झापा:    कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य प...

गलकोट:    यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए । भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ । घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् । बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन् । ‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्’, थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताए । पाँचौं समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैं अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ । ‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्’, शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैं काम गरेर रमाउँछन् ।’ भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन् । पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए । जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए । घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातयात साधनमा पुग्न सकिनछ । घरबास २०७३ सालमा सञ्चालनमा आएको हो । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् । 

ढोरपाटन:    पछिल्लो समय बागलुङमा  नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले  सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन । तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उहाँको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उहाँको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्राउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउनुहुन्छ । अध्यक्ष खड्काले भन्नुभयो, “सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ ।” बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उहाँले बताउनुभयो । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उहाँ बताउनुहुन्छ । आचार्यले भन्नुभयो, “यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।” नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताउनुभयो । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउनुहुन्छ । “धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ–ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।” चर्चित भएर पनि ओझेलमा   बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताउनुहुन्छ । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।  स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताउनुभयो । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उहाँ बताउनुहुन्छ । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उहाँले जानकारी दिनुभयो । तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ ।

ढोरपाटन:   बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।  स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ ।    मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुङ्गा पुग्ने गरेका छन् । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍य ो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।  बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास ‘होमस्टे’ छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । हरेक दिन पर्यटक बेलढुङ्गा आउने गरे पनि असोज अन्तिम सातादेखि भीड नै लाग्ने गरेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । पछिल्लो केही दिनयता दैनिक दुई सयभन्दा बढी पर्यटक बेलढुङ्गा आउने गरेको उहाँको भनाइ छ ।  अधिकांश पर्यटक दिउँसो आउने र साँझ फर्कने हुँदा ओखले गाउँमा रहेको सामुदायिक घरबासमा कम पाहुना मात्रै बस्ने गरेको उहाँले बताउनुभयो । “पहिले–पहिले बेलढुङ्गामा यस्तो चहलपहल हुँदैनथ्यो, अहिले त विकास भएर पनि होला, प्रचार पनि धेरै भएर होला, घुम्न आउनेको सङ्ख्या प्रत्येक वर्ष बढिराखेको छ, यस वर्ष निकै बढी आएको पाएका छौँ”, उहाँले भन्नुभयो, “अहिले यो ठाउँ निकै व्यवस्थित पनि भएको छ, बागलुङ र म्याग्दी दुई तिरबाट मान्छेहरु आउने गर्छन्, दुई जिल्लाबाहेक पोखरा, काठमाडौँलगायत ठाउँबाट पनि यहाँ घुम्न आउँछन्, यो ठाउँ निकै सुन्दर रहेको हुँदा कहिलेकाहीँ विदेशी पर्यटक पनि फाटफुट आउने गरेका छन्, केही दिन भयो दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आइरहेका छन् ।” स्थानीय घरबास सञ्चालक मायाकुमारी छन्त्याल श्रीसले दसैँदेखि पाहुनको चाप पनि बढ्न थालेको बताउनुभयो । पाहुनालाई स्थानीय उत्पादन कोदोको सेलरोटी, लोकल कुखुराको मासु, आलुलगायत परिकार खुवाउने गरेको श्रीसको भनाइ छ । घरबास सञ्चालनमा आएपछि बेल ढुङ्गा आउने पर्यटकलाई निकै सहज भएको उहाँले बताउनुभयो। पछिल्लो केही दिनयता पाहुन नभएको रात नै नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बेलढुङ्गामा पर्यटक बढेपछि हाम्रो होमस्टे पनि राम्रो चलेको छ, पहिले कम मात्रै पर्यटक आउँदा हामीहरुलाई होमस्टे चलाउन गाह्रो थियो, यहाँ आउने पाहुनाले स्थानीय उत्पादनका परिकारको माग गर्नुहुन्छ, यहाँ उपलब्ध परिकार उहाँहरुलाई दिने गरेका छौँ, दिनदिनै पर्यटक आउने क्रम जारी छ, हरेक दिन पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” दसैँतिहारका लागि क्याम्पस बिदा भएको हुँदा बेलढुङ्गा घुम्न आएको पर्वतका निशान कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा बेलढुङ्गाको फोटो र भिडियोहरु निकै भाइरल भएको हुँदा १३ जनाको समूह बनाएर यहाँ घुम्न आएको उहाँको भनाइ थियो  । बेलढुङ्गादेखि सूर्योदय पनि देखिने हुँदा एक दिन बागलुङ र अर्को दिन म्याग्दीमा बास बसेर अवलोकन गर्ने कार्कीको भनाइ छ । बेलढुङ्गाको अवलोकनपछि ढोरपाटन पुग्ने योजना रहेको उहाँले बताउनुभयो ।   “बिदाको समय घुमौँ भनेर एक हप्ताको यात्रा तय गरेका छौँ, यसपालि बागलुङ, म्याग्दी र पर्वतका पर्यटकीय ठाउँ घुमौँ भन्ने छ, दोस्रो दिन बेलढुङ्गा पुगेको निकै रमाइलो रहेछ, हिमालहरु नजिकैबाट देख्न पाइँदोरैछ, वातावरण पनि शान्त,” उहाँले भन्नुभयो, “पहिले पनि यहाँ आउने चाहना थियो तर समय नमिलेको हुँदा आउन सकेको थिएन, यसपालि चैँ मज्जाले घुमियो, ठाउँ हेरियो ।” बेलढुङ्गाबाट, धौलागिरि, माछापुच्छ्रे अनगन्ती हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । बागलुङ, पर्वत, कास्की, गुल्मीलगायत ठाउँहरु पनि सहज रुपमा देख्न सकिन्छ । काठेखोला गाउँपालिकाले पनि बेलढुङ्गाको प्रवर्धन गर्न थालिरहेको छ । गत वर्ष विनियोजन गरेको रु। दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल मार्गसमेत बनाइएको छ ।

लमजुङ:  चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो ।  यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए। उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।   यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यतिबेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरूका लागि व्यस्त भइरहेका छौँ ।’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भए पनि यतिबेला दैनिक रु ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनले सुनाए । त्यस्तै अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ । यतिबेला पर्यटक आगमन बढ्दा दैनिक रु ३०÷३५ हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुनाले पर्यटक यसअघिसम्म आएका थिएनन् ।    यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् ।   सो पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकिन तथ्यांक भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् । 

पोखरा:   पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ राखिएका तस्वीर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्वीर पनि हेर्न पाउनेछन् ।’ साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्वीरसमेत सुरुआत गरिएको छ । उक्त तस्वीरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ । कार्यक्रमका अतिथिलाई बिरुवा उपहार दिइएको थियो । पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्यावरण संरक्षण सचतेनाका लागि विरुवा उपहार दिइएको बताइन् । ‘हेर्दा एउटा विरुवा त हो भन्ने लाग्न सक्छ । तर, यसको सन्देश ठूलो हुन्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘हरियाली हराउँदै जाँदा पर्यटनमा पनि असर पुग्दै गएको छ । त्यसकै सचेतनाका लागि विरुवा बाँडेका हौं ।’ ४४ औं विश्व पर्यटन दिवसको मुख्य नारा नै ‘हरियो पर्यटन’सँग सम्बन्धित भएकाले आफूहरुले पाहुनाहरुलाई विरुवा नै उपहार दिएको बताइन् ।  कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् । ‘संसारका अन्य देशले पनि म्युजियम बनाएका छन् । तर, कुनै एउटा स्पेसिफिक चिजमात्रै देखाउन राखेका छन्,’ उनले भने, ‘हाम्रोजस्तो सबैथोक एकै ठाउँमा हेर्न पाइँदैन रहेछ ।’  संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको जानकारी दिइन् ।  कार्यक्रममा गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धिताल गण्डकीकोे पर्यटन विकासका लागि प्रदेश सधैं सकारात्मक रहेको बताए । उनले गण्डकीको मुख्य आर्थिक स्रोत नै पर्यटन भएकाले यसलाई अझै सुधार्दै लैजानुपर्ने बताए । 

पोखरा:  घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरेका हुन् । उक्त पदमार्ग मन्त्रालयको ५ लाख  र समितिको १ लाख ५० गरी ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।  मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रिय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रिय पदमार्गले अझै टेवा पुग्ने छ,’ उनले भने, ‘प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोही अनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो ।’ पदमार्गले २ वटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए । पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यावसायीलाई पनि गुहार्ने योजना रहेको उनले सुनाए । ‘यो करिब ४ किलोमिटरको दुरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,’ उनले भने, ‘यसका लागि सरकार गुहार्ने कुरा त छदैछ अझै घान्द्रुकको होटल व्यावसयीलाई पनि भन्ने अनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।’ पदमार्ग निर्माणपछि एक दिन भएपनि पर्यटकको घान्द्रुक बसाइँ लम्बिने स्थानीय अमृत गुरुङले बताए । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजंगल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो । ‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइँ अवश्य लम्ब्याउँछ,’ उनले भने, ‘यसको आधा भागमा वनजंगल पर्छ । यहाँ चराचुरुंगीको आवाजसँगै बन्यजन्तुहरु मृग, स्याल, बनकुखुरा अवलोकन गर्न सक्छन् ।’ पलमार्गमा चिया बगानसँगै फागुन चैतमा लालिगुराँससँग रम्दै समय बिताउँन सक्ने उनले बताए ।   

पोखरा:  उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले कास्कीको घान्द्रुक संस्कृति र प्रकृतिका कारण पर्यटकको रोजाइमा परेको बताएका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव गुरुङले यस्तो बताएका हुन् ।  ‘बाह्य पर्यटकहरु सबैभन्दा बढी संस्कृति र प्रकृतिका लागि नेपालसँगै स्विजरल्याण्डलाई पहिलो नम्बरमा राख्छन्’, मन्त्रालयका सचिव गुरुङले भने, ‘कास्कीको घान्द्रुक बाह्य पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ, यहाँको संस्कृति र प्रकृति नै पर्यटकको मुख्य आर्कषण हुन् ।’ उनले गण्डकी प्रदेश सरकारले पछिल्लो समय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा काम गरिरहेकाले होमस्टेसँगै अन्य पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए ।  ‘गण्डकी प्रदेशको पर्यटन मन्त्रालय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागि परेको छ, ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई अगाडि बढाइरहेको छ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयले पूर्वाधार निर्माण र विकासमा मुख्य ध्यान दिन आवश्यक छ ।’ पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती थपिरहेकाले स्थानीयले पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान आवश्यक रहेको उनले बताए ।  ‘पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती आइरहेको छ, पूर्वाधार निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान दिन आवश्यक छ’, उनले भने । उनले पछिल्लो समय संस्कृतिमा परिवर्तन आइरहेकाले यसमा सबैले ध्यान दिन आवश्यक रहेको औल्याए ।  कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।  ‘पर्यटन क्षेत्र हाम्रो समृद्धिको मुख्य आधार हो, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पूर्वाधारको विकासमा हामी लागिरहेका छौं’, वडाध्यक्ष गुरुङले भने, ‘ घान्द्रुक सम्म जोडिएको ग्रामीण सडकलाई स्तरउन्नती गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।’ घान्द्रुक ०२७ सालदेखि होटल सञ्चालन गर्दै आएका शंकरमान गुरुङले घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्ने बताए ।  ‘घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्छ, होटल सञ्चालन गरेर पैसा नै कमाउनुपर्छ भन्ने भावना कहिले पनि राखेन’, गुरुङले भने, ‘घान्द्रुकमा आउने देश विदेशका पर्यटकसँग घुलमिल हुने अवसर पाए, उनीहरुको सल्लाह अनुसार नै होटल सञ्चालनमा ल्याए, अहिले गाउँ नै व्यवसायीक रुपमा अगाडि बढेको छ, खुशी छु ।’   कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक, ताडापानी देउराली हुँदै पुनहिल र घान्द्रुकको, झिनु, छोम्रोङ, सिनुवा, बम्बु, देउराली, माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । व्यवसायी सम्मानीत घान्द्रुक पर्यटन व्यवस्थापन समितिले प्रथम साधारणको सभाको अवसरमा समितिले होटल तथा होमस्टेमा आउने पर्यटक, गाईड र पोटरबाट आउने आम्दानीको शुल्क बुझाउने दुई जना व्यवसायीलाई सम्मान गरेको छ ।  समितिले ०७९ असोजदेखि ०८० साउनसम्म गाईड र पोटरबाट होटलबाट सबैभन्दा बढी शुल्क बुझाउने होटल ब्रीजका  सुवासचन्द्र गुरुङ र होटलमा नेपाली पर्यटक राखे बापत समितिलाई सबैभन्दा बढी शुल्क बुझाउने होटल वल्ड भिलेजका अमृत गुरुङलाई सम्मान गरेको हो । सोही अवसरमा घान्द्रुकमा ०२७ सालदेखि ८० सालसम्म नै होटल सञ्चालन गरिरहेका होटल मिलनका सञ्चालक शंकरमान गुरुङलाई पनि सम्मान गरेको थियो ।  घान्द्रुक पर्यटन व्यवस्थापन समिति गठन भएपछि पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि होटलमा बस्ने गाईड र पोटरबाट प्रतिव्यक्ति १ सय ५० र नेपाली पर्यटकबाट प्रतिव्यक्ति १० रुपैयाँ होटलले समितिलाई बुझाउनुपर्ने निर्णय गरेको थियो ।    कार्यक्रममा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले साविकका ६ वडालाई ३/३ वटा दरले फोहोर संकलनका लागि डस्विन वितरण समेत गरिएको थियो ।    कार्यक्रम घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष थम बहादुर विकले स्वागत मन्तव्य, सचिव माया पुन थापामगरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

बेनी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ । प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । “पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै”, उहाँले भन्नुभयो । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो । घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

काठमाडौं:     दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि (शनिबार) गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब सात सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’’ त्यस्तै, बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।