ठमेलमा पर्यटक बढे, व्यापार बढेन
काठमाडाैं | मंसिर २०, २०८१
काठमाडौँ: ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ ।
हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ ।
यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् ।
ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् ।
अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।
ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताए ।
“पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।”
ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू ।
व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् ।
पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ ।
“विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन”, व्यवसायी थापाले भने ।
ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ ।
यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताए ।
कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताए ।
शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् ।
ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् ।
फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन ।
“यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्” उनले भने ।
ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको सुनाए ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए ।
“यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो”, उनले भने, “यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर प¥यो ।”
विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए ।
उनले भने, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन ।”
शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो ।
यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनकाे भनाइ छ ।
विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।
काठमाडौं: गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आय...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर ल...
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको &lsquo...