घान्द्रुकमा १७ करोड लगानीमा ‘घान्द्रुक कल्चर रिसोर्ट’
पाेखरा | बैशाख २, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा घान्द्रुक कल्चर रिसोर्ट उद्घाटन भएको छ ।
घान्द्रुक कल्चर रिसोर्ट प्रालिको सञ्चालनमा रहेको रिसोर्टको सगरमाथा टिभीका प्रबन्ध निर्देशक निर्मल गुरुङ, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसर पारेर ८० प्रतिशत कार्यसम्पन्न भएको रिसोर्टको उद्घाटन गरिएको प्रालिका अध्यक्ष कुलप्रसाद गुरुङले बताए ।
उद्घाटन कार्यक्रममा टिभीका प्रबन्ध निर्देशक गुरुङले रिसोर्टले घान्द्रुकको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । ‘पछिल्लो समय घान्द्रुकमा पर्यटकको चहलपहल बढिरहेको छ,’ उनले भने, ‘यो रिसोर्टले पक्का पनि पर्यटन क्षेत्रमा एउटा इट्टा थप्ने काम अवश्य गर्नेछ ।’ घान्द्रुकमा सभाहलसहितको रिसोर्ट आवश्यक भएकाले त्यो आवश्यकता पनि पुरा गर्ने उनको भनाई थियो ।
प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले रिसोर्टले घान्द्रुक मात्र नभएर नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यहाँको पर्यटन क्षेत्र विकासका लागि सदनमा आवाज उठाउने उनले बताए । यस क्षेत्र हुँदै अन्नपूर्ण बेस क्याम्प र घोडेपानी पुग्न सकिने भएकाले खर्च गर्न चाहने पर्यटकका लागि रिसोर्ट सहयोगी हुने उनको भनाई थियो ।
करिब ३ वर्ष अघिदेखि निर्माण भइरहेको रिसोर्टको ८० प्रतिशत काम सकिएको रिसोर्ट सञ्चालन कुलप्रसाद गुरुङले जानकारी दिए । ‘कोरोनाको समय देखि नै बनाउन सुरु गरिएको हो । त्यो समय साह्रै गाह्रो अवस्था थियो,’ उनले भने, ‘तर पनि हिम्मत नहारी अनवरत रुपमा निर्माणको काममा लागे । आज ८० प्रतिशत काम सकेर नयाँ वर्षको दिन उद्घाटन गर्न पाउँदा साह्रै खुसी छु ।’ ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे १७ करोड लगानी रहेको छ ।
रिसोर्टमा करिब ३ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, ५० वटा कोठा रहेको रिसोर्टका व्यावस्थापक सञ्जय गुरुङलले जानकारी दिए । सभाहलमा सेमिनार, गोष्ठी लगायत कार्यक्रम गर्न सकिन्छ । रिसोर्टमा बन्ने कोठा मध्ये २७ वटा तयारी अवस्थामा छन् भने, २३ वटा निर्माणाधिन अवस्थामा छन् । अहिले तत्काल ६० जना पाहुना व्यावस्थापन गर्न सकिने व्यवस्थापक गुरुङले बताए । रिसोर्ट पूर्ण रुपमा सञ्चालन भएमा २ सय जना पाहुना राख्न सकिनेछ । यहाँ २ वटा कल्चर कोठा, ४ वटा अतिविशिष्ट, १५ वटा विशिष्ट र अन्य सामान्य कोठा रहेको उनले बताए ।
लोप हुन लागेका पुराना संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले रिसोर्टको परिकल्पना गरिएको सञ्चालक गुरुङले बताए । ‘अहिले हाम्रो संस्कार संस्कृति हराउँदै जान थालेका छन् । लोप हुने अवस्थामा रहेको संस्कृति जगेर्ना गर्न सकिन्छ की भनेर प्रयास थालेको हुँ,’ उनले भने, ‘कल्चर झल्काउने घुमाउने घर, ढिकी, जातो, घट्ट, पुराना धातुका सामान, डोका, नाङ्लो लगायत राखेको छु । यो सँगै राती सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ रिसोर्टको माथि हेलिप्याड पनि बनाइएको छ । रिसोर्टमा विद्यार्थी, संघ संस्थाका समुह आएमा विशेष छुटमा राख्न सकिने गुरुङले बताए ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

