म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको ना...

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।  पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रयस्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता  छ । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।  “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत वसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “क्षमताभन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।”फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको सङ्ख्या थप गर्न लागिएको पुर्जाले बताउनुभयो ।  होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दीप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताउनुभयो ।  मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत् अभाव र आवास व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महसुस गरेको अनुभव सुनाउनुभयो ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि।सं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो ।  अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

म्याग्दी:   मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको बिदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।  ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै २०६७ सालमा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो ।  खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो । समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरुले चर्चा गरेका थिए ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए ।  अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए ।    होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे ।  यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको भनाई उनले राखे । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको भनाई उनले राखे । आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा। रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक  एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ ।  यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखे । होटल एवं पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायी र समूहको पहिचान गरिनुपर्ने सुझाव राखे । टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे ।  नेपाल पर्यटक यातयात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटकलाई छोटो समयमा उचाईमा पुर्याउँदा हुने जोखिमका बारे आफ्नो संस्थाले सरकारको ध्यानाकर्षण विगतमा गराइसकेको विषय स्मरण गराए ।  कार्यक्रममा व्यवसायीले पर्यटक बोकेर जाने सवारी चालकको बोलीबचन मर्यादित हुनुपर्ने विषय समेत राखेका थिए । कार्यक्रमको संचालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका थिए । 

पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ ।  खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल (एक्ल्म्टाइज) हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको छ ।  थप भनिएको छ– ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाट समेत आबश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्ने छ ।’ पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन् । पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ ।  तर पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराइबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरुको ठूलै संख्या भेटिन थालेको विषय संघले उठाएको छ ।   भनिएको छ– होटल संघ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्ने पक्षमा रहेको छ । समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साडे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ ।  एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक  एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । केही दिन अघि काठमाडौंबाट हेलिकोप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्टे«लियाली पर्यटकलाई लेक लागेपछि काठमाडौं फर्काइएको अर्को उदाहरण पनि छ ।   

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन ।  गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।  विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।  बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उहाँहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रमस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् ।   अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताउनुभयो । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ ।  बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवद्र्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उहाँ बताउनुहुन्छ । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुईरतीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टेसुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरुलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।” महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्नुभएको हो । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताउनुभयो । गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको रु दुई हजार पाँच सय शुल्क लिने गरेको उहाँको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उहाँले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पदमार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ”, घर्ती मगरले भन्नुभयो, “बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।” गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका–७ बाट आउनुभएका मुकेश सुब्बाले बताउनुभयो ।  बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उहाँले सुनाउनुभयो । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उहाँको भनाइ छ ।

गण्डकी:  अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।  छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ ।  पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । झण्डै साढे चार दशक अघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउँछन्।  केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए ।  अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटेलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् । पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिए । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् । ‘होटेलको संख्यासँगै क्षमता बिस्तार गरिएपछि अहिले यस क्षेत्रमा आउने पर्यटकलाई दैनिक पाँच सयदेखि छ सय जनासम्म राख्न सकिन्छ’, उनले भने, ‘अन्नपूर्ण आधार शिविरको पदयात्रामा आउने पर्यटकलाई यहाँका होटेल व्यवसायीले राम्रो आतिथ्यता प्रदान गर्ने गरेका छन् ।’ पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रूपमा सरसफाइ गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन  अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाइ गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लास्टिकजन्य फोहोर संकलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिए । भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ ।  अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । हालसम्म पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिँदै उनले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस ९अन्नपूर्ण डे०का अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।  अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । 

गलकोट:   सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ । समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो । मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१(८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो । “आव २०८०(८१ मा ठेक्कामार्फत नौ लाख रुपैयाँ आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा २७ लाख रुपैयाँ आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष ढकालले भन्नुभयो, “कोरोना महामारीमा ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको मन्दिरमा अहिले २७ लाख रुपैयाँ सङ्कलन भएको र आगमी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा छ ।” पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत पूर्वाधारमा ८० लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिनुभयो । समिति, सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार निर्माणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो । उहाँले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परिक्षण गराउँदै आएको बताउनुभयो । समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगामी वर्षबाट मन्दिरको मासिक आम्दानीसमेत भइरहेको छ । अहिले मासिक ३० हजार रुपैयाँमा सटर भाडामा लागाइएको छ । समुद्री सतहबाट एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ । तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटर, सक्तललगायत पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ । विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।

ढोरपाटन:  हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिक जसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।  अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।  उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहलपलह देखिन थालेको स्थानीय बताउँछन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढामगरले बताए । बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा ९ट्रेकिङ० मोह बढेको उनको भनाइ छ ।  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ ।  बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिए । यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पर्यटक बढेका बताउँदै उनले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका जानकारी दिए ।  आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेँसी झर्ने गरेको स्मरण गर्दै उनले पहिले बाहिरी मान्छे खास्सै नजाने गरेकामा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकीपाटनसम्म जाने गरेका उल्लेख गरे । उनले भने, ‘अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चढ्छन् । स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन् । हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन् । कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन् । घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ ।’ ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए । पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिक जसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उनको भनाइ छ । पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेका घर्तीले बताए ।  ‘बुकीपाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ । पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकीपाटन उक्लिने गरेका छन्’, उनले भने, ‘ढोरपाटन आउने धेरैजसोले बुकीपाटन जाने तयारी गर्नुहुन्छ ।’ चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा आएको बताए । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उनको भनाइ छ । बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिए । स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उनले जोड दिए । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको रु २० लाखमा पदमार्गलगायत पूर्वाधार निर्माण छ ।  ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ ।

पोखरा:   जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ ।  पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दूरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन् । काठमाडौँबाट घुम्न आउनुभएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।  “बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मीयताले हामीलाई लोभ्यायो”, उहाँले भन्नुभयो ।  पतिसँगै घुम्न आउनुभएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाउनुभयो । “घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्य सधैंभरि सम्झनामा रहनेछ”, उहाँले भन्नुभयो ।  पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताउनुभयो ।  “घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ ।”  पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताउनुभयो । “हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ ।”  यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन् । यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्‍याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ ।  घान्द्रुकमा  आशीष होमस्टे सञ्चालन गर्दै आउनुभएका हरिमाया गुरुङले घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउनुहुन्छ ।  “घान्द्रुक हाम्रो जीवन र पहिचान हो, पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिइरहेका छौँ, त्यसैले उहाँहरु फर्किफर्की आउनुहुन्छ”, उहाँले भन्नुभयो, “चुल्होचौकोबाट सुरु भएको मेरो यात्रा आज पर्यटन र आत्मनिर्भरताको कथा बनेको छ । हिमाल हेरेर हुर्किएका हामी महिलाहरू, आज आफ्नै खुट्टामा उभिएर संसारलाई स्वागत गरिरहेका छौँ ।”  पछिल्लो समय यहाँका स्थानीयका लागि पर्यटन  आयआर्जनको मुख्य स्रोत हो । होटल सञ्चालक विभिमाया गुरुङले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाहरु यहाँको रहनसहन संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउने गर्छन्, हामीले पनि सकेसम्म राम्रो आतिथ्य प्रदान गर्दछौँ, पाहुनाहरुले विशेष गरी यहाँको सुन्दरता र परिकारमा बढी रमाउनुहुन्छ ।” पछिल्लो समय उहाँमा नयाँ पुस्ताले होमस्टे एवं होटल सञ्चालनमा चासो नदेखाउँदा घान्द्रुकको मौलिकता र सुन्दरता हराउने हो कि भन्ने चिन्ता छ । “नयाँ पुस्ता गाउँमा दुःख गर्न खोज्दैन, विदेश जाने रहरले गर्दा आफ्नो मौलिक पहिचान बोकेको घान्द्रुकको विशेषता लोप हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाइ त”, उहाँले भन्नुभयो ।  अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले घान्द्रुक पर्यटकीय गाउँ भएकाले यसको विकासका लागि पर्यटन केन्द्रित कार्यक्रममा जोड दिएको बताउनुभयो । घान्द्रुक देश विदेशका पर्यटकको घुम्न आउने गन्तव्यको रुपमा विकास भएको उहाँको भनाइ छ ।  अध्यक्ष केसीले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि रु। २० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित अधिकांश होटल र घरबास (होमस्टे) हरूले पर्यटकलाई व्यावसायिक सेवा मात्र नभई पारिवारिक वातावरण प्रदान गर्छन् । यहाँ आउने पर्यटकले विशेष गरी कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको तरकारी र लोकल कुखुराको मासु मन पराउने गरेको उहाँको भनाइ छ । हिमशृङ्खला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ सङ्ग्र्रहालय पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो, जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको अवलोकन गर्न सकिन्छ । साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच (घाँटु, सोरठी) ले पर्यटकलाई गुरुङ संस्कृतिमा अझ नजिकबाट साक्षात्कार गराउँछ ।  घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि, पारम्परिक खाना, घरपसल र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि आकर्षण बनेको छ ।  फागुन चैतमा ढकमक्क फुल्ने गुराँसको सौन्दर्य यस गाउँको थप विशेषता हो ।