झापा:    कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य प...

म्याग्दी:     पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किनुभएको छ ।  गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुग्नुभएको थियो ।  म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि सन् १९५० जुन ३ तारिखमा मौरिस हर्जोग सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । बुबा हिँडेको बाटो हेर्न र हिँड्न  अन्नपूर्ण क्षेत्रमा आउनुभएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।  माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । माथिएसलाई उद्धृत गर्दै उहाँसँगै अन्नपूर्ण आधारशिविर जानुभएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भन्नुभयो, ‘‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ ।  अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’’ अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि माथिएस दङ्ग पर्नुभयो ।’’  सन् २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । बु बाले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताउनुभयो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिकसमेत राखेको छ ।  माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।  पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।

गण्डकिः चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।  ट्रेकिङ एसोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भएपनि प्रचारप्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताउनुभयो । “पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रुपमा विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुङ्गा बन्न सक्छ ।” देशको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनैपनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।  पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका सदस्य सुरेन्द्र रानाले ‘गुरिल्ला ट्रेक’ राज्यको प्राथमिकता पर्न नसकेको बताउनुभयो । महिनौँ लगाएर पदमार्ग पहिचान गरी उतिबेलै ‘गाइडबुक’ ९जानकारी पुस्तक० र ‘म्याप’ ९नक्सा० तयार पारिएको उहाँले उल्लेख गर्नुभयो ।  “यो पदमार्ग संरक्षण र प्रवर्द्धनमा सरोकार भएका निकायले विशेष पहल गर्नु जरुरी छ, यसमा राज्यका निकायले पनि सहकार्य गर्नुपर्छ । व्यवस्थित पूर्वाधार बनाउन सबै एकजुट हुनुपर्छ”, रानाले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त पदमार्ग पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि केही आशा भने जागेको उहाँले बताउनुभयो ।  पर्यटक पथप्रदर्शक दिवस गुरुङले प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितीलगायत पदमार्गका विशेषता रहेका बताउनुभयो । “गुरिल्ला ट्रेकको ‘ब्राण्डिङ’ गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला यो पदमार्गबाट नेपालको पर्यटन क्षेत्रमा लाभ लिन सक्छ ।” सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्नेमा पथप्रदर्शक गुरुङले जोड दिनुभयो । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गरी कङ्क्रिटको प्रयोग गर्नुभएन”, उहाँले भन्नुभयो, “पदमार्ग पहिचान भइसकेपछि ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटललगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।”  पथप्रदर्शक गुरुङले गत वर्ष ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेको बताउनुभयो । “अरुमा भन्दा बेग्लै अनुभव यस पदमार्गमा गरेको थिए । पूर्वाधार विकास गरी सुविधासम्पन्न बनाउन सके उक्त पदमार्ग पर्यटन विकासमा सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भननुभयो । उहाँका अनुसार छोटो, मध्यम र लामो दूरीबाट ‘गुरिल्ला ट्रेक’मा यात्रा गर्न सकिन्छ ।   सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्छ ।  ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ ।  बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिन्छ । बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दश दिनमा टुङ्गाउन सकिन्छ । समय र अन्य व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर ‘गुरिल्ला ट्रेक’मा जान सकिन्छ ।  पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न ‘गुरिल्ला ट्रेक’को अवधारणा ल्याइएको थियो । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी यो पदमार्गको विकास भने हुन सकेको छैन । ‘गुरिल्ला ट्रेक’ पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा परिरहेको स्थानीयवासीको गुनासो छ । चालु आवमा सङ्घ सरकारको बजेट विनियोजन गरेकाले केही आशा जगाएको स्थानीय बताउँछन् ।  पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्राण्डिङ’ गर्न सके यो पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने पर्यटक पथप्रदर्शक गुरुङले बताउनुभयो । यो पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उहाँले जानकार िदिनुभयो ।  “छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थललगायत अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।” गुरुङका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो पदमार्गको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि पर्यटकले गुरिल्ला ट्रेक रोज्न सक्छन्, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । ‘गुरिल्ला ट्रेक’मा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।     विगतमा युद्धबाट गुज्रेका ग्रामिण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई ‘गुरिल्ला ट्रेक’मा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । “दश वर्षे जनयुद्धका बारेमा बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, उहाँले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज तथा अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।”   

पोखरा:   पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ ।  जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए ।  जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो ।  संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनस्र्मरण गराउने लक्ष्यसहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको हो ।  उनीहरु १९७९ मा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएका थिए ।  अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आएको हो । टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको जनाए ।  सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए । १९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने संग्रहालय नै यी तस्बिरहरुको सबैभन्दा उपयुक्त स्थान भएको बताए । पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उनले हिउँ कम भएको र समय व्यतीत भएकोबाहेक हिमालहरु उस्तै रहेको सुनाए ।  पोलिस संस्कृति प्रवद्र्धन गर्न टोलीले पोखरामा फोटो प्रदर्शनी गरेको हो । अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरै रहनेछ । आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोतसवका आकर्षका रुपमा यी तस्बिर र ट्रकसमेत रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् । पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको संग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेका छन् ।     

म्याग्दी:    हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।  दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।       मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताउनुभयो ।  उहाँका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।      दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ ।  मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गर्नुभयो ।      इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।      बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाहरु सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताउनुभयो ।      सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भएपनि दसैँलगत्तै दिनभर भक्तजनहरुको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।       “भक्तजनलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नु पर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दशनार्थीको सङ्ख्यमा उल्लेख्य वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो ।       मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडी रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिनुभयो ।       मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढे्सँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

खोटाङ:    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।       कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भङ्गेटारका २४ घरले चन्दा सङ्कलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो ।      रिचार्ज पोखरी बनाउने उद्देश्यले रु आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुङ्गा निर्माण गरेर व्यावसायिकरुपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो ।       “खार्मीको काङ्साहोप, बाँझोबारी, रमितेडाँडा, निङ्गालेडाँडा लगायतका ठाउँहरु आफैमा पर्यटकीय क्षेत्र हो । यसको पर्यटन प्रवद्र्धन गर्न सकेमा वडाको मात्र नभइ नगरपालिकाको समेत आम्दानीको स्रोत वृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “कृत्रिम तालमा जम्मा भएको पानीमा माछापालन व्यवसायसमेत उपयुक्त हुने भएकाले ग्रासकार्प प्रजातिका १९ किलो माछाका भुरा ल्याएर हालेका छौँ ।”       जमिन रिचार्ज गर्नुका साथै तल्लो क्षेत्रका स्थानीयको खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी निर्माण गरिएको ‘एल’ आकारको ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि डुङ्गा सयर गर्ने स्थलकोरुपमा विकास हुँदै गएको छ ।       तालमा दुईवटा काठको गुङ्गा निर्माण गरेर सञ्चालन गरिएको छ भने, सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट रु एक सय लिने गरिएको छ ।       आन्तरिक तथा बाह्य पर्यटकलाई गुङ्गा सयर गराउने तालिम प्राप्त व्यक्तिलाई रु ५० र समितिमारु ५० रकम जम्मा गर्ने गरिएको सञ्चालक समितिले जनाएको छ । गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट सङ्कलन भएको रकम ताल सरसफाइ तथा व्यवस्थापनमा खर्च गर्ने गरिएको छ ।       तालमा ढुङ्गा सयर गर्ने र हेर्नेको भीड लाग्न थालेपछि तालसम्म पुग्नका लागि कच्ची सडकसमेत निर्माण गरिएको सचिव तामाङले बताउनुभयो । “तामाङ भाषामा मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भन्ने गरिन्छ ।       मट्याङ्ग्रा तथा मूर्ति बनाउने माटो भएको ठाउँमा ताल निर्माण गरिएकाले तालको नाम ‘काङ्साहोप ताल’ राखेका छौँ”, उहाँले भन्नुभयो, “कच्ची सडकसमेत निर्माण गरेर सञ्चालनमा आएपछि तालमा गुङ्गा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।”        नियमित पानी पलाउने ठोट्नेखोल्सा मुहान भएको सानो खाल्डोलाई स्काभेटरले फराकिलो बनाएर निर्माण गरिएको काङ्साहोप तालमा व्यावसायिकरुपमा पालिएका माछाको हेरचाह स्थानीयबासी आफैले गर्दै आएका छन् ।       टाढाबाट झट्ट हेर्दा पानको पातजस्तो आकृति देखिने काङ्साहोप तालमा हिउँद्को समयमा समेत पानी कम हुन नदिन नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हाल्ने गरिएको जनाइएको छ । काङ्साहोप तालबाट दुई मिनेट पैदल यात्रा गर्दा पुगिने पश्चिम दिशामा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ ।       समुन्द्री सतहदेखि करिब एक हजार सात सय मिटर उचाईमा रहेको काङ्साहोप तालबाट उच्च हिमशृङ्खला तथा टाढा–टाढाका मनोरम दृश्याहरुको सजिलै अवलोकन गर्न सकिन्छ । स्थानीयबासीकै सक्रियतामा बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गरेपछि आवतजावतमा समेत सहज भएको छ ।       सङ्घ, प्रदेश र स्थानीय सरकारबाट आवश्यक बजेट प्राप्त भएको खण्डमा काङ्साहोप तालको क्षेत्रफल थप बढाउन सकिनेगरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत निर्माण गरिएको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  बाह्रै महिना पानी पलाउने खाल्डोलाई स्थानीय बासिन्दाले कृत्रिम तालको रुपमा विकास गरेपछि वडा कार्यालय खार्मीले तीन वर्षअघि उपलब्ध गराएको रु दुई लाख ५० हजार बजेटबाट ड्याम निर्माण गरिएको छ ।       चार वर्षअघि निर्माण गरिएको काङ्साहोप तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमासमेत पुनः मुल फुटेको स्थानीयबासीले बताएका छन् ।  काङ्साहोप तालभन्दा करिब एक सय मिटर तल नयाँ मुल फुटेपछि ताल निर्माण उपभोक्ता समितिका सचिव तामाङले व्यक्तिगत लगानीमा यसै वर्षबाट माछापालन सुरु गर्नुभएको छ । 

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।      हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् ।  दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो ।      उहाँका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् ।  म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन्भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरुले बताएका छन् ।      दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।      धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी)बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिनुभयो ।  विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उहाँको भनाइ छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।      समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।      हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।  म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ ।      घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन् ।

गण्डकी:     कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ ।       यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाउनुभएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गर्नुभएको छ ।  चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उहाँको योजना छ । पाँच हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उहाँले सुनाउनुभयो ।  पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले राससलाई बताउनुभयो । उहाँ बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुग्नुभएको थियो । बीचबाटोमा होटल÷चियापसल नभएका कारण बस्ने टेन्टसहित खानेकुराको बन्दोबस्त मिलाएर पदयात्रामा निस्केको शर्माले बताउनुभयो ।       सोलुखुम्बुको आइल्याण्ड पिक चढीसक्नुभएका उहाँलाई धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उहाँ सतर्क हुनुहुन्छ ।  “अबको एक साताभन्दा बढी समय हामी सम्पर्कबिच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ”, उहाँले सुनाउनुभयो । मार्फापट्टिबाट छोटो दुरी पर्ने भएकाले आफूहरुले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताउनुभयो ।  धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धनहेतु तस्बिर र भिडियो सामग्री सङ्कलनका उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उहाँ पुग्नुभएको छ ।   घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुभएको थियो । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो ।  उक्त समूहले उपाधिसँगै रु पाँच लाख प्राप्त गरेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । जसको पुरस्कार राशि रु एक लाख थियो ।  “दुवै प्रोजेक्टमा म आबद्ध थिएँ, फोटो÷भिडियोग्राफीदेखि व्यवस्थापनसम्मको काम हामीले गरेका थियौँ”, शर्माले भन्नुभयो, “उजागर हुन नसकेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि उक्त प्रतियोगिताले धेरै सघायो ।”  ‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधारशिविरतर्फको प्रवद्र्धनात्मक भिडियो हो ।  ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वीरुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आउनुभएको छ ।  “विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ ।” ‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माले बताउनुभयो ।  ‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो ।  उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताउनुभयो ।  “यसपालि विशेष गरी भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्राउने लक्ष्यसहित त्यहाँ चार धाममध्ये तीन धामको यात्रा हामीले पूरा ग¥यौँ”, उहाँले भन्नुभयो, “नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले बर्सेनि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गदै आएको छौँ ।”   उहाँले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिनुभयो । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ ।  ‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ ।   उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताउनुभयो । ‘घुमन्ते’को युट्यब च्यानललाई झण्डै तीन लाख जनाले सब्सक्राइब गरेका छन् भने एउटै भिडियोलाई लाखौँपटक हेरिएको÷सुनिएको छ ।  सन् २०१३ मा ‘घुमन्ते’ नाम फेसबुक पेज र वेबसाइटबाट पर्यटकीय क्षेत्रको तस्बिर र भिडियो प्रसार गर्दै आएको यो समूहले पछिल्लोपटक युट्युबलाई आफ्ना सामग्री सम्प्रेषणको मुख्य माध्यम बनाएको छ । सन् २०१६ मा पहिलोपटक युट्युबमा घुमफिरको भिडियो राखिएको व्यवस्थापक रुचालले जानकारी दिनुभयो । ‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई हुनुहुन्छ भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् ।  “अहिले पाँचरछ जना मात्र भएर यो समुहलाई अगाडि बढाइरहेका छौँ, हाम्रो पछिल्लो यात्रा पोखरा, लमजुङ हुँदै मनाङसम्मको थियो”, व्यवस्थापक रुचालले भन्नुभयो, “सगरमाथादेखि अछामको रामाराशेनसम्मका ट्राभल डकुमेन्ट्री, भ्लगलगायत सामग्री हामीले निर्माण गरेका छौँ ।”  नेपालको पर्यटनलाई देशदेशावर चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धनका काममा उक्त समूहले ट्राभल्स, एयरलाइन्स कम्पनीलगायतसँग पनि सहकार्य गर्दै आएको छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताउनुभयो । “कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरीजगतले थाहा पाउने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।”

गण्डकी:    गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।  पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् ।  असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।      उहाँका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका सात हजार तीन सय ६९ र अन्य देशका पाँच हजार नौ सय एकजना गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए ।  असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ । पदयात्राका लागि पनि यो याम उत्तम मानिने हुँदा अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको उहाँले बताउनुभयो ।       ‘एक्याप’ले सडकमार्ग र पदयात्रामार्फत अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ ।  ‘एक्याप’ भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दसैँ, तिहार जस्ता ठूला पर्वका बिदा छोपेर नेपालीहरु पनि यही याममा बढी घुमफिरमा निस्कने गरेका छन् ।       ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले दसैँलगत्तै पर्यटकीयस्थलहरुमा चहलपहल ह्वात्तै बढेको बताउनुभयो । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि विश्वमै परिचित रहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले देशविदेशका पर्यटकमाझ उक्त क्षेत्र लोकप्रिय छ ।       कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत ठाउँबाट यस क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।       मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठ) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको चर्चित पर्यटकीय गाउँ घान्दु्रकका होटलमा हिजोआज ७५ प्रतिशत पाहुना रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । “केही दिनयता पर्यटकको चहलपहल बढेको छ, व्यवसायीहरु पनि उत्साहित छन्”, उहाँले भन्नुभयो ।       पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा भने अझै नफर्केको उहाँको भनाइ छ ।  गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना पर्यटक थिए ।

ढोरपाटन:    बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।       विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ ।        एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब रु ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।  दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उहाँले बताउनुभयो । दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उहाँले बताउनुभयो ।            हमालका अनुसार दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।  पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिनुभयो ।       दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिएको हमालले बताउनुभयो । दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री सङ्ग्रहित गर्न थालिएको छ ।  उहाँले भन्नुभयो, “दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले अहिले जीर्णोद्वार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहलपहल हुन थालेको छ ।”      सामाजिक सञ्जालमार्फत दरबारको प्रचारप्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन् ।      रुपन्देहीको देवदहबाट घुम्न आउनुभएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताउनुभयो । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताउनुभयो ।      “दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो”, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ”, शर्माले भन्नुभयो, “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी हुनुभयो ।” पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट      दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ । टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताउनुभयो ।  प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको हो । रेस्टुरेन्टमा एकैसाथ २० जना पाहुना राख्न सकिने उहाँले बताउनुभयो ।       घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेस्टुरेन्ट सञ्चालन गरेको उहाँले बताउनुभयो । दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीँबाट गलकोटको राजकाज चल्थ्यो । त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो ।       पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल हुनुहुन्थ्यो । उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत हुनुभएको थियो ।      दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो ।  परिवारसहित दरबारमा बस्दै आउनुभएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो ।