पोखराको पहिलो जित, गौसको कीर्तिमानी शतक
काठमाडाैं | मंसिर २१, २०८१

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ ।
तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए ।
पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।
पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए ।
लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो ।
शनिवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...