पोखरा : विश्व पर्यटन दिवसको अवसरमा कास्कीको पर्यटकीय स्थल घान्द्रुकको विभिन्न स्थलमा वृहत सरसफाई गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो । कास्कीको पर्यटकीय स्थल घान्द्रुुकगाउँ वरपर रहेको फोहोरहरुले पर्यटकमा राम्रो सन्देश नदिने भएकाले सरसफाई अभियान थालिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । ‘घान्द्रुक गाउँ पर्यटकको केन्द्र हो’ उनले भने ‘कास्कीको घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोहोरमा होइन सफासुग्घर स्थलमा स्वागत गर्न चाहान्छौं । यो अभियान अब निरन्तर सञ्चालन हुनेछ ।’ घान्द्रक पर्यटनहरुको रोजाईमा पर्ने भएकाले गाउँघर सफासुग्घर राख्न स्थानीयले सक्रियता देखाएपछि पर्यटन व्यवस्थापन समितिले सरसफाई कार्यलाई तिव्रता दिन थालेको हो । कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।
पोखरा : विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो । पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गर्नुभयो । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गर्नुभएको थियो । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन पर्यटन दिवसकै अवसरमा पोखराको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् । अवलोकनमा नेपालबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका उडान कम्पनीका अधिकारी, भारतीय तथा नेपाली सञ्चारकर्मी, पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहनुभएको थियो । सहभागीलाई नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको भौतिक अवस्था लगायतका विषयमा जानकारी गराउनुभयो ।
गलकोट : पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थाल्नुभएको छ । पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उहाँले बिहीबार पोखराबाट साइकल यात्रा थाल्नुभएको छ । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताउनुभयो । विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थाल्नुभएको हो । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आउनुभएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताउनुभयो । धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो । केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गर्नुभएको छ । बागलुङमा जन्मनुभएको केसीले पर्यटन अभियानलाई निरन्तररुपमा प्रवद्र्धन गर्दै आउनुभएको छ । “धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु”, केसीले भन्नुभयो, “११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ ।” पर्यटन प्रवद्र्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताउनुभयो । साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवद्र्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ । जनयुद्धका विषयमा किताबसमेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा ठूलो भूमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताउनुभयो ।
तनहुँ ः बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो । कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उहाँले बताउनुभयो । नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।
पोखरा : पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०/११ रोधी क्लब घान्द्रुकको सामुदाय भवनमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो । गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार सो समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह-सचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भए । यसैगरि सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमल बहादुर गुरुङ र अक्षा रसाईली रहेकी छिन् । सो कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका अग्रज पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको बताए । उनले आगामी दिनमासमेत घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनको पक्षमा लाग्ने धारणा राखे । ‘घान्द्रुक पर्यटकको रोजाईको केन्द्रबिन्दु हो, म लगायत समितिले गर्न सक्ने पूर्वाधार विकासमा केही काम गर्न सक्यौ, उनले भने, ‘अझै घान्द्रुकको थप विकासमा सबैको हातेमालोले आवश्यक छ ।’ कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।
गलकोट: गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुन: डोर्यायो । त्यसैले यसपटकको उहाँको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गर्नुभयो । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताउनुभएको हो । साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो । उहाँले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो । “गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।” ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताउनुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए । विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो । गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो । “पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो”, उहाँले भन्नुभयो, “गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।” म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो । दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ । गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उहाँले बताउनुभयो । विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आउनुभएको छ । उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै अउनुभएको छ । उहाँले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो ।
वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन । वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो । “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उहाँले भन्नुभयो, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।” आफूहरूको थाकथलो कास्कीको पोखरा-९ नयाँबजार रहेको जानकारी दिँदै उहाँले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताउनुभयो । जलारीका अनुसार उहाँको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बस्नुभएको इतिहास उहाँले सुनाउनुभयो । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ । “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।” समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् । कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन । कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अनिष जलारीले भन्नुभयो, “दुई वर्षदेखि बाह्य पर्यटक आएका छैनन् ।”
पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो । बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ ९भ्यूटावर०समेत निर्माण गरिएको छ । नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यूटावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताउनुभयो । “अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।” उहाँका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीयामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बँगैचा, बालबालिकाका लागि बालपार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । “बातातालमा घुम्न आउने पर्यटकका लागि तालमा छवटा बोटिङ सञ्चालनमा ल्याएका छौँ”, समितिका सचिव उद्धव काफ्लेले भन्नुभयो, “चारवटा समितिकै बोटिङ छन्, दुईवटा अन्य व्यक्तिबाट भाडामा ल्याएर बोटिङ चलाइरहेका छौं ।” अहिलेसम्म बोटिङ्ग पनि राम्रै चलिरहेको उहाँको भनाइ छ । बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू-संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो । अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ । अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १०, तालमा बोटिङ गर्ने पर्यटकका लागि रु ५० र भ्यूटावरबाट अवलोकन गर्न रु २० को टिकटको व्यवस्था मिलाइएको छ । आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले बताउनुभयो । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबाससमेत सञ्चालन गर्र्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ । तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ । सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताउनुभयो । जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षकको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ ।
हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताउनुभयो । “रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पु¥याउन भने सडकका कारण समस्या छ,” उहाँले भन्नुभयो । रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उहाँले बताउनुभयो । “हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो, “यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।” यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्याउन सकिने उहाँ बताउनुहुन्छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्याउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् । सहज रुपमा यहाँको स्याउ बजारमा पुर्याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उहाँहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पुर्याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पु¥याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ ।