पोखरा:      पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।  मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यट...

पोखरा:    पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन पोखरा पर्यटकीय क्षेत्रको राजधानी हो भन्ने सन्देश बोकेर भारतको चार शहरको भ्रमणमा जाने भएको भएको छ ।  नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेको आज (शनिबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको नाट्टा गण्डकीका अध्यक्षका हरिराम अधिकारीले बताए ।   ‘पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य भन्ने सन्देशसँगै पोखरा पर्यटकीय राजधानी हो भन्ने सन्देश लिएर भारतका चार शहर जाँदै छौं, अधिकारीले भने, ‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्र्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य समेत हो ।’ विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रको जानकारी दिन, सडकमार्गबाट सहज रुपमा पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण गर्न सकिन्छ भन्ने सन्देशसँगै पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिने उदेश्यले भारत भ्रमणमा जान लागेको नाट्टा गण्डकी अध्यक्ष अधिकारीले बताए ।  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।

काठमाडौं:    अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो । अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका उनले बताए ।   यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो । यस्तै यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा ५ सय १२ जनाले अनुमती लिएका पर्यटन विभागले जनाएको छ । जसमा एक सय तीन जना महिला छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि एक सय ९७ जनाले अनुमति लिएका छन् । यस वर्ष अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।  

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ ।  घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताए ।  उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उनले भने, ‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’ घान्द्रुकमा सभाहलसहितको रिसोर्ट आवश्यक भएकाले त्यो आवश्यकता पनि पुरा गर्ने उनको भनाई थियो । प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उनले बताए । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाई थियो । करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालन कुलप्रसाद गुरुङले जानकारी दिए । ‘कोरोनाको समय देखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो अवस्था थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागे । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी छु ।’ ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ ।  रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङलले जानकारी दिए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए ।  लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उनले भने, ‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।   

काठमाडौं:    वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।   कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् ।   नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उहाँले बताउनुभयो ।  तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउनुहुन्छ । नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ । यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ । 

तनहुँ:    नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो । “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।  बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सडक खाना महोत्सवको आयोजना गरिएको बताइएको छ ।  सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । “साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ”, प्रधानले भन्नुभयो । नयाँ वर्ष मनाउन बन्दीपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । आज बिहानैदेखि आन्तरिक पाहुना बन्दीपुर उक्लिएको प्रधानले बताउनुभयो ।  नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रबर्द्धन, ग्रामीण होमस्टेको प्रचारप्रसार एबं सुनाखरी लगायत जैबिक विविधता संवर्धनको सन्देश दिने हेतुले उक्त पदयात्रा आयोजना हुन लागेको हो । पञ्चासे क्षेत्रको ५७०० हेक्टर बनजङ्गलमा पाईने १४७ प्रजातीको सुनाखरीलगायत जैबिक बिविधताको प्रचार र संरक्षणको सन्देश दिनु कार्यक्रमको मूल उद्देश्य रहने आयोजकले बताएको छ । पञ्चासेको पदमार्ग पर्यटन र ग्रामीण पर्यटनको महत्त्व उजागर गर्ने अभिप्रायले आयोजना गरिएको पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरुवात हुने जनाईएको छ। साथै पञ्चासे क्षेत्र पर्यावरण र पर्यापर्यटन अध्ययनको खुला बिश्वबिद्धालय रहेको सन्देश दिँदै पदयात्रा मार्फत हजारौं आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आह्वान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताए । सोही दिन प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको पञ्चासेको छाँयाचित्रका रुपमा रहेको पञ्चासे जैबिक बिबिधता पार्क समुद्घाटन समेत गरिने कार्यक्रम आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ। पर्यावरणमैत्री ढंगले निर्माण गरिएको सो पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

पोखरा:  नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र रहेको बताउँदै उहाँले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उहाँको भनाइ छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताउनुभयो । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उहाँले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताउनुभयो । सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो । सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो 

तनहुँ:    गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।  पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।  बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एण्ड बञ्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।  “बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेका छौँ, सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ”, शर्माले भन्नुभयो, “अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा छौँ ।” शर्माका अनुसार सिसाको पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब रु एक अर्ब बजेट लाग्ने अनुमान छ । “डिपिआर तयार भएपछि बजेटको टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो, “सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।” बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेशनको नजिकै सिसाको पुल बनाउने योजना छ । “सत्र तले पाँचतारे होटल नजिकको जङ्गलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट तीन सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भिरमाथि हिँडेको अनुभव लिन सकिनेछ”, शर्मा भन्नुहुन्छ ।  बन्दीपुरमा निर्माणाधीन केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि केबलकारको व्यावसायिक सञ्चालनको तयारी भइरहेको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब निर्माणको अन्तिम चरणमा पुगेको शर्मा बताउनुहुन्छ ।  विसं २०८० को मङ्सिरभित्र पाँच तारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम सम्पन्न गर्ने लक्ष्य छ । बरालथोकमा पाँचतारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ ।  बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिज्जम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । 

पोखरा:   परापूर्वकालदेखि रुपाको सिस्टेनीमा लाग्दै आएको सिस्टेनी मेला ०५० सालपछि एकाएक बन्द भयो । चैते दशैको अवसरमा सञ्चालन हुने सिस्टेनी मेला स्थानीयले असुरक्षा महशुस गर्दै आयोजना गर्न छोडे ।  कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६, ७ र ८ का जमनकुनाका स्थानीयहरुले आयोजना गर्ने सिस्टेनी मेला कास्कीको विभिन्न तालमध्ये रुपाताल नजिक लाग्ने मेला थियो ।   पर्यटकीय आकर्षणको रुपमा रहेको रुपातालको प्रचारप्रसारसँगै सिस्टेनी मेलाको महत्व बुझ्न थालेका स्थानीयले २४ वर्ष पहिले बन्द भएको मेला ०७४ मा पुनः सुरु गरे । स्थानीयले चैते दशैको अवसरमा ठुलो मेला आयोजना नगरेपनि चैते दशैको अवसरमा नै साना कार्यक्रम भने सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् ।  समयमने परिवर्तनसँगै सभ्य समाज र चेतनशील नागरिकबाट लोप हुँदै गएको सिस्टेनी मेलालाई शान्तिरुपा बराहथोक तमु युवा परिवारले पहिलो पटक २०७४ सालमा प्रथम सिस्टेनी मेला भनेर प्रतियोगितासहित मेला सञ्चालन गरेपछि हराउँदै गएको मेला पुनः सञ्चालनमा आएको हो ।  रुपाताल किनारमा प्रथम सिस्टेनी मेला आयोजना गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारले विश्वभर फैलिएको कोरोना भाइरसको कारण मेला सञ्चालन गर्न नसकेको स्थानीय तुलबहादर गुरुङले बताए ।  उमेरले ७२ वर्ष पुगेका गुरुङले मुसुक्क हास्दै भने ‘१८ वर्षको उमेरमा भर्ती देखिए, लाहुरे भएर सिस्टेनी मेलामा आएको अनुभव मनमा ताजै छ, लोप भएको मेला पुनः सञ्चालन गर्न युवासँगै अगाडि बढेको छु ।’ बन्द हुनुपूर्व मेलामा स्थानीय युवाहरुले सेउलाले घेरेर टहरा निर्माण गरेर त्यही टहराबाट एक रुपैयाँसम्मको भाडा उठाएको अनुभव समेत सुनाए ।   कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६,७ र ८ का जमनकुनाका स्थानीय युवाहरुले चैते दशै (नवमी र दशमी) को दिनमा आयोजना गर्ने मेलालाई केन्द्रीत गरेर ९० देखि १ सय वटा सम्म सेउलाले घेरेरे टहरा निर्माण गरेर रुपाताल किनारमा मेला सञ्चालन गरेको स्थानीय गुरुङले बताए ।  चैते दशैको अवसरमा रुपातालको सिस्टेनी मेलामा तनहुँ, लमजुङ, पर्वत र स्याङ्जा जिल्लाबाट मेला अवलोकनमा आउने स्थानीय गुरुङ बताउँछन् । ‘सिस्टनी मेलामा तनहुँ, लमजुङ,पर्वत र स्याङ्जा लगायतका स्थानीयहरु मेलामा आउथे, मेलामा ठेलो,भजन चुड्का, ठाडो भाका र लोक भाकामा रमाउथें ।’ दुईदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न जिल्लाका व्यापारीहरुले माटाका घैँटो, हण्डा, आँसी, कुटो, कोदालो, बन्चरो हलोको फालीसँगै स्थानीय उत्पादनबाट बनेका सेलरोटी, चिया, तरुल, बागलुङ्गे भट्टा, चिउरा, कोदोको लोक्कल रक्सी र तान्द्रेको गाभाको अचार लगायतको वस्तुहरुको विक्री वितरण हुने गर्दथ्यो ।  विस्तारै गाउँदेखि शहरतर्फ बसाईसराई गर्ने क्रम बढेपछि लोपउन्मुख मेलामा पुगेको मेला स्थानीयले तत्कालिन समयमा असुरक्षाको महशुस गर्दै मेला गर्न छोडेको स्थानीय गुरुङ नै बताउँछन् ।  चैत १५ देखि १७ सम्म दोस्रो सिस्टेनी मेला कोरोना भाइरसका कारण रोकिएको सिस्टेनी मेला शान्तिरुपा बराहथोक तमु युवा परिवारले चैत १५ देखि १७ गतेसम्म कास्कीको रुपा गाउँपालिका ६ रुपातालमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित दोस्रो सिस्टेनी मेला आयोजना गर्दै छ ।  विभिन्न कारणले रोकिएको सिस्टेनी मेलालाई चैते दशैको अवसरमा चैत १५ देखि १७ गतेसम्म प्रतियोगितासँगै मेला आयोजना गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए ।  ‘लोप हुँदै गएको मेला २०७४ सालदेखि सुरु ग¥यो तर विश्वभर फैलिएको कोरोना भारइसका कारण निरन्तरण दिन सकेनौं, गुरुङले भने, ‘तालको शहरले चिनिएको पोखरासँगै रुपतालको प्रचारप्रसार गर्न चैते दशैको अवसरमा दोस्रो सिस्टेनी मेला आयोजना गरेका छौं ।’ उनका अनुसार दोस्रो सिस्टेनी मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना गरेको छ ।  साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले १५ हजार र अनुशासित समूहले ५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्वरले ट्रफी र जर्सी पुरस्कार पाउने छन् । भने भलिबलमा सहभागिता हुन ५ हजार दर्ता शुल्क निर्धारण गरेको छ ।  दोस्रो सिस्टेनी मेलामा छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताका विजेताले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मेलामा ६ लाख २४ हजार आम्दानी हुने आयोजकले जनाएको छ भने, ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।