पोखरा:   गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।      पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय ग...

मनाङ:     यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक  आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ  छ ।  जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन् । कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताललगायत छन् ।  यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”     झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उहाँले बताउनुभयो । “नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उहाँले भन्नुभयो । चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् । मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन् । यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् । यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।  यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताउनुभयो । यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उहाँले बताउनुभयो ।  हिमालबाट लुकेर आएको पानीले नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ ।  दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । 

गलकोट:   पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक र टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।  “मुख्यमैत्री वातावरणमैत्री नमुना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “ यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।”  वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताउनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ । रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिनुभयो । बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । “क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन र अवलोकन गराउन रेशको चिया बगान पुर्‍याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानुपर्दैन”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा। थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यलगायत व्यवहारले लोभ्याउने बताउनुभयो । चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताउनुभयो । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भन्नुभयो, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।” पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदान गरेका थिए । विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले बताउनुभयो । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ थियो । समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि व्यावसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उहाँको भनाइ थियो ।  बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् । 

दमौली:    तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ ।  गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा  ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।  बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गर्नुभएको छ ।  गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताउनुभयो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न÷ हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।”  बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।  सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।  बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।  बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

मनाङ:   आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् ।   विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक भित्रिएका छन् ।   नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो । बाह्र हजार सात सय ७९ पुरुष, सात हजार चार सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए । अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए ।    मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए । साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ ।   यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन् ।    थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको छोटिएको स्थानीय बताउँछन् । अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ । उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ ।  

विदेशी पर्यटन भित्रँदा भएको आम्दानीभन्दा नेपालीले विदेश घुम्दा दोब्बर खर्च गरेका छन् ।    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन्।    गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए।   सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो।    गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो।   यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड बाहिर लगेका छन्। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड बराबर थियो।

पाेखरा:      विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी दुर्गादेवी भण्डारीले बताउनुभयो । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात फस्टाउन थालेको पर्यटन क्षेत्र पुनःवर्षायाम सँगै समस्यामा परेको हो । विदेशी पर्यटक यतिबेला फाट्टफुट्ट आउने गरेको भण्डारीले बताउनुभयो ।   व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनःपर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश भएको उहाँको भनाइ छ । अब ‘अफसिजन’ सुरु भयो भण्डारीले भन्नुभयो, “भदौ अन्तिम सातादेखि पुनःचहलपहल सुरु हुन्छ ।” यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँ पुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घारेपानी–मुस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका वि भिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख युक्त गुरुङले जानकारी दिनुभयो ।   पर्यटक नआउँदा पर्यटन व्यवसायीमात्र नभई आफू पनि फुर्सदिलो बन्न पुगेको पर्यटक प्रहरी शन्तलाल कोहारले बताउनुभयो । बर्खा लागेसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । एक जना पर्यटकले कम्तीमा पाँच दिनदेखि बढीमा १४ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक पाँच सय डलरभन्दा बढी खर्च गर्ने गरेको पर्यटक गाइड पासाङ दावा शेर्पाले बताउनुभयो । बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा कोरोना सङ्क्रमणपछि यस वर्ष बढी पर्यटकको चहलपहल बढेको थियो । भर्खरै मात्र पर्यटक आउन सुरु गरे पनि पुनःवर्ष सुरु भएपछि भने सुनसान बनेको र व्यापार व्यवसाय पनि ह्वात्तै घटेकोे व्यवसायी कमला गुरुङ बताउनुहुन्छ । राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने गरेका छन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटक आउने गर्दछन् ।

कास्की:    माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ ।   गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।   यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउनुभयो । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”   पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन ।   बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाउनुभयो । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।” पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताउनुभयो । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो ।   हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।   गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाउनुभयो । “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन । हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ 

लमजुङ:     वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास सञ्चालकको भनाइ छ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ तथा दक्षिण एशियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सय भन्दा बढी पर्यटक आउने गरे पनि बर्खायाम सुरु भएसँगै पर्यटकको सङ्ख्या शून्य जस्तै भएको छ । घलेगाउँ होमस्टेका व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले भने, ‘असार महिनाको सुरुवात भएदेखियता एक जना पनि पर्यटक आगमन भएको छैन । जिल्लाकै सबैभन्दा धेरै पर्यटक आगमन हुने यहाँ यतिबेला पर्यटकको मुख देख्न पनि रहर लाग्ने भएको छ ।’ उनका अनुसार पर्यटक सत्कारमा फुर्सद नहुँने यहाँका घरबास सञ्चालन यतिबेला धान रोप्नमा व्यस्त हुन थालेका छन् । सहरदेखि होमस्टेसम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने भएकाले यात्रा कठिन हुनुका साथै अन्य विभिन्न समस्याका कारण वर्षायाममा पर्यटकलाई सास्ती हुने भएकाले पर्यटक आगमन घटेको समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यहाँका होमस्टेमा असोजबाट मात्रै पर्यटक बढ्ने उनको भनाइ छ । पर्यटक आगमन हुँदा राम्रो आम्दानी हुने गरे पनि पर्यटक नआउँदा यतिबेला जीविकोपार्जनमा समस्या हुन थालेको स्थानीय बताउँछन् । लमजुङमा विसं २०५७ देखि घलेगाउँ घरवास कार्यक्रम ९होमस्टे० सुरु गरिएको थियो । यो जिल्लाकै पहिलो घरवास कार्यक्रम हो । समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ । यहाँ ३२ दलित र ९३ गुरुङ परिवार गरी एक सय २५ घरधुरीका स्थानीय बसोबास गर्दछन् । यहाँ ४४ होमस्टे सञ्चालित छन् । तीन सयसम्म पर्यटक एक रातमा बास बस्न सक्ने व्यवस्था गरिएको समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । उनका अनुसार यहाँ दुई वटा होटल सञ्चालनमा रहेका छन् । ‘घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आ–आफ्ना कला, भेषभूषा, खानापान, तथा नृत्य प्रप्तुत गरी मनोरञ्जन प्रदान गरिन्छ’, उनले भने । विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुच्छे« हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्ध हिमाल देख्न सकिन्छ । यहाँ घले राजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकका लागि गुरूङ संस्कृति झल्किने गीत तथा नाँच प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिने समितिका कार्यालय सचिव दीर्घ घलेले बताउनुभयो । उहाँका अनुसार यस गाउँमा पैदलयात्रा गर्दा करिब छ घण्टा लाग्दछ । त्यस्तै लमजुङ दरबार नजिकै रहेको बेँसिसहर नगरपालिका–३ काउँलेपानी घरबास (होमस्टे)मा समेत पर्यटक आगमन निकै कम भएको छ । यहाँ दैनिक एक सय देखि दुई सयसम्म पर्यटक आउने गरेकामा वर्षायाम लागेपछि पर्यटक सङ्ख्यामा कमी आएको ग्रामीण काउले पानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । वर्षा लागेपछि दैनिक १०/१५ जना पर्यटक मात्रै यहाँ आउने गरेका घरबास सञ्चालक कविन्द्र गुरुङले बताए ।  उनका अनुसार यहाँ २५ घरधुरी रहेका मध्ये १५ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोवास रहेको छ । समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइमा रहेको काउँलेपानी होमस्टे सन् २०११ देखि सञ्चालन गरिएको थियो । यस होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो भने पर्यटन मन्त्रालयले सन् २०१६ मा नेपालको उत्कृष्ट होमस्टेका रुपमा छनौट गरेको थियो । सन् २०१६ मा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालयले काउँलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री होमस्टे घोषण गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । यहाँबाट लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे तामाङ होमस्टेमा पर्यटक सुनसान रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमराज तामाङले बताए । उनले भने, ‘बर्खा र बाटो कठिन भएकाले पर्यटक आगमन नहुँदा आम्दानी समेत हुनसकेको छैन ।’