पर्यटन र प्रकृतिमार्फत संसारमा चिनिएको पोखरामा सर्वसाधारणलाई शौंच गर्ने स्थान छैन । सार्वजनिक शौचालयको अभाव रहेको पोखरामा मेयर धनराज आचार्यले नयाँ आइडिया ल्याएका छन् । उनको आइडिया हो ‘म्युचुअल बेनेफिट’ अर्थात् सामुहिक लाभ । महानगरले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन अपीलमार्फत व्यक्ति, संस्थालाई सार्वजनिक आव्हान गरेका छन् । अपीलमा भनिएको छ ‘शौचालयमाा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने, सर्वसाधारणको जानकारीको लागि यस्ता स्थानमा विशेष र पहिचानयुक्त लोगो÷संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको छ ।’ शौचालय सार्वजनिकरुपमा निशूल्क प्रयोग गर्न दिने व्यक्ति एवं संस्थालाई महानगरले सेवा, सुविधामा नीतिगत प्राथमिकता दिने जनाएको छ । त्यस्तै, सहयोगी व्यक्ति वा संस्थाको नाम र नम्बर महानगरले वेबसाइटमा राख्नेछ । सार्वजनिक अपीलअनुसार इच्छुकले यही साउन मसान्तभित्र निवेदन दिइसक्नु पर्नेछ ।
पोखरा महानगरपालिकामा नयाँ आर्थिक वर्षसँगै करारमा कार्यरत कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ । देशकै ठूलो महानगरमा कर्मचारीको संख्या पनि उत्तिनै छ । यहाँ करारमामात्रै ३ सय ५० बढी कर्मचारी छन् । अघिल्लो मेयरको कार्यकाल सकिनलाग्दा समेत कर्मचारी भर्ति रोकिएको थिएन । प्रायः करारका कर्मचारीको करार अवधि थपिँदै गरेपनि यसपटक महानगपालिकाकाले अनुमानित १५ करोड रुपैयाँ छुट्याएर करारको समस्या समाधान गर्न लागिपरेको छ । महानगरमा करार सेवा रहेकामध्ये कतिपय १८ वर्षदेखि निरन्तर सेवामा छन् । जसमध्ये केहीलाई ६ महिनाभित्र स्थायी गर्ने आश्वासनमा राखिएको करारमध्येका कर्मचारी रेशम जिसी बताउँछन् । तर ६ महिना भनिएपनि उनीलगायत कर्मचारीहरु अझैपनि करारमै कार्यरत छन् । त्यसोे त अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार पनि कुनैपनि कर्मचारीलाई ६ महिनाभन्दा बढी अस्थायी वा करारमा राख्न पाइँदैन । प्रत्येक वर्ष करार सम्झौता नवीकरण गर्दा वाक्क भएका कर्मचारीले सर्वाेच्च अदालतमा मुद्दा हालेर फैसला समेत भइसक्यो । ‘सर्वाेच्चको फैसलामा आन्तरीक प्रतिष्पर्धा गराई स्थायी गराउनु भन्ने आदेश दिइएको छ’ उनै जिसी भन्छन् ‘तर महानगरपालिकाबाट सुनुवाई भएन ।’ सरसफाई शाखाअन्तरगत ल्याण्डफिल्ड हेर्दै आएका जिसीले पनि महानगरमा १८ वर्ष बिताइसकेका छन् । सर्वाेच्चकै आदेश अटेर गरेपछि जिसीलगायतले मानहानीको मुद्धा हाले । उक्त मुद्धाको पनि सुनुवाई भइसकेको छ । तर ०६४ साल अघिदेखि कार्यरतहरु अझैपनि करारमै अल्झिरहेका छन् । यस विषयमा के गर्ने भन्ने विषयमा लोकसेवा आयोगसँग महानगरले परामर्श थालेको छ । हाल निर्वाचित मेयर धनराज आचार्यले रकमै विनियोजन गरेको थाहा पाएपछि करारमा कार्यरत कर्मचारीहरु झनै सशंकित भएका छन् । असार मसान्तदेखि करार अवधि सकिएको हो । अब नवीकरण हुने हो वा होइन भन्नेबारे महानगर प्रशासनले हालसम्म जानकारी दिएको छैन । हाल महानगरले विनियोजन गरेको बजेटमार्फत करारका केही कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ गर्ने सम्भावना रहेको समेत बताइएको छ । तर यससम्बन्धी स्पष्ट कानून नभएकाले यसै भन्न सकिने अवस्था नरहेको महानगर बताउँछ । महानगरले कर्मचारी परिपूर्तिकालागि प्रदेश लोकसेवा आयोगबाट नियुक्त गर्ने तयारी पनि गरिरहेको छ । तर पुराना कर्मचारीलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारसमक्ष जानकारी गराएपनि हालसम्म प्रतिक्रिया नआएको महानगरका सूचना अधिकृत भरतराज पौडेल बताउँछन् । यस विषयमा मेयर आचार्यले हाल गृहकार्य गरिरहेका छन् । केही दिनभित्र यससम्बन्धी निर्णय हुने पौडेलले जानकारी दिए । महानगर भने सकेसम्म आयोगबाटै छनौटमार्फत नियुक्ति गरी एकैपटक समस्या सल्टाउने तयारीमा रहेको छ । यस्तै दोधारे स्थितिमा करार कर्मचारीहरु भने कार्यावधि सकिएपनि सम्झौता नवीकरण हुने आशमा काम गरिरहेका छन् । ०६४ अघिदेखि कार्यरत एक कर्मचारी भन्छन् ‘१६ वर्षदेखि निरन्तर काम गरिरहेको छु, नगरपालिकामै उमेर बित्यो, नवीकरण भएन भने कता गएर, के गर्ने, सोच्न सकिरहेको छैन ।’
पोखरा: पोखरा महानगरपालिका १७ स्थित ड्यामसाइडमा आज (आइतबार) दिउँसो १ बजे मिनीमाइक्रोलाईनगरबसले ठक्कर दिँदा मिनीमाइक्रो चालक गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गोरखा घर भइ पोखरा ५ मालेपाटन बस्ने मिनीमाइक्रो चालक २४ वर्षिय सुमन गुरुङको अवस्था गम्भीर रहेको जनाएको छ । उनको अचेत अवस्थामा रहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी वरिष्ठ नायब निरिक्षक शिव प्रसाद पाठकका अनुसार राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्बरको नगरबसले र विपरित दिशाबाट आएको ग १ ज ३४१७ नम्बरको मिनीमाइक्रोलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा पर्दा घाइते भएका १६ जना यात्रुको अवस्था सामान्य रहेको छ भने नगरबस चालक पोखरा १६ महेन्द्रगुफाका ४० वर्षिय रमेश कुचिकारको अवस्था मध्यम रहेको छ । घाइते सबैको पोखरा १७ विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको पाठकले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरुमा माइक्रोमा सवार पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १२ वर्षिया रिता विक, सोही स्थानकै ३३ वर्षिया चन्द्र विक, सोही वडाकै १० वर्षिया मुस्कान विक, पोखरा २२ कै ६ वर्षिय रितिक विक र पोखरा २१ का ३३ वर्षिय नारायण विक रहेका छन् । यसैगरि नगरबसमा सवार घाइतेहरुमा भोजपुर घर भई पोखरा ५ का २० वर्षिय राजकुमार मगर, सोही स्थानकै २० वर्षिय आयुष तामाङ, सोही वडामै बस्ने १३ वर्षिय अभिषेक तामाङ, मालेपाटनकै १७ वर्षिय कुशल तामाङ, पोखरा ८ सृजनाचोक बस्ने २३ वर्षिया विनिता राई, सोही स्थानकै २० वर्षिय निरन राई, पोखरा ८ सिमलचौकका १७ वर्षिय रविन श्रेष्ठ, पोखरा २२ का २३ वर्षिय विज्ञान परियार, पोखरा १७ का १८ वर्षिया अन्जली सुनार, सोही स्थानकै ३१ वर्षिया सुमित्रा आले, सोही वडार्क ७१ वर्षिया लक्ष्मी गुरुङ रहेकी छिन् । नगरबसका चालक कुचिकारलाई कास्की प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की: पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा २२ वर्षिया सुमना खनाल मृत भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार उनी रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी हुन् । मृतक खनालको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ, तिवारीले भने, ‘शवको अवस्था शंकास्पद थिएन ।’ डिएसपी तिवारीका अनुसार मृतकका श्रीमान नेपाली सेनामा कार्यरत छन् । खनाल पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् ।
पोखरा: नापी कार्यालयका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडी भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयर मान बहादुर जिसीले कानूनी प्रक्रिया नपुर्याई सम्झौता गरेको ठहर गर्दै बदर गर्नुपर्ने जानकारी दिएको हो । गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्तावहरू बदर गर्नुपर्ने उल्लेख गरिएको प्रतिवेदन पोखराका मेयर धनराज आचार्यलाई काफ्लेको नेतृत्वको छानबिन समितिले बुझाएको हो । प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षलाई सार्वजनिक गर्दै काफ्लेले पूर्ण रुपमा कानून बर्खिलाप सम्झौता गरेको बताए । ‘उपत्यका नगर विकासको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउने सम्बन्धमा बोलपत्र सम्बन्धि कागजात तयार गर्ने, सुचना प्रकाशन गर्ने देखि सम्झौता प्रकृयामा विभिन्न त्रुटीहरु रहेको कागजातहरु केरमेट गर्ने सच्याउने थप्ने सम्झौता रितपूर्वक नभएको कागजातहरु संकास्पद देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान दुरुपयोग आयोगलाई पठाउन उपयुक्त हुने भनी राय पेश गरेका छौं ।’ उनले भने । सो प्रतिवेदनमा आगामी दिनमा उपत्यका नगर विकास समिति मातहतमा रहेका जग्गा तथा संरचनाहरू भाडामा लगाउँदा कार्यविधि तथा मापदण्ड पु¥याएर सम्झौता गर्नुपर्ने समेत सुझाव दिएको छ । यस्तै, मातहत रहेको जग्गाको यकिन विवरण पनि अद्यावधिक गर्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाईसहितको निजी कम्पनीलाई दिएको प्रकरण अध्ययन गर्न एक हप्ताको म्यादसहित काफ्लेको संयोजकत्वमा काफ्लेसहित विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम सदस्य रहेको समिति गठन गरेको थियो । निर्वतमान मेयर जिसीको बदमासी आफ्नो कार्यकाल सकिन २ दिन बाँकी रहदाँ निवर्तमान मेयर मान बहादुर जिसीले पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा, गल्फ एकेडेमीको ४० रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णु भण्डारीको कम्पनीलाई १० देखि २५ वर्षसम्म भाडामा दिएका थिए । जेठ ५ गते कार्यकाल सकिने भएपछि मेयर जिसीले ३ गते आफ्नै निवासमा बोलाएर पृथ्वीचोकमा रहेको ट्रायल सेन्टरको पाँच रोपनी जग्गासहित ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौतामा आफैँले हस्ताक्षर गरेका थिए । पोखरा महानगरको स्वामित्वमा आइनसकेको पर्यटन बसपार्क, यसअगाडी पनि भाडामा दिएर सम्झौता नसकिएको गल्फ एकेडेमीको जग्गा मेयर जिसीले हतारहतार उपत्यका नगरविकास समितिका सदस्यदेखि सदस्यसचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि नभएको मौका पारेर निजी कम्पनीलाई दिएका थिए । गैरकानूनी रुपमा जग्गा भाडामा लिएको कम्पनीलाई पनि तत्काल काम अगाडी नबढाउन पोखरा महागरपालिकाले पत्राचार गरिसकेको महानगरले जनाएको छ । यदि निवर्तमान मेयरले कानून बर्खिलाप जग्गा सम्झौता गरेको खण्डमा वर्तमान मेयर ठेक्का रद्द गर्न पाउने कानूनी प्रावधार रहेको छ ।
पोखरा: पोखरामात्र नभई देशकै आकर्षण फेवातालबीच रहेको तालबाराही मन्दिरको पूनर्निमाण हुने भएको छ । सुन्दर नगरी पोखरालाई पर्यटकीय शहरकोरुपमा चिनाउन सफल तालबाराहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत पुरातत्व विभागले पूननिर्माण गर्ने भएको हो । मन्दिरलाई पुरातत्व विभागसँगको सहकार्यमा ३/४ फिट उत्तरतर्फ बढाएर मन्दिरको निर्माण गर्ने विषयमा गुठी र विभागसँग छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । ‘०७२ साल बैशाख १२ गतेको भुकम्पले केही दक्षिणतर्फ ढल्किएको थियो’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुँवरले भने, ‘मन्दिरको छेउमा बुढो आँपको रुख थियो रुख हटाइयो, अब पुरातत्व विभागको सहयोगमा मन्दिर पूननिर्माण गर्न लागिएको हो ।’ उनले समितिको एकोहोरो निर्णयले केही पनि गर्न नपाइने बताउदै भने, ‘तालबाराही मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानको एकोहोरो निर्णयले मन्दिरका पुनःनिर्माण गर्न पाईदैन, यस क्षेत्रलाई पुरातत्व विभागले हेर्ने भएकाले विभागका इन्जिनियरहरुले ढल्किएको मन्दिरको अवलोकन गरेर गएकाले मन्दिरको पुनःनिर्माण छिटै हुनेछ ।’ तालबाराही मन्दिर पुनःनिर्माण भए पनि अहिलेको शैलीमा नै निर्माण हुनेछ । अहिले मन्दिरको दर्शनमा आउने भक्तजनको सहजताको लागि पूर्वबाट मन्दिरमा प्रवेशद्वार र पश्चिमबाट बाहिरिने गरी पूननिर्माण गर्न पुरातत्व विभागसँग कुराकानी भएको अध्यक्ष कुँवरले बताए । उनले पूनर्निमाण गर्दा उत्तरतर्फ करिब ३ देखि ४ फिट सार्नेबारे छलफल भइरहेको जानकारी दिए । ‘मन्दिर सानो भइराछ त्यसले गर्दा यसको चक्लाई बढाउनुपर्ने र दक्षिणतर्फ भाग ढुंगाको प्लेटमाथि बसेको हुनाले यसलाई ३/४ फिट उत्तरतिर सार्न सकियो भने बढि सुरक्षित हुन्थ्यो भन्ने भएर छलफल भइराछ ।’ अध्यक्ष कुँवरले भने । तालबाराही क्षेत्रमा पर्यटकीय आकर्षण बढाउने उद्देश्यसहित स्वर्गीय माता पिताको स्मृतिमा आफ्नो निजी लगानीमा राष्ट्रिय झण्डा निर्माण गरेको अध्यक्ष कुँवरले बताए । उनका अनुसार झण्डासँगै भक्तजनका लागि खानेपानीको ट्याङ्की समेत व्यवस्था गरिदिएका छन् । तालबाराही मन्दिर कुल ३ रोपनी ८ आना क्षेत्रफलमा रहेको छ भने मन्दिरको निर्माण २०१७ सालमा निर्माण गरिएको थियो ।
कास्की: पोखरामा एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङकाे जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् । प्रहरी जवान थापाको उपचारको क्रममा बिहिबार मृत्यु भएपश्चात अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्दै जानकारी दिएको हो । गण्डकी प्रदेश प्रहरीका अनुसार मृतक थापा गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिम गर्दै आएका थिए । उनको नियमित (शारीरिक अभ्यास) तालिमको क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेकी उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले घोषणा गरेको थियो । मृत्युपश्चात उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि गत हप्ता पनि बुटबलमा तालिमकै क्रममा एक प्रहरी जवानको मृत्यु भएको थियो ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले गण्डकी प्रदेश सरकारसँग आफु बसेकै भवनको लाजपुर्जा नरहेको बताएका छन् । प्रदेशसभामा बिहीबार विनियोजन विधेयकसम्बन्धी उठेका सवालका जवाफ दिने क्रममा मन्त्री खड्काले सार्वजनिक जमिनमा रहेका अधिकाँश संरसचानाको स्वामित्व नरहेको उनको भनाई छ । ‘गण्डकी प्रदेश सरकारसँग आफै बसेकैै भवनको मुख्यमन्त्री निवासकै पुर्जा छैन ।’ सोही क्रममा उनले भने ‘म (भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय) बसेकै ठाउँको समेत लालपुर्जा छैन ।’ त्यस्तै, अधिकांश सामाजिक संस्था, क्लब, सामुदायिक अस्पताल, विद्यालय, हेल्थपोष्ट, पुस्तालयसँग स्वामित्वको प्रमाणपत्र नरहेको भन्दै उनले यसलाई अराजकताकोे संज्ञा दिएका छन् । सार्वजनिक जमिनमा रहेका भवन एवं संरचनालाई बजेट दिने विषयमा प्रायः अप्ठेरो हुने भन्दै उनले यस्ता संरचनामा अब बजेट रोकिने उनले प्रष्ट पारे । अब तुरुन्त यस्ता संरचनाले स्वामित्व नलिए वा लिन नसके बजेट छुट्याउन आवश्यक नरहेको उनको टिप्पणी छ । ‘संरचना बनाउनु छ, निर्माण आवश्यक छ तर स्वामित्वको पुर्जा नभएकाले अराजकता मच्चिएको छ’ उनले भने । बजेट पुस्तिकामा कुनैपनि संस्थालाई बजेट छुट्याउन उसले स्वामित्व देखाउन पर्छ भनिएपनि त्यसो हुन नसकेकोप्रति लक्षित गर्दै खड्काले नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै, स्वामित्व नरहेको संरचनामा चलेको निर्माणसमेत रोक्ने उनले स्पष्ट पारेका छन् ।
पोखरा : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी र स्वतन्त्र उम्मेदवार (जनप्रतिनिधिहरु) ले आ– आफ्नो घोषणा पत्र अगाडी सारे । स्थानीय तहको निर्वाचनलाई दलविहिन बनाउने उद्धेश्यले देशको ठुलो महानगर पोखरा महानगरपालिकामा गनेस पौडेलले पहिलो उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक गरे । सबैभन्दा चाँसोको रुपमा हेरिएको स्थानीय तह काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र पोखरा महानगरपालिकालाई स्थानीय तथा नेता कार्यकर्ताहरुले विशेष चाँसोका रुपमा हेरेका थिए । चुनावी नतिजा ठुला पार्टीले सोचे जस्तो आएन । काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारीहरुले चुनाव जित्नुले दलको भूमिका माथि प्रश्न उठेको छ । चुनावी नतिजा सार्वजनिक भएपछि दलका नेताहरु जुलुुसमा निस्कदा दुई स्वतन्त्र उम्मेदवार स्थानीयको समस्या समाधान गर्न अगाडी बढे । ‘काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा उदायका बालेन्द्र साह ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न लागे र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पानीको मुहान खोज्न । तर पाँच दलीय गठबन्धनबाट चुनाव जितेका पोखरा महानगरका मेयर धनराज आचार्यको कार्य शैली भने फरक छ । मेयर भएकै कारण पछिल्लो समय एउटै तुलोमा जोखिन थालेका छन् । चुनाव सकिएको दुई महिना बितेसँगै आम नागरिकको पक्षमा कुन मेयरले कति काम गरे । भन्दै गफिन नागरिकहरु थालेका छन् । मतपरिणाम सार्वजनिकपछि धरानका मेयर स्थानीयसँग खानेपानीको मुहान तिर लाग्दा पोखराका मेयर विजय जुलुस र कर्मचारीको जन्मोत्सवको केक काट्न व्यस्त देखिन्थे । तर उनको एजेण्डा भने पोखरालाई नयाँ परिचय दिने घोषणा गर्दै आए थिए । चुनावी मैदानमा आउँदै गर्दा धरानका मेयर हर्क साम्पाङ राईले धराने जनतालाई पानी खुवाउन नसकेसम्म आफुले चुनावमा विजय भएको अर्थ नहुने तर्क गरेका थिए । त्यसैले उनी यति खेर कार्यालय समयपछि लगातारको श्रमदानपछि धरानमा पानी ल्याउन सफल भएका छन् । यतिबेला उनको गिट्टी कुट््दै गरेको र ढुंगा काधमा बोकेको फोटो भाइरल छ । उनको उक्त कार्यलाई अहिले सामाजिक सञ्जालमा समर्थन र विरोधका टिप्पणीको ओइरो छ । कतिले मयेर हुन् त धरानको जस्तो भनेका छन् त कतिले सस्तो लोकप्रियताका लागि सो कार्य गरेको कहल्याएका छन् ।तर उनले भने कार्यलय विदाको दिन निरन्तर श्रमदानमा व्यस्त रहेको स्पष्ट पार्दै आएका छन् । उनले अन्ततः धरान उपमहानगरपालिकाको ११ र २० वडाको सिमाना खानेपानी ल्याइछाडेका छन् । यता पोखरा महानगरपालिकाका मेयर आचार्यले ११ नगरसभामा बजेट पास भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ र धरानको मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गरेका थिए । उनले पनि पछिल्लो समय धरानका मेयर राइको देखासिखी गर्न लागेका छन् । कृषकको समस्या बुझ्न भन्दै पाखोबारी सम्मै जान भ्याए । अहिले उनले हातमा खर्बुजा लिएको तस्बिर भाइरल छ । मंगलबार पोखराका संञ्चार माध्यममा ‘पोखरेली मेयर कृषकको पाखोबारीमा’ नामक समाचार प्रकाशित भयाे र स्थानीय मिडियामा राम्रै स्थान जमायाेकाे छ । पोखरा महानगरपालिका २१ मा कृषक सम्मान तथा अनुदान वितरण गर्ने कार्यक्रममा पुगेका मेयर र कर्मचारीहरुले कृषक ज्ञानबहादुर कार्कीले उत्पादन गरेको खर्बुजा लिएर फर्केका थिए । सोही तस्बिरलाई लिएर अहिले नागरिकले धरानका मेयर हर्क साम्पाङ राईले ढुंगा बोकेको तस्बिर र पोखरेली मेयरले खर्बुजा बोकेको तस्वीरलाई तुलना गरिरहेका छन् । यद्यपी दवै मेयरहरु आफ्नो नगरपालिका विकासको लागि भने फरक फरक शैलीबाट लागिरहेका छन् ।

