चालू आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९ सय १ पर्यटक भित्रिएका छन्।   गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्यांकअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त स...

म्याग्दी:    पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ ।   सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ ।   गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ ।   लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।   “गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”   घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ ।   लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो ।   बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो ।   “साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ”, उहाँले भन्नुभयो, “याँ ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।”   अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।   अन्नपूूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् ।   वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।   अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।   अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

म्याग्दी:   निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा ।   शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो ।   समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ ।   बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाउनुभयो ।   “बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,” उहाँले भन्नुभयो “कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।”   चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताउनुभयो ।   एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताउनुभयो । “शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,” उहाँले भन्नुभयो “छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तब्य रहेछ् ।”   अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ । घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताउनुभयो ।   “पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो “एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।”   पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल/घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ ।   म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् ।   सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ ।   घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताउनुभयो ।   “गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,” उहाँले भन्नुभयो “मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।”   वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।   पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ ।   पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले रु ६६ लाखमा ठेक्का लगाएको थियो ।   यस वर्ष रु ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।   पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्को अध्यक्षमा तारानाथ पहारी निर्विरोध चयन भएका छन् ।   परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीले नयाँ नेतृत्वको जिम्मेवारी पाएका हुन् ।   पहारी नेतृत्व समितिको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ निर्वाचित भए ।   यस्तै महासचिवमा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा चुनिए।   सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भए।   सदस्यहरुको हकमा भने पहिलो बैठकबाट चयन गर्ने बताइएको छ । परिषद्मा आबद्ध संस्थाका १४ प्रतिनिधिहरुलाई सदस्यमा चयन गरिनेछ ।  

नुवाकोट:     यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ ।  विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् ।      लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रुपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रुपमा बढेको छ ।      “पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तीर्थयात्रीका लागि पदमार्गको स्तरोन्नतिगरी यात्रालाई सहज बनाएसँगै आगमन यात्रीको बढेको हो”, उपाध्यक्ष लामाले भन्नुभयो, “तीर्थयात्रीको सेवाका लागि बासस्थान, शान्ति, सुरक्षा, भरियालगायत आवश्य प्रबन्ध मिलाएका छौँ ।” उहाँका अनुसार नुवाकोटको घ्याङ्फेदीबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाउँठाउँमा सुविधासम्पन्न गेष्ट हाउस र होमस्टे (घरबास) सञ्चालित छन् ।       यात्रालाई लक्षित गर्दै नेपाल प्रहरी र नेपाली सेनासहित स्वयंसेवकमार्फत सुरक्षा व्यवस्था, खानपान र बसोबास, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), खानेपानी, प्राथमिक उपचार, शौचालयलगायत सुविधा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुप्चेश्वरमा पर्ने पदमार्गको विभिन्न स्थानमा तिर्थालुलाई पर्नसक्ने समस्या पहिचान गर्न, आवश्यक सहयोग गर्न पालिकाले स्वयंसेवकको टोली तयारीमा अवस्थामा राखेको छ ।         नुवाकोटबाट कसरी पुग्ने गोसाइँकुण्ड       गोसाइँकुण्ड स्नानका लागि जाने यात्रीले नुवाकोटतर्फको पदमार्ग प्रयोग गरी दुई स्थानबाट फेदीमा केन्द्रित भएर यात्रा गर्न सक्छन् । काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा सुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गिनगौठ, ठाडे, घोप्टे हुँदै फेदी पुग्न सकिन्छ ।       सवारीसाधनको प्रयोग गरेर पैदल दूरी छोट्याउनलाई नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेबाट वा काठमाडौँको टोेखा–छहरे खण्ड हुँदै खरानीटारमा पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङफेदी, सिसिपु, कसेरी, तालु हुँदै घोप्टे भएर फेदी पुग्न सकिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँबाट यात्रा गर्दा दुप्चेश्वर–१ सिसिपुसम्म सवारीसाधनमार्फत यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।       यो यात्रामा दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन र सूर्यकुण्डकोसमेत स्नान गर्न सकिने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । यही कारणले पनि काठमाडौँबाट नुवाकोट हुँदै सिधैँ गोसाइँकुण्ड जाने तीर्थालुको रोजाइमा यो पदमार्ग परेको उहाँको भनाइ छ ।      काठमाडौँबाट आएका पैदलयात्री र नुवाकोटबाट सवारीसाधन र पैदलमार्फत घ्याङ्फेदीबाट गएका यात्री दुप्चेश्वर–१ स्थित फेदीमा जोडिन्छन् । फेदीबाट हाइक्याम्प हुँदै नुवाकोटस्थित सूर्यकुण्डमा स्नान पश्चात् रसुवाको गोसाइँकुण्डको स्नान गर्न पुग्न सकिने अध्यक्ष थापाले जानकारी दिनुभयो । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो । यो भन्दा सूर्यमती ९तादी० नदीको मुहान सूर्यकुण्ड थप उचाइमा पर्दछ ।       रसुवाको धुञ्चेबाट गोसाइँकुण्ड (४,३८० मि) पुग्नेहरु यसभन्दामाथि अवस्थित सूर्यकुण्ड (४, ६१० मि)मा स्नान गर्न थप हिँड्नुपर्ने भएकाले कम तीर्थालु सूर्यकुण्ड पुग्ने गरेका जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाका अभियन्ता नीलकण्ठ आचार्यले बताउनुभयो ।  नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा पदमार्गमा सूर्यकुण्ड पर्ने भएकाले ती तीर्थयात्रीले मात्र एकैसाथ दुई तिर्थमा स्नान गर्ने अवसर पाउने उहाँको भनाइ छ ।      धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त पदमार्गको स्तरोन्नतिसहित अप्ठ्यारो स्थानमा सिँढी निर्माणगरी व्यवस्थित बनाइएको पर्यटन अभियन्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा सञ्चालित व्यवस्थित गेष्टहाउस, होमस्टे, समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न उपसमिति, आमा समूहलगायतले तीर्थालुलाई आवश्यक सहयोग गरिरहेका छन् ।      गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला भर्न तीर्थालुको घुइँचो लाग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । “गत शुक्रबार पुत्रदा एकादशीदेखि सुरु भएको छ । उक्त मेला सोमबारसम्म लाग्नेछ । अहिले विभिन्न मार्ग र माध्यमको प्रयोग गरी मेला भर्न आउने यात्रीको आगमन बढ्दै गएकाले आवश्यक सुरक्षा, प्राथमिक उपचार, खानेपानी, शस्थायी शौचालयलगायत व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।      यस तीर्थयात्राको अवधिमा रसुवा र नुवाकोटको दुवै पदमार्गबाट करिब १५ हजार तीर्थालुले मेलामा सहभागिता जनाउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिनुभयो । समुन्द्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हिन्दू र बौद्धमार्गीको धार्मिक आस्था जोडिएको छ ।      “पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवनगरी उक्त विषको जलन शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा (भगवान् शिवशङ्कर)ले बोकेकोे त्रिशूलले खोप्दा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किंवदन्ती छ । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो”, समितिका अध्यक्ष डिएमले भन्नुभयो ।

म्याग्दी:    पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।  चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी ।       बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाईमा रहेको पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास हुन्छ ।       काठमाडौका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जिवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताउनुभयो । “लोप हुदै गएको घुम्ति गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उहाँले भन्नुभयो “जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।”      यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् ।       शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताउनुभयो । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उहाँले सुनाउनुभयो ।      ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।  पाहुनाका लागि ‘गोठ स्टे’      गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताउनुभयो ।  “नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो,” उहाँले भन्नुभयो “जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जिवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।”      गाईभैसीको दूध, दहि, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताउनुभयो । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ ।       चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति रु। दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४÷१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन् । गोठ स्टेमा २० जनाको क्षमता छ ।       ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताउनुभयो । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उहाँले बताउनुभयो । 

सिन्धुपाल्चोक:    यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।  जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् ।       पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।      आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।      भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताउनुभयो ।        काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताउनुभयो । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।  

पोखरा:    पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ ।  पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु केटुकेको यात्रा पुरागरी केरला, गोवा, मुब्बइ, दिल्ली, जयपुर, गोरखपुर, सुनोली हुदै पोखरा फर्किने बरालले बताए । भ्रमणका क्रममा स्थानीय जिवनशैली, रितिरिवाज, पर्यटन व्यवसायी सगँ छलफल गरेको टोलीका संयोजक योगश भट्टराईले जानकारी दिए । उनले भ्रमणले पर्यटकी राजधानी पोखराको पर्यटन प्रवद्र्धधनमा टेवा पुगेको विश्वास व्यक्त गरे । नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा पोखरा मानै आएर टुङ्गिने छ । टोली १९ जनाको छने भने ४ वटा गाडीमा उनीहरुले यात्रा गरीरहेका छन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने संयोजक भट्टराईको भनाई छ । टोलीले हरेक सहरमा स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्दै आगडी बढेको उनले बताए । नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ ले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लेहलद्दाखसम्मको यात्रा गरिसेको छ ।

पोखरा:    नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् ।       संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् ।      संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नुु दुःखदायी अवस्था भएको भनिएको छ ।          प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको बनेको उल्लेख गर्दै संघले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको भनिएको छ ।      पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानुु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको जनाइएको छ ।      एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुुपर्ने अवस्थामा सहजीकरण गर्नुुपर्ने, वातावरणीय प्रभावका नाममा व्यवसायीले पाइरहेको दुुःख स्मरणपत्रमा उल्लेख गरिएको छ ।      पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुुपर्ने भन्दै संघले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुुपर्ने सुुझाएको छ ।      त्यस्तै पर्यटकसँग लिइने प्रवेश शुल्क एक द्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुुपर्ने, व्यवसायी पलायन रोक्नुुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंङ्ग र ¥याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने लगायतका विषय उल्लेख गरिउको छ ।      विदेशी मुद्रा कारोवारमा डिजिटल भुक्तानी प्रक्रृया सहज बनाउनुुपर्ने लगायतका विषयमा सुुझाइएको छ ।      नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा) का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आँफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताउनुुभयो । उक्त अवसरमा रेष्टुुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउनुुभएको थियो ।      नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन विभागका संयोजक आङ्गेलुु शेर्पा र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय संयोजक दीपक महतले मन्त्री पाण्डेसँगको भेटघाटलाई संयोजन गर्नुुभएको थियो ।        

पोखरा:   ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्थामा आवद्ध कम्पकीका सञ्चालकहरुलाई एक दिने  फोटोग्राफी तथा भिडियोग्राफी तालिम दिएको छ ।   नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project) अन्तर्गत बुधबार  तालिम प्रदान गरिएको हो ।   फोटोपत्रकार राम गुरुङ र प्रेम थापाले प्रशिक्षण दिइएको उक्त तालिममा संस्थाका पूर्व अध्यक्षहरु तथा टानमा आवद्द ७२ कम्पनीका सन्चालकहरुको सहभागिता रहेको थियो ।   तालिममा सहभागिहरुले एक दिने कार्यक्रमबाट पनि धेरै  ज्ञान पाएको सुनाए ।   टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले स्वागत मन्तव्यसहित तालिमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।