकै नेतृत्वमा पोखरा रंगशालामा टेनिस कम्लेक्सको निर्माण तथा विकास समेत भएको हो । अध्यक्ष कायस्थले कास्की केन्द्रित टेनिस खेललाई प्रदेशका ११ जिल्लामा नै विस्तार गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गरे । यस अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं खेल पत्रकार केशव पाठकले बधाई दिंदै गण्डकी प्रदेशको टेनिस खेलको विकासमा नयाँ नेतृत्वले योजनावद्ध रुपमा योजनाहरु अघि सार्न आग्रह गरे । कार्यक्रम भेला गठन समितिका संयोजक एवं नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा: डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन अतिक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१८ का ५६ जना विरुद्ध मुद्धा दायर गरेको छ । डिभिजन वन कार्यालय कास्कीले कात्तिक २० गते ५६ जना विरुद्ध वन अतिक्रमण गरेको आरोपमा मुद्धा दायर गरेको हो । पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्का लगायत ५६ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले मुद्धा दायर गरेको हो । २०६४/०९/१२ का ११ औं गाउँ परिषद्को निर्णयले श्री सिद्धको थुम्को कित्ता नम्बर ६५९ को ४५ रोपनी ६ आना राष्ट्रिय वन क्षेत्रको जग्गा शान्त मावि, पोखरा–१८ भकुण्डेलाई संरक्षणको लागि दिएको अभियोग पत्रमा उल्लेख गरिएको छ । संरक्षणका लागि दिएको राष्ट्रिय वन क्षेत्रको जग्गा २०६६/०१/०४ गते विद्यालय व्यवस्थापन समितिको निर्णय गरी १० वर्षका लागि काली बहादुर परियारलाई भाडमा दिएको, साथै सोही जग्गा पुनः विद्यालय व्यवस्थापन समितिले ०७८/०४/०१ गतेको निर्णयबाट गैह्रकानुनी रुपमा पोखरा डिज्निल्यान्ड प्रालिका सञ्चालक बसन्त कुमार लिगललाई १२ वर्ष ६ महिना व्यवसाय सञ्चालन गर्न भाडामा दिएको अनुसन्धानमा पेश भएका प्रमाणबाट पुष्टि भएपछि मुद्धा दायर गरिएको उल्लेख गरिएको छ । पोखरा–१८ भकुण्डेस्थित सिद्धाको थुम्कोमा रहेको करिव २ सय रोपनी राष्ट्रिय वन क्षेत्रको जग्गा शान्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्काले रिसोर्ट सञ्चालनका लागि भाडामा दिएको, डोजर प्रयोग गरि सम्माएको, रुख कटान गरेर विक्री गरेको उजुरी परेपछि वन क्षेत्र अतिक्रमण गरी गैह्र कानुनी रुपमा जग्गा भाडा लिने दिने, कार्य गरी वन ऐन, २०७६ को दफा ४९ बमोजिम खण्ड (ग) अनुसार कसुर गरेको अभियोगमा प्रतिवादीहरुलाई सोही ऐन दफा ५० को उपदफा (३) बमोजिम सजायको माग गरिएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा रहेर क्रियाशिल पत्रकारितामा निरन्तरता दिइरहेका ७ पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी रहेका छन् । उनीहरू मध्ये गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट न्यौपाने र २०८० बाट हमाल पुरस्कृत भएका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको थियो । आर्थिक पत्रकारिता पुरस्कार पत्रकार २०७८ टंकराज अधिकारी र २०७९ दीननाथ बराललाई अर्पण गरियो । यो पुरस्कारको राशी नगद बीस हजार रुपैयाँ रहेको थियो । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई अर्पण गरियो । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ थियो । २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भइन् ।
पोखरा: कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा समूह, विद्यालयलाई सहयोग, बिरामीको औषधीलगायत ७० भन्दा बढी योजनामा ७ लाख रुपियाँभन्दा बढी खर्च गरेका थिए । चालु आर्थिक वर्षमा जनस्वास्थ्यमा ५० हजार, खेलकुद तथा युवा प्रोत्साहनमा १ लाख र विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत डेढ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन् भने केही विद्यालयमा सहयोगको तयारी भइरहेको सुवेदीले जानकारी दिए । सुवेदीले राजनीतिलाई पेसाका रूपमा नभई समाजसेवाका रूपमा अघि बढाउनुपर्ने मान्यता आफ्नो रहेको बताउँदै जीविकोपार्जनका लागि जनप्रतिनिधिले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्ने धारणा राखे । आफूले पाएको सबै रकम जनताकै सेवामा खर्च गर्ने उनले प्रतिबद्धता दोहोर्याए । ‘कुनै पनि गरिब जनता उपचारको अभावमा मर्नुनपरोस्’ सुवदीले भने, ‘जनप्रतिनिधि भइन्जेल सधैँ म जनताको दुःखमा साथमै रहने छु ।’ उनले आफ्नो कामलाई आन्दोलनको संज्ञा दिँदै जनप्रतिनिधि जागिरे होइन भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए । पोशाक वितरण कार्यक्रममा साविक रूपाकोट गाविसका पूर्व अध्यक्ष टीकाराम पगेनीले राजन जस्ता युवाको राजनीतिक चेतनासहितको कार्यशैलीले आशाको किरण देखा परेको बताए । नेकपा एमाले कास्की क्षेत्र नम्बर १ इन्चार्ज र गण्डकी प्रदेश सदस्यसमेत रहेका पगेनीले अबको विकासको मोडल उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए । नेकपा एमाले गण्डकी प्रदेशका सदस्य विष्णु पुनले समृद्धिको अभियान राजन जस्ता त्यागी र सकारात्मक सोच भएका युवा राजनेताहरूबाट मात्रै सफल हुन सक्ने धारणा राखे । जनताको सेवामा लाग्ने राजन र राजन जस्ता युवाहरूका पक्षमा आफू सधैँ लागिरहने पुनको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठले आफ्नो आम्दानी विद्यार्थीका लागि खर्चेर राजनले असल जनप्रतिनिधिको परिचय दिएको बताए । रूपाका विद्यालयमा मात्र नभई हरेक बस्ती र कुनामा पुगेर सेवा गर्दै आएका राजनबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने बताउँदै श्रेष्ठले विश्वशान्तिका विद्यार्थीका लागि गरेका सहयोगप्रति धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारीको स्वागत तथा शिक्षक बाबुराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय युवा सङ्घ, रूपाका अध्यक्ष सुजन श्रेष्ठ, उपाध्यक्ष हिमाल गुरुङ, खेलकुद महासङ्घ, कास्कीका सदस्य खेम गुरुङलगायतको सहभागिता रहेको थियो ।
पोखरा: वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ । मञ्चका सभापति राजु क्षेत्री (अपुरो)को संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन । मञ्चका कोषाध्यक्ष लबि क्षेत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्विटर टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्ने बताइन् । उक्त कार्यक्रमका लागि चन्द्रमोहन (अर्बिन) पौडेल, क्यामबहादुर घताने, पूर्णबहादुर शाही नर्वे, बिष्णुहरि अधिकारीले आर्थिक सहयोग गरेका थिए । यसैगरी महेन्द्र मा.वि. लाहाचोकका विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त विद्यालयमा एसइइ तयारीमा रहेका ५ जना विद्यार्थीलाई होस्टल खर्च अभावको विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीबाट जानकारी प्राप्त भएपछि उक्त सहयोग गरिएको छ । जसका लागि मञ्चका पदाधिकारी पूर्णबहादुर शाही (नर्वे) र अञ्जु लम्साल (काठमाडौं) बाट १६–१६ हजार, राजेश घले (हङकङ) बाट आठ हजार सहयोग भएको थियो । सोही अवसरमा पूर्णबहादुर शाहीबाट ५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । सहयोग ग्रहणपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले मञ्चको सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरे । कार्यक्रमका व्यवस्थापक सुशील श्रेष्ठले मञ्चका सचिव पुष्पराज अधिकारीको संयोजकत्वमा मञ्चले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सहयोग हस्तान्तरण गरेको जानकारीसमेत गराएका थिए । प्रदीप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका पदाधिकारी भुपेन्द्र सुनार, दिलिप रानाभाट, गोमा घले, राजु परियार, रूपा अधिकारी, देवी तिवारीले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए ।
पोखरा: सहारा क्लब पोखरालाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । तमु धिं जापानका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा त्यहाँ संकलित २ लाख १५ हजार जापानी येन सहयोग गरिएको हो । पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अवसरमा बिहीबार एनआरएनए आइसिसी उपाध्यक्ष रोविनप्रसाद शेरचनले उक्त रकम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेका हुन् । नेपाली फुटबलको इतिहासमा जनस्तरको सहयोगबाट साढे दुई दशकदेखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्नुका साथै सहारा एकेडेमी सञ्चालन गरेर पुण्य काम गरेकोमा पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका सिलवालको संयोजकत्वमा खेलकुदप्रेमीबाट उक्त रकम संकलन गरिएको थियो । सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै क्लब अध्यक्ष बरालले उक्त रकम सहारा एकेडेमीमा सदुपयोग गरिने प्रतिबद्धता जनाए । वर्षेनी फुटबल प्रतियोगिता गरेर क्लबले पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुलाई निशुल्क शिक्षा, दीक्षा दिलाउँदै आएको छ । हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।
पोखरा: पोखराको राष्ट्रबैंक चोक स्थित एक खाजा घरमा जुवातास खेलिरहेका एक विदेशी नागरिकसहित ६ जना जुवाडेलाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोलीले ६ जना जुवाडेलाई बिहीबार बेलुका प्रकाउ गरेको हो । बागलुङको तमानखोला गाउँपालिका घर भई राष्ट्रबैंकचोकमा खाजा घरका संञ्चालक ४५ वर्षीय समिता आले, भारत घर भई पोखरा–७ बस्ने ४५ वर्षीय रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका घर भई पोखरा–७ बस्ने ४७ वर्षीय सागर थापामगर, पोखरा–१५ बस्ने ३२ वर्षीय नविन रिंजाली, पोखरा–७ बस्ने ५२ वर्षीय सुकबहादुर मगर र गोरखा सुलिकोट गाउँपालिका घर भई पोखरा–७ बस्ने ४२ वर्षीय डिलबहादुर मगरलाई जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट तास र ४३ हजार ६ सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधेरीखोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ । अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी भएको सूचनापछि अस्थायी प्रहरी चौकी बाम्दीबाट खटिएको प्रहरीको टोलीले दुईवटा ट्याक्टरलाई हिजो (मंगलबार) नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो । प्रहरीले अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ग १ त ५२९० र ग १ त ६२१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण गाउँपालिकामा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा घाइते भएका चालक कृष्ण थापाको मृत्यु भएको छ । उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका ग्यारजातीका ४९ वर्षीय थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका हुन् । आज बिहान करिब सवा ९ बजेतिर पोखरा झर्दै गरेको दुध बोकेको ग ३ च २६०३ नम्बरको बोरेलो जीप सडकबाट करिब २० फिट तल खसेको थियो । मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो । दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको बताउदै खतरामुक्त भएको कास्की प्रहरीले जनाएको छ । घाइते द्वय वृद्धा भत्ता लिन पोखरा आएको बताइएको छ ।

