पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
मुस्ताङ | भदौ १८, २०८१
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।
“गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।”
साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ ।
तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ ।
गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् ।
भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ ।
उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ ।
चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो ।
“साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।”
गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ ।
पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।
पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित क...
सिन्धुली: काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले...