काठमाडौं: नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । माल्दिभ्समाथि २५–६, २५–१९, २५–१८ को सहज जित निकाले पनि नेपाल लिगमा दोस्रो बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले चार खेलबाट नौ अङ्क बनायो । नेपालले यसअघि श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । चार खेलबाट सात अङ्क बनाएको इरानले तेस्रो बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । यस्तै सोमबार नै भएको खेलमा भारत श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो । भारतले श्रीलङ्कामाथि २५–१३, २५–२१, २५–२० को नतिजा निकालेको थियो । जितसँगै भारतले चार खेलबाट १० अङ्क बनायो । हारेपनि चार अङ्कसहित शीर्ष चारमा अटाएको श्रीलङ्का र भारतबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स यसअघिकै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले लिग चरणमा सबै हार खेप्यो ।
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवाथाङमा भदौ १ गते तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ । मुस्ताङ गल्फ कोर्सले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । मुस्ताङ गल्फ कोर्सका प्रबन्धक निर्देशक इन्द्रधारा विष्टले खेलकुद प्रतियोगितासँगै मुस्ताङमा पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ भने तेस्रोमा मुस्ताङ पर्छ’, विष्टले भने, ‘खेलकुद प्रतियोगिताबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देशसँगै मुस्ताङमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य हो ।’ विश्वकै उच्च स्थानमा दाबी गरिएको ४ हजार ६ सय ४५ मिटर उचाईमा रहेको तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको हो । भदौ १ गते हुने प्रतियोगितामा गैर–आवासिय नेपाली गल्फरसँगै ५५ देखि ६० जनाले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका निर्देशक विष्टले बताए । प्रतियोगितामा महिला तथा पुरुष विद्याका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लङ्गेस्ट ड्राइभकामा पुरस्कार प्रदान गर्ने विष्टले जानकारी दिए । यस्तै प्रतियोगिताका होल इन वनलाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ रहेको छ ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ ८ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका अध्यक्ष जनक गाहामगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए । सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने अध्यक्ष गाहामगरले बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, अध्यक्ष गाहामगरले भने । यस्तै क्लबका सदस्य विरबल रानामगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुनसार विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लब २०३८ सालदेखि नै खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको छ । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (थप १ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८१७५२८६७८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ । गत वर्ष कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामाा आयोजक नव जागृती युवा क्लब (कालो) लाई पराजित गर्दै सराई एफसी च्याम्पियन बनेको थियो ।
काठमाडौं: काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो ।
काठमाडौं: नेपालको राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो । यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले माल्दिभ्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् ।
एजेन्सी: साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरे । कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् । श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् । भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत सात पटकको च्याम्पियन बनिसकेकाे छ । महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
एजेन्सी: आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो। कप्तान चमारी अथापाप्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाईन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन जोडिन् । पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । यो पनि पढ्नुहोस महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २४ बलमा २५ रन थपिन् । कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाइन् । श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २ विकेट लिए । श्रीलंकाले आइतबार भारतसँग उपाधिका लागि खेल्नेछ। साविक विजेता भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो । भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
एजेन्सी: भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्। स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए। भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ । ३३ औं संस्करणको खेलकुदको महाकुम्भ फ्रान्सको राजधानी पेरिसमा आजदेखि औपचारिक सुरु हुँदैछ । सो प्रतियोगितामा २ सय ६ देशका करिब ११ हजार बढि खेलाडीहरु सहभागि हुदैंछन् । उक्त प्रतियोगिता अगष्ट ११ तारिखसम्म चल्नेछ । उक्त ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गनेछन् । नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।