पोखरा: नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा-२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उहाँको भनाइ थियो । नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ , यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पु¥याउने छ ।” उहाँले चीनको ‘आउटबाउण्ड’ गन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवद्र्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताउनुभयो । उहाँले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार चिनियाँ ९० जनासहित दुई सय ५० जनाले मान्द्रेढङगाबाट प्याराग्लाइडिङ गर्नुभएको थियो । पहिलो पटक नेपाल आउनुभएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । पहिलो पटक नेपाल आएको सुनाउँदै उहाँले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो । उहाँले अन्य साथीलाई नेपाल घुम्नका लागि सुझाव दिने बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा एक सय ८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर नेपाल भ्रमणमा आउनुभएको थियो । नाकाका पूर्वअध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भए पनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बतउनुभयो । साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ । हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी छ । RSS
लमजुङ: चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हप्ता अघिसम्म दैनिक ४०÷५० जना पर्यटक आउने गरेकामा सो सङ्ख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् । यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उहाँको भनाइ छ । पर्यटक सङ्ख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् । मस्र्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो, “पर्यटक नआउँदा होटलको व्यवसाय सुस्ताएको थियो तर यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ ।” पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार यस पदमार्ग आसपासमा सैयौँ सङ्ख्यामा होटल व्यवसायहरु सञ्चालनमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यहाँ आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्ग आसपासमा रहेको पर्यटन व्यवसायीहरुले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक गाइड बिना पनि आउन पाउने माग राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङ, मस्र्याङ्दी गाउँपालिकालगायत सम्बधित निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । मनाङ-लमजुङ होटल व्यवसायी समितिका उपाध्यक्ष खुशिराम गुरुङले भन्नुभयो, “केही समयअघि टानले गरेको निर्णयले एकल पर्यटक आउन रोकिएपछि व्यवसायसमेत घट्न थालेकाले सो निर्णय फिर्ता लिनका लागि विभिन्न निकायमा आज ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ ।” यस्तो निर्णयले गाइड बिना आउन चाहने पर्यटकलाई पनि बढी पैसा खर्च हुने हुँदा पर्यटक अन्यन्त्र मोडिन थालेकाले व्यवसायीदेखि नेपाललाई नै घाटा हुने उहाँको भनाइ छ । मनाङदेखि लमजुङको होटल व्यवसायहीहरुको संयुक्त हस्ताक्षरसहित उक्त माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ ।
म्याग्दी: म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्लबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् । घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् । घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् । “कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्”, स्थानीय डमबहादुर पुनले भन्नुभयो, “कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।” घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित रु ५६ लाख ६० हजारमा ठेक्का लिनुभएको छ । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताउनुभयो । भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस
पोखरा: पोखरेली पर्यटन व्यवसायीको एउटा टोली पर्यटन पोखरा पर्यटकीय क्षेत्रको राजधानी हो भन्ने सन्देश बोकेर भारतको चार शहरको भ्रमणमा जाने भएको भएको छ । नेपाल टुर्स एण्ड टाभल एजेण्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा व्यवसायी भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर जान लागेको आज (शनिबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर आफूहरू आइतबारदेखि पाँच दिनलाई भारत जान लागेको नाट्टा गण्डकीका अध्यक्षका हरिराम अधिकारीले बताए । ‘पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य भन्ने सन्देशसँगै पोखरा पर्यटकीय राजधानी हो भन्ने सन्देश लिएर भारतका चार शहर जाँदै छौं, अधिकारीले भने, ‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्र्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य समेत हो ।’ विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रको जानकारी दिन, सडकमार्गबाट सहज रुपमा पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण गर्न सकिन्छ भन्ने सन्देशसँगै पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य र गतिविधिबारे श्रव्यदृश्य सामग्रीमार्फत उनीहरूलाई जानकारी दिने उदेश्यले भारत भ्रमणमा जान लागेको नाट्टा गण्डकी अध्यक्ष अधिकारीले बताए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान र बी टु बी मिट २०२३ कार्यक्रम लिएर भारत जान लागेको टोलीलाई पोखरा महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरेको छ ।
काठमाडौं: अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो । अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका उनले बताए । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो । यस्तै यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा ५ सय १२ जनाले अनुमती लिएका पर्यटन विभागले जनाएको छ । जसमा एक सय तीन जना महिला छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि एक सय ९७ जनाले अनुमति लिएका छन् । यस वर्ष अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ । घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताए । उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उनले भने, ‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’ घान्द्रुकमा सभाहलसहितको रिसोर्ट आवश्यक भएकाले त्यो आवश्यकता पनि पुरा गर्ने उनको भनाई थियो । प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उनले बताए । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाई थियो । करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालन कुलप्रसाद गुरुङले जानकारी दिए । ‘कोरोनाको समय देखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो अवस्था थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागे । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी छु ।’ ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ । रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङलले जानकारी दिए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए । लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उनले भने, ‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
काठमाडौं: वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् । नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उहाँले बताउनुभयो । तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउनुहुन्छ । नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ । यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ ।
तनहुँ: नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो । “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सडक खाना महोत्सवको आयोजना गरिएको बताइएको छ । सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । “साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ”, प्रधानले भन्नुभयो । नयाँ वर्ष मनाउन बन्दीपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । आज बिहानैदेखि आन्तरिक पाहुना बन्दीपुर उक्लिएको प्रधानले बताउनुभयो । नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रबर्द्धन, ग्रामीण होमस्टेको प्रचारप्रसार एबं सुनाखरी लगायत जैबिक विविधता संवर्धनको सन्देश दिने हेतुले उक्त पदयात्रा आयोजना हुन लागेको हो । पञ्चासे क्षेत्रको ५७०० हेक्टर बनजङ्गलमा पाईने १४७ प्रजातीको सुनाखरीलगायत जैबिक बिविधताको प्रचार र संरक्षणको सन्देश दिनु कार्यक्रमको मूल उद्देश्य रहने आयोजकले बताएको छ । पञ्चासेको पदमार्ग पर्यटन र ग्रामीण पर्यटनको महत्त्व उजागर गर्ने अभिप्रायले आयोजना गरिएको पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरुवात हुने जनाईएको छ। साथै पञ्चासे क्षेत्र पर्यावरण र पर्यापर्यटन अध्ययनको खुला बिश्वबिद्धालय रहेको सन्देश दिँदै पदयात्रा मार्फत हजारौं आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आह्वान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताए । सोही दिन प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको पञ्चासेको छाँयाचित्रका रुपमा रहेको पञ्चासे जैबिक बिबिधता पार्क समुद्घाटन समेत गरिने कार्यक्रम आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ। पर्यावरणमैत्री ढंगले निर्माण गरिएको सो पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।