कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले '२१ औं सेन्चुरी ल्होसार मेला' आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । उनले साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ । उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहितअन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ ।
पोखरा: विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ । फेवातालको बीच भाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनः निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए। पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष कुँवरले जानकारी दिए । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताए । मन्दिर पुनः निर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिए । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यक्तिले मन्दिरमा प्रवेश पाउँछन् । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । त्यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो । तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको बताए । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भन्यो, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाज सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । कुलमन्डनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाउनुभयो । क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालबाराही देवीको शिला राखि पूजिँदै आएको किंबदन्ती छ । फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको बताइन्छ । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उनले सुनाए । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ । डुङ्गा र तालबाराही मन्दिरका लागि प्रसिद्ध फेवाताल पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको बताइन्छ । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा बाराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ । यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवाताल समुद्री सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ ।
पोखरा: पर्वतीय दिवसको अवसरमा अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ । ‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’ पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे । ‘यसमा पनि हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पु¥याउने माध्यम पनि हो,’ उनले भने । ‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने छ । आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो । ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो । ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता थिए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोले । विषयममाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो । आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् । ‘हिमाल पहिलाभन्दा पग्लीराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् । यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पु¥याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उनले भनिन् । पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार राखे । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भोलि महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदैछ ।
तनहुँ: मंसिर महिना चिसो बढ्ने महिनामात्र हैन, घुमघामको सिजन पनि हो । यदि तपाई पोखरामा हुनुहुन्छ भने आसपासका प्राय: स्थानमा पुगिसक्नु भयो होला । अब केही फरक र नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने तपाइकालागि उचित गन्तव्य हुनसक्छ छिमेकी जिल्ला तनहुँको मगर गाउँ ‘दगाम’ । दगाम नाम कसरी रहन गयो भन्नेमा कुनै खास आधार र तर्क छैन । यद्यपि, पहिले दलित जातिको बस्ती रहेकाले दगाम भन्न थालिएको केही स्थानीय बताउँछन् । खैर, लेखको उद्देश्य भने दगामको प्राकृतिक छटालाई वर्णन गर्नु हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट यात्रा तय गर्दा २४ किलोमिटर पूर्वतर्फ कास्की र तनँहुका सिमाना कोत्रे पुगिन्छ । त्यहाँबाट साढे ६ किलोमिटर उत्तरतर्फ कच्ची सडकखण्डको यात्रापछि शुक्लागण्डकी नगरपालिका २ को दगाम गाउँ पुगिन्छ । जहाँ ३८ घर धुरी रहेको छ । मगर जातिको बाहुल्यता रहेको सो गाउँमा ३ घर मात्रै गुरुङ जातिको रहेको छ । यहाँका स्थानीयहरु मुख्यत: कृषि, मौरीपालन, र घरबास व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् । किन जाने दगाम? गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न छ । त्यसको केही अंश हेर्न तपाई दगाम पुग्नैपर्छ । दगाम पुग्नु अघि उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरुले हाँस्दै स्वागत गर्छ । त्यसपछि दगाम होमस्टेको भवनमा पुगेपछि मगर भेषभूषामा सजिएका आमा समूहद्वारा टिका, फुलका गुच्छा तथा मालाले स्वागत गरिन्छ । त्यसपछि पर्यटकलाई गाउँमै पाइने अर्गानिक परिकारको स्वाद चखाइन्छ । र सुरु हुन्छ साँस्कृतिक कार्यक्रमहरु । यस गाउँमा मगर जातिको बाहुल्यता रहेकै कारण कौराहा, घाटुँ तथा झ्याउरेको लोकप्रियता छ । यसबाट दगाममा मगर समुदायको कला तथा संस्कार अझै पनि जिवित रहेको प्रष्ट हुन्छ । त्यसैले संस्कृतिसँग पिरती गाँस्न चाहनेहरु दगाम पुग्नै पर्छ । साँस्कृतिक रुपमा धनि यस गाउँ प्राकृतिक रुपमा पनि उत्तिकै सम्पन्न छ । दगाम यस्तो ठाउँ हो, जहाँबाट सूर्याेदय र सूर्यास्त नियाल्न सकिन्छ । यतिमात्रै होइन यहाँबाट उत्तरमा हाँसिरहेको माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरु आँखै अगाडि देखिन्छ । त्यसैगरि कास्कीको रुपाताल, बेगनासताल र पर्यटकीय नगरी लेखनाथको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । भने दगाम आसपासमा रहेको भूमिकोट, विरकोट, थानकोट दर्शन गर्ने अवसर पाइन्छ । सोही स्थानबाटै तनहुँको दुलेगौँडा र खैरेनीटार पनि नजरमा पर्छ । दगामको सम्भावना तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ को दगाम गाउँ पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचारप्रसारमा कमी हुदाँ ओझेलमा परेको स्थानीय अगुवा नन्द बहादुर थापामगरले बताए । ‘हामी सस्कृतिमा मात्रै होइन प्रकृतिले पनि धनि छौं, उनले भने, ‘हाम्रो गाउँको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छौं ।’ खानेपानी र सडकको सुविधा भएपनि पर्यटकीय दृष्टिकोणले यथेष्ट नभएको थापामगरको भनाई छ । ‘बाटो पनि छ खानेपानी पनि लिफ्टिङबाट प्रयोग गरिराछौ, उनले भने ‘तर पर्यटकको ओइरो लाग्नको लागि सडकको सहज पहुँच हुनुपर्छ । त्यसको लागि हामी नगरपालिकालाई गुहारेका छौ ।’ शुक्लागण्डकी वडा नम्बर २ को सम्पत्तिको रुपमा रहेका भूमिकोट, विरकोट, थानकोटको संरक्षण र सम्वद्र्धन अपरिहार्य छ । र स्थानीयहरु ऐतिहासिक महत्व बोकेका सम्पदा तथा संस्कार र संस्कृति संरक्षण गर्न लागि पर्दै आएका छन् । ‘हामीसँग हाम्रो आफ्नैँ मौलिक पहिचान छ । हामीसँग भाषा छ । कला छ । धर्म र संस्कार छ, स्थानीय तोरण बहादुर थापामगरले भने ‘त्यसैले पनि पाहुनाहरु यहाँसम्म आउनुहुन्छ । अझ यहाँ आउने बाटो पक्की भयो भने बाह्य पर्यटक पनि भित्रिन्थे । त्यसको लागि हामी आफ्नो तर्फबाट पहल गरिरहेका छौ ।’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तिला थापा मगरका अनुसार विगत ९ वर्षदेखि दगाम सामुदायिक होमस्टे सञ्चालनमा छ । यस दगाम होमस्टेसँग शुक्ला गण्डकी २ मै स्थानथोक कोट दरबार सामुदायिक होमस्टे, बाघ भैरव सामुदायिक होमस्टे, इमान्दार सामुदायिक होमस्टे सञ्चालनमा छन् । ‘यो क्षेत्रमा अहिले ४ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । तुलनात्मक रुपमा दगाममा बढी पाहुना आउनुहुन्छ, उनले भनिन्, ‘अझ बढी पाहुना भित्राउनका लागि हामी नगरपालिका तथा वडासँग समन्वय गरिरहेका छौ ।’ दगाममा आन्तरिक पाहुनाको तुलनामा बाह्य पर्यटक कम आएको उनको अनुभव छ । थापामगरका अनुसार होमस्टे व्यवस्थापन समितिले प्रतिव्यक्ति १ रात बसेको १२ सय रुपैया निर्धारण गरेको छ । पर्यटकीय स्थलको रुपमा सम्भावना बोकेको दगामको मुख्य समस्या कच्ची सडक भएको होमस्टे सञ्चालिका सुस्मिता पुलामीमगरले बताइन् । ‘दगाममा आउनको लागि बाटो पक्की छैन र तरपनि पाहुनाहरु आइरहनुभएको छ । अझ बाटो पक्की भयो भने पाहुनाको ओइरो लाग्ने आशा गरेका छौ ।’ उनले भनिन् । शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने । तस्बिर: सुशान्त गाहा मगर (अर्जुन)
तनहुँ: नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो । सो कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचर सम्भावना रहेको बताए । उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे । ‘यो गाउँ पर्यटनको एकदमै सम्भावना रहेको ठाउँ रहेछ, उनले भने, ‘प्रकृतिसँग संस्कृतिमा पनि अगाडि रहेको पाए त्यसैले यो गाउँको प्रवद्र्धन गर्न अति आवश्यक छ ।’ उनले दगमको विकासका लागि सडकखण्डले प्रभाव पारेको बताए । ‘दगममा आउँन बाटो भएपनि कच्ची भएकाले केही असहज भएको पाए । खानेपानी र बाटोको समस्यालाई हल गर्न सकेको खण्डमा आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि सहजै भित्रन सक्छ ।’ उनले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे । उनले उक्त गाउँको पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेसमेत जनाएका थिए । यसैगरि शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने । यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए । उनले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गरे । ‘हामीले दगममा आउनुभन्दा पहिले तनहुँकै आदीमुल, मिछुर्लुङ, राइपुर, कास्कीको रुपा गाउँपालिका र बागलुङको ढोरपाटनमा यही सवालको कार्यक्रम आयोजना गरिसकेका छौं, उनले भने, ‘पत्रकारहरुको लेख, रचना र प्रचारप्रसारले ग्रामिण पर्यटनको विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो । र केही रुपमा हामी सफल भइसकेका छौं । त्यसैले हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’ सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोलेका थिए । फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहिबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो । सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए । फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: एनएमएले ‘वुमेन मुभ माउन्टेन्स्’ नारासहित पोखरामा आयोजना हुने ७ औं अन्तरराष्ट्रिय पर्वतीय महोत्सवको तयारी थालेको छ । आगामी मंसिर २४ र २५ गते पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रोमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा दुईदिने कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको महोत्सव संयोजक ठाकुरराज पाण्डेले बताए । उनका अनुसार सो महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्र्तक्रिया, नविनतम् प्रविधिमा उत्पादित वस्तुहरुको प्रदर्शनी, परम्परागत खेल छेलो तथा आर्चरीको आयोजना गरिने छ । उनले उक्त महोत्सवमा पर्वतीय वृत्तचित्रहरुको प्रर्दशनी, पर्वतीय पर्यटनसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, पर्वतीय विषयमा आधारित प्रतिस्पर्धात्मक चित्रकला कार्यक्रम र बाल क्लाइम्बिङ अन्र्तगत बोल्डरिङ खेल प्रर्दशनी गरिने जानकारी दिए । निशुल्क प्रवेश पाइने सो महोत्सवमा करिब ३० लाख खर्च हुने आयोजनकले जनाएको छ ।
बागलुङ: उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । “पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।” यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।” पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताउनुभयो । “ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।” रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताउनुभयो । उहाँले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।” रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण: कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् । पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिनुभयो । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उहाँले बताउनुभयो । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै हुनुहुन्छ भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।” शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उहाँले जानकारी दिनुभयो । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उहाँले सुनाउनुभयो । घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । “सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्”, उहाँले भन्नुभयो, “होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।” सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताउनुभयो । ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ”, उहाँले भन्नुभयो, “तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।” उहाँले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । “बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।” होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पछिल्ला समय केही आशा जगाएको छ”, उहाँले भन्नुभयोे, “केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।” नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०/७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो । कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उहाँले विगत सम्झनुभयो । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उहाँले जानकारी दिनुभयो ।
बागलुङ : ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो । केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार भइसकेको छ । उहाँको कम्पनीमार्फत ढोरपाटन पुग्नुभएका जर्मन सिकारीले फागुने ‘ब्लक’मा झारलको सिकार गरेर फर्किसक्नुभएको छ । नाउर सिकारका लागि केही दिनमा अमेरिकन सिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो । ‘बार्से’ ब्लकमा नाउरको सिकार गरिनेछ । “हाम्रो कम्पनीमार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन”, प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो, “अरु पनि केही सिकारी नआएका कारण तोकिएजति नाउर र झारलको सिकार नहुने भएको छ ।” सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन सिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा सिकार खेलेर गत मङ्गलबार फर्किएको बताउनुभयो । “यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको सिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ”, उहाँले भन्नुभयो, “यो यामको सिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन् ।” आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । सिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् । विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित उनीहरू सिकार ‘ब्लक’सम्म पुग्छन् । आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न दुई÷तीनसम्म लाग्छ । सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको सिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । हरेक पाँचरपाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्ने गरेको उहाँको भनाइ छ । अहिले वर्षमा २० नाउर र ११ झारलको सिकार गरिँदै आएको छ । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा जम्मा हुन्छ ।