पोखरा: बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले बाह्रौं संस्करणको पोखरा महोत्सव देखी लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा बिपन्न विद्यार्थीहरुका लागि आवाशिय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि रकम छुट्याइने संयोजक श्रेष्ठले बताए । बाह्र दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छन । महोत्सवमा दुई लाख ५० हजार दर्शक आउने अनुमान रहेको छ । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेश गराइने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा रेभेल एप मार्फत अनलाइनबाट समेत टिकट सुरक्षित राख्न सक्नेछन । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । हिमाली भेगमा चौरी गाईको दैनिकी जिवनमा आवश्यक्ता र देशको आर्थिक चलायमानमा याकको भुमिकाको बारेमा जानकारी दिनका लागि बाह्रौं पोखरा महोत्सवमा याकको प्रदर्शनी गरिने छ । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ब्रोसर प्रायोजकमा रिलायवल लाइफ इन्सुरेन्स, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, अनलाईन टिकट पार्टनर रेभल, नेपाल टेलिकम, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेटमा वल्र्डलिंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरालाखवर डटकम रहेका छन । पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिएभने कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने उनले बताए । पत्रकारमा सबै भन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा उनको छ । फण्डामेण्टल स्किल नै नभएको पत्रकार काम नभएको उनले उल्लेख गरे । ‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो’, उनले भने,‘तपाईले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’ सूचना खोज्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने ढकालले बताए । स्रोतसँगको सम्बन्ध सबै भन्दा महत्वपूर्ण भएको भनाई उनको छ । पढ्ने, हेर्ने, सुन्ने मान्छेले पत्रकारलाई पत्याउने गरी कन्टेन्ट तयार पार्नुपर्ने उनले बताए । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी गराइन् । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो’, उनले भनिन्, ‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’ भण्डारीले पत्रकारितालाई निखार्न विषयवस्तु सम्बन्धि दुई दिने तालिम गरिएको बताइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धि तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानिय काम गरेको उल्लेख गरे । उनका अनुसार आजको समय विषयवस्तुको छनोट मूल कुरा हो । तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन आज पोखराका क्रियाशिल पत्रकार भरत कोइराला (आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल खबर), दिपक परियार (कान्तिपुर) ले आफ्नो अनुभव सुनाएका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता छ ।
पोखरा: पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा।लि। दोस्रो बर्षमा प्रवेश गरेको छ । ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए । विश्वभरी नेपालको सौन्दर्य र विविधतालाई फैल्याउनु ट्राभल्सको मुख्य उद्देश्य रहेको र लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गरी यात्रा गराउने लक्ष्य ट्राभल्सको रहेको अधिकारीको भनाई छ । नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने योजनाका साथ ट्राभल्स सञ्चालन गरिएको र सञ्चालनको एक बर्षमा नै धेरैको मन जित्न सफल हुनुका साथै धेरैको रोजाइमा पर्नै गरेको जनरल म्यानेजर बिजय पौडेलले जनाए । हाल देशका युवा बिदेशिने क्रम बढ्दै गएको समयमा पनि रोजगारी र अवसर देखेर ट्राभल्स सगैँ टुरिजमको क्षेत्रमा कामको सुरुवात गरिएको पौडेलको भनाई छ । अहिले सम्म ट्राभल्सले ५ सय जना बिदेशी र २ सय जना नेपालीलाई सेवा प्रदान गरिसकेको छ ।
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा जीवलाल न्यौपाने निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष विष्णु भट्टराई पाण्डे, सचिव लीलाबल्लभ न्यौपाने, कोषाध्यक्ष मणिराज भट्टराई, सहसचिव भीमलाल भट्टराई चुनिए । सदस्यमा हरिकला पाण्डे, वडा नम्बर ५ को संयोजक तथा सदस्यमा पवित्रा पाण्डे, वडा नम्बर ४ को संयोजक तथा सदस्य राजन पाण्डे, वडा नम्बर ६ को संयोजक तथा सदस्य वेदप्रसाद भट्टराई, वडा नम्बर ३ को संयोजक तथा सदस्य जयप्रसाद भिँले, वडा नम्बर ७ को संयोजक तथा सदस्य गोपाल भट्टराई, वडा नम्बर २ को संयोजक तथा सदस्य गीता भेँडी र वडा नम्बर १ को संयोजक तथा सदस्य रुकेश सुनार निर्वाचित भएका छन् । सल्लाहकारहरु प्रसिद्ध गायक पुरुषोत्तम न्यौपाने, एलबी राना, भोजराज पाण्डे, चोलाकान्त पाण्डे, केबी राना, लेखनाथ न्यौपाने र वेदप्रसाद पाण्डे लगायतको सहजीकरणमा नयाँकार्यसमिति चयन भएको हो । निर्वाचन समिति संयोजक भोजराज पाण्डे थिए ।
पोखरा: इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए । खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो ।
पोखरा: कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा बिहिबार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाणपत्र पाए । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण शुरुमा घर परिवारबाटै सकरात्मक हुनुपर्नेमा जोड दिए । उनले सरकारले सरोकारवालासँग नियमति छलफल गरिएको जानकारी दिए । कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले आगामी वर्ष प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले कास्की नेत्रहिन संघको भवनमा रहने गरि प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे । संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनिता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका १३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहिन कल्याण संघ र नेपाल नेत्रहिन संघको स्थापनापछि नेपालमा ब्रेल दिवस मनाउन थालिएको हो ।
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ । चङ्गा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते शनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए । उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ । निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसन शो गर्ने बताए । ‘यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गर्दैछौ, निर्देशक गुरुङले भने, ‘यसले हाम्रै पोखराको र नवदीत कलाकारहरुलाई एक्सप्लोर गर्ने छ । त्यसैले हामीले आर्ट र म्युजिकलाई जोडेर फेस्टिबल आयोजना गरेका हौं ।’ उनले म्युजिक फेस्टिबलको माध्यमबाट संगीत र कलासँग जोडिएका संस्कृतिहरुको प्रर्वद्धन गर्ने विश्वास लिएको बताए । हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटाले खुशी व्यक्त गरे । ‘चङ्गासँग हाम्रो पहिलोपटक अफिसियल्ली सहकार्य यो इभेन्टका लागि भएको छ, सापकोटाले भने, ‘यहाँहरुको इभेन्ट पृथक भएकाले पनि हामी चङ्गासँग कोल्याब्रेट गरेका हौं ।’ सापकोटाले अरुबेला हुने फेसन शो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । ‘अरु बेलाको फेशन शो भन्दा यो इभेन्टमा फरक खालको शो देख्न पाउनुहुनेछ । म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्पेस दिएका छौ, उनले भने । सो फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुती दिनेछन् । यस्तै सो फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेमा उपलब्ध रहेको छ । ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरेको बताइएको छ ।
पोखरा: पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रविधिमैत्री बन्दै अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था मिालएको छ । यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यात्रुहरुलाई सहज र स्तरीय सेवा दिनका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पूर्ण अटोमेशनमा गएपछि अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाइएको आज (बुधबार) आयोजित पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले कम्पनी पूर्ण रुपमा अटोमेशनमा गएकाले यात्रुहरुले अब अनलाइनबाट टिकट काट्न सक्ने बताए । ‘पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रुपमा बढिरहेको अवस्थामा यात्रुहरुलाई सहज र स्तरीय सेवा दिनको लागि हामी पूर्ण रुपमा अटोमेशनमा गएका हौं’, केसीले भने, ‘कम्पनी अटोमेशनमा गएकाले यात्रुहरुले अनलाइनबाट नै टिकट काट्न सक्छन् ।’ उनका अनुसार यात्रुहरुले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको पृथ्वी बस डटकम एनपी, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको मोबाइल एम्पलिकेशन र बस सेवा डटकममार्फत सजिलै टिकट काट्न सक्नेछन् । विगत ५० वर्ष भन्दा धेरै समय देखि सेवा दिँदै आएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले नेपालका प्रमुख शहर काठमाडौं, बुटवल, हेटौंडा देखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, विरगञ्ज, काँकड भित्ता देखि सुदुर पश्चिमका दाङ, नेपालगञ्ज, सुर्खेत धनगढी, बर्दिया तथा महेन्द्रनगर सम्म गरि ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १ हजार ३ सय ५० बस मार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै, बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । दशवर्ष अगाडि स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।
पोखरा: पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड ९राइला० कार्यक्रमको तयारी तिब्र पारिएको छ । आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ । ‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका छौं’, लिगलले भने,‘ राइला कार्यक्रम यसवर्ष हामीले पोखरामा आयोजना गर्दै छौं पोखराको सम्पूर्ण क्लब यसको तयारीमा लागि परेका छौं ।’ उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए । ‘रोटरी युथ लिडरसिप अवार्ड (राइला) को मुख्य उद्धेश्य भनेको युवाहरुलाई नेतृत्वदायी बनाउने हो, युवाहरुलाई दुव्र्यसनी र नराम्रो काममा लाग्नबाट बचाउने कार्यक्रमको उद्धेश्यको हो’, उनले भने, ‘यो अवार्ड विभिन्न उमेर समूहका युवाहरुलाई वितरण गर्दै गर्दै आएका छौं यस वर्ष भने हामीले १६–२० वर्ष उमेरसमूहका लागि वितरण गर्दै छौं ।’ राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउने बताउँदै उनले चार दिनको कार्यक्रममा युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्ने बताए । उनका अनुसार यसपटकको अवार्ड कार्यक्रममा नागरिकको अधिकार र कर्तव्य सम्बन्धि विषयसमेत समावेश गरिएको छ । ‘कुनै पनि देशको नागरिकको देशको विकास के छ के हुँदै छ भन्ने जान्न पाउने अधिकारी नागरिकको हो, त्यसैले वर्षको अवार्ड कार्यक्रममा नागरिकको अधिकार के हो ? भन्ने विषयपनि समावेश गरेका छौं ।’ रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।

