पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा: पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले अत्यावश्यकबाहेकका कुनैपनि कार्यक्रममा नबोलाइदिन सर्वसाधारणसमक्ष अपील गरेका छन् ।    पदभारपछि अब काम गर्नुपर्ने बेला भएको भन्दै मेयर आचार्यले उद्घाटन, सभा, सेमिनारलगायतका कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । ‘तपाइहरुको अमूल्य मतको कदर गर्दछु’ आचार्यले भनेका छन् ‘अब काम गर्न दिनुहोस् ।’    उनले नगरवासीसमक्ष अब योजना तथा कार्यक्रममा जुट्ने समय भएको भन्दै अनावश्यक काममा नअल्झाउन र सुझाव दिनसमेत अनुरोध गरेका छन् । 

पाेखराः वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहनुभएका आचार्यले भौगोलिक रुपमा देशकै ठूलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको छ ।   राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले गरेको कुराकानी....   –​ पोखरा महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बन्नुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ, यहाँका प्रमुख योजना र प्राथमिकता के के छन् ? सर्वप्रथमत: राससलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो देशभर मुख्य समाचारको स्रोतका रुपमा रहेको छ । पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो । यसको प्रमुखका हिसाबले पाँच वर्षका लागि निर्वाचित भएर आइरहँदा यो स्थानीय निकाय होइन, स्थानीय तह हो । स्थानीय सरकार हो भन्ने कुरा हामीले मनन गर्नुपर्छ ।   कतिपय ठाउँमा हामी स्थानीय निकाय हौँ की भन्ने सोच हामीमा महानगरपालिकाको पूरा प्रणालीसँगै समाजले पनि त्यो बुझिराखेको देखिएको छ । यो त्यस्तो नभई आफैँमा एउटा स्वायत्त सरकार हो जसले आफूलाई चाहिने सबै कुरा व्यवस्थापन गर्न सक्छ र सहयोग सबैको लिन्छ भन्ने कुरा बुझेर अघि बढ्नुपर्दछ । महानगरपालिका सरकार हुने बित्तिकै यसले सर्वसाधारणको दैनिकी, सेवाग्राहीलाई महानगरपालिकाले दिने सेवालाई कसरी चुस्तदुरुस्त बनाउन सक्छौँ, झन्झटरहित बनाउन सक्छौँ, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।   एक महिनाभित्रमा हामी कार्यालय व्यवस्थापनदेखि लिएर फ्रन्ट डेस्कबाटै सबै कुरा हुने, धेरै झन्झट बेहोर्नु नपर्ने, कार्यालयभित्र फाइल बोकेर हिँड्नु नपर्ने खालको व्यवस्थापन हामी गर्दैछौँ । कुन काम कति समयभित्र हुन्छ भन्ने कुराको हामी स्पष्ट रुपमा सबै सेवाग्राहीलाई जानकारी दिने गरी कार्यालय व्यवस्थापन गर्छौँ । चुस्त दुरुस्त कार्यालय होस् भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ ।   – पोखरा गण्डकी प्रदेशको सदरमुकाम मात्र नभइ देशकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो, यहाँको पर्यटकीय विकासका लागि के कदम चाल्ने योजनामा हुनुहुन्छ ?   हामीले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ । पहिलो प्राथमिकतामा पर्यटन नै हो । पोखरा आफैंमा पर्यटकीय सहर हो । हामीले यहाँ गर्ने सबै गतिविधि पर्यटनलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्दछ । त्यसका लागि नेपाल सरकारले पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गरोस् भन्ने मैले पहिलो निर्णय गरेको छु । त्योसँगै औषत रुपमा दुई दिन/रात पोखरा बस्ने अहिलेसम्मको अवस्था रहेछ ।   त्यसलाई हामीले अबको पाँच वर्षभित्रमा कसरी पाँच दिन/रातसम्म पोखरा बस्ने बनाउन सक्छौँ भन्ने कुरालाई पर्यटन क्षेत्रका साथीसँग बसेर एउटा योजना बनाउँछौँ । त्यसका लागि पर्यटकीय गन्तव्य थपिनुपर्‍यो । अहिले भइरहेको चिजले त दुई दिन भन्दा हामीलाई रोक्न सक्दो रहेनछ । त्योभन्दा बढी बस्नका लागि हामीले फेवातालको ड्याम साइडदेखि तालको माथिको भागसम्म छ महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पारी हर्बल गार्डेनभित्रको ट्रयाक सुरु नै गर्ने गरी सोच बनाएका छाँंै । त्यसले एक दिनको बसाइँ थप्दछ ।   हामीले सातवटै तालबीचको कनेक्सनको कुरा गरेका छौँ । बेगनासतालाई स्पोर्टस् टुरिजममा लाने किसिमको कुरा गरेका छौँ । तालले दिनसक्ने सभावित कुरा जे हुनसक्छ फेवाताल, बेगनास ताल, रुपा ताल अरु पनि ताल तथा पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा हामी पुर्‍याउँछौँ । त्यसलाई ब्राण्डिङ गर्छौँ । शाहसिक पर्यटन पोखराको अर्को कुरा हो । नयाँ विमानस्थल आइसकेपछि सराङकोटबाट उड्ने प्याराग्लाइडिङ त्यसलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा क्यानसँग नजिक बसेर छलफल गरिरहेका छाैँ ।   विमानस्थल सञ्चालन भइसकेपछि दिउँसोको अफ आवरमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका छौँ । त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर पोखराको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौँ । हस्पिटालिटीलाई हामीले प्राथमिकतामा राखेका छौँ, हस्पिटालिटी स्कुल पनि बनाउँछौँ । होटेल रेष्टुरेन्टमा काम गरेका मानिस मात्र नभइ पोखरेली सबै हस्पिटालिटीको न्यूनतम कुरा जानेको हुनुपर्छ ।   कसरी पाहुनाको स्वागत गर्ने यो कुरामा घर–घरसम्म कुरा पुर्‍याउन टेलिभिजनमा कक्षा चलाउँछौँ । एक ठाउँबाट लाइभ गरेर हरेक ठाउँका दिदीबहिनीले घर–घरमा बसेर दाजुभाइहरूले के हो हस्पिटालिटी, हाम्रो दायित्व के हो भन्ने कुरा हामी कमसेकम भन्न सकौँ भन्ने खालको कुरालाई अलि फरक ढङ्गले जान्छौँ । पर्यटन पोखराको मुख्य कुरा हो । यसलाई कसरी सहयोग गर्न सकिन्छ, हाम्रा पाहुना आउँदा उहाँहरूलाई कुनै किसिमको हेपाइ नहोस् ।   विमानस्थलदेखि नै तानेर लैजाने, लेकसाइमा हिँड्दा मकहाँ आउनु भनेर झिनाझपटी गर्ने जस्ता कुरा नहोस् । पर्यटनसँगै हस्पिटालिटीलाई सँगै जोडेर लैजान्छौँ । यसलाई धेरै खर्च गर्नु पनि पर्दैन । लेकसाइडलाई कसरी सौन्दर्यीकरण गर्ने, त्यसको यातायातको व्यवस्था कसरी गर्ने सम्बन्धमा पनि योजना बनाउँछौँ । विसं २०२३ को जनवरीसम्म पुग्दासम्म पोखराले अलिकति कोल्टो फेरिसकेको हुने गरी योजनाका साथ लाग्छौं । पर्यटनमा हामी मुख्य रुपमा केन्द्रित छौँ ।   – निर्माण सम्पन्न भएर पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा आउन सक्ने अवस्था देखिएको छैन, यसको सञ्चालनका लागि के सोच्नुभएको छ ? विमानस्थल सञ्चालनमा ल्याउन सबैभन्दा पहिले ल्यान्डफिड साइडको व्यवस्थापन गर्नुपर्छ । फोहोर व्यवस्थापनलाई अहिले जे छ त्यसलाई क्रियाशील रुपमा तीन महिनासम्म गछौँ । तीन महिनापछि फोहरलाई मोहोरमा परिणत गर्ने गरी अघि बढाउँछौँ । ल्याण्डफिड साइडको व्यवस्थापन भएन भने एयरपोर्ट चल्दैन भन्ने कुरामा हामी सचेत छौँ ।   – महानगरमा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?   हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई धेरै प्राथमितामा राखेका छौँ । माध्यमिक तहसम्मको शिक्षा सर्वसुलभ र नि:शुल्क हुनुपर्छ भन्ने नेपाल सरकारको योजना छ । पोखराको शिक्षाका सन्दर्भमा यसभन्दा अघिको शिक्षा समितिले पनि एउटा प्रतिवेदन बुझाएको छ । त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी छौँ । नागरिकको पहिलो रोजाइँ सरकारी विद्यालय हुने गरी पाँच वर्षसम्म त्यो ठाउँमा पुर्‍याउने हाम्रो योजना छ ।   जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर घरघरमा, टोलटोलमा नै प्राथमिक स्वास्थ्य प्राप्त हुने ढङ्गले हामी व्यवस्थापन गर्दछौँ । सबै वडामा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य केन्द्र बनाउने भनेका छौँ त्यसमा हामीसँग कति दरबन्दी छ, अन्य संस्थासँग पनि हातेमालो गर्दै काम गर्ने कुरामा हामी सचेत छौँ । – महानगरमा भइरहेका सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाहीका गुनासा पनि सुन्ने गरिएको छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि के तयारी गर्नुभएको छ ? हामी फ्रन्ट डेस्कबाटै पहिलो फाइल आइसकेपछि काम सबै सम्पन्न गरेर यति बजे फलानो ढोकाबाट लिनोस् भन्ने खालकोसम्म पुर्‍याउने गरी कामलाई व्यवस्थापन गर्दैछौं । कर्मचारीको व्यवस्था पनि त्यही रुपमा गर्नेछौँ । जुनजुन महाशाखाबाट काम हुनुपर्ने हो त्यहाँबाट हुने गरी फाइल अघि बढेपछि कोठा कोठा चाहार्नु नपर्ने गरी व्यवस्थापन गछौँ । एक महिनाभित्रमा नै यहाँको सुशासनको प्रत्याभूति हुनेछ ।   – महानगरको सौन्दर्यीकरणसँगै यातायात व्यवस्थापनमा कस्तो योजना बनाउनुभएको छ ? यातायात र ट्राफिक व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ । दीर्घकालीन रुपमा पोखरा टर्मीनल बसपार्क लामेआहालमा बनाउने योजना छ । यो ठूलो बजेटको कुरा हो । हामीले केही विदेशी प्रोजेक्टसँग पनि यसबारेमा कुराकानी गरेका छौं । हिजोमात्रै कोइकासँग मेरो कुराकानी भयो । आज प्रदेश सरकारसँग भौतिक योजना मन्त्रालयसँग मेरो बैठक छ ।   ठूलो बसपार्क र अटो भिलेजका सम्बन्धमा विदेशी दातृ निकायसँग मिलेर यसलाई अघि बढाउँदैछौँ । पोखराको पुरानो बसपार्कलाई सिटी बसपार्क बनाउँछौं । पोखराको स्थानीय यातायातलाई व्यवस्थापन गर्न सक्दाको अवस्थामा यसले ठूलो सन्देश दिन्छ । कहाँबाट कुन बस कतिखेर कहाँ पुग्नेसँगै सबै वडामा बेलुकासम्म बस चल्ने गरी व्यवस्थापन गछौँ । यातायात व्यवसायीसँग उचित खालको परामर्श गछौँ ।   अहिले भइरहेको बसलाई कहाँ चलाउने, सिटीभित्र अलि ठूला बस सञ्चालन गर्ने योजना छ । सिटीमा सुन्दर बस चलाएर त्यसलाई व्यवस्थित गछौँ । सार्वजनिक सवारी साधनका सहयोगी हेल्पर, कन्डक्टर, ड्राइभर ड्रेसमा रहने गरी राम्रोसँग हस्पिटालिटीयुक्त बनाउने सोच राखेका छौँ । हस्पिटालिटीमा यातायात क्षेत्रका कर्मचारीलाई पनि सहभागी बनाइने छ । पर्यटकीय सहरमा सार्वजनिक बसमा हिँड्ने पनि पर्यटक हुन् भन्ने प्रशिक्षण गछौँ ।   – गठबन्धनबाट पोखराको प्रमुखमा निर्वाचित हुनुभयो ? साझेदार दलहरुलाई कसरी विश्वासमा लिएर अघि बढ्नुहुन्छ ? हिजोसम्म पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख बनेको हो । अब निर्वाचित भइसकेपछि सम्पूर्ण पोखरेली नागरिक साझा प्रतिनिधि हुन् । कसैप्रति पनि काखापाखा नगरिकन सबैलाई साथमा लिएर हिँड्ने हो । संलग्नताको कुरा जो जहाँबाट निर्वाचित भएको हो त्योसँग पाँच वर्षसम्म नै रहन्छ ।   – चुनावी घोषणापत्रमा पोखरामा फेवा बेगनास कनेक्टिभिटीको योजना थियो । त्यसको कार्यान्वयन कसरी गर्नुहुन्छ ? लेखनाथ र पोखरालाई एउटै महानगरमा मिसाए पनि मन अझै मिलेको छैन । फेवा बेगनास कनेक्टिभिटमार्फत लेखनाथ र पोखराको मनलाई पनि मिलाउन खोजेको हो । हामी मिसिएर गल्ती गर्‍यौँकी भन्ने अहिले पनि लेखनाथवासीको मनमा छ त्यो कुरालाई पनि हामी दूर गर्न चाहन्छौँ । आगामी दिनमा कसरी सबै महानगरवासी हौँ भन्ने भावनाको विकास गर्ने सोचमा छौँ ।   दुईटा ठूला ताललाई जोड्न हामी ट्राम चलाउने भनेका छौँ । त्यो थोरै मानिस हुँदा पनि चल्ने कुरा हो । पाँच वर्षभित्र बनाउँछौँ ।   – निर्वाचित भएको छोटो समयमै पहिलो बजेट तथा कार्यक्रमको तयारीमा हुनुहुन्छ ? प्राथमिकता के हुनेछन् ? बजेटमा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हाम्रो विशेष ध्यान दिएर कार्यक्रम बनाउने छौँ ।   – विगतमा कतिपय विषयमा सङ्घ र प्रदेश सरकारसँग राम्रोसँग महानगरको समन्वय नभएको देखिने गरेको थियो, तपाईँको कार्यकालमा कस्तो रहने छ ? हामी सङ्घ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । हिजोको केन्द्रको बजेटमा पोखरालाई के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । प्रदेशको अब बजेट आउँछ, प्रदेशमा पनि लबिङ गछौँ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेस र कोअपरेशन गरेर अघि बढ्छौँ ।   हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । पोखरा बनाउने सन्दर्शमा सबैलाई सकारात्मक ढङ्गबाट सहयोग गर्न अनुरोध गर्न चाहन्छु । पोखरा हामी सबैको हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई महानगरमा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ ।   बेरोजगारलाई महानगरको आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । पोखरामा पनि धेरै रोजगार दाता हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।   – पोखराको जीर्ण सडक अवस्थालाई देखाएर महानगरको आलोचना हुने गरेको छ । सडकको अवस्था सुधार्ने के योजना छन् ? पोखरा महानगरभित्रका सबै सडक महानगरका होइनन् । सडक विभागअन्तर्गतका पनि केही सडक छन् । पहिला कोअर्डिनेशन भएन र गुनासा आए । पोखराको सडक राम्रो बनाउन सबै पक्षसँग हामीले समन्वय गर्नुपर्ने हुन्छ । महानगरका मुख्य सडक मात्र नभइ भित्रका सडकलाई पनि अस्फाल्ट कङ्क्रिट पिच गर्नका लागि केन्द्र र प्रदेश सरकार सबैसँग लविङ गर्छौ ।   अस्फाल्ट नभएको ठाउँमा पनि खाल्डाखुल्डी तुरुन्त पुरियो भने पनि दुर्घटना कम हुन्छ । त्यसका लागि कहीँ खाल्डा भएको २४ घण्टाभित्र खाल्डा पुर्ने योजना बनाएका छौँ । यसैगरी सडकमा छाडा चौपाया छोडन् नपाउने र कुकुर पनि सडकमा छाडन नपाउने गरी व्यवस्था गर्छौ । धेरै दिदीबहिनी कुकुरकै कारण दुर्घटनामा परेको देखेका छौँ ।   पुरुषहरुले व्यवस्थापन गर्न सके पनि महिलालाई अप्ठ्यारो हुने गरेको देखिन्छ । सडकमा धेरै स्कुटर कुकुरका कारण दुर्घटनामा परेको देखिएको छ । छाडा छौपाया व्यवस्थापनका लागि काञ्जि हाउस बनाउँछौँ । नागरिकले या त छौपाया घरमै पाल्नुपर्यो, छाडा छोड्नुभएन ।   – अबका पाँच वर्षपछि पोखरेलीले पोखरालाई कस्तो अवस्थामा पाउनेछन् ? अबको पोखरा कस्तो बन्नुपर्दछ भनेर थ्रिडी भिडियो सार्वजनिक गर्नेछौँ । त्यसका लागि महानगरको सिङ्गो बोर्ड र कार्यपालिका पूरा भइसकेपछि कार्यपालिकाको सहमतिसहित ४३ जनाको महानगरको टोली र विशेषज्ञ बसेर पोखरा यस्तो बन्छ भन्ने तस्वीर बनाउँछौँ ।   पोखरा महानगर र वडा कार्यालय सिस्टममा चलिरहेको, आन्तरिक सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधा सबै तोकिएका समयभित्रबिना झन्झट, बिना भनसुन काम भइरहेको एउटा कार्यालयका रुपमा पाउनु हुनेछ । बाहिर फिल्डमा हेर्दा पनि हाम्रो यायातात र ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भएको हुनेछ । हेर्दा पनि सौन्दर्यकरण हिसाबले बाटा सफा र सुन्दर हुनेछन् । पर्यटकीय गन्तव्य थपिएका हुनेछन् ।   हाम्रो अर्थतन्त्र सबल बनाउन हाम्रा पोखरेली दाजुभाइ दिदीबहिनीलाई उत्पादनका विभिन्न चरणमा जोडेर लैजान्छौँ । जसका कारणले अर्थतन्त्र व्यवस्थित हुनेछ । हाम्रो समृद्ध पोखराका लागि सबल अर्थतन्त्रलाई प्राथमिकतामा राखेका छौँ । उत्पादनका काममा नागरिकलाई जोड्ने कुराले जे नतिजा दिन्छ, त्यसलाई व्यवस्थित कोसेली घर बनाउने, पोखरामा आयात प्रतिस्थापन गर्ने, महानगरका उत्पादनलाई ब्राण्डिङ र क्वालिटीको सुनिश्चितता गर्छौ ।   कतै केही समस्या पर्‍र्यो भने द्रूत प्रतिकार्य समूह बनाउँछौँ । र्‍यापिड एक्सन टिम(आरआइटी) बनाउँछौँ, द्रुत सेवा समूह बनाउँछौँ । दुर्घटना, दैविप्रकोप र कहीँ रेस्क्यु गर्नुपर्दा त्यो समूहले काम गर्छ । त्यसका लागि सम्बन्धित व्यक्ति राखेर महानगरमा थप एउटा महाशाखा बनाउँछौँ । अहिलेका नौ वटा महाशाखामा आरआइटी भन्ने महाशाखा थप्छौँ । त्यसले अप्ठ्यारो अवस्थामा काम गर्छ ।   दमकल, एम्बुलेन्स र छिटो उद्धार गर्नुपर्ने खालका सामग्रीसहितको महाशाखा हुनेछ । यसका लागि सशस्त्र प्रहरीसँग मिलेर काम गछौँ । केही दुर्घटना भइहालेमा सामान खोज्न हिँड्ने भन्दा पनि तयारी अवस्थामा रहेको समूह बनाउँछौँ । यदि नागरिकलाई हेलिकप्टर चाहियो भने पनि त्यही समूहले खोज्ने व्यवस्था गछौँ, त्यो महाशाखाले काम गर्नेछ ।

पोखरा:    पोखराबाट जोमसोम उडेको तारा एयर गन्तव्यमा नपुग्दै सम्पर्कविहीन भएपछि यात्रुका साथी एवं आफन्तहरु यतिबेला तथ्यको पर्खाइमा पोखरा विमानस्थल पुगेका छन् ।    करिब २ घण्टासम्म पनि जहाजबारे ठोस सूचना पाउन नसकेपछि विमानस्थल परिसरमा पुगेका आफन्तजन र अन्यको धैर्य टुट्दै गएको छ । प्रतिकुल मौसमका कारण खोजी र उद्धारकार्य हुन नसकेपछि विमानस्थलमा भेला भएकाहरुको आँखाबाट झरी बग्न थालेको छ ।     तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमानमा चार विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित २२ जना सवार छन् ।  तस्वीर : अर्जुन गाहा (सुशान्त)                          

पाेखरा:   गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई के – कस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर तयारी थालेको छ ।    हालै बसेको बैठकले सोही सुविधा दिन तयारी कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव संयोजक, अर्थ र कानून मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् ।    कार्यदलले तयार गर्ने मस्यौदाअनुरुप सेवा सुविधा तय हुनेछ । हाल कार्यदल पूर्वमुख्यमन्त्रीदेखि प्रमुख सचेतकसम्मलाई सेवा उपलब्ध गराउन गृहकार्य थालेको छ ।   प्रदेश सरकारकाकारण आर्थिक भार बढ्दै गएको आलोचना भइरहेकाबेला भूतपूर्व पदाधिकारीलाई समेत सेवा, सुविधा छुट्याउने तयारी भएपछि पोखरेलीको अभिमत लिनेक्रममा उनीहरुको भनाई सुनगाभा न्यूजले जस्ताकोतस्तै समेटेको छ ।    कदापि उचित होइन ​​ आनन्दराज मुल्मी पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ   यहाँ कस्तो राजनीतिक सोंचको विकास भएको छ बुझ्नै गाह्रो भयो । पदमा रहँदा त सेवाको नाममा सुविधा लिए लिए, भूपू भएपछि पनि जनताको करमा तर् मार्ने प्रवृत्ति बढेर गयो । प्रदेश सरकारले केही गर्न नसकेको छर्लङ्ग छ, गरे त केवल आफ्नै लागि गरे भन्दा फरक पर्दैन ।    सिमित स्रोतबीच चलेको प्रदेश सरकारका पदाधिकारीले कार्यकाल सकिएपछि पनि सुविधा लिने सोंच कदापि उचित होइन । यदि, प्रदेश सरकारले यस्तो निर्णय गर्छ भने म त्यसलाई विवेकपूर्ण निर्णय मान्दिन । राजनीतिलाई ‘सेवा’को ठाउँमा ‘जागिर’ मान्ने प्रवृत्तिको म सदैव विरोध गर्छु ।    जनता र प्रदेशवासीलाई लाटोसोझो ठानेर यस्तो काम गर्ने प्रयास भइरहेको छ । यो अनुचित हो । मलाई लाग्छ, सम्बन्धित दलहरुले यस्तो निर्णय पक्कै नगर्लान् ।    ‘नो इज नो’ कपिल कोइराला अध्यक्ष, उपभोक्ता मञ्च, गण्डकी प्रदेश   पूर्वपदाधिकारीहरुलाई सुरक्षाको नाममा दिइने सेवा, सुविधाको कारण र तथ्य के हो ? विश्वमै आर्थिक मन्दी छ, कोरोना यथावत छ, युद्ध जारी छ । यस्तो बेलामा पूर्व भइसकेका पदाधिकारीलाई सेवा सुविधान दिने निर्णयप्रति मेरा धारणा मात्र ‘नो’ हो ।  एशियामा पनि श्रीलंका टाट पल्टिसकेको छ । पाकिस्तान केही दिनभित्र श्रीलंकाकै हाराहारीमा पुग्दैछ । नेपालको अवस्था त्यो भन्दा गतिलो छैन भन्ने नेताहरुलाई थाहा हुनु पर्ने हो । यस्तो प्रतिकुल अवस्थामा खाइपाइ आएको सेवा सुविधा कटौति गर्नुपर्ने बेला उल्टो खान खोज्ने प्रवृत्ति कदापि स्वीकार्य छैन ।  सुरक्षा र थ्रेटको नाममा छुट्याइने बजेटले उल्टो उनीहरुलाई नै गिज्याउँछ । मेरो प्रश्न छ ‘के काम गरे र, उनीहरु असुरक्षित छन् ?’ सबै भूपूलाई सुरक्षा दिँदै जाने हो भने देशको सिंगो प्रहरी फोर्स उनीहरुकै पछि लगाउने अवस्था आउँछ ।  सेवा सुविधा लिने हो भने उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आफ्नो सम्पत्ति छोरा, नातीलाई छुट्याएर राज्यकोषको दोहन गर्न पाइँदैन । मैले यसमा गण्डकी प्रदेशको नियत खराब छ भन्ने ठानेको छु ।  गलत परम्परालाई निरन्तरता दिने काम भयो डा. उमानाथ बराल राजनीतिक विश्लेषक   मुलुकमा गणतन्त्रको आगमनपछि राष्ट्रपतिबाट जे–जस्तो परम्पराको सुरुवात गरियो त्यसैको देखासिकी प्रदेशले पनि सुरु ग¥यो । जनतामा सार्वभौमसत्ता केन्द्रित भएपछि उच्चपदस्थ व्यक्तिहरुले आफ्नौ दैनिकीलाई झनै लक्जरी बनाउने काम भयो, जसको निरन्तरता प्रदेशमा भेटिएको छ ।  मूलतः विश्वमै राजनीतिलाई सेवा भनेर लिने गरिएको छ । तर यहाँ पेशा भइदियो । यसले ‘कमाउने’ परिपाटीको विकास गर्दा भूपू भइसकेपछि पनि रवाफ देखाउन सुरक्षाको नाममा सेवा लिने अभ्यास भइरहेको छ । यसलाई ‘गुड’ भन्न सकिँदैन ।  यद्यपि, कुनै असल राजनीतिकर्मी छ र उसले निस्वार्थ काम गरेको छ भने उसलाई राज्यले सम्मान दिनु गलत भने होइन । तरैपनि शान, मानकोरुपमा राज्यले भूपूलाई खर्च गरिरहने हो भने त्यसले व्यवस्थाप्रति नै नकारात्मक सन्देश पुग्छ । विकास खर्च र बजेट नै विदेशी अनुदानमा निर्भर रहेको मुलुकमा फजुल खर्च बढाइरहने निर्णयले नेताहरु जनताप्रति अनुत्तरदायी छन् भन्ने ठहर्छ ।      जनतामारा निर्णय भयो भने सशक्त प्रतिकार हुन्छ रश्मी आचार्य उपसचिव, नेकपा एमाले, गण्डकी प्रदेश   भूतपूर्वलाई सुरक्षाको नाममा सेवा सुविधा दिने काम गर्नै नहुने विषय हो । यहाँ एमालेले पनि पाउँछ भन्ने कुरा भइरहेको छ । हाम्रो धारणा भनेको कहाँ, कसले पाउने होइन, यो त सरासर जनतामारा निर्र्णय हो । नेकपा एमाले यसको विपक्षमा छ ।    जनता महंगी र बेरोजगारले आहत भएकाबेला पूर्वप्रतिनिधिलाई झनै पाल्ने र पोस्ने काम गलत हो । एमालेले पनि पाउँछ भन्नेमा यो विषय किमार्थ जोडिदैन । राज्यकोषको दोहन गर्ने कुनैपनि निर्णयविरुद्ध हामी आन्दोलनमा उत्रन्छौं ।    आगामी २४ गते घोषणा हुने तयारी भइरहेको सुन्नमा आएको छ । घोषणामात्र होइन अहिले गठन गरिएको कार्यदल नै खारेज गर्नुपर्छ । कथंकदाचित् २४ गते सेवा सुविधा दिने निर्णय सदर भयो भने हामी सशक्त विरोध गर्छाैं ।    राज्यको ढुकुटीमा गिद्धे नजर सुशिला केसी अधिकारी केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी   अहिले गण्डकी प्रदेशका प्रतिनिधिहरु, जो छिट्टै भूतपूर्व हुँदैछन्, उनीहरुलाई राज्यकोषबाट सुरक्षा वा अन्य जुनसुकै नाममा सेवा सुविधा दिने प्रयास भइरहेको छ, त्यसप्रति मेरो र दलकोतर्फबाट घोर आपत्ति छ ।    जनता दुख, पीडामा छन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नै लागि आफैले सेवा सुविधा खुवाउने काम गर्नु भनेको राज्यको ढुकुटीमा गिद्धे नजर लगाउनु हो । वास्तवमा जनप्रतिनिधिलाई तलब खुवाउनै गाह्रो छ । त्यसमाथि अझ पछिसम्म पाल्ने काम कुनैपनि हिसाबले ठिक छैन ।    अझ, हाम्रो कुरा त संघ र स्थानीय सरकालाई बलियो बनाएर प्रदेश सरकार नै खारेज गर्नुपर्छ भन्ने हो । देशलाई झनै अधोगतितर्फ धकेल्न संसदबाटै कानून बनाएर पास गर्ने तयारी भइरहकोमा मेरो विमति छ ।    अर्थतन्त्रले धाने ठिक, धानेन भने ... गणेशबहादुर भट्टराई पर्यटन व्यवसायी   नेपाली उखान ‘घाँटी हेरी हाँड निल्ने’ भने जस्तै हो । प्रदेशले आफै पैसाको जोहो गर्न सक्छ भने उहाँहरुलाई धेरथोर सुविधा दिनु नराम्रो हैन तर अर्थतन्त्रले धान्दैन वा संघबाट आएको बजेटमा सुरक्षाको नाममा सुविधान लिनु त पक्कै बेठिक हो ।    विकासका काममा समेत रिन लिने चलन छ अर्थात् हामी बाध्य छौं भने प्रदेश सरकारले सोच्नुपर्छ । त्यसैत विभिन्न सरकारी निकायमा कामको तुलनामा कर्मचारी बढी भएको हामीले महशुस गरेका छौं ।    सेवा सुविधा प्रदान गर्दा हामी कति उत्पादनमुखी छौं भन्नेमा प्रदेश सरकार स्पष्ट हुनुपर्छ । जनताकै करबाट लिने हो भने नागरिकस्तरबाटै त्यसको विरोध हुन्छ ।    ‘रिन मागेर घ्यू खाने’ काम भयो शंकर खराल, राप्रपा, कास्की   हामी स्पष्टरुपमा संघीयता विरोधी पार्टी हौं । प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने त हाम्रै माग छ । त्यसकारण प्रदेशका पदाधिकारीले पाँच वर्षपछि पनि सुरक्षाको बहानामा सेवा र मेवा लिने परिपार्टी बनाइन्छ भने राप्रपा आन्दोलन गर्छ ।    आफ्नो देश असफल राष्ट्र भइसक्न लागेको हेक्का नराखि खानेमात्रै ध्याउन्न गर्दा भोली जनस्तरबाट विद्रोह हुनसक्नेतर्फ सचेत हुनुप¥यो । वर्षेनी ५ अबै रुपैयाँको बजेट घाटा भइरहँदा पनि फेरि सुविधा लिन खोज्नुलाई रिन मागेर घ्यू खाने काम भन्नु बुझिन्छ ।    यहाँका पदाधिकारीले सुविधा लिए त्यसलाई नजिरकारुपा लिई भोली अन्य प्रदेशले पनि सेवा सुविधा लिने निश्चित छ । यसर्थ, यस किसिमका नीति, नियम बने देशमा छोटे राजाको संख्या झनै बढ्छ । यहाँ राजा मोटाउने हैन, जनता मोटाउने निर्णय गर्नु प¥यो ।    नागरिक समाजको आपत्ति छ इन्द्रकमल मानन्धर संयोजक, नागरिक समाज कास्की   भूतपूर्व पदाधिकारीलाई पनि सेवा सुविधा उपलब्ध गराउने समाचार आएलगत्तै हाम्रो ध्यानाकर्षण भएको छ । नागरिक समाज यस विषयमा गम्भीर आपत्ति जनाउँछ । जनता दुखमा परेका बेला जनप्रतिनिधि भने सेवा सुविधा थप्न लाग्नु जत्तिको दुखद खबर अरु के हुनसक्छ ?   सरकारले जनतालाई विदेशबाट विभिन्न सरसामानको आयातमा रोक लगाइरहेकाबेला आफु भने देशको ढुकुटी सक्न उद्दत देखिनु जनताप्रतिको गैरजिम्मेवारीपना हो । बजारमा उपभोग्य वस्तुको भाउँ बढेको छ । सरकार केवल रमिते बनेको छ । अर्थतन्त्र धराशायी हुँदैछ, यस्तो बेला सेवा सुविधा कसरी लिन सकिन्छ भनेर कार्यदल गठन गर्नु लाजमर्दाे विषय हो । 

अष्ट्रेलियामा केन्द्रिय कार्यालय रहेको मेवन कन्सल्टेन्सीले पोखराबाट सेवा शुरु गरेको छ । कन्सल्टेन्सीको नेपालस्थित यो तेस्रो शाखा हो ।    गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखाको उद्घाटन गर्दै विदेशबाट शिक्षा र सभ्यता लिएर फर्कन अनुरोध गरे ।    सोहीक्रममा पोखरा शाखाकी प्रबन्ध निर्देशक भावना पोखरेलले विदेश पढ्न चाहने विद्यार्थीलाई पोखराबाटै सहयोग दिने उद्देश्यले मेवनको शाखा सुरु गरेको बताइन् । ‘भाषा, प्रोसेसिङ्, परामर्श र आवश्यक सहयोगबारे पूर्ण जानकारी नपाउँदा विद्यार्थी रनभुल्ल छन्’ पोखरेलले भनिन् ‘मेवनको उद्देश्य विद्यार्थीलाई सम्पूर्णरुपमा सहयोग गर्ने हो ।’   पोखरा वा नेपालभित्रमात्र नभएर विदेश पुगेपछि पनि विद्यार्थीहरुलाई आवश्यक सहयोग रहने उनको दाबी छ । स्मरणीय छ, मेवनको १३ देशमा शाखा रहेका छन् ।    पोखरा महानगरपालिका नजिक रहेको मेवनले उद्घाटनको अवसरमा विशेष छूटको अवसर दिएको छ । पोखरेल भन्छिन्, ‘प्रोसेसिङ् र आइएलटीएस, पिटिइ कक्षामा विशेष छूट छ ।’   उद्घाटनसत्रमा सय बढी विद्यार्थीले मेवनबारे जानकारी लिएका छन् । 

कास्की- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।   मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्नुहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताउनुभयो ।   पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । नवनिर्वाचित महानगरपालिका प्रमुखले सपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गर्नुभएको छ ।   मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।   पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी का नेता धनराज आचार्य निर्वाचित हुनुभएको थियो ।

पोखराः पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीकाे छोरी अञ्जु जिसीले हालै निर्वाचित मेयर धनराज आचार्यलाई सुझावसहित बधाई दिएकी छिन् ।    ‘नगरपितालाई छोरीको सन्देश’ भन्दै अञ्जुले मेयर आचार्यलाई बधाईमात्रै दिएकी छैनन्, उनले बुवा मानबहादुरले राम्रो काम गर्दागर्दै विभिन्न बहानामा हस्पिटलको बेडसम्म पु¥याएको दुखेसो पनि पोखेकी छिन् । बुवा मानबहादुर सत्यको बोटोमा अडिग रहँदा हस्पिटलसम्म पुग्नुपरेको अर्थात बिरामी नै हुनुपरेको र अहिलेको अवस्थमा पुगेको भाव उनको स्टाटसबाट बुझ्न सकिन्छ ।   उनको स्टाटसलाई केलाउँदा बुवा मानबहादुर आफ्नैबाट पीडित हुनुपरेको, स्वास्थ्यवस्था बिग्रेको, आसेपासेबाट दबाब आएकोलगायत उल्लेख गरिएको छ ।    अञ्जुले दिएको सुझावमा राम्रो काम गर्दा सबै आफ्नो हुन्छन् भन्ने भ्रम त्याग्न अनुरोध गर्दै दबाब सहन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरेकी छिन् ।    अञ्जुको स्टाटसः  

पोखराः स्थानीय तहको निर्वाचन सुरु हुन ३ दिन अघिदेखिनै वर्षा हुने मौसम विभागको अनुमानले पोखरेलीलाई असहज बनाइरहेको थियो ।   त्यसैमाथि, देशकै धेरै पानी पर्ने स्थान भएकाले पोखरेलीहरुलाई निर्वाचन बिथोलिने हो कि भन्ने चिन्ता पनि थियो । अझ, सरकारी र जिम्मेवार निकायलाई पनि पीरमा डुुबाएको थियो ।    तर, विभिन्न डर र पीरबीच पोखरामा अधिकांश स्थानमा बेलुकी ५ बजेसम्म मौसम अनुकुल रह्यो । मतदान कार्यक्रम सकिएपछि करिब सवा ५ बजेदेखि पोखराको नगर लगायत आसपासमा वर्षा सुरु भएको छ ।   मतदान सकिएपनि निर्वाचनमा खटिएका पदाधिकारी र सुरक्षाकर्मीहरुलाई भने मतपेटिका र अन्य कागजात जोगाउन केही सकस परेपनि वर्षाकै कारण कुनैपनि कठिनाई भने नभएको हाम्रा सहकर्मी सुशान्त गाहाले जनाएका छन् ।      मतदानस्थलमा रिपोर्टिङकैक्रममा रहेका सहकर्मी गाहाको रिपोर्ट अनुसार पोखरा महानगर र जिल्लाका ४ गाउँपालिकामा करिब ७० प्रतिशतमात्रै मत खसेको छ ।   त्यस्तै, केही मतदानस्थलमा ५ बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने निर्वाचन आयोगले बताएको उल्लेख गरिएको छ ।