म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको ना...

ताप्लेजुङ:    ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।  पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्रै १ दर्जन बढी विदेशी नागरिक पाथीभरा आएका छन् । नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उहाँको भनाइ छ । मङ्गलबार नेदरल्याण्डका नागरिक लिएर पाथीभरा आउनुभएका जेआरएन ट्रेक एण्ड एक्सपिडिसनका गाइड रवि लामाले आफूले तेस्रो पटक पाथीभरामा विदेशी नागरिक लिएर आएको बताउनुभयो ।  उहाँसँग आएका पर्यटकले नेपालको धर्म र प्रकृतिलाई मन पराउने प्रतिक्रिया दिनुभएको थियो ।गत साउनदेखि कात्तिक मसान्तसम्ममा ४ सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन् ।  यसमा सबैभन्दा बढी भारतबाट आएका काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताउनुभयो ।  धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार  प्रवर्द्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ ।  पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको सङ्ख्या बढ्दै जाने समितिले विश्वास लिएको छ । हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् ।  पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।  समितिद्वारा पाथीभरामा आउने भक्तजनको सहजताका लागि पाथीभरा पदमार्ग, यहाँका शौचालय, खानेपानी लगायतका भौतिक पूर्वाधारको स्तरोन्नति तथा निर्माण गर्ने कार्य जनाइएको छ ।  मन्दिर क्षेत्रमा सहज सञ्चार सुविधाका लागि इन्टरनेट सहितको टेलिफोन टावर निर्माण गर्ने र पदमार्गमा सोलार बत्ती जडानका लागिसमेत पहल भइरहेको छ ।

म्याग्दी:    घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ ।  एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।       “दुुई/तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।”      चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् ।       चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिनुभएको हो । “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भन्नुभयो, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।”      पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको रु दुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको रु एक सय ५० र सँगै तस्बिर खिचाउँदा रु ५० शुल्क तिर्नुपर्छ ।  मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताउनुभयो ।  “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।” मार्फाका गल्लीहरुको नामकारण       मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए ।       पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उहाँले बताउनुभयो । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ ।       “विद्युत्को तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।” संस्कृति र प्रकृतिमा धनी       मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ ।       मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ । “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।”      सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीआँै अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ ।       वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा आएका रामशरण अधिकारीले बताउनुभयो ।       लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ ।       मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् ।       मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ ।      जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिनुहुन्छ ।       हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् ।       देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानी विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो ।  स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो ।       मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् । 

सोलुखुम्बु:    विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ ।  चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।       पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।       कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् ।  यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ ।        चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उहाँको भनाइ छ ।       दर्नालले भन्नुभयो, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ ।      लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो        “सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ”, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले रासससँग भन्नुभयो । उहाँका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् ।       लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार÷पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताउनुभयो । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।      लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई रू २९ हजार चार सय ८० र नेपालीलाई रू ११ हजार भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौँ फर्किने गरेका छन् ।       लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ ।       फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।        “सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।       सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।       विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् ।       निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।       यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् । 

लुम्बिनी:     बुद्धका प्रतापी र सन्तीय गाथाहरु सुन्दै हुर्केका ६० वर्षीय हुसेनी लोधले किशोरावस्थामा मायादेवी मन्दिरमा देखेका प्राचीन मूर्ति र चीजवस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो । मनोलोकबाहेक उहाँले ती मूर्ति र चीजवस्तुहरुको साक्षात्कार गर्न सक्नुभएको छैन । प्राचीन मन्दिरभित्र रहेका मूर्तिहरूको दर्शन गर्ने उहाँको आश यत्तिका वर्षमा सेलाएर गएको छ । “अब सायद कहिल्यै ती मूर्तिहरू लुम्बिनीको पवित्र माटोमा फर्किदैनन्”, चिन्ता गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का हुसेनीले दुःखेसो पोख्नुभयो । मूर्ति खोजी गर्ने आतुरताले हुसेनीको मनमा दिएको सन्तापको यो अन्तिम कारण भने होइन । प्राचीन मन्दिर भत्काइनुअघि सन् १९९२ सम्म मन्दिर परिसरमा रहेको ‘बोधीवृक्ष’ र मन्दिरमा प्रयोग भएका प्राचीन इँटा पनि उहाँले देख्नु भएको छैन । त्यहाँ पुरानै दृश्यको झल्को दिने गरी नयाँ मन्दिर ठड्याइएको छ । बुद्ध गर्भस्थ रहँदा र जन्मेपछि पनि मायादेवीले स्नान गर्नुभएको पुस्कारिणी पोखरीलाई सिङ्गारिएको छ । सम्राट अशोकले ठड्याउनु भएको अशोक स्तभले बुद्ध जन्मस्थललाई पहिचान गराउँदैछ ।  उहाँले मायादेवी मन्दिरमा बिहानबेलुका बज्ने घण्टा र शङ्खध्वनिको आवाज सुनेर मन खुसी गराउन पाउनुभएको छैन । उहाँले आफूले सानो उमेरमा देखेका थुप्रै प्राचीन मन्दिर फेरिएको बताउनुभयो । “धार्मिक झल्को दिने पूजापाठ, मूर्ति र चीजवस्तुरु नहुँदा मन्दिरमा रौनकता छैन्”, पण्डित युगुलकिशोर त्रिपाठीले भन्नुभयो, “नयाँ ठड्याइएको मायादेवी मन्दिर र अनाधिकृत रुपमा निर्मित गजुरमाथि देखिने असङ्ख्य परेवाहरुले त्यहाँ शान्तिको सौम्यतालाई होइन, अनमोल सम्पदाहरु हराइरहेको ढोंग र क्रुरतालाई प्रकट गरिरहेको आभास दिएको छ ।” लुम्बिनी उपवनभित्र समयमाइ (जसलाई रूमिन्देइमाई र पछि महामाया पनि भनिन्छ)को स्थानमा महारानी मायादेवीको कोखबाट इशापूर्व ६२३ मा बोधीसत्वले जन्म लिनुभएको थियो ।तथागत भगवान बुद्धले राजकुमार सिद्धार्थका रुपमा यसै लुम्बिनी भूमिमा जन्म लिई पहिलो पाइला टेक्नुुभएको स्थानीय श्रुति, अशोकस्तम्भ र विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।   राजकुमार सिद्धार्थका रुपमा भगवान् बुद्धको न्वारान भएको लुम्बिनी उपवन त्यसै पनि पवित्र र महत्वपूर्ण छ । उहाँलाई जन्म दिनुपूर्व महारानी मायादेवीले स्नान गर्नुभएको पुस्कारिणी पोखरी, बोधीबृक्ष, स्थानीयले चिनोस्वरूप राखिदिनु भएको बुद्ध जन्मस्मारक शिला (मार्करस्टोन)र अशोक स्तम्भ त्यहाँका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक धरोहरहरु हुन् । प्राचीन मन्दिर आफैँमा अनमोल थियो । इन्द्रलगायत देवताहरुले पुष्पवृष्टि गरिरहेको बुद्ध जन्माङ्कृंत मायादेबीको मुख्य मूर्ति, बाराहीदेवी, भगवान गणेश र दुर्गा भगवतीको मूर्ति तथा सन् १९९३ मा उत्खनन्बाट प्राप्त तथागत भगवान बुद्धको अस्तुधातुलगायतका चीजवस्तुहरू पनि लुम्बिनीका धार्मिक, पुरातात्विक सम्पदा हुन् । तर ती सम्पदाहरु कि त बिगारिएका छन्, तोडिएका छन् वा एक–एक गर्दै हराइरहेको पण्डित योगेन्द्रनाथ पाण्डेको भनाइ छ । “सन् १९९३ मा मायादेवी मन्दिर तोडिदाको समयमा मन्दिर र मन्दिर परिसरभित्र ४७ थान मूर्ति तथा सामग्रीहरु रहेको तथ्याङ्क छ”, पाण्डेले भन्नुभयो । ती मूर्तिहरु, सामग्रीहरु र अस्तुधातु समेतको खोजी गरी लुम्बिनीमै पुनःस्थापित गर्नुपर्ने उहाँको माग छ ।  “ती मूर्ति र सामाग्रीहरुमध्ये बुद्धजन्माङ्कृत मुख्य मूर्तिको माथिल्लो दाहिनेतर्फ इन्द्रलगायतका देवताले पुष्पवृष्टि गर्दै गरेको भाग खण्डित गरी काटेर निकालिएको छ” लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले भन्नुभयो, “त्यसमध्ये बुद्ध जन्माङ्कृत महामायाको मार्बलको मूर्ति राजकीय बुद्ध बिहारमा राखिएको छ भने बाराहीदेबीको मूर्तिलाई दुई टुक्रामा खण्डित गरी सङ्ग्रहालयको बाह्य भागमा राखिएको छ । त्यसैगरी दुबै हात भाँचिएको मार्बलको बुद्ध मूर्ति तथा तामाको दुई थान बुद्ध मूर्तिबाहेक अनमोल मूर्तिहरु र अस्तुधातु लुम्बिनीमा देखिएका छैनन् ।” लुम्बिनी विकास कोषले ११ सय ५५ बिघामा रहेको स्थानीयको घर–जग्गा अधिग्रहण गर्दा स्थानीयबासी विस्थापित भएपछि त्यहाँबाट धार्मिक तथा पुरातात्विक महत्वका मूर्ति र चीजवस्तुहरु हराउन थालेको लुम्बिनीमा गठित लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरूयोजना अनुसार मायादेवी मन्दिरलाई पुरानै स्वरूपमा तत्काल पुर्नस्थापित गरी हराइरहेका मूर्ति र अस्तुधातु जस्ता बहुमुल्य सामग्रीहरु खोजी गरी संरक्षणको काम तत्काल थाल्नुपर्छ ।”  तत्कालीन लुम्बिनीबासी, हाल शुद्दोधन गाउँपालिका कपिलवस्तुका पूर्वअध्यक्ष नेसार अहमद खाँका अनुसार “बुद्ध जन्मभूमि लुम्बिनी सम्पदाका अवैतनिक पहरेदार त्यहाँका स्थानीयवासीलाई २०३१ को दशकमा लुम्बिनी विकास कोषले घरजग्गाबिहीन बनाई भगाएपछि मात्र प्राचीन धार्मिक चीजवस्तुहरु हराउने र हिन्दू पुजारीबाट पूजापाठ गर्ने सदियौँको परम्परा तोडिएको थियो ।’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भन्नुभयो, “लुम्बिनीबाट हराइरहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको खोजी हुनैपर्छ ।”नेपाल सरकार र लुम्बिनी विकास कोषले ती सम्पदाहरुको संरक्षण–प्रवद्र्धनका लागि स्थानीय विज्ञ, खोजकर्तालाई प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । लुम्बिनी बिकास कोषका प्रमुख पुरातत्वबिद हिमाल उप्रेतीले उत्खननका समयमा मायादेबी मन्दिर र परिसरमा रहेका केही मूर्ति र सामाग्रीहरू लुम्बिनी स्थित सङ्ग्रहालयमा त केही छाउनी सङ्ग्रहालय काठमाडौंमा रहेको बताउनुभयो । “हराइरहेका मुख्य चार थान मूर्ति, अस्तुधातु तथा सामग्रीहरुको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “अब सबै सामग्री सङ्ग्रहालयमा स्थापित गरिनेछन् ।” लुम्बिनी बिकास कोषका सूचना प्रमुख हरिध्वज राइले प्राचीन मन्दिरमा रहेको पीपल बोटको जराले मौर्यकालीन एन्टिक इँटाहरूलाई नष्ट गरिरहेकाले युनेस्को र पुरातत्वविद्हरुको सल्लाहअनुसार नै हटाइएको बताउनुभयो ।  हराइरहेका मूर्तिहरु, अस्तुधातुबारे सदस्य सचिव सानुराजा शाक्यले आफूलाई जानकारी नभएको भन्दै खोजी गर्ने जनाउनुभयो । यसअघिका सदस्य–सचिव अजितमान तामाङको प्रतिक्रया पनि उहाँसित मिल्दो छ । सन् १९७० मा संयुक्त राष्ट्रसङ्घको अगुवाइमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरको एक समिति गठन भएको थियो । समितिले त्यसैवर्ष जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरुयोजना बनाउन नियुक्त गरेको थियो ।  प्रोटाङ्गेले बनाउनु भएको गुरुयोजनालाई सन् १९७८ मा सरकारले स्वीकृति दिएको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ मा कोषको गुरुयोजना कार्यान्वयन गर्न तथा रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा छरिएर रहेका विभिन्न बौद्ध तीर्थस्थलहरूको अन्वेषण, उत्खनन्, जीर्णोद्धार तथा संरक्षण–प्रवद्र्धन गर्नका लागि तत्कालीन सरकारबाट कोषको गठन भएको थियो ।” लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा ल्यारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट हराइरहेका मूर्तिहरु र तथागत भगवान् बुद्धको अस्तुधातुलगायत बहुमुल्य सामग्रीबारे चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यसबारे सत्यतथ्य खोजी पारी लुम्बिनीमै पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

तनहुँ:     तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ ।  मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालले आकार लिन थालिसकेको छ । तालको पूरै काम सकिएपछि यहाँ डुङ्गा शयर गर्न सकिनेछ । यस ठाउँमा ‘वाटर फन पार्क’ बनाउने लक्ष्य छ ।” आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौँ ।” यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको अध्यक्ष चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँछाँै । तालबाट विद्युत् उत्पादनको लक्ष्य छ ।”  विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको छ । गाउँपालिकाले तनहुँ जलविद्युत् आयोजनाका पदाधिकारीसँग तालबाट निकाल्ने सकिने विद्युत्का विषयमा एक चरणको छलफल गरिसकेको छ ।  आँधीमूल धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको छ । आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।  आँधीमूलमा रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको थापाले बताउनुभयो । आँधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको थापाले बताउनुभयो । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।  परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्गने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । पृथ्वीराजमार्गदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल नौ सय मिटर सडक कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ ।   –––

खोटाङ:     आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ ।  मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।  ‘मुन्दुम ट्रेल’ को स्तरोन्नति तथा पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।  “मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तीमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको, यसका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मूल व्यवस्थापन समितिको बैठक बसेर मुन्दुम ट्रेलसँग जोडिएका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्रियाकलाप आयोजना गर्न लगाउने निर्णय गरिएको छ, यसले बाह्य पर्यटकका लागि आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।” ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ’ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम आयोजना गरिने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो ।  पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयले धमाधम होम–स्टे ९घरवास० तथा गेष्ट हाउस (पाहुनाघर) निर्माण गरिरहेका छन् ।  नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दुरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।  ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राईले बताउनुभयो ।  साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’ को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।  खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने गरेको छ ।  हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुस नहुने पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो ।  पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।  ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।  मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरसँग त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० मा यही पदमार्गको एउटा रुट ९बाटो० प्रयोग गर्नुभएको जनाइएको छ ।  मानव बस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागतरुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे ९गोठवास०को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् । 

झापा:    कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताउनुभयो ।  “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।” दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षक द्धार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिनुभयो । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताउनुभयो । कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो ।  दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् ।

तनहुँ:    बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।  आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलकै झल्को दिने मूल भएको सानो आँधीमूलको संरक्षण भएमा धार्मिक पर्यटकीयस्थलका साथै वनभोजस्थलका रूपमा स्थापित गर्नसकिने स्थानीयवासी नारायण लामिछानेले बताउनुभयो ।  आँधीमूल धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा प्रख्यात रहेकाले यसलाई पनि सोहीस्थानलाई झै विकास गर्नुपर्ने उहाँले बताउनुभयो । यहाँ पानीको मूलमा तीन मिटर काठको धारा छ ।  वरपर विशाल वृक्ष छन् जसले उक्त क्षेत्रको सौन्दर्य बढाएको छ । सो क्षेत्रआसपासमा ४८ रोपनी सरकारी जग्गा रहेकाले यसलाई वनभोजस्थलका रूपमा विकास गर्न सकिने लामिछानेको तर्क छ ।  सो स्थानमा मन्दिर, पोखरी, पाटी, भवनलगायत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकालाई आग्रह गरिएको थानीयवासी तामप्रसाद भट्टले बताउनुभयो ।  बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उक्त ठाउँको प्रवर्द्धनका लागि पालिकाले सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।  आगामी बजेटमा उक्त स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न रकम विनियोजन गरिने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बन्दीपुर पर्यटकीय स्थान हो । सानो आँधीमूलसम्म पुग्न कच्ची बाटो, विद्युतलगायत पूर्वाधारको व्यवस्था भएको छ । पृथ्वी राजमार्गको याम्पाफाँटबाट–थुम्का–भुजेल गाउँ हुँदै उक्त स्थानमा पुग्न सकिन्छ ।

म्याग्दी:    दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएको बताउनुभयो ।    प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२  र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका प्रहरी निरीषक अधिकारीले जानकारी दिनुभयो ।    कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ । दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ ।  होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु १५ हजार खर्च गर्छन् । असोज र कात्तिक यहाँ भित्रिएका पर्यटकले रु दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।  मुस्ताङमा रहेका तीन सय २५ वटा होटलमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बस्न सक्ने क्षमता रहेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।  दसैँतिहारको समयमा मुस्ताङका सबैजसो होटल पर्यटकले भरिभराउ भएका थिए । मङ्सिर लागेसँग चिसो बढेपछि भने केही दिनयता पर्यटक आगमन घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा चार लाख २७ हजार र २०७९÷०८० मा तीन लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ पुगेका थिए ।  सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।  मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।  म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक यहाँ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जाँदा यहाँका व्यवसायी भने चिन्तित छन् ।  स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने घरपझोङका अध्यक्ष लालचनले बताउनुभयो ।