काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

लमजुङ  :  यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।   यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएकाले उहाँले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाउनुभयो । अहिले उहाँले दैनिक रु १० देखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ ।    त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उहाँको भनाइ छ । उहाँहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् ।   पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उहाँको भनाइ छ ।    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ को हालसम्म सात हजार दुई सय १३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला चार हजार आठ सय ३४ र पुरुष दुई हजार तीन सय ७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका सात सय ७१, जर्मनीका सात सय छ, बेलायतका  पाँच सय ७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यहाँ आएका छन् ।    त्यस्तै सन् २०२१ मा यस पदमार्गमा दुई हजार तीन सय ७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार  सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जनाएको छ ।    पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।    अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् ।   

मनाङ  :  करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ ।    पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहलिो सातासम्म कुल तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उहाँले बताउनुभयो ।    चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन् । गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए ।   पर्यटकलाई स्वागत   यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो ।   पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए । ‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ ९पुरुष २४ र महिला १७० बाह्य पर्यटक, नेपाली पथप्रर्दशक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० ९पुरुष २२ र महिला १८० बाह्य पर्यटक र नेपाली पथप्रर्दशक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो ।    मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र  एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो । यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन् । यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलीचो ताल, नार, फुलगायत  स्थान पर्दछन् ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको पर्यटकीय क्षेत्रका रूपमा ताल, धारापानी, चामे, लमजुङ हिमाल, बेस क्याम्प, माथिल्लो मनाङ, नार, फु, तिलीचो ताल, आइसलेक, मिलेरेपा गुम्बा, पोचो गुम्बा, मनाङ गाउँलगायत रहेका छन् । 

पोखरा  : विश्व पर्यटन दिवसको अवसरमा कास्कीको पर्यटकीय स्थल घान्द्रुकको विभिन्न स्थलमा वृहत सरसफाई गरिएको छ ।    कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो ।    कास्कीको पर्यटकीय स्थल घान्द्रुुकगाउँ वरपर रहेको फोहोरहरुले पर्यटकमा राम्रो सन्देश नदिने भएकाले सरसफाई अभियान थालिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।    ‘घान्द्रुक गाउँ पर्यटकको केन्द्र हो’  उनले भने ‘कास्कीको घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोहोरमा होइन सफासुग्घर स्थलमा स्वागत गर्न चाहान्छौं । यो अभियान अब निरन्तर सञ्चालन हुनेछ ।’    घान्द्रक पर्यटनहरुको रोजाईमा पर्ने भएकाले गाउँघर सफासुग्घर राख्न स्थानीयले सक्रियता देखाएपछि पर्यटन व्यवस्थापन समितिले सरसफाई कार्यलाई तिव्रता दिन थालेको हो ।    कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

पोखरा :  विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ ।   पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो ।      पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गर्नुभयो । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गर्नुभएको थियो ।   क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन   पर्यटन दिवसकै अवसरमा पोखराको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् । अवलोकनमा नेपालबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका उडान कम्पनीका अधिकारी, भारतीय तथा नेपाली सञ्चारकर्मी, पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहनुभएको थियो । सहभागीलाई नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको भौतिक अवस्था लगायतका विषयमा जानकारी गराउनुभयो ।

गलकोट  :  पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थाल्नुभएको छ ।    पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उहाँले बिहीबार पोखराबाट साइकल यात्रा थाल्नुभएको छ । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताउनुभयो ।    विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थाल्नुभएको हो । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आउनुभएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताउनुभयो । धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो ।    केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गर्नुभएको छ । बागलुङमा जन्मनुभएको केसीले पर्यटन अभियानलाई निरन्तररुपमा प्रवद्र्धन गर्दै आउनुभएको छ ।   “धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु”, केसीले भन्नुभयो, “११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ ।”    पर्यटन प्रवद्र्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताउनुभयो । साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवद्र्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ ।    जनयुद्धका विषयमा किताबसमेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा ठूलो भूमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताउनुभयो । 

तनहुँ  ः  बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ ।   चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।    प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो । कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उहाँले बताउनुभयो । नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ ।    उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ ।    काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

पोखरा  :  पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०/११ रोधी क्लब घान्द्रुकको सामुदाय भवनमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो ।   गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए  ।  उनका अनुसार सो समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह-सचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भए । यसैगरि सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमल बहादुर गुरुङ र अक्षा रसाईली रहेकी छिन् ।     सो कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका अग्रज पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको बताए । उनले आगामी दिनमासमेत घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनको पक्षमा लाग्ने धारणा राखे ।   ‘घान्द्रुक पर्यटकको रोजाईको केन्द्रबिन्दु हो, म लगायत समितिले गर्न सक्ने पूर्वाधार विकासमा केही काम गर्न सक्यौ, उनले भने, ‘अझै घान्द्रुकको थप विकासमा सबैको हातेमालोले आवश्यक छ ।’    कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

गलकोट:   गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन ।   ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुन: डोर्यायो । त्यसैले यसपटकको उहाँको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो ।   अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गर्नुभयो । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताउनुभएको हो ।   साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो ।   उहाँले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो ।   “गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।”   ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताउनुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए ।   विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो ।   गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो । “पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो”, उहाँले भन्नुभयो, “गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।”   म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो ।   दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ ।   गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उहाँले बताउनुभयो ।   विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आउनुभएको छ ।   उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै अउनुभएको छ ।   उहाँले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो ।

वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् ।   बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन ।   वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो ।   “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उहाँले भन्नुभयो, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।”   आफूहरूको थाकथलो कास्कीको पोखरा-९ नयाँबजार रहेको जानकारी दिँदै उहाँले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताउनुभयो । जलारीका अनुसार उहाँको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बस्नुभएको इतिहास उहाँले सुनाउनुभयो । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ ।   “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।”   समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् ।   तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् ।    कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही  आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन ।   कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अनिष जलारीले भन्नुभयो, “दुई वर्षदेखि बाह्य  पर्यटक आएका छैनन् ।”