गलकोट:   बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब ...

पोखरा:  नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र रहेको बताउँदै उहाँले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उहाँको भनाइ छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताउनुभयो । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उहाँले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताउनुभयो । सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो । सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो 

तनहुँ:    गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।  पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।  बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एण्ड बञ्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।  “बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेका छौँ, सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ”, शर्माले भन्नुभयो, “अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा छौँ ।” शर्माका अनुसार सिसाको पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब रु एक अर्ब बजेट लाग्ने अनुमान छ । “डिपिआर तयार भएपछि बजेटको टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो, “सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।” बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेशनको नजिकै सिसाको पुल बनाउने योजना छ । “सत्र तले पाँचतारे होटल नजिकको जङ्गलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट तीन सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भिरमाथि हिँडेको अनुभव लिन सकिनेछ”, शर्मा भन्नुहुन्छ ।  बन्दीपुरमा निर्माणाधीन केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि केबलकारको व्यावसायिक सञ्चालनको तयारी भइरहेको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब निर्माणको अन्तिम चरणमा पुगेको शर्मा बताउनुहुन्छ ।  विसं २०८० को मङ्सिरभित्र पाँच तारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम सम्पन्न गर्ने लक्ष्य छ । बरालथोकमा पाँचतारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ ।  बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिज्जम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । 

पोखरा:   परापूर्वकालदेखि रुपाको सिस्टेनीमा लाग्दै आएको सिस्टेनी मेला ०५० सालपछि एकाएक बन्द भयो । चैते दशैको अवसरमा सञ्चालन हुने सिस्टेनी मेला स्थानीयले असुरक्षा महशुस गर्दै आयोजना गर्न छोडे ।  कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६, ७ र ८ का जमनकुनाका स्थानीयहरुले आयोजना गर्ने सिस्टेनी मेला कास्कीको विभिन्न तालमध्ये रुपाताल नजिक लाग्ने मेला थियो ।   पर्यटकीय आकर्षणको रुपमा रहेको रुपातालको प्रचारप्रसारसँगै सिस्टेनी मेलाको महत्व बुझ्न थालेका स्थानीयले २४ वर्ष पहिले बन्द भएको मेला ०७४ मा पुनः सुरु गरे । स्थानीयले चैते दशैको अवसरमा ठुलो मेला आयोजना नगरेपनि चैते दशैको अवसरमा नै साना कार्यक्रम भने सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् ।  समयमने परिवर्तनसँगै सभ्य समाज र चेतनशील नागरिकबाट लोप हुँदै गएको सिस्टेनी मेलालाई शान्तिरुपा बराहथोक तमु युवा परिवारले पहिलो पटक २०७४ सालमा प्रथम सिस्टेनी मेला भनेर प्रतियोगितासहित मेला सञ्चालन गरेपछि हराउँदै गएको मेला पुनः सञ्चालनमा आएको हो ।  रुपाताल किनारमा प्रथम सिस्टेनी मेला आयोजना गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारले विश्वभर फैलिएको कोरोना भाइरसको कारण मेला सञ्चालन गर्न नसकेको स्थानीय तुलबहादर गुरुङले बताए ।  उमेरले ७२ वर्ष पुगेका गुरुङले मुसुक्क हास्दै भने ‘१८ वर्षको उमेरमा भर्ती देखिए, लाहुरे भएर सिस्टेनी मेलामा आएको अनुभव मनमा ताजै छ, लोप भएको मेला पुनः सञ्चालन गर्न युवासँगै अगाडि बढेको छु ।’ बन्द हुनुपूर्व मेलामा स्थानीय युवाहरुले सेउलाले घेरेर टहरा निर्माण गरेर त्यही टहराबाट एक रुपैयाँसम्मको भाडा उठाएको अनुभव समेत सुनाए ।   कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६,७ र ८ का जमनकुनाका स्थानीय युवाहरुले चैते दशै (नवमी र दशमी) को दिनमा आयोजना गर्ने मेलालाई केन्द्रीत गरेर ९० देखि १ सय वटा सम्म सेउलाले घेरेरे टहरा निर्माण गरेर रुपाताल किनारमा मेला सञ्चालन गरेको स्थानीय गुरुङले बताए ।  चैते दशैको अवसरमा रुपातालको सिस्टेनी मेलामा तनहुँ, लमजुङ, पर्वत र स्याङ्जा जिल्लाबाट मेला अवलोकनमा आउने स्थानीय गुरुङ बताउँछन् । ‘सिस्टनी मेलामा तनहुँ, लमजुङ,पर्वत र स्याङ्जा लगायतका स्थानीयहरु मेलामा आउथे, मेलामा ठेलो,भजन चुड्का, ठाडो भाका र लोक भाकामा रमाउथें ।’ दुईदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न जिल्लाका व्यापारीहरुले माटाका घैँटो, हण्डा, आँसी, कुटो, कोदालो, बन्चरो हलोको फालीसँगै स्थानीय उत्पादनबाट बनेका सेलरोटी, चिया, तरुल, बागलुङ्गे भट्टा, चिउरा, कोदोको लोक्कल रक्सी र तान्द्रेको गाभाको अचार लगायतको वस्तुहरुको विक्री वितरण हुने गर्दथ्यो ।  विस्तारै गाउँदेखि शहरतर्फ बसाईसराई गर्ने क्रम बढेपछि लोपउन्मुख मेलामा पुगेको मेला स्थानीयले तत्कालिन समयमा असुरक्षाको महशुस गर्दै मेला गर्न छोडेको स्थानीय गुरुङ नै बताउँछन् ।  चैत १५ देखि १७ सम्म दोस्रो सिस्टेनी मेला कोरोना भाइरसका कारण रोकिएको सिस्टेनी मेला शान्तिरुपा बराहथोक तमु युवा परिवारले चैत १५ देखि १७ गतेसम्म कास्कीको रुपा गाउँपालिका ६ रुपातालमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित दोस्रो सिस्टेनी मेला आयोजना गर्दै छ ।  विभिन्न कारणले रोकिएको सिस्टेनी मेलालाई चैते दशैको अवसरमा चैत १५ देखि १७ गतेसम्म प्रतियोगितासँगै मेला आयोजना गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए ।  ‘लोप हुँदै गएको मेला २०७४ सालदेखि सुरु ग¥यो तर विश्वभर फैलिएको कोरोना भारइसका कारण निरन्तरण दिन सकेनौं, गुरुङले भने, ‘तालको शहरले चिनिएको पोखरासँगै रुपतालको प्रचारप्रसार गर्न चैते दशैको अवसरमा दोस्रो सिस्टेनी मेला आयोजना गरेका छौं ।’ उनका अनुसार दोस्रो सिस्टेनी मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना गरेको छ ।  साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले १५ हजार र अनुशासित समूहले ५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्वरले ट्रफी र जर्सी पुरस्कार पाउने छन् । भने भलिबलमा सहभागिता हुन ५ हजार दर्ता शुल्क निर्धारण गरेको छ ।  दोस्रो सिस्टेनी मेलामा छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताका विजेताले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मेलामा ६ लाख २४ हजार आम्दानी हुने आयोजकले जनाएको छ भने, ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।   

पोखरा:    गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा अन्तरक्रिया गरिएको थियो । बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तरक्रिया गरेका हुन् ।  पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा भएको अन्तक्र्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटन बृहत् विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यतालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरुप पर्यटन पूर्वाधारका महानगरले काम गरिहेको जानकारीसमेत दिनुभयो । सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने यस परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ राखिएको छ, यति नभए पनि पाँचदेखि सात अर्वसम्मको हुनसक्ने अनुमान गरिएको छ । यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यक औँल्याउनुभयो । उहाँले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारीकरणलगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गर्नुभयो  । उहाँले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यतामा जोड दिनुभयो । उहाँले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्को स्थानको गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो ।   नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा–भद्रपुर उडान आन्तरिक पर्यटकमात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताउनुभयो । उहाँले पोखरा–भद्रपुर उडानमा यात्रुले माउण्टेन फ्लाइटमा जस्तै विश्वको अग्लो सगरमाथाको अवलोकन गर्दै नेपालको होचो ५८ मिटर रहेको कचनकवलको भू–भागको पुगेर भौगोलिक अवस्थितिको अध्ययन र अवलोकनसमेत गर्न पाइने सुन्दर पक्षको चर्चा गर्नुभयो । कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईँ, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो,  कचनकवल गाउँपालिका अध्यक्ष कलेन्द्रसिंह राजवंशी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरीलगायतले पर्यटनको एकृकीत विकासमा जोड दिँदै दुई प्रदेशको हवाई उडानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । वक्ताहरूले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका विशेषतायुक्त प्रदेश भएकाले यसलाई विभिन्न तरिकाबाट प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो । सहभागी वक्ताहरूले दक्षिण एसियामै उत्कृष्ट मानिएको जैविक विविधतायुक्त जलथल वनक्षेत्र, महाभारतकालीन कथाको प्रसङ्गमा जोडिएको किच्चक वध, चिया बगानको सुन्दरता, त्यस क्षेत्रमा उत्पादित सामग्रीलाई पनि कसरी प्रचार–प्रसार प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई सबैको पहुँचमा पु¥याउने हवाई उडानको नियमितता र सडक पूर्वाधारको विकासमा जोड दिनुभएको थियो ।

पोखरा:    नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए ।  होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले ।  रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए ।     होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताउनुभयो । “निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उहाँले  भन्नुभयो ।  “यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनप¥यो”, उहाँले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिनुभयो । उहाँसँग रहनुभएका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।  अन्नपूर्ण बेसक्याम्पमा जान आउनुभएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाउनुभयो । आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उहाँ सोही रङसँग निकै रमाउनुभयो । आफूले पनि रङ दल्नुभयो अरुलाई पनि लगाइदिनुभयो ।   त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आउनुभएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताउनुभयो । लमजुङको बेसीशहरको एक स्कुलमा स्वयंसेवीका रुपमा काम गर्दै आउनुभएकी उहाँ पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताउनुभयो । “म खुसी छु, जीवनको पहिलो अनुभव हो हो, रङसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद”, लिसाले भन्नुभयो ।    इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आउनुभएकी होल्यान्डकी एल्काले पनि रङ्गीविरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताउनुभयो ।  उहाँले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो । रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताउनुभयो ।       “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो”, पौडेलले भन्नुभयो । हरेक संस्कार संस्कृतिको आआफ्नै महत्व हुने र त्यसको महत्व उजागार गर्नसके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उहाँको भनाइ थियो ।  उहाँले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताउनुभयो ।        महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ¥याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उहाँले बताउनुभयो ।  

म्याग्दी:    कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज सोमवार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा रहेको छ । इलाइट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाण्डौबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।  “हाम्रो आरोहण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।”  यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।  नागरिक अभिनन्दन र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौँ’, उहाँले भन्नुभयो, ‘निर्मल विश्वकै साहसिक युवा हो ।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।  सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।  समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

बागलुङ:   गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन ।  अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ ।  कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो ।  “हामी प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाउनुभएको छ”, चोखालले भन्नुभयो ।  लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने उहाँको भनाइ छ । यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उहाँले बताउनुभयो ।  केबलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसँग पहिलो चरणमा छलफल सकारात्मक भएको कृष्ण केसीले जानकारी दिनुभयो ।  उहाँले स्थानीय पालिकाको समन्वयमा केबलकार निर्माण गर्नसके बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भकुण्डे गाउँ घरबासका दृष्टिले चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो । भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको छ ।  “हामीले हालै प्रारम्भिक अध्ययन गरेका छौँ, कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानीसमेत निजी क्षेत्रले उठाउँछ, सुरुमा स्थानीय पालिकाले समझदारी गर्न प¥यो”, उहाँले भन्नुभयो ।  केबलकार निर्माणमा तत्काल डिपिआर बनाएर प्रक्रिया अगाडि बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखाएको भन्दै उहाँले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन भएको बताउनुभयो ।  कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले बताउनुभयो । ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताउनुभयो । अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उहाँको भनाइ छ । केबलकारको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

पोखरा:    सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ । पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उहाँले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर , सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उहाँले बताउनुभयो । वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताउनुभयो । RSS

काठमाडौं:    नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने  विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । यस्तो सङ्ख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो । यसरी आउने पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति रु एक हजार र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार तिरेर टिम्स कार्ड लिने गरेका थिए । सबै पर्यटकका लागि टिम्सकार्डको मूल्य रु दुई हजार कायम गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।