पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै उम्मेदवारी घोषणा हुन थालेको छ । आगामी भदौ २४ र २५ गते संघको महाधिवेशनको मिति घोषणा भएसँगै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले पत्रकार सम्मेलनमार्फत आज (आइतबार) उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै वाणिज्य संघ छोड्न तयार तर अध्यक्षको उम्मेदवारीबाट पछाडी नहट्ने उनकाे अडान छ । ‘कुनैपनि सर्तमा म पछि हट्दिन, उनले भने, ‘बरु म वाणिज्य संघ नै छाड्छु तर अध्यक्ष पद छोड्दिन ।’ उनले अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाको रुपमा पुनः स्थापित गर्नै दायित्व नयाँ पुस्ताको काँधमा आएको महसुस गर्दै आफुले उम्मेदवारी दिने स्पष्ट पारे । ‘संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर काम गरेको छु, पोखरेलले भने, ‘अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरे पश्चात धेरैको चाँसो र चिन्ता अब उद्योग वाणिज्य संघमा छ त्यसैले अध्यक्षमा उम्मेदवार घोषणा गरेको हुँ ।’ व्यवसायीको हकहितको पक्षमा विभिन्न प्रबिद्धताहरुसहित उम्मेदवारी घोषणा गरेको उनले बताए । पोखरा उद्योग वाणिज्य संघलाई पोखरेलीको साझा घर बनाउने, भइरहेको भवनलाई पुनः निर्माण गरि बहुतले भवन बनाएर व्यापारिक प्रयोजनका लागि उपयोग र २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय रहने पोखरेलको प्रतिबद्धता रहेको छ । उनले संघीय संरचनापछि पोखरा उद्योग वाणिज्य संघको भूमिका कमजोर भएको भन्दै सरकार–जनताबीचको दुरी घटाउन पुलको रुपमा संघलाई अगाडी बढाउने बताए । प्रतिबद्धता पत्रमासंघको पहिलो दायित्व संघमा आवद्ध भएका÷नभएका उद्योगी व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने र उनीहरुको अधिकार, राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुुरक्षा, नयाँ लगानी भित्राउन प्रोत्साहन काममा निष्पक्ष भएर काम गर्ने उल्लेख गरिएको छ । आफु निर्वाचित भए २ वर्ष कार्यकालभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पोखरा लगानी सम्मेलनदेखि, विदेशी लगानीलाई स्थानीय लगानीकर्तालाई थप लगानी गर्न मिल्ने प्रेरणा सहित संघले देशका चेम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने पोखरेलले घोषणा समेत गरेका छन् ।
पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले घोषणा गरेको २२ गतेदेखिको आन्दोलन स्थगित भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको बताए । ‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, सुनगाभा न्यूजसँग भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ । मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’ गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै (भोलि) आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।
पाेखरा: गण्डकी प्रदेश सरकार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएदेखि आलोचित बनेको छ । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आफ्नो आफन्तको नाममा स्थापित कोष तथा पार्कनिर्माण गर्न बजेट विनियोजन गरेपछि खैलाबैला मच्चिएको थियो । त्यसपछि सवारी कर तथा जरिवानामा २ सय प्रतिशतले राजस्व असुलेपछि फेरि प्रदेश सरकारको विरुद्धमा नाराबाजी तथा ध्यानाकर्षण गराइएको थियो । चोतर्फी दबाबपछि आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै भाषागत त्रुटी भएको भन्दै ऐनलाई नै संशोधन गर्ने निर्णय गरेको थियो । तर सवारी करमा भने वृद्धि कायमै छ । त्यसैगगरि ट्राफिक प्रहरीलाई ५ हजारसम्मको जरिवानाको अधिकार प्रदान गरेकोप्रति पनि यातायात व्यवसायीहरु असन्तुष्ट हुदै आएका छन् । सोही कारण यातायात व्यवसायीले आगामी २२ गतेदेखि सार्वजनिक सवारी साधननै घर ग्यारेजमा थन्काउने घोषणा गरिसकेका छन् । उनीहरुको माग सम्बोधन नभए केन्द्रीय कार्यक्रम नै आयोजना गरि देशव्यापीरुपमा हड्ताल गर्ने तयारीमा छन् । गण्डकी प्रदेश सरकारको कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकार तीन महिनापछि विदा हुदैछन् । बिहिबार मात्रै सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिसेको छ । त्यसैले यही आर्थिक वर्षमा जनतामाथि करको भारी थपेर विदा हुदैछन् । यद्यपी बजेटमाथि दफावार छलफलको क्रममा राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी प्रमुख नेतृ पियारी थापाले करको दर नभई दायरा फराकिलो पार्नुपर्ने भन्दै आपत्ती जनाउँदै आएकी थिइन् । तर पनि सुनुवाई नै भएन । ४० करोड राजस्व बढाउने लक्ष्य सरकारले सम्पत्ति कर शीर्षकमा घरजग्गाबाट चालु आर्थिक वर्ष २०७९÷०८० मा १ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६० करोडको लक्ष्य लिएको थियो । थप ४० करोड राजस्व बढाउनकै लागि सरकारले जनतामाथि ४२८ प्रतिशतसम्मले करको दरमा वृद्धि गरेको छ । आर्थिक ऐन, २०७९ अनुसार तीनपुस्ता भन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० र गाउँपालिकामा ५ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५०० रुपैयाँ मात्र थियो । तीनपुस्ता भित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५०० तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपर्छ । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा पाँच सय तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार पाँच सय तिर्नुपर्ने हुन्छ । हाल साबिक दस्तुर पनि महानगरमा चार सयबाट एक हजार पुगेको छ भने नगरपालिकामा दुई सयबाट पाँच सय र गाउँपालिमा एक सयबाट दुई सय पुगेको छ । संशोधन शुल्क पनि दोब्बर बढाइएको छ । बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संस्थाले आफ्ना नाममा दाखिल खारेज गर्दा प्रति मिसिल पहिले महानगर र उपमहानगरमा ७ हजार लिने गरिएकोमा यो वर्षदेखि १५ हजार पुगेको छ । यस्तै नगरपालिकामा पाँच हजारबाट १० हजार पुगेको छ भने गाउँपालिकामा दुई हजारबाट ५ हजार पुगेको छ । अंशबण्डामा पनि सरकारले ५० प्रतिशतसम्म कर बढाएको छ । अंशबण्डा आर्थिक कारोबार नभइ हकभोगको हस्तान्तरण मात्रै भएकोले कर घटाउनुपर्ने माग संसदमा पनि उठेको थियो । तर, त्यसको सुनुवाइ भएन । चालु आर्थिक वर्षमा अंशबण्डा गर्दा पाँच लाख रुपैयाँ तिर्नुपर्नेले आगामी वर्षदेखि दुई लाख ५० हजार रुपैयाँ थपेर सात लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । अंशबण्डा तथा अंश भर्पाइको लिखतमा शीर्षकसहित सरकारले कर पनि बढाएको हो । चालु आर्थिक वर्षमा अंशबण्डा तथा अंश भर्पाइको लिखत गर्दा ३० लाख, ३० देखि दुई करोड र २ करोड रुपैयाँ माथिको क्लस्टर बनाएर शुल्क तोकिएको रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने प्रावधान राखिएको थियो ।
पोखरा: पोखरा महानगरपालिकाले महेन्द्रपुलका सटर प्रयोगकर्ता व्यवसायीलाई ३५ दिनभित्र सटर खाली गर्न सूचना जारी गरेको छ । महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटर कवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको छ । आफैं नहटाए कानुन बमोजिम हुने उसको चेतावनी छ । ‘महेन्द्रपुल नजिकै आर्ट ग्यालरी र पुस्तकालय भवनमा रहेका सटररकवलमा व्यवसाय सञ्चालन गर्न विगतमा सम्झौता गरेका व्यवसायीहरुले कानुन बमोजिम म्याद थप नगरेको, सम्पर्कमा समेत नआएको र पटकपटक ताकेता गर्दासमेत बहाल बक्यौता भुक्तानी नगरेकाले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०१ बमोजिम ३५ दिने सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ । यसअघि महानगरले साउन ७ गते भाडा सम्झौता प्रतिलिपि, तेस्रो पक्षसँग सम्झौता गरेको भए सोको प्रतिलिपि र हालसम्म भाडा नबुझाउनुको उचित कारण खुलाएर एक हप्ताभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो । महानगरको असार ७ गते बसेको कार्यपालिका बैठकले नै महानगरको स्वामित्वमा रहेका सटर भाडा नबुझाउने व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । उक्त बैठकले महेन्द्रपुलको ३ महिनाभित्र सटर खाली गरेर योजनामुताबिक भवन भत्काउने र पार्क वा पार्किङमध्ये एउटा बनाउने निर्णय गरेको थियो ।
पोखरा घुम्न आएका भारतीय पर्यटकको होटलको छतबाट खसेर मृत्यु भएको छ । भारतको मेङलोर घर भएका ४५ वर्षिय भारतीय नागरिक भानु प्रकाशको होटलको छतबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका-६ लेकसाइड, गौरीघाटस्थित पोखरा इन्टरनेसनल होटलमा आफन्तसँग पोखरा घुम्न आएका भारतीय नागरिक भानु प्रकाशको छतबाट खसेर शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाशको शव पोष्टमार्टम लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आगामी २२ गते आइतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा पार्किङ गर्ने आज (बुधबार) विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारले नागरिक र यातायात व्यवसायीको हित विपरित कर वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको पृथ्वी राजमार्ग यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए । ‘हाम्रो कोरोना महामारीबाट मुक्त भएको व्यवसायलाई प्रदेश सरकारले करमा बृद्धि गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि सरकारले ६० प्रतिशत सवारी करमा छुट दिन्थ्यो । तर अहिले घटाएर ३३ प्रतिशत बनाएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘यतिमात्रै नभएर वार्षिक करमा वृद्धि गरेको छ । त्यसैले यसको विरुद्धमा हामीले आन्दोलनको घोषणा गरेका हौं ।’ उनले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवानका काट्न सक्ने व्यवस्था समेत यातायात व्यवसायीको हितमा नभएको उल्लेख गरे । ‘अहिले ट्राफिक प्रहरीलाई ५ हजार सम्मको जरिवाना काट्न सक्ने भनेर अधिकार दिएको छ, केसीले भने, ‘चालकले अलिकति गल्ती गर्दा र भनाभन गरेकै भरमा ५ हजार तिर्नुपर्ने अवस्था छ । त्यसैले यसको विरुद्धमा हामीले कदम चलाएका हौं ।’ उनले उक्त विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक छलफल गरेको बताउदै भने, ‘हामीले त्यो विषयमा गण्डकी प्रदेश सरकारसँग धेरैपटक वार्ता र छलफलसँगै ज्ञापनपत्र बुझाउने काम भयो । तर सवारी जरिवानालाई मात्रै केही संशोधन गरे जस्तो गर्याे । त्यसैले सरकारले २१ गते राती १२ बजेसम्म हाम्रो मागलाई सम्बोधन गरेन भने हाम्रा सवारी साधन घर ग्यारेजमा खडा गर्छाै । त्यति गर्दापनि भएन भने प्रदेशभर आम हड्तालको आह्वान गर्छाै र यतिले पनि भएन भने केन्द्रीय समितिसँग समन्वय गरेर देशभर आन्दोलनमा जान्छौं ।’ उनका अनुसार गण्डकी प्रदेशभर मालबहाक र यात्रुबहाक गरि करिब २० हजार सवारी साधन गण्डकी प्रदेशमा सञ्चालन हुदै आएको छ । गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको खण्डमा सबै सवारी साधनहरु पार्किङमा राखिने महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो । राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७/७ थान फुटबल सहयोग गरिएको थियो । जसमध्ये ५/५ वटा प्रशिक्षण बल र २/२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिइन् । उनले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताईन् । उनले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताईन् । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गरिन् । विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उनले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक अजय केसीले ३ प्रमुख मिसन अघि सारेका छन् । सोमबार पदवहाली गरेका केसीले सुनगाभा न्यूजसँग बोल्दै शान्तिसुरक्षा तथा लागुऔषध नियन्त्रण, निर्वाचन र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए । ‘म मुलभुत ३ मिसनका साथ यहाँ आएको छु, उनले भने, ‘शान्ति, सुव्यवस्था र अमनचयन, नेपाल प्रहरीको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । शान्तिपूर्वक बाँच्न पाउँने संवैधानिक अधिकारको नेपाल प्रहरी रक्षा गर्छ । र म त्यसैको पक्षमा उभिएर अझ चुस्तदुरुस्त काम गर्ने संकल्प गरेको छु ।’ मिसनको पहिलो नम्बरमा शान्तिसुरक्षाको व्यवस्थापनलाई राखेका केसीले दोस्रो नम्बरमा लागुऔषधलाई राखेका छन् । ‘पहिलो नम्बरमा नेपाल प्रहरीको काम र कर्तव्यको रुपमा शान्तिसुरक्षा तथा अमनचयन पर्छ । त्यसपछि दोस्रो नम्बरमा अलि विकृतिको रुपमा देखिएको लागुऔषध (ड्रग्स)लाई निर्मुल नै पार्ने एउटा संकल्प लिएको छु भने नम्बर तीनमा चाँही अब निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर मजबुद सुरक्षा मिलाउने छु ।’ उनले भने । एसपी केसीले वर्षाको समयमा भैपरी आउने बाढी तथा पहिरोको वितण्डालाई मध्यनजर गरेर कार्ययोजना बनाएको सुनाए । ‘अहिले वर्षाको समय छ । हामी २४ सैं घण्टा अलर्ट छौं र स्थानीय सरकारका प्रमुख, वडाध्यक्षहरु तथा स्थानीयसँग समन्वय गरेर उहाँहरुलाई थप जिम्मेवारी बनाएका छौं, उनले भने, ‘हामीले क्विक रेस्पोन्स त गरेका छौं नै तरपनि भवितब्य परेको खण्डमा छिटै उद्धार गर्न सकिने गरि व्यवस्थापनमा लागेको छु ।’ सोमबार मात्रै कास्की प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा थिए । एसपी केसी भन्दापहिले कास्की प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक रमेश थापाले कमाण्ड सम्हालेका थिए । एसपी थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा, महाराजगंज काठमाडौं सरुवा भएका छन् ।
पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ । गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् । त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् । यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ । स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ । त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन । ‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’ जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए । त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’ गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’

