ढोरपाटन: यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन । तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रङ्गीचङ्गी वनफूलसँग पिरती नगाँसी फर्किनन् । खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् । यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् । स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटा सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ । देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउने गरेका छन् । फूलसँग रमाउन आउने पर्यटकको सङ्ख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् । पहिले ढोरपाटन आउने पर्यटकले खास्सै चासो नदिए पनि हरेक पर्यटकको ध्यान पाटनभरी फुलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उहाँको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउनुहुन्छ । वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– “वनफूलको पहिले खास्सै महत्व थिएन, मान्छेहरु मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन्, त्यसले गर्दा उनीहरुको रोजाई वनफूल परेको छ, वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ, यसको संरक्षण भने हुन सकेको छैन, स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र पछि यो फूल मासिन पनि सक्छ ।” वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ । पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताउनुभयो । बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाउनुभयो । वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उहाँको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउनुहुन्छ । “वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरु निकै चकित छौँ, किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ, पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्” उहाँले भन्नुभयो– “फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।” ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउने आउने बढी छन् । बुटवलदेखि आउनुभएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुङ्ग भएको बताउनुभयो । बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरु यहाँ आएको गिरीले सुनाउनुभयो । “आहा ढोरपाटन कत्ति सुन्दर रहेछ, पोहोर साल हाम्रो साथीहरु यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए, त्यो देख्दा आउन मन लागेको थियो, यसपाली आउने मौका मिल्यो, यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो, बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ, फूलसँग रमाउन त निकै मज्जा आउँदोरहेछ, यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रहेनछ ।”
गण्डकीः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे(कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो । पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी-१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट रु १० लाख प्राप्त भई काम भइसकेको छ भने रु २० लाख लागतको काम भइरहेको छ । पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उहाँले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गर्नुभयो । कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ । कूल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भू–भाग भन्ने बुझिने जानकारी दिनुभयो । क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे रूपमा लिने गरिएको स्थानीयवासी बताउँछन् । बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षात्का समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् । यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले जानकारी दिनुभयो । यस जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उहाँले बताउनुभयो । हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् । पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो । भइरहेको स्तरोन्नतिसँगै यो पदमार्ग यहाँ आउने पर्यटकका लागि अझै सहज हुने उहाको भनाइ छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भने । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए । विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका माइकल परियारले बताए । “दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने । पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई–दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए। पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे। पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् ।
बुटवल: जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा ब्यबसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए । आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एबं आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्बी नेपालमा सम्पन्न भएको थियो । विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन स्क्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुबेदीले बताए । हानका केन्द्रीय सदस्य एबं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे । पोखरा विमानस्थलको उचित संचालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो । साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ । बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुने छ । बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल ब्यबसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए । यसअघि पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै सिक्न बाँकी रहेको स्थानीय ब्यबसायीले बताएका थिए । पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रबद्र्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए । कार्यक्रममा ट्याक्टका संयोजक एबं तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्यालले पनि भनाई राखेका थिए ।
पोखरा: ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो । नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको यस क्षेत्रले (नर्थ) यथेष्ट लाभ लिन भने सकेको छैन । पदमार्ग प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र टान नेपाल पर्यटन बोर्डको अगुवाइ र टान गण्डकीको व्यवस्थापनमा अन्नपूर्ण प्रथम हिमाल (नर्थ) पुग्ने पदमार्गको ५ दिने (१७–२१) प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष (हिरक महोत्सव)को अवसरमा पदमार्ग प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्णमा मानव पाइला पुगेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ । पोखराबाट मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेको सांगीतिक टोलीसहित अन्नपूर्ण डे मनाउन नेपाल आएका थिए । फ्रान्सेली टोलीसहित पोखराबाट पर्यटनसम्बद्ध संस्थाका नेतृत्व, संचारकर्मी र हिमाल आरोहीसहितको टोली म्याग्दीको नार्च्याङ्, गुफा फाट, भुस्केट मेला हुदैँ अन्नपूर्ण आधार शिविर (४१९०) पुगेको थियो । अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा पहिलोपटक अन्नपूर्ण डे मनाइएको हो । मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ हार्जाेग परिवारले आधार शिविरमा हस्तान्तरण गरे । स्विजरल्याण्डमा रहेको आइस एक्स नेपालमा रहने गरि हर्जोग परिवारले हस्तान्तरण गरेको हो । हार्जाेगका छोरा माथियसले पञ्चकुण्ड तालको छेउमा बसेर बुवाको स्मरण गदैँ अन्नपूर्णलाई आफ्नो घर जस्तो भने । अनि आइस एक्स नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । सो अवसरमा केक काटेर अन्नपूर्ण डे सेलिब्रेसन गरिएको थियो । यस्तै आधार शिविर (४१९०) मि. अन्नपूर्ण बेसक्याम्पमा मौरिस हर्जोग र लुइस लाशनलल शालिक अनावरण गरिएको छ । उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुतले शालिकको अनावरण गरेका थिए । अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने पहिलो नेपाली महिला पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स नेपालमा देख्न र स्पर्स गर्न पाउदा खुशी व्यक्त गरिन् । पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको नर्थलाई प्रवद्र्धन गर्न पदयात्रा कार्यक्रम तय गरिएको बताए । यो पदमार्गलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने उदेश्यले फ्रान्सबाट हर्जोग परिवालाई पदमार्गहुदैँ वेसक्याम्पसम्म यात्रा गराइएको र राष्ट्रिय तथा अन्तराष्ट्रिङय संचार माध्य मार्फत प्रवद्र्धनको प्रयास गरिएको जानकारी दिए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण डे नेपालको लागि ऐतिहासिक दिन रहेको बताए । आचार्यले द अन्नपूर्ण किताब मार्फत मौरिस हर्जोगले नेपालको पर्वतीय पर्यटनमा पुर्याएको योगदानको चर्चा गरे । अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण रहे पनि हर्जोगले आरोहणका लागि प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा परेकाले प्रवद्र्धनात्मक कार्यक्रम गरिएको आचार्यले बताए ।
रसुवा: गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाउनुका साथै लेक लागेर बिरामी परेका यात्रीलाई उद्धारको समेत व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । गत विगतको तुलनामा यस वर्ष भक्तजनको आगमन बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीर्थका लागि निस्केका एक हजार भन्दाबढी यात्री बुधबार साँझ चन्दनबारी पुगेका र ती यात्री आज बिहानैदेखि लौरी विनायक उकालो उक्लँदै गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । यात्रीका लागि काठमाडौँको बालाजुबाट धुञ्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायात व्यवसायीले बताएका छन् । धुञ्चेबाट माथि लागेपछि खन्ति, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको जनाउँदै प्रजिअ पौडेलले आगन्तुक तथा धार्मिक यात्रीलाई सुलभ रूपमा सेवा प्रदान गरिदिन व्यवसायीलाई अनुरोध गरिएको बताए । उकालो हिँड्दा बढी स्वास्वा फ्याफ्या हुने यात्रीका लागि चन्दनबारीमा घोडाको समेत व्यवस्था भएकाले गोसाइँकुण्डसम्म पुग्न सहज वातावरण पाइएको तीर्थ यात्रीले बताएका छन् । चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परेमा गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रजिअ पौडेलले अनुरोध गरे ।
मुस्ताङ: थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ । धवलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ । सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन । थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।
पर्वत: पवर्तको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार रु ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उहाँले बताउनुभयो । कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो । बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिनुभयो । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उहाँको भनाइ छ । नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताउनुभयो । पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आउनुभएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताउनुभयो । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् । फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताउनुभयो । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ । विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उहाँले बताउनुभयो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ । अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताउनुभयो । यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो । पुनले भन्नुभयोे, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ । विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो । ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण गरिएका छन् । यो पदमार्गले पर्वतको मोदीका वडा नं १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं वडालाई समेटेको छ । हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छभने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो । दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइडाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ । मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ । कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बीचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो । पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो । “तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई ९ङ्ज्याप बारागुङ० भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो । उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।” करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ । तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो । बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो । कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ । कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।