पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी मेडिकल कलेजले आयोजक निलोलाई पराजित गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा आयोजक निलोलाई ३–२ गोल अन्तरले पराजित गर्दै एलएमसी क्वाटरफाइनलमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार एलएमसीको जीतमा म्यान अफ द म्याच घोषित भएका सौगात केसीले १ गोल गरे । भने, आयोजक नव जागृति युवा क्लबको तर्फबाट २ गोल आत्मघाती हुन पुगेको थियो । यता हार व्यहोरेको आयोजक निलोका लागि राजन गाहा र विवश गाहाले समान १ गोल फर्काएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलबाट जीत निकालेको एलएमसीले अब १३ गते हुने प्रकृति एफसी र एमएमसी एबीचको विजेता टिमसँग यही १७ गते प्रतिस्पर्धा गर्नेछ । भोलि (मंगलबार) दिउँसो ३ बजे न्यू हिमाली एफसी र युनाइटेड युथ एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा दमकडाले सँघर्षपूर्ण जीत निकालेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा खल्लुकधारा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका विशाल मल्ले २ गोल गरे । भने, सुदिप थापाले १ गोलको योगदान दिए । यता हार व्यहोरेको खल्लुकधाराको तर्फबाट शुशिल थापाले २ गोल फर्काए । खेलको पहिलो हाफमै दमकडाका खेलाडी जोन मस्राङ्गीले खल्लुकधाराका खेलाडीलाई फल गरेपछि रेड कार्डको शिकार बनेका थिए । त्यसपछि दमकडा १० जना खेलाडीमा मात्रै सिमित बन्न पुगेको थियो । यद्यपी दमकडा खेलमा फर्किदै जीत निकाल्न सफल बन्यो । अब दमकडाले ११ गते हुने न्यू हिमाली युवा क्लब र युनाइटेड युथ एफसीबीचको विजेता टिमसँग आगामी १५ गते प्रतिस्पर्धा गर्नेछ । भोलि (सोमबार) दिउँसो ३ बजे आयोजक नव जागृति युवा क्लब निलो र लुम्बिनी मेडिकल कलेजबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४–१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए । ५६ औं मिनेट मिनेटमा भुटानले अग्रता लिँदै घरेलु टोलीलाई स्तब्ध पार्यो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली सिधै गोल भयो । गोलरक्षक जियारत शेखले बल ठम्याउन नसक्दा गोल भएको थियो । ७१ औं मिनेटमा अभिनाश स्याङतानको फ्रिकिक भुटानका गोलरक्षक ल्होचो निमाले डाइभ दिँदै बचाए । ७७ औं मिनेटमा भुटानका किन्जाङ तेन्जिङ दोस्रो पहेंलो कार्ड खाँदै बाहिरिए । त्यसै फलबाट सुरु भएको छोटो फ्रिकिकबाट निर्माण भएको मुभमा निराजनले गोल गरे । लछु थापाको लामो पासलाई गोलरक्षक निमाले बचाउन नसक्दा निराजनले फ्लिक हेडरमार्फत गोल गरे । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा आज (शनिबार) देखि नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठीचौर खेलमैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सराई एफसीले भगवती एफसी तानसेनलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई दोस्रो चरणमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार सराईको जीतमा म्यान अफ द म्याच घोषित भएका सुमित मल्ले २ गोल गरे । यता हार व्यहोरेको भगवती एफसीका लागि प्रेम रानाले १ गोल फर्काए । भोलि (आइतरबा) दिउँसो ३ बजे खल्लुकधारा एफसी र दमकडा एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार फाइनल खेल भने २१ गते हुनेछ । यसअघि बगनासकाली गाउँपालिकाका उपप्रमुख हरि पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले खेलकुदले गाउँपालिकाकै विकासमा टेवा पुर्याउन मद्दत गर्ने धारणा राखे । उपप्रमुख पाठकले गाउँपालिकाभित्रका क्लबहरुमध्ये नव जागृति युवा क्लब तुलनात्मक रुपमा अन्य क्लबभन्दा सक्रिय रहेको बताउदै आगामी दिनमासेत खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले उक्त प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीलाई राम्रो अवसर भएको बताउदै खेलाडीहरुलाई मौकाको सदुपयोग गर्नसमेत सुझाव दिएका थिए । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो । कस्केरीका युडी पुनले निर्णायक गोल गरे । च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गयो । भने, उपविजेता बनेको एट टु नाइन एफसीलाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट सिआर गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए । यस्तै उदीयमान खेलाडीका रुपमा अभिषेक गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा दिप कार्की र सर्वाधिक गोलकर्ताका रुपमा अनुज भण्डारी घोषित हुँदैं जनही २ हजारसहित पुरस्कृत भए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत १ गतेदेखि चलेको थियो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडा प्रहरी बगरका प्रहरी प्रमुख बोधराज रेग्मी,पुरस्कारदाताहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा १ पुरानो टुंडिखेलमा शनिबार कस्केरी र सनराइज एफसीबीच बिहान ८ बजे पहिलो सेमिफाइनल खेल हुने थपलियाले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेल क्लब डि र एट टु नाइनबीच हुनेछ । फाइनल खेल भने दिउँसो १ बजे सञ्चालन गरिने थपलियाले बताए । कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् । यस्तो छ खेलाडीको विगत सोह्र वर्षे उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका गुल्शनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । आइसिसी एसिया टि ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल ओमानविरुद्धको खेलमा उनले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । त्यतिबेला गुल्शनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाएका थिए । सर्लाही मलंगवामा जन्मिएका गुलशनले ३२ ट्वान्टी ट्वान्टी र २७ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । देब्रेहाते ब्याटर एवम दाहिने हाते बलर झा नेपाल पुलिस क्लबमा आबद्ध छन् । यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य भट्ट सहभागी काभा महिला नेसन्स लिग–२०२४ मा नेपाल उपपविजेता बन्दा महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यस्तै उनी चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यसैगरी नेपालमा नै आयोजना भएको १६औँ ढोरपाटन डबल लिग भलिबल २०८०, चौथो टाइगर कप २०८० लगायतको विभिन्न प्रतियोगिताको उपाधि एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । डडेलधुरामा जम्मिएकी भट्ट हाल एपिएफ क्लबमा आबद्ध छिन् । सोह्र वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउदाँ महत्वपूर्ण योगदान गरेकी छन् । साउदी अरेबियामा भएको आठौ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनको खेल प्रर्दशन उत्कृष्ट रहेको थियो । त्यस्तै यु–१५, यु– १८ र यु–२० नेपाली राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेकी उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् । सोलुखुम्बुमा जन्मिएकी उनी एपिएफ क्बलमा आबद्ध छिन् । यसैगरी नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दादेखि नै महत्वपूर्ण योगदान दिएको रग्बी खेलाडी श्रीरामले चीनमा भएको १९औँ एयिसाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । यसैगरी भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले २०१६ मा चेन्नईमा नै भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र सन् २०१८ मा सिङ्गापुरमा भएको एसियन रग्बी सेभेन्समा सहभागिता जनाएका थिए । उनले सन २०२२ मा भारतमा भएको विश्व रग्बी फिप्टिन्स डिभिजन ३ मा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगिता रग्बी खेलको डिभिजन ३ मा नेपाल पहिलो पटक प्रवेश गरेको थियो । उनी काभ्रेमा जन्मिएका हुन् । भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मिएकी मानमतिले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । त्यसैगरी काठमाडौँमा नै भएको १३औँ सागमा कबड्डी खेलबाट रजत पदक जितेकी थिएन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । मनोनित हुने उक्त पाँच जना खेलाडीमध्ये एक जना खेलाडीले पिपल्स च्वाइस अवार्डको उपाधि जित्नेछन् । पिपल्स च्वाइस विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ सेवाको भोटिङमार्फत मत दिन पाइनेछ । यसमा इ सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्चाल फेसबुक मतभार–२५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । उक्त विधाका विजेताले पल्सरको एनएस चार सय सिरिज मोटरसाइकल प्राप्त गर्नेछ ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटफाइनल समिकरण पुरा भएको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार एट टु नाइन टिम ‘बि’, आदर्श क्लब भण्डारढिक, सनराइज एफसी, क्लब डि, केआइइसी बुन, बगर युनाइटेड, मार्सल एफसी र कस्केरी टोल क्वाटरफाइलनमा प्रवेश गरेका छन् । उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल क्लब डि र मार्सलबीच हुनेछ । यस्तै दोस्रो खेल केआइइसी बुन र सनराइज सिमपानीबीच हुनेछ । तेस्रो खेलमा कस्केरी १ र आदर्श क्लब भण्डारढिकबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड बगर र एट टु नाइन टिम ‘बि’बीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल र फाइनल खेल शनिबार हुने थपलियाले जानकारी दिए । उनका अनुसार गत १ गतेदेखि जारी प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
काठमाडौं: बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे । त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे । ४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक जियारत शेखले फ्रिकिकमा आएको हेडरमा सानदार बचाउ गर्दै नेपालको जित पक्का गरे । यससँगै नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो । समूह बी मा भारत र भुटानको समान ३(३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।