वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन । वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो । “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उहाँले भन्नुभयो, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।” आफूहरूको थाकथलो कास्कीको पोखरा-९ नयाँबजार रहेको जानकारी दिँदै उहाँले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताउनुभयो । जलारीका अनुसार उहाँको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बस्नुभएको इतिहास उहाँले सुनाउनुभयो । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ । “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।” समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् । कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन । कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अनिष जलारीले भन्नुभयो, “दुई वर्षदेखि बाह्य पर्यटक आएका छैनन् ।”
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देव गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको पोखरामा बसेको संयुक्त बैठकमा उहाँले माओवादीले गरेका राम्रा कामको जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुझाउनुहोला ।” आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै उहाँले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । पार्टीका सचिव एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताउनुभयो । माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको उहाँले जिकिर गर्नुभयो ।
पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। पोखरा पर्यटन परिषदको नयाँ नेतृत्व् चयन गर्ने गरी बिहीबार सम्पन्न १२ औँ अधिवेशनमा रामचन्द्र शर्मालाई पराजित गर्दै अध्यक्षका उम्मेदवार पोमनारायण श्रेष्ठ निर्वाचित भएका हुुन् । बिहीबार भएके मतदानमा श्रेष्ठले २८ मत प्राप्त गर्दा शर्माले १४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शमौ महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए । ६ सदस्य रहने परिषदमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध निर्वाचित भएका थिए ।
पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा योगेन्द्रबहादुर केसी दोहोरिएका छन् । अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई ४ सय ७२ मतले पराजित गर्दै केसी दोस्रो कार्यकालका लागि पुनः पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा निर्वाचित हुदैँ दोहोरिएका हुन् । अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गर्दा धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् । सञ्चालकहरुमा जयप्रसाद शर्मा (६२९) बाबुराम दवाडी (६२५), अशोक कुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीशर्मा न्यौपाने (रामु) (५७८), मेखराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी )५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्छौडी (४९४), रमेश कुमार श्रेष्ठ (३९९) मत ल्याएर विजयी भएका छन् ।
छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिईन् । १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएर कुल ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको उनले बताइन् । अझै विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुने क्रममा रहेको तथा सो मध्ये १ लाख ३ हजार १ सय २३ रुपैयाँ भुक्तानि गर्न बाँकी रहेका उनले खुलाइन् । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशी कुमार पौडेल र कोषाध्यक्ष कविता घर्तीमगरले बोलेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ । छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी घोषित भर्ई प्रदिप खड्का र अरुणा शाहीले एक-एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीले दीपक परियारले प्राप्त गरेका थिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, पोखरा रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारजनको सहयोग, पोखरेली मञ्च युके, निसीखोला गाउँपालिका बाग्लुङ, चिःिलबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, पोखरा पर्यटन परिषद्, पोखरा यूनाइटेड क्लव, हिमालयन क्लव लामाचौर, नवआर्दश सामुदायिक विकास समाज, लामाचौर, एन्फा कास्की, व्याडमिन्टन संघ कास्की, सिर्जना विकास केन्द्र, मनकामना पेट्रोलपम्प, सितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, कास्की जिल्ला टेनिस संघ, नेपाल मुवाथाई केन्द्रिय उपाध्यक्ष दीपक गोदार, नेपाल क्यूकोसिन कान कराते संघ, नेपाल हवाई खेलकुद संस्था (ना), सुनगाभा न्युज, सिटीवान टेलिभिजन, परिचय एड्भर्टाइजिङ, सिटीजन फर्निचर, साइमन पार्टी प्यालेस, वल्डलिंक, स्टेशन गैह्रापाटन, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि, वल्र्ड लिंक, होटल पौवा लेकसाइड, लगायतले सहयोग गरेको मञ्चले जनाएको छ । कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न तन, मन र धनसहित विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति मञ्चले आभार व्यक्त गरेको छ । मञ्च समग्र खेल क्षेत्रको प्रर्वद्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्ययेका साथ आजभन्दा झण्डै २२ वर्षअघि स्थापना भएको थियो ।
कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिनुभयो । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उहाँले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काउनुभयो । सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उहाँ झसङ्ग हुनुभयो । यसबीचमा आचार्यले कसैसँग पनि पैसा माग्नुभएको थिएन । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उहाँ आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुग्नुभयो । मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट रु ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो । उहाँ मात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुग्नुभएको थियो । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर इसेवाको पासवर्ड पठाउन भनेपछि उहाँले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिनुभयो तर काकाको फेसबुक आइडी ह्याक गरिएको उहाँले भोलिपल्ट बिहान मात्र थाहा पाउनुभयो । भण्डारीले इसेवाको पासवर्ड दिएपछि उहाँको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारणमात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताउनुभयो । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।” साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । प्रनाउ तिवारीले भन्नुभयो “आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।” ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्की: देशको दूरदराजमा रहेका विद्यालयमा पढाई सकिएर परीक्षा हुनलाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार बाराम्बार सुनिँदै आइएको छ । तर नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि त्यस्तै समस्या भोगिरहेका छन् भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर वास्तविकता यही हो । २५० रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् । प्राध्यापक र शिक्षकहरुको संख्या ६ सय बढी छ । क्याम्पसको पुस्तकालय भवन देख्दा त्यहाँ कुन पुस्तक नपाइएला र ! भन्न सकिन्छ । तर ४ वर्षे स्नातकतहको पठनपाठन सुरु भएपछि अधिकांश विषयका पाठ्यपुस्तक हालसम्म पाइएको छैन । पाठ्पुस्तक नपाइँदा विद्यार्थीहरु अलपत्र छन् । केही विद्यार्थी भर्ना भएको महिना पनि बितेको छैन । नयाँ शैक्षिकसत्रबाट अध्यनरत विद्यार्थीहरु पनि समस्यामा छन् । धेरै विषयको कोर्स सकिएको छ, प्राध्यापकहरुले निरन्तररुपमा अध्यापन गराइरहेका छन्, तर पुस्ताकलयमा पाठ्यक्रमानुसारको किताब नपाइने र बजारमा नआउने समस्याले विद्यार्थीहरु आजित छन् । अब विद्यार्थीले के गर्ने होला त ? प्राध्यापकहरुलाई सोधे सजिलो जवाफ ‘प्रशासनमा जाउँ’, प्रशासन गयो ‘आउँदैछ, काम हुँदैछ, भइरहेको छ’ भन्ने जवाफ आउँछ । यस्तै समस्याहरुबाट आजित विद्यार्थीहरुको गुनासोलाई समेट्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस प्रशासन र विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । मानविकी संकायका विद्यार्थीहरुसहित अनेरास्ववियु पृृथ्वीनारायण क्याम्पसका मानविकी संकायकै उपाध्यक्ष अमृत अधिकारीको नेतृत्वमा अन्तरक्रिया भएकोे हो । अन्तरक्रियामा अनेरास्ववियुका अध्यक्ष विष्णु पोखरेलले विद्यार्थीका समस्यालाई प्रस्ट्याए । पुस्तकालयमा समयसापेक्ष र परिवर्तित पाठ्यपुस्तक हुनुपर्नेमा पोखरलले जोड दिए । उनले भने, ‘अब हामी आधुनिकीकरणमा लागिसकेका छौँ, विद्यार्थीहरुले पाठ्यक्रमको निम्ति लाग्ने ‘फि’ बुझाईसकेका छन् सो बापत विद्यार्थीहरुको संख्याको आधारमा पुस्तकतालयमा पाठ्यपुस्तक ल्याइनुपर्छ ।’ क्याम्पसको पुस्तकालय सिंहदरबार भन्दा कम छैन । विशाल क्षेत्रमा फैलिएको भवनको दुबै तलामा पुस्तकले भरिभराउ छ । छानी–छानी पुस्तक पढ्न सकिन्छ । ईतिहासदेखि वर्तमानसम्म, राजनीतिदेखि संस्कार र संस्कृतिसम्म । तर पाठ्यक्रम अनुसारको समयसापेक्ष पुस्तक भने पाउन कठिन छ । केहि समय यता पुस्तकालयमा नयाँ पाठ्यक्रमको पुस्तक आउन सकेको छैन । यसैकारण पनि विद्यार्थीहरु पुरानै पुस्तक पढ्न बाध्य छन् । जसबाट उनीहरु परीक्षाको लागि चिन्तित छन् । ‘बजारमा गयो पुस्तक पाइँदैन, सरले भनेको भरमा र लेखाइदिएको भरमा मात्र विद्यार्थीले कसरी पढ्ने ?’ मानविकी संकायकी छात्रा समीक्षा पौडेलले दुखेसो पोखिन् । हो, हाल बजारमा पाठ्यपुस्तक पाउन कठिन भएको छ । ‘पाठ्यक्रमअनुसारको पुस्तक आएको छैन’ पुस्तक पसलेको जवाफ छ । यसैमा भुगोल, पत्रकारिता, इतिहास, राजनीतिशास्त्रको पुस्तक मगाउँदासमेत पाउन कठिन छ । बगर क्याम्पस गेट छेउ रहेको एडभान्स बुक एण्ड स्टेशनरीका सञ्चालक भन्छन् ‘पढ्ने विद्यार्थीहरु कम हुन्छन्, पुस्तक बिक्री हुँदैन, पुस्तक मात्र ल्याएर के गर्ने ?’ पुस्तक कम मात्रामा छापिएकाले पनि पाउन कठिन हुने उनी बताउँछन् । ‘विद्यार्थीहरु समुहमा आएर मगाए हामी मगाउन सक्छौं’ उनी भन्छन् । ‘६० सालमा जन्मेको मान्छेले ६८ सालको पाठ्यपुस्तक पढ्न परेको छ अलि गाह्रो पनि लाग्यो, ल अलि पछि नयाँ पाठ्यक्रमको पुस्तक आयो खुशी भइयो, परीक्षामा राम्रै नम्बर आउने भयो’ मानविकी संकायका अमन मगर भन्छन् ‘तर समस्या त निश्चित पाठ्यक्रमअनुसारको पुस्तक नै रहेनछ, अब के गर्ने होला ? ’ यसैबीच, क्याम्पसका सहप्रध्यापक यादवराज उपाध्यायले विद्यार्थीलाई सान्त्वना दिँदै पाठ्यक्रम अनुसारको पुस्तक ल्याउने बताए । ‘बुधबारसम्ममा पुस्तकको सम्पूर्ण विवरण तयार पारि तपाईहरुबाटै एक विद्यार्थी लिएर हामी काठमाडौँ जानेछौ ।’ उनले भने । पाठ्यपुस्तककैबारेमा पुस्तकालय प्रमुख किशोर सुवेदीले प्रशासनको आदेशविना आफुले केही गर्न नसक्ने बताए । ‘क्याम्पस प्रशासनको आदेशविना मैले केही गर्न सक्दिन, हाल क्याम्पस प्रशासनले पुस्तक ल्याएकोे छैन ।’ उनले भने । अन्तरक्रियामा पाठ्यक्रमअनुसारको पुस्तक ल्याउने विद्यार्थी र शिक्षकबीच सम्झौता भएको छ । तर निर्धारित समयमा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँला ? त्यो भने हेर्न बाँकी छ ।
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध चयन भएका छन् । आज पोखरामा सम्पन्न भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले रेवानको नेतृत्वमा भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । सो समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा बसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिवमा भीस्मराज पौडेल, सह-कोषाध्यक्षमा बैभव पौडेललाई चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।
पोखरा: सामुदायिक रेडियो सराङ्कोटले १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मिडिया कप’ फुुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको रेडियो सराङकोटको वार्षिकोत्सवको अवसरमा आगामी आसेज ७ र ८ गते मिडिया फुटसल आयोजना गरिने आज (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । कार्यक्रम संयोजक युवराज भण्डारीले दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए । ‘कास्कीमा आवद्ध संचार माध्यममा क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुले मात्र खेल्न पाउने गरि मिडिया कप फुुटसल प्रतियोगिता आयोजना गरेका हौँ, उनले भने,‘ गैर पत्रकार समावेश भए टिमलाई रद्द गर्नेछौँ रेडियो अनलाइन तथा टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र खेल्न पाउने छ ।’ संयोजक भण्डारीका अनुसार अनलाइनको हकमा २ वटा मिडिया मर्ज गरेर खेलमा सहभागी हुन पाउँनेछन् । उनले उक्त प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने जानकारी दिएका थिए । वि.स. २०६३ साल असोजमा सराङकोट बहुुउद्धेश्यीय सहकारी संस्थादारा स्थापित रेडियो सराङकोटले असोज ६ गते वार्षिकोत्सव मनाउँनेछ । रेडियोले भदौ ७ गते कास्कीमा क्रियाशिल महिला पत्रकारलक्षित तीज प्रगियोगिता , रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।

