दमौली: नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो । ‘ढुंगामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो’, अवस्थीले भने, ‘ढुंगामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ ।’ पहिलो पटक आउँदा नै यस ठाउँले मोहित बनाएको भन्दै उनले घर फर्किसकेपछि आफन्त तथा साथीभाइलाई यस ठाउँको बारेमा जानकारी गराउने बताए । ‘राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रुपमा विकास भइरहेको रहेछ’, अवस्थीले भने, ‘यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।’ प्राकृतिक रुपमा रहेका ढुंगालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँकोस्वरुप नै बद्लिएको उनको भनाइ छ । ऐनापहरामा स्वदेशीका अतिरिक्त विदेशी पर्यटकको समेत आवागमन हुन थालेको छ । फ्रान्सबाट आएकी एक पर्यटकले ऐनापहरा निकै आकर्षक बनेको बताइन् । उनले भनिन्, ‘एकैछिन घुम्दा यहाँको वातावरणले लोभ्यायो । यहाँ बनाइएका संरचना मनमोहक छन् ।’ ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । यहाँ दैनिक २ सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् । पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार गत माघदेखि यहाँका ढुंगामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो । ‘यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाएका हौँ’, चुमानले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिए । उनका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले भने, ‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।’ गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जंगल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका स्थानीय बताउँछन् । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डीपीआर अनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डीपीआरमा यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
चितवनः भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागी देवघाट–हलेसी सगरमाथा मोटर र्याली सुरु भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्यालीको सुरुवात गरिएको हो । र्याली दुई रात र तीन दिनको हुनेछ । र्यालीको उद्घाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्यालीहरु अति नै महत्त्वपूर्ण रहने बताए । उनले भने,देवघाट–हलेसी सगरमाथा जस्ता अति पवित्र क्षेत्रहरुको बिकास र प्रबर्द्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्याली फलदायी हुने बताउनुभयो । भरतपुर देवघाटदेखि सुरु भएको र्याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा चितवन) का अध्यक्ष राजन पियाले जानकारी दिनुभयो । प्रतियोगितामा २५ देखि ३० वटा गाडी सहभागी भएका छन् । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता संचालन गर्ने तयारी समेत गरिएको छ। ‘मोटर लिको रेसिंगको विधा अन्र्तगत टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भन्नुभयो । सहभागिहरुमध्ये गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा जो पुग्छ खेल उसैले जित्नेछ । सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ । प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ । एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो । त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।
सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले सोमबार बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गर्नुभयो । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो । “सगरमाथा क्षेत्रको चार हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैनन् । यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुनसक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाका बारेमा चेतनामूलक अन्तरक्रिया गरेका हौँ”, उहाँले भन्नुभयो । हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको प्रनाउ घिमिरेले बताउनुभयो । सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रियामा गरिएको उहाँको भनाइ छ ।
पोखरा: कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उहाँले बताउनुभयो । धार्मिक एवम् पर्यापर्यटनका दृष्टिले आकर्षक गन्तव्य डहरे देउराली एवम् अन्धाअन्धी दहको दर्शन गरेमा मनोकांक्षा पूरा हुने प्राचीन जनविश्वास समेतले टाढाटाढाबाट दर्शार्थीहरू आउने गर्दछन् । पछिल्ला समयमा यी स्थलको संरक्षण र प्रवद्र्धनमा विभिन्न संघ संस्थाले जोड दिदै आएका छन् । समाजले यस अघिका वर्षमा पनि विभिन्न गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार समाजले स्याङ्जाको धार्मिक एवम् ऐतिहासिक स्थल नुवाकोटस्थित काला भैरव मन्दिर, बाग्लुङको पञ्चकोट, बाग्लुुङ कालिका, पर्वत बाग्लुङका अग्ला पुलहरूको प्रवद्धनात्मक भ्रमण गरिसकेको छ । प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रवती अधिकारी, सन्तोष ढुुङ्गाना र सुमित्रा उदाश(मल्ल) सदस्य रहनुभएको उपसमिति समेत गठन गरिएको छ । भ्रमणकै अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिने भएको छ । क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहनुभएको उपसमिति पनि गठन गरिसकिएको समाजले जनाएको छ ।
पोखरा: नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा बाग्लुुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवम् सहयोगमा जैमिनी ऋषिले तपस्या गर्नुभएको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने बताउनुभयो । टोलीले नवलपुरस्थित गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावनाको उजागर बारे छलफल गरिएको थियो । त्यस्तै टोलीले वाल्मिकी आश्रममा गरेको स्थलगत अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा बेवास्था गरेको भन्दै दुःख व्यक्त गर्नुुभएको थियो । प्रिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यकममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीलाई स्वास्थ्य जीवनशैली लगायतका विषयमा डा.विनोद पौडेलले प्रशिक्षण दिनुभएको थियो भने टोलीले बनसफारी गर्दै त्यहाँका विविध सम्भावना बारे जानकारी लिएको थियो । गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौति लगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा आसपासका पर्यटकीय गन्तव्यको पहिचान एवम् प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन्। नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन्। हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो। नेपाल म्याग्दीकी मीराका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्। प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ। करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्।
गलकोट: नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् । केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताउनुभयो । आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ । कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल गत फागुन १८ गतेदेखि वैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको हो । सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ । त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन् । अन्य सिकारी आउने तयारीमा रहेको कँडेलले बताउनुभयो । “यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए,” कँडेलले भन्नुभयो । यस वर्ष प्रतिस्पर्धात्मकता स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए । उनीहरूले बन्दोबस्तीका सामग्री फागुन १८ गतेपछि सिकार आरक्षमा वैधानिकरुपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज–मङ्सिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबिच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले आठ लाखदेखि १८÷२० लाखसम्म तिर्ने गरेकोसमेत तथ्याङ्क छ । सिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज÷मङ्सिर) पहिलो याम र (फागुन÷वैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । यस पटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा हुनेछन् । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बिताउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र सिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक सिकारीले करिब २० देखि ३० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । वि.सं.२०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ । सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा कमी आएको छ । आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत सिकारीले सिकार खेल्न अनुमति पाएका हुन् ।
पोखरा: गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुभयो । कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा पर्ने ठूलाकोट र मादी गाउँपालिका वडा नं ५ मा पर्ने ठूलास्वारा दुुबै गाउँ पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुुन् । ठूलास्वारामा पर्यटकलाई लक्षित गरी होमस्टे पनि सञ्चालन गरिएको छ । नेपालका २२/२४ राजाका पालादेखि नै चासो र चर्चा कमाएको ठूलाकोट–ठूलास्वारा क्षेत्र बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको क्षेत्र भएका कारण पनि रोयल ट्रेक क्षेत्रका रुपमा पनि प्रसिद्ध छ । तारामण्डल अवलोकनका लागि पनि उपयुक्त गन्तव्यका पर्ने यो स्थानलाई पर्यटकीय रुपमा प्रवद्र्धन र विकास गर्ने सोच राखिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व सदस्य टीकाराम सापकोटाले बताउनुभयो । गाउँ परिचयात्मक भ्रमण अन्तर्गत शुक्रबार पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, जनप्रतिनिधि एवम् स्थानीयवासीसँग अन्तरक्रिया गरिएकोमा शनिबार मादी गाउँ पालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, जनप्रतिनिधि, ठूलास्वारा सामुदायिक होमस्टेका पदाधिकारीसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो । छुट्टाछुुट्टै भएका अन्तरक्रियामा वडा अध्यक्ष लामिछाने, गाउँपालिका अध्यक्ष गुरुङ लगायतले भिटोफ गण्डकीले प्रवद्र्धनात्मक कार्यक्रमका लागि यस क्षेत्रलाई समेटेको भन्दै आभार व्यक्त गर्नुुभएको थियो । यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्न आँफूहरू आतुर रहेको बताउँदै उहाँहरूले पर्यटनसँग गाउँलाई जोड्न सकेमा बढ्दो गाउँ पलायनका अवस्थालाई रोक्दै उत्पादन बढाउन सकिनेमा जोड दिनुुभयो । ठूलाकोटमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लामछाने सहित नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटा, वडा सदस्य डाल्डादेवी भुजेल, देउमाडी टोल विकास संस्थाका अध्यक्ष सन्तोष केसी, पर्यटन विज्ञ रामजी शर्मा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्राध्यापक दीपेन्द्र पहारी लगायतले बोल्नुुभएको थियो । त्यस्तै ठूलास्वारामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ सहित नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकारम सापकोटा, बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्र, मादी गाउँपालिका होमस्टे महासंघका अध्यक्ष भीम गुरुङ, भिटोफ गण्डकी सदस्य एवम् कार्यक्रम संयोजक विमला सापकोटा, चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, प्राध्यापक दीपेन्द्र पहारी, मादी –५ का वडा अध्यक्ष होमनाथ अधिकारी, ९ का अध्यक्ष मनोज गुरुङ, स्थानीय समाजसेवी कुमबहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पहारीले गर्नुभएको थियो ।
तनहुँः पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो । नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो उहाँका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ । “कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन् ।” उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उहाँको भनाइ छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । “करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन । स्थानीय कसैले पनि भन्नुभएको थिएन”, उहाँले भन्नुभयो, चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जानेछौँ ।” गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४० र ५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उहाँले बताउनुभयो ।