पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गर्नुभएको हो । निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताउनुभयो । “यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उहाँले भन्नुभयो, यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन ।” उहाँले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न आग्रह गर्नुभयो । आफूहरू लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने उहाँले बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उहाँले बताउनुभयो । “अव तपाँईहरु महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन, उहाँले भन्नुभयो, हामीले तपाँईहरुलाई खुसी नै बनाएर उचित व्यवस्था गछौँ ।” तर, सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने उहाँले बताउनुभयो । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराउनुभयो । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो । “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन, उहाँले भन्नुभयो, निस्सा भनेको महत्त्वपूर्ण छ, यो निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।” जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वडावासीहरूको पीडामा आफूहरू साथमा रहेको उहाँले विश्वास दिलाउनुभयो । वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सङ्ख्या ९११ रहेको छ । यसअघि महानगरको वडा नं. २५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ ।
पोखरा । ३९ वर्षपछि पोखरामा फर्किएको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा ३ हजार ६ सय ८५ महिलासहित ७ हजार ७ सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ । ३६ खेल खेलाइने नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् । प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ । प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउनुहुन्छ । दश लाखको ‘रनिङ शिल्ड’ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब रु १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउनुहुन्छ । साठी करोड खर्च हुने अनुमान नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ । अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ । राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना तयार गरी खरिद प्रक्रियासमेत अघि बढिसकेको आयोजक समितिले जानकारी दिएको छ । नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा नेपालको परम्परागत छेलोलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता राष्ट्रिय प्रतियोगिताले थप हौसला प्रदान गर्ने सचिव रेग्मी बताउनुहुन्छ । निजी क्षेत्रका तर्फबाट पनि प्रतियोगितामा योगदान होस् भन्ने उद्देश्यले प्रायोजकका रूपमा उहाँहरूलाई समावेश गर्ने तयारी भइरहेको युुवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकार अत्यन्तै उत्साहित छन् । बजेटको सुनिश्चिता भइसकेको छ ।” सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ । सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेलक्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पु¥याउन अनुरोध गरिने सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मीले बताउनुहुन्छ । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सहआयोजकका रूपमा अघि सारिएको छ । सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ । कोरोना सङ्क्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापनलगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो । उक्त प्रतियोगितामा दुई सय २३ महिलासहित एक हजार चार सय ४३ खेलाडीले १६ खेलमा दुई सय २६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा तीन सय ७० पदकका लागि पाँच सय ३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सात सय ३८ महिलासहित दुई हजार सात सय ७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ । बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत चार सय ६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो । उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार छ सय ६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो । काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो । प्रतियोगितामा छ सय ४६ पदक र १३ खेल विधा कायम गरिएको थियो । यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपिएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालिन जनमुक्ति सेनाका एक हजार तीन सय ९४ महिलासहित तीन हजार छ सय २८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ । यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार छ सय ६९ महिलासहित तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा दुई हजार चार सय नौ महिला खेलाडीसहित पाँच हजार तीन सय पाँच खेलाडीले ३५ खेल विधामार्फत एक हजार एक सय ५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धन गर्न थप योगदान पुर्याउने विश्वास गरिएको छ । रासस
पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ । लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो । खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् । नेपाल एपिएफ र गण्डकी प्रदेशबीच भएको पहिलो सेमिफाइनल खेलमा दुईसेट एपिएफ क्लबले जितेको छ । खेलको तेस्रो सेटमा बोतल प्रहार हुँदा खेल अवरुद्ध भएको छ ।
पोखरा: गत शुुक्रबार साँझदेखि निरन्तर भएको झरीले गण्डकी प्रदेशको राजधानी कास्की आसपास निथ्रुक्क भिजेको छ । तीनदिनदेखि परेको अविरल वर्षाकाकारण पोखरा महानगरमा आंशिक प्रभाव परेपनि कास्कीको अन्नपूर्ण गाउँपालिकामा भने असर गरेको छ । वर्षाकाकारण गाउँपालिकाको १० र ११ जाने सडक पहिरोका कारण अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । ‘वर्षाका कारण १० र ११ जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण अवरुद्ध खुलाउन सकिएको छैन्, उनले भनि, ‘वर्षा रोकिए खुलाउछौँ र यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहज बनाउछौँ ।’ अधिकारीका अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमासमेत क्षति पुर्याएको छ भने गाउँपालिकाको वडा नम्वर ३ मा एक घर पहिरोको जोखिममा परेको छ । उनले अन्य स्थानमासमेत अविरल वर्षाकाकारण बाटोघाटो अवरुद्ध भएको बताइन् । ‘यसबाहेक कुनैपनि मानवीय क्षति भएको छैन, सुनगाभा न्यूजसँग भनिन्, ‘हामीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिसकेका छौं ।’ हेल्लो मादी... अविरल वर्षा जारी भएपनि मादी गाउँपालिकाको अवस्था भने सामान्य रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुुरुङले बताए । उनका अनुुसार अहिलेसम्म वर्षाका कारण कुनैपनि अप्रिय घटना भएको छैन । ‘वर्षाका कारण दैनिक जिवनमा असर त परेको छ । केही सडकहरुमा प्रभाव परेको छ । तर गाउँपालिकामा कुनै अप्रिय घटना भएको छैन, उनले भने, नराम्रो खबर सुनाउन नपरोस् भन्ने हाम्रो कामनो छ र त्यही अनुसार हामी सजगता अपनाउन भनेका छौ ।’ अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको पूर्वी भेगका वडाहरु १, ८, ९, र १० को ग्रामीण सडकमा केही असर पुर्याएको छ । हेल्लो रुपा... कास्कीको रुपा गाउँपालिकामा पनि कुनै क्षति नभएको अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले अहिलेसम्म गाउँपालकाको अवस्था सामान्य रहेको बताउदै केही वडाहरुमा पहिरोको जोखिम भएको बताए । ‘अहिलेसम्म त्यस्तो बाढीपहिरोका अवस्था छैन, उनले भने, ‘ तर केही वडाहरुमा पहिरोको जोखिम भएको रिपोर्टिङ आएको छ । हामीले जनप्रतिनिधिहरुमार्फते सुरक्षित तवरले रहन आग्रह गरेका छौ ।’ हेल्लो माछापुच्छ्रे ... यसैगरि माछापुच्छ्रे गाउँपालिकाको पनि अवस्था सामान्य रहेको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । गाउँपालिका केन्द्र नजिक पहिरो खसिरहने समस्या रहेपनि यसपटक भने प्रभाव नपरेको बताइन् । गाउँपालिका तल वर्षायाममा पहिरो खस्ने गथ्र्याे अहिले त्यस्तो असर गरेछैन । गाउँपालिकामा कतै पहिरोका कारण सडक अवरुद्ध भयो भने तत्कार खोल्न गइहाल्छौं ।’ उनले भनिन् । पोखरा महानगरपालिका– नालामा खस्दा तिवारीको मृत्यु कास्कीको चार गाउँपालिकामा कुनै पनि मानवीय क्षति नभएपनि पोखरा महानगरमा भने एक किशोरले वर्षात कै कारण ज्यान गुमाएका छन् । पोखरा महानगरपालिका १९ का ११ बर्षीय रविन तिवारी शुक्रबार राति करिब ८ बजे चिप्लिएर नालामा खसेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीकाले खोजीकार्य तिव्र पारेसँगै तिवारीलाई १ घण्टापछि फेला पारेका थिए । उनलाई उपचारको लागि मणिपाल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी भन्छ: ‘हामी हाई अलर्टमा छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीले संभावित जोखिम नियन्त्रणका लागि प्रहरी टोली तयारी अवस्थामा रहेको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । उनले अहिलेसम्म पोखरा महानगरपालिकामा अप्रिय घटना नभएको जानकारी दिदै भने, ‘पोखरामा एउटा मात्रै मानवीय क्षति भयो । त्यो बाहेक अरु मानवीय क्षति भएको छैन । हामी हाई अलर्टमै छौ ।’ गण्डकीसहित चार प्रदेशमा भारी वर्षा: मौसम विभाग जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु भएको मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लिको व्यवस्थापनमा सुरु भएको मेलामा आईतबारदेखि आजदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् । मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु हुने छ । आजदेखि मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता सुरु हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडा लगायतका विभिन्न स्टलहरुसगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । शुक्रबारदेखी सुरु भएको मेलामा शनिवार कृष्ण अखेली, अमर धिताल, सुनीता नेपाली र निशा पोखरेल लगायतका कलाकारहरुले आ-आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । शनिबार मेलाको करिव ५ हजारको हाराहारीमा दर्शकले अवलोकलन गरेका आयोजक केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले जानकारी दिए । प्रतियोगिताका अलावा आज रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
पोखरामा ३९ वर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उसुको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्वा लेम्वु शेर्पा, यशोदा भुजेल, विनिता नेपाली, श्रद्धा गुरुङ, एलिना विक, सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना विक रहेका छन् । त्यसै गरी वैकल्पिकमा विनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र शुसिला तामाङ रहेका छन् । उसुमा छनोट हुन सफल खेलाडीहरु कास्की जिल्लामा सम्पन्न उशुतर्फ महिला र पुरुष गरी १९ जना खेलाडी छनोट हुन सफल भएका छन । उसुको पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछवान पुरुषतर्फ मिग्मा छिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ विनिता राई, थाइची छवान पुरुषतर्फ प्रयास मगर छनोट हुन सफल भएका छन् ।
पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा शनिबारदेखि सुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मावि प्राङ्गणमा भएको खेलमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८–३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१२, २५–१२ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी भएको थियो । त्यसपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको र आइतबार शुरुदेखि नै खेल हुने आयोजकले जनाएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।
नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा(एस)का तीन वटै सङ्घीय/प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन् । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । यस क्षेत्रबाट समानुपातिकमा गजकुमारी गुरुङ, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस हुनुभयो । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिसमा पर्नुभएको छ । यसैगरी प्रदेशसभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस हुनुभएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिनुभयो । प्रदेशसभा २(१) मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, कृष्ण पराजुली (ढाका मोहन), सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस हुनुभएको सो पार्टीले जनाएको छ । यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस हुनुभएको छ । प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै ९रोशनी० जिल्ला कमिटीमा सिफारिस हुनुभएको छ । यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस हुनुभएको छ । क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने र प्रदेशले रायसहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिनुभयो ।
तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा/कोठा चहार्नुपर्ने छैन । पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् । महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखि एकद्वार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुआत गरिएको हो । सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरको प्रवेशद्वार बन्द गरेर सेवाग्राहीले बाहिरबाट सबै काम सकेर जाने गरी सेवा प्रवाहको व्यवस्था गरिएको छ । महानगरले त्यसका लागि विसं २०१३ मा निर्माण गरिएको भवनलाई अहिले स्तरोन्नति गरेर एकद्वार सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई बाहिर बस्नका लागि प्रतिक्षालय र कुर्सी राखिएको छ । महानगरले नगरवासीलाई दिने सेवा सरल र झन्झटरहित बनाउने योजनाअनुसार काम सुरु भएको प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकामा सजिलोसँग काम होस् भनेर एकद्वार सेवा सुरुआत गरेका छौँ । वरिष्ठ अधिकृतले फाइल हेरेर कागजपत्र पुगे÷नपुगेको हेर्नुहुन्छ, अपुग भएमा थप गरेर ल्याउन भन्छौँ । फाइल दर्ता भएपछि कसकोमा गएको छ, त्यो रेकर्ड हुने व्यवस्था हुन्छ । अबदेखि महानगरमा फाइल हराउने भन्ने हुँदैन, कामको प्रक्रिया पूरा हुने वित्तिकै नाम बोलाएर कर्मचारीले बुझाउनुहुनेछ ।” महानगरले सेवाग्राहीका कागजपत्र सम्बन्धित फाँट र भित्र लैजानका लागि हाल पाँच जना कर्मचारी खटाएको छ । उनीहरुले सेवाग्राहीले फाइल बुझाएपछि प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेर फिर्ता गर्नेछन् । प्रमुख आचार्यले महानगरका शाखा र वडामा पनि एकद्वार प्रणाली लागू गरेर काममा सहजता प्रदान गरिने बताउनुभयो । महानगरले ‘हेलो मेयर’ हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार हटलाइन नम्बर अहिले बिहान ९ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । आवश्यकताअनुसार समय थप गर्न सकिने महानगरले जनाएको छ ।

