पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ
मुस्ताङ | भदौ २३, २०८१
म्याग्दी: कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू ।
बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली ।
गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।
यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् ।
जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाउनुभयो ।
“धेरै पर्यटक सिधैँ मुक्तिनाथ पुगेर फर्किन्छन्”, उहाँले भन्नुभयो, “घुम्न र हेर्नलायक धेरै ठाउँ भए पनि ओझेलमा परेको स्याङ गाउँमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौँ ।”
आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो ।
थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ । अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् ।
स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ ।
गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ ।
सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् ।
सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् ।
घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल बनाएको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।
जोमसोमबाट सिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडाध्यक्ष थकालीको छ ।
स्याङखोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो ।
थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । गुफाभित्र तीनवटा खाना पकाउने, ध्यान बस्ने, सामान राख्ने कोठा छन् ।
सो गुफामा परापूर्वकालमा लामा ध्यान बस्ने गरेका स्थानीयवासी बताउँछन् । स्याङका पूर्व वडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेहरूका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो ।
स्याङखोलाको मोटरेबल पुलबाट १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लबले स्याङखोलाको किनारबाट गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाएको छ ।
दमौली: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...