पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको बताए । सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाई उनको छ । नेपालको संविधान २०७२ ले खेलकुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको जानकारी उनले गराए । मन्त्री थापाले खेल सम्बन्धि संघसंस्थाहरुको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय संरचना निर्माण भएको हुँदा सबै संघसंस्थाहरुले आ—आफ्नो साधारण सभा मार्फत अध्यावधिक हुनुपर्ने धारणा राखेका छन् । जसमा नेपाल क्रिकेट संघको थालनी अनुकरणीय र उदाहरणीय रहेको भनाई उनको छ । गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालनका लागि मापदण्ड लागु गरेको जानकारी उनले गराए । खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री÷कोच÷खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको भनाई उनको छ । यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भार सँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याएका छन् । गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जन सँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको भनाई उनको छ । नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेल लगायतले बोलेका थिए ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता २ दिनको लागि स्थगित भएको छ । गत ९ गतेदेखि जारी भलिबल अविरल वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अब बाँकी खेलहरु १३ गतेदेखि सञ्चालन हुनेछ। संयोजक खड्काका अनुसार पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
पोखरा: ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे । विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ । विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।
पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट स्पोर्टस प्रालिले पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आगामी कात्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको प्रतिनिधि राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता समूहलाई नगद रु २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र एउटा समूहलाई अनुशासित टिमको रुपमा ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८५६०१८२५०, ९८०६५१४८८०) आयोजकले जनाएको छ ।
काठमाडौं: भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए । जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए । सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे । ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए । हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए । बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।
मनाङ: हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा मनाङमा यस मैत्रीपूर्ण खेलले निरन्तरता पाइरहेको छ । मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याकलगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भइरहेको छ । त्यस्तै तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा यही असोज ६ गते मैत्रीपूर्ण खेल प्रदर्शन हुने जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि खेलकुदको माध्यमबाट यहाँका स्थानीयवासीमा सचेतना र सुसूचित गराउने उद्देश्यले मैत्रीपूर्ण खेल गर्दै आएका छौँ । यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँचितुवा र याक महत्त्वपूर्ण छन् । यीबिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन कार्यक्रम गर्दै आएका छौँ ।” स्पर्धामा टोली हिमालयन स्नो लिवपर्ड (राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टोली कान्जिसरा याक र मनाङ ङिस्याङ याक स्थानीय युवाहरू०बीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गराइने आयोजक एन्ट फाउण्डेशनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार काजिनसरा याकको खेल सकिएको छ भने मनाङ ङिस्याङ याकको खेल आज हुँदैछ । हिमालयन स्नो लिवपर्डमा कालाकार प्रशान्त ताम्राकार, मेनुका प्रधान, सुशील श्रेष्ठ, रेशमा पुन र असुसेन लामा रहनुभएको छ । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डङ्गोल रहनुभएको छ । प्रतिस्पर्धामा मिस नेपाल वल्र्ड आस्माकुमारी केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोही माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमन प्रताप अधिकारी, संरक्षणविद् डा पारसविक्रम सिंह, आँखा विशेषज्ञ डा किशोर प्रधान र उद्घोषक महिमा पण्डित भट्टराई रहेको आन्ट फाउण्डेशनले जनाएको छ । मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन रहेको छ । मैत्रीपूर्ण खेलले यहाँका स्थानीयमा सचेतना जगाउन टेवा पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष आयोजना भएको मैत्रीपूर्ण खेलमा भएको सूचनाले यहाँका स्थानीयवासीमा हिउँचितुवा, याकका साथै हाम्रो जीवनसँग परस्पर जोडिएको जीवजन्तुको संरक्षण गर्नुपर्ने रहेछ भनेर सचेत भएको पाएका छौँ ।” जैविक विविधताको संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले नै खेलकुदको माध्यमबाट सचेतना फैलाउन लागिपरेको हो । यसले जिल्लाका स्थानीय तह र आम नागरिकमा सचेतना वृद्धि भएको स्थानीय बताउँछन् । केही स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि विशेष रूपमा नै बजेटको व्यवस्थापनमा समेत जोड दिँदै आएको छ । ‘हिउँचितुवा र याकका लागि सँगसँगै’ भन्ने नाराका साथ जिल्लाका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भइरहेका छन् ।
काठमाडौं: माल्दिभ्सको मालेमा सम्पन्न भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५–१६ ले जितेको पुलिसले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो सेटमा २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो । पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो। शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।