म्याग्दी:  म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ ।       अन्नपूर्ण गाउँपालिका&ndash...

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।   लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।   नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।   हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो ।   यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो ।   पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।” पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।   त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो ।   २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।   सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।   निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो ।

सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।   पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो ।   सोही अनुरुप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो । यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।   पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताउनुभयो । थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उहाँको भनाइ छ ।   एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।   “हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उहाँले भन्नुभयो, “नेपालमा दुई हजार भन्दाबढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउदै जानुपर्छ ।”   अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।   उहाँले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तालगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिनुभयो ।   आरोहण योग्य हिमाल क्रमशःखुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

धवलागिरी हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ ।   हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।   आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ ।

म्याग्दी:     म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।       रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।  जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिनुभयो ।   “हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भन्नुभयो “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।”  समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाउनुभयो ।   “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उहाँले भन्नुभयो “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन् ।” ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ ।  फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताउनुभयो ।       “पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”      स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो ।  स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।       मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताउनुभयो ।   “वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुुभयो “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।”       टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताउनुभयो ।  दशैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उहाँले बताउनुभयो । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उहाँले बताउनुभयो ।        तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।      बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।  २९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।       पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।      धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।        टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।        टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।       सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ ब्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।  नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र  गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताउनुभयो ।  टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।

मनाङ:     असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे ।      एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।       गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ । केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए । तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।      पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “यो महिना पदयात्राका लागि उपयुक्त महिना हो । त्यसैले पर्यटकको आगमन बढेको छ ।” चामे गाउँपालिका–५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताउनुभयो । “यसले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।       यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन् । उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।

काठमाडौं:     सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।      बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।  अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उहाँले बताउनुभयो ।       सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिनुभयो ।      मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार छ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।           बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार नौ सय सात र सन् २०१९ मा ९२ जार छ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।      कुन महिनामा कति पर्यटक        मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

म्याग्दी:    मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो ।       लोमान्थाङ भित्र्ने पर्यटकहरूलाई ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, संस्कृति, जैविक विविधता, वन्यजन्तु, पक्षी, भौगोलिक विविधतालगायतका विषयमा जानकारी गराउने उद्देश्यले केन्द्र सञ्चालन गरेको एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।       “ऐतिहासिक बस्ती लोमान्थाङमा आउने पर्यटकलाई यहाँको विविध पक्षका बारेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले सूचना केन्द्र सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “केन्द्रबाट पर्यटकहरूलाई गन्तव्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध गराउँछौँ ।”       एक्यापका कर्मचारी रहने केन्द्रमा लोमान्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्बिर, त्यसको महत्त्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण तथा समन्वय गर्नेछन् ।       माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण हो । माटोको पर्खालभित्र करिब २०० घरधुरी रहेको यहाँको बस्ती करिब छसय वर्ष पुरानो भएको वडाअध्यक्ष ढुढुके बिष्टले बताउनुभयो ।        मुस्ताङी राजा आमे पालले इस १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् ।  १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरू छन् ।      विसं २०८१ को वैशाखदेखि भदौसम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका ९एक्याप० लोमान्थाङको तथ्याङ्क छ । सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए ।       सन् २०२२ मा तीन हजार ११२, सन् २०२१ मा ३३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।       सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।  लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साबिक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।  उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।

गण्डकी:    विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभएको छ ।  उहाँले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो ।       कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।  काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।       विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा शुक्रबार आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  अनलाइनमार्फत प्राप्त भएका २०७ तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल हुनुभएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो ।       अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवद्र्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताउनुभयो ।  विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उक्त सेवाको शुभारम्भ गर्दै उहाँले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो ।      “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।”  यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो ।        अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ । दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो ।       पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् ।  अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।       अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् ।  कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ ।         अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक थिए ।  चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।