पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा शनिबार दोस्रो चरणका ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा भिमकाली क्लबले जि नाइन युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै भिमकाली क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । भिमकालीको जीतमा नरेश केसी र किशोर बरामले समान १ गोल गरे । यस्तै दोसो खेलमा रामघाट एफसीले भदौरे एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै रामघाट अघिल्लो चरणमा प्रवेश गर्याे । रामघाटको जीतमा सविन थापाले २ र अर्जुन मगरले १ गोलको योगदान दिए भने भदौरेको तर्फबाट उत्सव श्रेष्ठले सान्त्वना १ गोल फर्काए । तेस्रो खेलमा तारा एफसीले माछापुच्छ्रेलाई २–० गोल अन्तरले पराजित गर्याे । ताराको जीतमा राम थापा र विश्व थापाले समान १ गोल गरे । यस्तै चौथो खेलमा केआइइसी बुनले बानियाँ ब्रदर्शलाई १–० गोल अन्तरले हरायो । बुनको जीतमा आशिष गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा गन्नी एफसीले मालेपाटन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का गर्याे । डिफेण्डिङ च्याम्पियन गन्नीको जीतमा खिम गुरुङले निर्णायक गोल गरे । छैटौं खेलमा तारा एफसी ‘ए’ ले भ्याली स्पोर्टस्लाई २–१ गोल अन्तरले हरायो । ताराको जीतमा क्षितिज जिटी र टिकाराज गुरुङले समान १ गोल गरे भने भ्यालीका लागि विष्णु गुरुङले सान्त्वना १ गोल फर्काए । सातौं खेलमा एलसी ब्रदर्शले पिपलडाली क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एलसी ब्रदर्श प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । एलसीको जीतमा अजित गुरुङले ५ गोलको योगदान दिए भने धनराज मगर र अमृत मगरले समान १ गोल गरे । यसैगरी एलजी आरवाइसी काठमाडौं र पोखरा म्युजिक हाउसबीच भएको अन्तिम खेल गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा काठमाडौंले पोखरा म्युजिक हाउसलाई ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्रिक्वाटरफाइनलमा प्रवेश गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार आइतबारपनि दोस्रो चरणका खेल हुनेछन् भने सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछ । सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर आउट भएका थिए । आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित नटआउट ५४ रन जोडे । अनिल ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा नटआउट रहे । यी दुईले दोस्रो विकेटका लागि नटआउट १ सय ५ रनको साझेदारी पनि बुने । दोस्रो ओभरमै कुशलले आर्यन दत्तलाई २ छक्का र एक चौका प्रहार गर्दै आक्रामक सुरुवात दिलाए । तेस्रो ओभरमा किंगमाविरुद्ध पनि भुर्तेलले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि पाँचौ बलमा ठूलो सट खेल्ने प्रयासमा कुशल क्याच आउट भए । उनले ११ बलमा २८ रन जोडे । आसिफ शेख १९ रनमा रहँदा जीवनदान पाए । किंगमाको बलमा क्रोसले सर्ट फाइन लेगमा क्याच ड्रप गरेका थिए । त्यसपछि अनिल र आसिफले लगातार आक्रामक इनिङ खेल्दै जितसम्म डोर्याए । त्यसअघि नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए । तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए । छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे । त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा पुग्यो । २६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९-६ को अवस्थामा पुग्यो । लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १\१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए । नेपालले आज दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।
पोखरा: १८ औं संस्करणको सफल पोखरा म्याराथन केन्याली धावकले जितेका छन् । शनिबार सम्पन्न म्याराथनमा पहिलो, दोश्रो र तेश्रो स्थान नै केन्याली धावकहरुले जितेका हुन । ४२.१९५ किलोमिटरको दौडमा केन्याली धावक जुलियस मुरिला वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरे । अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए । आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् । दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते । उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् । नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । विजयी बनेका धावकहरुले क्रमश ५ लाख, ३ लाख २ लाख र ३० हजार प्राप्त गरे । यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेश्रो भएकी छन् । ५ किमि छात्र दौडमा तेन्जन रोका मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ प्राप्त गरे । ५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गरे ।
पोखरा: पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिवार) प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमीमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी छन् । म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गरिएको छ । पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिएको छ। जसले धावकको समय निर्धारण गर्नेछ ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ । नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो । प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागीता जनाएका छन् । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्याे । यस्तै दोसो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्याे । तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे । यस्तै चौथो खेलमा तारा एफसीले पसगाउँ एफसीलाई ४–० गोल अन्तरले पाखा लगायो । भिमकाली टिम ‘बि’ र एपेक्स क्लब काँडेबीच भएको पाँचौ खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा एपेक्सले भीमकालीलाई ५–४ गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा नमस्ते ब्रदर्शले डक्टरर्स टिमलाई ५–० गोलको फराकिलो अन्तरले नमस्ते ब्रदर्श विजयी बन्यो । क्लबका अनध्यक्ष असिम थापाका अनुसार आज २ वटा दोस्रो चरणका खेल सम्पन्न भएको छ । उनका अनुसार दोस्रो चरणको पहिलो खेलबाट मेनीमोरले भदौरे क्लब टिम ‘ए’लाई ३–० गोल अन्तरले पराजित गर्दै मेनीमोर प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । नदीपुर युनाइटेड र शुक्लागंगा क्लब हेमजाबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समया सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै नदीपुर प्रिक्वाटरफाइनलमा स्थान बनायो । अध्यक्ष थापाले शनिबार पनि दोस्रो चरणकै ८ खेल सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको खेलबाट विजयी टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् । नेपालकी कबिता जोशीले दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् । मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् । एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् । मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ । जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ । म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा अध्यक्ष हरि प्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार पछिल्लो समय पोखरा म्याराथनलाई साथ दिनेहरुको संख्यामा वृद्धि भइरहेको छ । पोखरा म्याराथनलाई साथ दिन स्वस्फुर्तरुपमा सहयोगिहरु आइरहेको उनले बताए । रुट परिवर्तन पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित ल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ । म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रा।लिको सफल दुधले गरेको छ । यस्तै गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, पोखरेली मञ्च युके, नेपाली समाज अस्टे«लिया तमुधी युके, गैर आवासिय नेपाली संघ, ब्रिटिश कलेज, वि विल राइज फाउन्डेसन, रोटरी क्लब ३२९२, डायमण्ड बुद्धिस्ट सेन्टर युके, तमु समाज युके, बगर भाइखलक युके, कृषि विकास बैंक लि।, लगायतको प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्र्धन गर्नेछ । सम्पन्न पत्रकार सम्मेलनमा खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नविन पोखरेलले बताए । उनले भने–“हामी संग मार्केटिङको एक रणनिती हुन्छ हामी त्यही अनुसार काम गछौं । हाम्रो सोच पनि विदेशका भएका नेपाली मार्फत देशको पर्यटन प्रवर्द्धन गर्नका लागि सन्देश दिने हो । तर त्यो काम आज पोखरा म्याराथनले गरेको छ ।” सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए । कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गरे । त्यस्तै पोखरेली मञ्च युकेले गैर आवाशिय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित रकम करिव १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे भने बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरे । कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चबाट स्पेसियल अवार्डबाट सम्मानित हुने मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई दिएका थिए । कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गीतका रचयिता आरजु विष्ट सल्यानी र यूवा गायक बिनोद बानियालाई सम्मान गरिएको थियो ।