म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको ना...

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।  घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिनुभयो ।  “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।” घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताउनुभयो । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।  समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।  हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुन् । पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृश्यावलोकन गर्न पुग्छन् ।  घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुल, उल्लेरी भएर एकैदिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ ।

रामेछाप:    शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् ।  यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ । हाल त्यस्तै भइरहेको छ ।  सोमबार र मङ्गलबार रोकिएका केही पर्यटक बुधबार उडे पनि १८ वटा उडान हुनासाथ लुक्लाको मौसम पुनः बिग्रिदा पर्याप्त उडान हुनसकेनन् । जसले एक हजारभन्दा बढी विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।   विगत चार वर्षदेखि शरद् ऋतुको समयमा पर्यटकलाई मन्थलीसम्म सडक मार्गमार्फत ल्याएर मन्थलीबाट दैनिक रूपमा लुक्ला पठाउने गरिएको छ । तर बेला बेला मौसममा खराबी हुँदा विदेशी पर्यटक मन्थलीमै रोकिनुपर्दा व्यवस्थापनमा समस्या हुने गरेको होटल व्यवसायी बताउँछन् ।  क्षमताभन्दा बढी पर्यटकले आफूहरूलाई आवास व्यवस्थापन गर्न धौधौ हुने गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ ।  यस बेला काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्यन्तै व्यस्त हुँदा नजिकको दूरीमा रहेको मान्थली एयरपोर्टबाट लुक्ला जाने पर्यटकलाई ओसारपसार गर्ने गरिएको छ । काठमाडौँका विभिन्न कम्पनीले सडकमार्ग भएर मन्थली ल्याउने र मन्थलीबाट हवाई उडानमार्फत लुक्ला पठाउने गरेका छन् ।  नागरिक उड्ययन कार्यालय रामेछापका प्रमुख हिरोणकुमार शाह खराब मौसमका कारण रोकिएको अवस्थाबाहेक अनुकूल मौसममा करिब ५५ वटासम्म उडान हुने गरेको बताउनुहुन्छ । हाल केही दिनदेखि मौसममा खराबी हुँदा धेरै पर्यटक मन्थलीमै रोकिएका उहाँले बताउनुभयो ।  पर्यटक सहयोगी चन्द्रबहादुर लामिछानेले क्षमताभन्दा बढी पर्यटक मन्थलीमै रोकिदा आवासीय सुविधाका लागि अन्यन्तै कठिनाइ भइरहेको बताउनुभयो ।  आफ्नो यात्रासूची बिग्रने भन्दै कोही हेलिकप्टरमार्फत त कोही सडक मार्गमार्फत लुक्लातर्फ लागे पनि अर्को दिन उडान तालिका भएका करिब पाँच यसभन्दा बढी पर्यटक पुनःमन्थली भित्रने गर्दा यहाँ पर्यटकको चाप अत्यधिक हुन थालेको उहाँको भनाइ छ ।  रामेछापमा भएका करिब ५० वटा होटलमा एक हजार जनासम्मलाई मात्र आवासीय सुविधा दिन सक्ने क्षमता छ तर जहाज नचलेपछि मन्थली बस्ने पर्यटकको सङ्ख्या एक हजार तीन सयभन्दा बढी रहेको पर्यटन व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले पटकपटक मौसममा खराबी आउँदा पर्यटक रोकिने र यहाँ पर्याप्त होटल सुविधा नपुग्ने भएकाले नगरपालिका यसतर्फ सचेत रहेको बताउनुभयो ।  “जिल्लामा भित्रिएका पर्यटक नठगिउन् र सहज ढङ्गबाट आवासीय सुविधासमेत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले विमानस्थल परिसरमा यात्रु सहायता कक्ष र होमस्टे सञ्चालनका लागि तालिम तथा आवश्यक सामान उपलब्ध गराएको छ । यसको व्यवस्थित प्रयोगको खाँचो छ”, उहाँले भन्नुभयो ।  जिल्लामा भित्रिएका पर्यटलाई बढीभन्दा बढी सुविधा दिएर एक रात मन्थली मै राख्न सक्ने वातावरण सृजना गर्न पूर्वाधार बनाउन ध्यान दिनुपर्ने र यसले मन्थलीलाई पर्यटकीय हब बनाउन योगदान पुग्ने स्थानीय समाजसेवी विपीन भट्टराई बताउनुहुन्छ ।

रामेछाप:    सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।  काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।  रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् ।  नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् । मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिनुभयो । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।  

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।   प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो ।   जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले शव ल्याउन आज हेलिकप्टरमा धौलागिरि गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको जानकारी दिनुभयो ।   “हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ”, उहाँले भन्नुभयो, “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ ।” आधारशिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।   प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मङ्गलबार भेटिएको थियो ।   आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।   संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।   “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।”   उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ ।   तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।   पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।   चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताउनुभयो ।   “बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उहाँले भन्नुभयो “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।”   बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ ।   धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ ।   कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ ।   आर्थिक वर्ष २०८०/८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ ।   सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ ।   भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ ।   उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।   कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ ।   कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।   लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।   नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।   हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो ।   यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो ।   पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।” पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।   त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।   २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।   सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।   निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो ।

सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।   पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो ।   सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो । यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।   पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताउनुभयो । थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उहाँको भनाइ छ ।   एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।   “हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उहाँले भन्नुभयो, “नेपालमा दुई हजार भन्दाबढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउदै जानुपर्छ ।”   अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।   उहाँले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तालगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिनुभयो ।   आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

धवलागिरी हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ ।   हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।   आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ ।

म्याग्दी:     म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।       रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।  जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिनुभयो ।   “हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भन्नुभयो “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।”  समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाउनुभयो ।   “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उहाँले भन्नुभयो “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन् ।” ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ ।  फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताउनुभयो ।       “पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”      स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो ।  स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।       मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताउनुभयो ।   “वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुुभयो “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।”       टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताउनुभयो ।  दशैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उहाँले बताउनुभयो । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उहाँले बताउनुभयो ।        तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।      बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।  २९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।       पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।      धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।        टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।        टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।       सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ ब्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।  नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र  गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताउनुभयो ।  टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।