तनहुँ: जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताउनुभयो । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताउनुभयो । थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो । पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।” गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।” थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।” अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताउनुभयो । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उहाँले जानकारी दिनुभयो । खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उहाँले बताउनुभयो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो ।
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये ५ प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो । “वार्षिक ४ लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उहाँले भन्नुभयो, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।” दैनिक हजारौं पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट ५ किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो । हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो । बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताउनुभयो । थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो । गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ । यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ ।ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् । टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताउनुभयो । मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो । टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पुु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।
धादिङ: यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भन्नुभयो, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।” पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए । जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ । यस मन्दिरमा पूजासहित वडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ । वडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ । मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ । भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो । “भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उहाँले भन्नुभयो । यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ । नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताउनुभयो ।
काठमाडौँ: ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन । ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताए । “पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।” ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू । व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् । पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ । “विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन”, व्यवसायी थापाले भने । ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ । यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताए । कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताए । शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् । फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन । “यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्” उनले भने । ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको सुनाए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए । “यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो”, उनले भने, “यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर प¥यो ।” विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए । उनले भने, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन ।” शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो । यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनकाे भनाइ छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।
काठमाडौं: सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्याङ्क अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ । नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताउनुभयो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उहाँले जानकारी दिनुभयो । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । “हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।” करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ । बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कुन महिनामा कति पर्यटक मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ । नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
ताप्लेजुङ: कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्थिक वर्षको ४ महिनामा १ हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । आव २०५६/५७ मा ७ सय ९९,आव २०५७/५८ मा ८ सय ७३ जना विदेशी पर्यटक आएका थिए । विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन् । यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउनुहुन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय रहेका उहाँ बताउनुहुन्छ । यो क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ काम जारी छ ।
बलेवा: यहाँस्थित ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ । वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षात्मा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताउनुभयो । सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ । पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन् । यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन् । “यो दह धार्मिक रुपमा पनि प्रसिद्द छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो ” स्थानीय थापाले भन्नुभयो “अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ । ” सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उहाँले माग गर्नुभयो । गाजा दहको छेवैमा रहेको सिद्द थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उहाँको भनाइ छ । पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गर्नुभयो । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भन्नुभयो, “यहाँको महत्व जोगाउनु पर्छ । ” गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उहाँहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्नुहुन्छ । साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।
सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो । पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो । सञ्चार नै चुनौती सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो । “कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ”, शेर्पाले भन्नुभयो । पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो । यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो । सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउछन् । धार्मिक आस्थाको केन्द्रः ज्वालामाई मन्दिर सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।” यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनुभयो । स्थानीयको गुनासो सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताउनुभयो । स्थानीय बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।” राज्यको प्रयास नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन । सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । “पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन”, कार्यालय प्रमुख रानाले भन्नुभयो । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ । “पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ”, उहाँले भन्नुभयो,“पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ । जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु ।” पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्नुहुन्छ ।