पोखरा : पोखरा-सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । लगातारको भारी वर्षाका कारण पोखरा –सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा ३ दिनदेखि सडक अवरुद्ध भएको हो । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ । मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’ पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ । यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । ‘प्रदेशमा पनि निवेदन पुगिसकेको छ । काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको छ । आज हामी जनप्रतिनिधि पनि भेट्दैछौं । गाउँपालिकाले पहिरो हटाउन काम गर भनेको छ,’ उनले भने, ‘तर, अहिले गर्ने भरेभोलि नै पानी पर्दा फेरि पहिरो गइहाल्छ । बनाउँदै, भत्किदै जान्छ । समस्या भइरहेको छ ।’
पोखरा : गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताउनुभयो । यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताउनुभयो । बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन । उहाँले भन्नुभयो, “भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपंक्षीतर्फ धेरै क्षति र्पुयाए पनि मानवीय क्षति भएको छैन ।”घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताउनुभयो । यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
पोखरा : शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा २५ हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार ६०० घर प्रभावित भएका छन् । थुप्रै घरका मानिसलाई अन्त सार्नुपरेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए । सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु पुरिएका थिए । अहिले भने विस्तारै पानी घट्दै गइरहेको वडाध्यक्ष तिमिल्सनाले बताए । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।
पोखरा : प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तथा नेतृत्व विकास प्रशिक्षण तालिम सञ्चालन गरेको छ । दुई दिन चल्ने यस तालिमको पहिलो दिन ४० जना बढि विद्यार्थीको सहभागिता रहेको थियो । पृथ्वीनारायण क्याम्पस परिसरमा प्राज्ञिक राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले प्रशिक्षण दिए भने क्याम्पस इकाई सह संयोजक देवी शिर्पालीले सहजिकरण गरिन् । कार्यक्रमका बोल्दै प्रमुख अतिथि विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकालले नेतृत्व विकासको बारेमा प्रस्टाए । प्राज्ञिककै अर्की छात्रा क्याम्पस इकाई समितिका सचिव आशामाया मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यको बारेमा व्याख्या गरे । यसै गरि तालिम प्रशिक्षक कडेलले आत्मा जागरण, अनुभुति, प्रभावकारी सञ्चार र अन्तर्वैयक्तिक सम्बन्धको बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई खेलको माध्यमद्वारा मनोरञ्जन पनि गराए । कडेलले भने ‘तिमि आफुलाई जान्न खोज कि तिमि को हौ , तिमि किन छौँ ।’ जिवनमा तिमिले क्षमता, कमजोरी ,अवसर र चुनौतीलाई पहिचान गर्ने सामर्थ राख्नू पर्दछ । यो नै तिम्रो जिवनको सफलता हो । कार्यक्रमको सञ्चालन क्याम्पस छात्रा प्रमुख विप्लवि न्यौपानेले गरेका थिए ।
पोखरा : पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले) ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ । एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।” महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।” एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे त्यसउपर विश्लेषण गर्न छूट छ । मेयर आचार्यले तयार पारेको कार्यक्रम कति सफल होलान् वा नहोलान् त्यो आगामी दिनले बताउँला तर उनले घोषणा गरेको बुँदा नम्बर १३९ ले भने उनको कार्यदक्षतालाई पर्गेल्ने छ । पूर्वमेयर मानबहादुर जिसीले नगरक्षेत्रमा कुरुप बनेर रहेको बिजुली र टेलिफोनको तारलाई भूमिगत (अण्डरग्राउण्ड) गर्ने पपुलिष्ट योजना अघि सारेका थिए । योजना एक्सनमा पनि गयो । स्मार्ट पोखराको नारा दिएर चुनाव जितेका पूर्वमेयर जिसीलाई ‘केही’ गरेर देखाउनु थियो । सोही अनुरुप नै जिसी कतिपय यस्ता योजना सुरु गर्न आफै सडकमामात्र उत्रिएनन् बिजुलीको खम्बासमेत चढ्न भ्याए । ०७५ साल मंसिर २७ गते पूर्वमेयरले जथाभावि टाँगिएका बिजुली, टेलिफोनका तार, केवल हटाउने योजनाअनुरुप ४ नम्बर वडामा रहेको सिद्धार्थचोकको खम्बामा चढेरै तार काट्ने काम गरे । उनी आफै कस्सिएपछि वाहवाही लुटे । कार्यकालभित्र काम पुरा गर्ने लक्ष्य सुनाएपछि पोखरेलीले ताली पनि पिटे तर त्यसको नतीजबारे थप केही भन्न आवश्यक छैन । जिसीको असफल योजनामध्ये सोही काम नम्बर १ मा दर्ज भएको छ । पूर्वमेयरले असफलता चाखेको सोही योजनालाई २ वर्षभित्र पुरा गर्न वर्तमान मेयर आचार्य कस्सिने भएका छन् । नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र बिजुली र टेलिफोनका तार हटाई भूमिगतरुपमा अप्टिकल फाइबर जडान गर्ने आचार्यले उल्लेख गरेका छन् । नगरलाई सौन्दर्यकरणमात्र हैन, सुरक्षित बनाउन पनि यो कदम अपरिहार्य छ । यसअघि बिजुलीको करेन्ट दौडिरहेका तार चुँडिएर सडकमा खस्दा एक शिक्षकको ज्यान गएको छ । कहिले ट्रयाक्टर झुण्डिने त कहिले व्यस्त चोकमा ह्वार्ह्वार्ती आगो बल्ने र ट्रान्सफर्मर पड्कने घटना महानगरभित्र आम हुने गरेको छ । यसअर्थमा पनि मेयर आचार्यको योजना सह्राहनीय मान्नुपर्छ । तर नेपाल टेलिकमका प्रमुख इन्जिनियर नरेन्द्र महर्जनले महानगरका ताररहित सहरको योजना उपयोगी र सकारात्मक रहेपनि जटिल रहेको प्रतिक्रिया दिएका छन् । यो काम झन्झटिलो भएको उनको तर्क छ । त्यसबेला महर्जनले प्रश्न गरेका थिए ‘अन्डरग्राउण्ड गर्दा सडक खन्ने कसले ?’, ‘प्रत्येक पोइन्टमा १० वटा टेलिफोन लाइन छन्, त्यसलाई घरघरमा कसरी पु¥याउने ?’ यही प्रश्नको जवाफ नखोजी अब पनि योजना सफल हुने छाँट देखिदैन पोखराको संरचना साँघुरो भएको टेलिकमको भनाई छ । एउटा सेवा प्रादायक कम्पनीको तार मर्मत गर्दा अर्काेमा क्षति पुगे त्यसको मर्मत गर्ने कार्य झनै जटिल रहेको जानकार बताउँछन् । यस काममा महत्वपूर्ण भूमिका रहने युटिलिटी डक्टलाई व्यवस्थित बनाएर लैजान कार्यविधि नै बनाउन पर्नेमा टेलिकमको जोड छ । विदेशमा डक्ट प्रणाली अपनाइएपनि यसको प्रयोग पोखरामामात्र हैन नेपालमै जटिल रहेको महर्जनको बुझाई छ । मेयर आचार्यसँग पनि सल्लाहकार हुनेछन् । तार अन्डरग्राउण्ड गर्न सहजीकरण समिति पनि पक्कै बन्नेछन् । तर उनै सल्लाहकार र समितिका सदस्यले कस्ता राय दिनेछन्, सोही अनुसार यो योजना सफल वा असफल हुनेछ । त्यसो त सल्लाहकार र समिति भन्दा नेतृत्वको इच्छाशक्तिले सबैभन्दा बढी महत्व राख्छ । यसअघि विभिन्न संस्थामा रहँदा ‘एक्सन ओरियन्टेड’को छवि बनाएका आचार्य यहाँपनि सफल हुनसक्छन् । पूर्वमेयरले झैं तारको गुजुल्टो पन्छाउन कस्सिनुभन्दा पहिले अनावश्यक सुझाव, सल्लाह र भीडलाई पन्छाउन सके तार भूमिगत गर्ने योजनाले सफलताको सूचीमा नाम राख्नेछ ।
कास्कीः माछापुच्छ्रे गाउँपालिकाको जलस्रोत र प्राकृतिक सम्पदा मानिने मर्दीखोलामा स्थानीय निकायले आफ्नो हकदाबी गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ्ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यसको छनक दिएका छन् । स्थानीयवासीले आफ्नो प्राकृतिक स्रोत, सम्पदाको उपभोग गर्न पाउने अधिकारलाई आधार बनाएर अध्यक्ष गुरुङ्ले मर्दीखोलाको मुहाननै गाउँपालिकामा रहेको भन्दै आयको हिस्सामा दाबी गर्ने जनाएका छन् । मर्दीखोला पोखरा महानगरको खानेपानीको मुख्य स्रोत हो । मर्दीको पानी खानेपानी संस्थानले पोखरामा वितरण गरेर आयआर्जन गर्ने भएकाले त्यसको हिस्सा गाउँपालिकाले पनि पाउनुपर्ने पालिकाको ठहर छ । आर्थिक वर्ष ०७९÷८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गुरुङ्ले १ सय ८ नम्बर बुँदामा मर्दीखोला र पोखराको खानेपानीलाई समेटेका छन् । उक्त बुँदामा ‘पोखरा महानगरपालिकाको मुख्य खानेपानीको स्रोतको रुपमा रहेको मर्दिखोलालाई आवश्यक वातावरणिय संरक्षण गर्न पोखरा महानगरपालिका¸ नेपाल खानेपानी सस्थान साथै सरोकार निकायसँग आवश्यक समन्वय गरीनेछ ।वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अनुरुप रकम प्राप्त गर्न आवश्यक पहल गरिने छ’ उल्लेख छ । यसको सिधा अर्थ पोखरामा वितरण हुने मर्दीको पानीमा स्थानीयले आयको अंश चाहियो भन्ने हो । यसका लागि गाउँपालिकाले खानेपानी संस्थान र सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ । यसलाई गाउँपालिकाले ‘वातावरणीय सेवको भुक्तानी’ भनि उल्लेख गरेको छ । खानेपानी संस्थान पोखराले करिब पाँच अरबको लगानीमा पोखराको खानेपानी मुहानमा पानी शुद्धिकरणको काम सुरु गरेको छ । त्यस्तै, गाउँपालिकाअन्तरगत रहेका विभिन्न खोला र घाटबाट अनुमतिबेगर सञ्चालनमा आएको गिटी बालुवा उत्खनन्मा पनि रोक लगाइएको गाउँपालिका वडा ८ का अध्यक्ष राम गुरुङ्ले भने । यसअघि सम्झौता भई काम भइरहेका कुनै घाट, खोला भएपनि हाललाई रोक लगाइएको गुरुङ्ले जानकारी दिए । ‘पहिले के–कस्ता सम्झौता भए त्यसको अध्ययन गरिनेछ तर हाललाई क्रसर चलाउन रोक लगाइएको छ’ उनले भने ‘गाउँपालिकाले यस विषयसँग सम्बन्धित कसैलाई पनि अनुमति दिएको छैन ।’
पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो । पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।
पोखराः पोखराको पालिखेचोकमा हिजोदेखि निर्माण सुरु भएको फल्चाको काम पुनः रोकिएको छ । फल्चा निर्माण कार्यमा स्थानीय बीच विवाद भए पछि दोस्रो पटक निर्माण थालिएको फल्चामा ३ तह इँटाको गारो लगाउँदा–लगाउँदै निर्माण कार्य रोकिएको हो । फल्चा निर्माणस्थल उपयुक्त नभएको पुर्व वडासदस्य रविन कायस्थले बताए । फल्चा निर्माण प्रक्रिया अगाडी बढाउन पुर्व वडा अध्यक्षले एकलौटी निर्णय गरेको उनको आरोप छ । कायस्थले भने, ‘महानगरले सडक चौडा गर्न मुआब्जा दिएर खाली गरेको जग्गामा फल्चा निर्माण गर्नु गलत हो ।’ पोखरा महानगरपालिकाले भने पालिखे चोकमा फल्चा निर्माण गर्न सिता बिल्डर्सलाई असार २४ गते कार्यदेश सम्बन्धमा पत्र काटेको छ । फल्चालाई लिएर स्थानीय मनोज शिल्पकारले ‘महानगरले पालिखेचोकमा के उद्धेश्यले मुआब्जा दिएर घर भत्काएको हो ? भनि प्रश्न गरेका छन् । निकास भएमात्र विकास हुने भएकाले मुआब्जा सडक छेउका घर भत्काएर सडक चौडाको नाममा फल्चा बनाउनु गलत निर्णय भएकाले यसलाई सञ्चाउन उनको माग छ । उनले भने, ‘नेपाल सरकारले मापदण्डको कुरा गरिरहँदा दुबैतर्फ सडक छ प्राविधिकसँगको कुराकानीमा फल्चा निर्माण गर्न मापदण्ड नपुग्ने भनिएको छ, बनाउने भए उपयुक्त स्थानमा बनाउन प¥यो ।’ फल्चा निर्माणमा जुटेका अशोक पालिखेले अहिले फल्चा निर्माण गर्न वडा र महानगरले आदेश दिएको तर केही स्थानीयले निर्माण रोकेर गलत गरेको प्रतिक्रिया दिएका छन् । पालिखे भन्छन् ‘फल्चा निर्माण रोक्न परे वडा र महानगरपालिकाले पत्र काटेर रोक्न भन्नुप¥यो तर यहाँ भने अन्य व्यक्तिहरुले टोलको विकासमा अवरोध पु¥याइरहेका छन् । यही असार २० सम्म फल्चा निर्माण सम्पन्न गर्नुु पर्नेछ । विवादकै कारण निर्माण रोकिएर बजेट फ्रिज भए त्यसको जिम्मेवारी कसले लिने स्पष्ट हुनुप¥यो भन्दै पालिखेले काम नरोक्न अनुरोध गरे । फल्चा निर्माण गर्न सिता बिल्डर्सले १९ लाख २२ हजार ९ सय २५ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पोखरा महानगरपालिकाअन्तरगत पुर्वाधार महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर पुर्णबहाुुर गुुरुङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

