पर्वत: पवर्तको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार रु ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उहाँले बताउनुभयो । कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो । बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिनुभयो । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उहाँको भनाइ छ । नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताउनुभयो । पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आउनुभएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताउनुभयो । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् । फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताउनुभयो । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ । विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उहाँले बताउनुभयो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ । अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताउनुभयो । यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो । पुनले भन्नुभयोे, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ । विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो । ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण गरिएका छन् । यो पदमार्गले पर्वतको मोदीका वडा नं १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं वडालाई समेटेको छ । हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छभने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो । दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइडाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ । मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ । कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो । पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो । “तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई ९ङ्ज्याप बारागुङ० भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो । उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।” करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ । तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो । बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो । कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ । कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।
ढोरपाटन: बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए । बाइसे चौबिसे राज्यका बेला भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटको आकर्षण बढ्दो छ । नरसिंहकोटमा पूर्वधार बन्दै गएपछि आन्तरिक पर्यटक बढ्दै गएको निसीखोला गाउँपालिका–७ अध्यक्ष दीपक कुँवरले बताए । बुर्तिबाङ बजार नजिकै भए पनि नरसिंहकोटमा पुग्न अब सहज भएको उनको भनाइ छ । पदमार्गसँगै गाउँपालिकाले यस क्षेत्रमा रु २० लाखमा कालिका मन्दिर, खानेपानी, शौचालय, विश्रामस्थललगायतका संरचना निर्माण गरेको अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा खेलमैदान निर्माणाधीन अवस्थामा छ । नरसिंहकोटमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टा र पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारीसाधनमा जाँदा लामो बाटो पर्ने उनी बताउँछन् ।
फुङ्लिङ (ताप्लेजुङ)- हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ । गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइला पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए। गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो । पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताउनुभयो । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उहाँले गुनासो गर्नुभयो । “जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ । सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ । जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ । कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ । ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए । जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ । पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ । हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ । हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए। आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ । गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लििङलगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ । महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ । सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।
गलकोट: बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् । ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन्भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन् । बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिनुभयो । उहाँले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताउनुभयो । “निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीयस्थल घुम्न आएका पाहुना खानबस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्”, भट्टचनले भन्नुभयो, “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छभने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।” यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छभने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताउनुभयो । एक हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् । ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताउनुभयो । उहाँले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिनुभयो । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ । “लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौँलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्”, छन्त्यालले भन्नुभयो, “अन्य सहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको सहरका रूपमा विकसित भइरहेको छ ।” राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।
चालू आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९ सय १ पर्यटक भित्रिएका छन्। गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्यांकअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक भित्रिएका हुन्। मुस्ताङमा चालू वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन्। यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। चालू आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार मुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए। जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन्। पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। उनका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरू मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन्। मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक भूगालले पर्यटकलाई थप आकर्षित गर्ने भएकोले बर्सेनि यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो। राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले बताउनुभयो । यहाँ अवस्थित वर्षौं पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा, गुफालगायत सुन्दरताका कारण मुस्ताङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको उनको भनाइ छ। उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बाहरू पर्यटकका लागि विभिन्न खोज तथा अनुसन्धानको केन्द्र बन्दै गएका अध्यक्ष गुरुङले जानकारी दिए। मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन, जीवनशैली र स्थानीय चाडपर्वहरूको मौलिकता अवलोकन गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे।
म्याग्दी: म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना पालसहित आश्रयस्थल निर्माण गरी खाना र खाजा खुवाउने र बस्ने व्यवस्था गरेपछि पर्यटकलाई सहज भएको हो । होटल तथा लजको सुविधा नभएकाले यसअघि मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । अन्नपूर्ण–४ का वडासदस्य श्याम पुर्जाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा यो यामदेखि खान, बस्नका लागि पर्यटकले सामानको भारी बोकेर जानुपर्ने समस्याको अन्त्य गरिएको जानकारी दिनुभयो । “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को नीतिगत व्यवस्था अनुसार आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरूले चिया पसल, रेष्टुरेन्ट र बस्न शिविर ९क्याम्प० सञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “योसँगै पर्यटकलाई खान, बस्न सहज भएको छ । बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना भएको छ ।” फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा शिविर सञ्चालन गरिएको वडासदस्य पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार ती शिविरहरूमा दैनिक ५० जनासम्म पर्यटकले बास बस्नसक्ने छन् । एक्यापमा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटक याममा सञ्चालन गर्न मिल्ने गरी शिविर क्षेत्र बनाइएको बताउँदै पुर्जाले लागत अनुमान हिसाब गरेर सो क्षेत्रको सेवाशुल्क तोक्ने तयारी भइरहेको जानकारी दिनुभयो । मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, आकर्षित भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटरको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सावरीसाधनमा यात्रा गरेपछि पुगिने हुमखोलाबाट पनि दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा पर्ने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । करिब ७० वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको उक्त पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामारण गरी पदमार्ग सञ्चालन गरेको थियो । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरका आकर्षण हुन् ।
पोखरा: महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइहरू जित्दै सीमाहरू तोड्दै’ भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले २८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पदयात्रा पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं अवलोकन गर्ने बताउनुभयो । “पोखरा महानगरपालिका कार्यालयले घोषणा गरेअनुसार पोखरामा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समर्थन गर्दै यो अभियानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । टोलीलाई पोखराबाट गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायतले विदाई गर्नुभएको थियो ।
पाल्पा: जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो । त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पाल्नुभएको थियो । पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहनुभएको उहाँले हाल मजदूरी गर्न छाड्नुभएको छ । केही समययता उहाँको वस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लाग्नुभएको छ । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उहाँ उत्साहित हुनुहुन्छ । यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् । आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई÷चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् । समुद्र सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् । होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताउनुभयो । होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको रु एक करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आफ्नै घरमा पाहुनालाई राखेर आफँैले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् । होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ । नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ । होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ । यहाँ घरवास सञ्चालनमा आएसँगै यस क्षेत्रका सांसद तथा मन्त्रीसमेतले चासो व्यक्त गरेका छन् । उनीहरुले होमस्टेको दिगो विकासका लागि आपूmले आवश्यक सहयोग गर्ने बताएका छन् । यहाँका नागरिकको आम्दानीको स्रोत होमस्टे बन्न सक्ने भन्दै उनीहरुले आवश्यक भौतिक पूर्वधार निर्माणमा आपूmहरुको सहयोग रहने स्थानीयसँग प्रतिवद्धता जनाएका छन् । पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । होमस्टेको कारण फोक्सिङ्खकोटको विकासमा महत्वपूर्ण योगदान पुग्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अब फोक्सिङ्खकोटमा आउने मोटरबाटो स्तरोन्नति हुनेछ, पर्यटकीय पूर्वाधारहरु निर्माण हुनेछन् ।’ सङघ, प्रदेश र स्थानीय सरकार मिलेर फोक्सिङ्खकोटको विकासमा अगाडि बढ्ने समेत सांसद आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले होमस्टे सञ्चालन हुनु राम्रो पक्ष भएकाले पाहुनाहरुलाई सन्तुष्टि गराउन सके यहाँका वासिन्दा घरमै बसीबसी आम्दानी गर्नसक्ने बताउनुभयो । ‘‘हामी सबैको चाहना गाउँलाई सुखी सम्बृद्धि बनाउने भएकाले स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति र प्राकृतिक अवलोकनको अभियानबाट नै गाउँमा प्रशस्त आम्दानी गर्न सकिन्छ’’ उहाँले भन्नुभयो । होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पूर्वाधार, तालिम, तथा प्रचार–प्रसारमा प्रदेश सरकारको सहयोग रहने मन्त्री सारुले बताउनुभयो । उहाँले मगर समुदायको संस्कृतिको संरक्षण र स्थानीयलाई घर खर्च चलाउन होमस्टे उपयुक्त माध्यम बन्ने समेत विश्वास व्यक्त गर्नुभयो । होमस्टेलाई एउटा शुद्ध व्यापारका रूपमा मात्र नबुझेर संस्कृति, परम्परामा आधारित पर्यटन सेवा हो भन्ने होमस्टे सञ्चालक, होमस्टेमा बास बस्न आउने अतिथि पर्यटक तथा नीति निर्माताले बुझ्नुपर्छ । होमस्टे ग्रामीण पर्यटनको पूर्वाधार मात्र नभएर, समुदायको एकीकृत विकासको महत्वपूर्ण अङ्ग पनि हो । यसलाई एकीकृत विकासको अवधारणाअनुसार दीर्घकालीन सोचसाथ अगाडि बढाउन सकिएमा समुदायलाई सामाजिक र आर्थिक समृद्धिको पथमा डो¥याउन सकिन्छ । स्थानीय सामाजिक, साँस्कृतिक रहनसहन तथा वातावरणीय सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर समुदायमा स्वरोजगारको अवसर सिर्जना गर्न र ग्रामीण अर्थतन्त्र सबलीकरण गरी देशको आर्थिक समृद्धिको अभियानमा होमस्टेले सशक्त भूमिका खेल्न सक्छ ।