२२ हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ

मनाङ | भदौ १८, २०८१

२२ हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ FILED PHOTO

मनाङ:   एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् ।

 

गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् ।

 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो ।

 

उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् ।

 

केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो ।

 

त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ ।

 

केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् । आव २०७९÷८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो ।

 

आव २०७९÷८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।

 

कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ ।

 

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् ।

 

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो ।

 

साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो ।

 

देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् ।

 

विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भ...

थप पढ्नुहोस्