पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ ।    चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो । प्रदेश सभामा अर्थमन्त्री रामजी बरालले बजेट भाषण गरिरहेका छन् । 

पोखरा महानगरपालिकामा दलीय गठबन्धनका उम्मेदवार भई विजय हात पारेका मेयर धनराज आचार्यलाई  अटेरी अभियानले आज चुनावी वाचा सम्झाएका छन् ।    निर्वाचनमा प्रतिद्वन्द्वी रहेको अटेरीले चुनावी वाचालाई बुँदागतरुपमै पेश गर्दै निर्धारित समयमै पुरा गर्न शुभकामनासमेत दिए । ‘यो सुझावमूलक मायाको चिनो हो’ अटेरीले भनेको छ ।     मेयर आचार्यले चुनावताका १ वर्षभित्र पुरा गर्ने कामलाई पौडेलले फेहरिस्त उतारेर दिएका हुन् । जसअनुसार पहिलो वाचा पुरा गर्ने डेटलाइन भदौ १२ गते हो । आचार्यले पदबहालीको १ महिनाभित्र महानगरमा ‘मुभलेस सेवा’ सुरु गर्ने बताएका थिए ।    यस सेवाअन्तरगत सेवाग्राहीलाई कोठा चाहर्न नपर्ने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने उल्लेख छ । अटेरी अभियान आगामी प्रदेश र संघको निर्वाचन तयारीमा समेत जुटेको छ ।   

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन भदौंको २४ र २५ गते हुने भएको छ ।    संघका अध्यक्ष नारायण कोइरालाको मातहतमा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ ।    संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।    चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।   संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट  ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।    असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

कास्की:  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिने भारत भ्रमणमा निस्केको डुलुवा टोलीले भारतीय मिडियामा स्थान पाएको छ ।    योगेश भट्टराईको नेतृत्वमा एक महिने भ्रमणमा निस्केको टोलीलाई विशेष चाँसोका साथ भारतीय मिडियाले कभरेज गरेको हो ।   गत जुन ५ तारिखमा निस्केको टोलीले ‘राइड एण्ड ग्लाइड’ को नारा सहित भारतीय पर्यटकलाई निम्तो दिने लक्ष्यसहित भारत भ्रमणमा हानिएको थियो ।    अहिले भारतको विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिरहेको डुलुला टोली नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले खुशी व्यक्त गरिरहेका छन् ।

पाेखरा:  पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ ।   हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार वर्षायाम सुरु हुन लागेको र बाटोहरुमा समस्या हुने, बेसिजन समय भएकाले पर्यटक घट्न थालेको हो । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ । यहाँ विगतमा ५००÷६०० भन्दा बढी दैनिक पर्यटक आउने गरेको थियो ।   यही पर्यटकका कारण पर्यटन व्यवसायमा रमाउँदै आम्दानी गरेका पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानीमा कमी हुँदा चिन्तित हुन थालेका छन् ।   कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै विस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो । सोपश्चात् उक्त जोखिम कम भएपछि बढ्दै गरेको पर्यटक केही हप्ताबाट घट्दै यतिबेला न्यून आउँदा पर्यटन व्यवसायी थप मर्कामा परेको उनीहरुको गुनासो छ ।   अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्यजस्तै भएको छ । घर खर्चदेखि अन्य खर्चमा पनि यस व्यवसायबाट आम्दानी रकमबाट उपयोग गर्दै आएपनि पर्यटक नआउँदा पैसाको मुख देख्न पनि रहरजस्तै हुन थालेकोले चिन्ता बढेको उहाँको भनाइ छ ।   अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङले पनि केही हप्ताअघिसम्म दैनिक रु ४०/५० हजार आम्दानी गर्नुभएको थियो तर यतिबेला यस पदमार्गमा पर्यटक ह्वात्तै घट्दा रु चार÷पाँच हजार पनि दिनमा हुन छाडेको उहाँले भन्नुभयो । उहाँहरुको मात्र होइन उहाँहरु जस्ता यस पदमार्ग आसपासका करिब तीन हजार ५०० भन्दा बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, बर्खायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिन्छ ।   यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । यस पदमार्गमा सन् २०२२ को हालसम्म चार हजार ९०० हाराहारीमा पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक गुरुङले बताउनुभयो ।   पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा रहेको छ ।   अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् ।

पोखरा: नेपाली मौलिक परिकार ८४ व्यञ्जनले राजधानीमा आयोजना गरेको हिमालयन हस्पिटालिटी अवार्ड २०२२ मा सेभेन स्टार फुड एण्ड मार्ट प्रालि तथा सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ विजेता भएका छन् ।   नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्देश्यले देशभरका सेफहरुबीच आयोजित प्रतियोगितामा प्रथम भएवापत सेफ भुवाईलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद १० हजार रुपियाँसहित अवार्ड प्रदान गरेका छन्।   प्रतियोगितामा सेफ पूर्ण, सुवास थापा, उमेश तामाङ र सुजन आले मगर क्रमशः द्धितीय, तृतिय, चतुर्थ र पञ्चम भए । बुढानिलकण्ठस्थ्ति होटल अमुप्रस्थमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको चर्चा गर्दै यससँग देशको पहिचान, संस्कृति र देशको गौरव जोडिने बताए । ‘   'परम्परागत रुपमा राजाका सेना, त्यसका कमाण्डर र युद्धमा होमिने योद्धाले ८४ व्यञ्जन भोजन लिने गर्दथे,  त्यसताका ८४ व्यञ्जनको परिकार बनाउने कला तत्कालिन राज्यले गोप्य राख्ने गर्दथ्यो । किनकी विरोधीहरुले त्यो ८४ व्यञ्जनको खाना खायो भने विरोधी सेना तगडा हुन्छ र आप्mनो सेना हार्ने सम्भावना हुन्छ भन्ने हुन्थ्यो । त्यसैले ८४ व्यञ्जनको सुत्र बाहिर ल्याईएको थिएन । विस्तारै ८४ व्यञ्जन शोखको रुपमा विकसित भएर आएको देखिन्छ’ उपराष्ट्रपति पूनले भने ।   त्यसैगरी कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रालिका अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबद्र्धनमार्फत नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा ८४ व्यञ्जन परिकारको प्रदर्शन गरिएको थियो ।   राजधानीमा आयोजित प्रतियोगितामा प्रथम स्थान हात पारेको अवसरमा आज सेभेन स्टार फुडमार्ट परिवारले पोखरामा भुवाईलाई सम्मान समेत गरेको छ । 

पोखराः छिमेकी देश भारतका घुमन्तेलाई पोखरा आउन निम्तो दिँदै यहाँबाट निस्केको टोली ‘डुलुवा’ भारतको उत्तरी प्रान्त जम्मु–काश्मिर पुगेको छ । टोलीले त्यहाँका स्थानीय र टूर्स एण्ड ट्राभल एजेण्टलाई पोखराको आकर्षण र प्रकृतिबारे जानकारी दिन प्रेसमिटको समेत आयोजना गरेका छन् ।    टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए ।    टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भनेका छन्।   गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए ।    १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले, लद्दाख हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।

पोखरा:  पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेती तर्फ लगिएको नाला सफा गरेर यो अभियानको सुरुवात गरिएको हो ।   महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सहभागीतामा सफाई अभियानमा सहभागिता थियोे ।   अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपाली सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाई महानगरको नियमित काम हो । यसपाली अबको तीन दिन पोखराको टुंडिखेल देखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाई गर्दैछौं’ उनले भने ।    मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखे । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवचता जाहेर गरे । पोखरामा फोहोरमैलाको दिगो रुपमा व्यवस्थापनका लागि नयाँ ल्याण्डफिलसाईड ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी उनले दिए । उनले उक्त ल्याण्डफिलसाइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धता समेत जनाएका छन् ।    महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने उनले बताए । ‘हाम्रो अभियान साच्चै सुन्दर, सफा र हरियाली पोखरा सहर, त्यो पोखरा जस्तै बनाउने हो । गफले नभई व्यवहारमै त्यसलाई परिणत गर्नेगरी हामी कामको सुरुवात गर्दै छौं । यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण हामी बनाउँछौं । महानगरको वातावरण तथा सरसफाई शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ । अब फोहोर स्रोत मै बर्गिकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्नुपर्छ भनेर हामी लागेका छौं । यो सुरुवात हो । यसमा हामी सबैसंग हातेमालो गछौं’ उनले भने ।    उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।    पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाई सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने उनले जानकारी दिइन् । 

पाेखराः पर्यटकीय सहर भनेर धाक लगाउने पोखरालाई गिज्याइरहने विषय हो बसपार्क । ०३२ सालबाट सुरु भएको बसपार्क न त पूर्णरुपमा निर्माण नै हुनसक्यो न त सरोकारवाला निकायले ठोस योजना नै बनाउनसक्यो । यसबीचमा बसपार्कको मुद्धाले चुनावमा र नयाँ सरकारको गठनपछि चर्चा चलाइरहे पनि यसले चर्चेको क्षेत्रफलमा कमी आउन भने छाडेन ।    सुरुवाति दिनमा २ सय ५ रोपनी क्षेत्रफल रहेको बसपार्क अहिले करिब ८० रोपनीमा सिमित भएको छ । अझ त्यसमा पनि अव्यवस्थित सुकुम्बासी बस्ती रहेकाले अनुमानित ४० रोपनिमामात्रै बसपार्क रहेको तथ्यांक छ ।    यसैबीच प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र हालै निर्वाचित महानगरका मेयर धनराज आचार्यले बसपार्क निर्माणलाई अघि बढाउने योजना अनुरुप आज संयुक्तरुपमा नाला निर्माणको शिलान्यास गरेका छन् ।    उक्त कामकालागि प्रदेश सरकारले पहिलो चरणमा ७५ लाख रुपैयाँ छुट्याएका छन् । न्यून बजेटबाट नाला निर्माणको काम थालिएपनि ०८१ सालसम्म आधुनिक बसपार्क निर्माणको काम सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।    अब आगामी बजेटमा बसपार्कलाई प्राथमिकता दिई रकम छुट्याइने प्रदेशले जनाएको छ । प्रत्येक चुनावमा ‘भोट बैंक’ र ‘आश्वासन’को पोका फुकाउने बसपार्क क्षेत्रमा सुकुम्बासीहरुको व्यवस्थापन मुख्य समस्या हो ।  यसलाई समाधान गर्न सर्वदलीय बैठक बसी राजनीतिक निर्णय गर्ने मन्त्री खड्काले बताएका छन् ।    बसपार्क क्षेत्रमा हाल ५ सयकाको हाराहारीमा घरधुरी रहेका छन् । ०३३ सालमा हालको विमानस्थलमा बसोबास गरेका परिवारलाई समेत बसपार्क क्षेत्रमा ल्याएर राखिएको छ । उनीहरुलाई जमिन उपलब्ध गराउने वा मुआब्जा दिने भन्ने विषयमा हालसम्म भएको छलफलले टुंगो लगाउन सकेको छैन ।  हालको नाला र ढल निर्मापणलाई प्रदेशले अल्पकालीन योजनामा समेटेको छ भने दीर्घकालीन योजनाअनुरुप ३ वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखेको छ । यद्यपि, केही सुकुम्बासीहरुले अहिले थालेको कामलाई पपुलर हुने ‘फन्डा’कोरुपमा लिएका छन् ।  ०३३ पछि बसपार्कमा जबर्जस्ती सारिएका परिवारमध्येका एक शान्ति केसी भन्छिन् ‘मेरो हजुरबुवा, हजुरआमा र बुवा यही बित्नुभयो यसबीचमा भाषण धेरै सुनियो तर काम भएन ।’ तर ढिलै भएपनि काम सुरु हुने सुनेपछि केही खुशी लागेको उनको प्रतिक्रिया छ ।    त्यस्तै, स्थानीयवासी खिमलाल बाँस्तोलाले ‘पोखरा बसपार्कले समग्र पोखराको बेइज्जत गरेको छ’ भन्दै ‘नाला निर्माणमात्र हैन अतिक्रमित जग्गासमेत अधिग्रहण गरेर नयाँ बसपार्क निर्माण गर्नुपर्छ’ भन्ने सुझाव दिएका छन् ।    हाल भइरहेको बसपार्कलाई पूर्णता दिनुको सट्टा प्रदेश सरकारले लामेआहालमा नयाँ प्रादेशिक बसपार्क निर्माण गर्ने योजना अघि सारेको प्रति कतिपयले असन्तुष्टी व्यक्त गरेका छन् । विद्यमान अवस्थामा रहेको र उपयुक्तस्थलसमेत भएको पृथ्वीचोकस्थित बसपार्कलाई अलपत्र पारेर नयाँ योजनालाई अघि बढाउनुलाई उनीहरुले अस्वभाविक मानेका छन् ।    स्मरणीय छ, प्रदेश सरकारले लामेआहालमा बसपार्क बनाउन १ सय २० रोपनी जमिन र १ अर्ब ४२ करोड रुपैयाँको स्टिमेट तयार पारेको छ ।